फगत डुल्न पाएपछि… – हिमाली कान्छो ‘योद्धा’


वर्तमानले रमाएपछि विगत भुल्दो रैछ मान्छे
फगत डुल्न पाएपछि जगत भुल्दो रैछ मान्छे

दलाल र भूमाफियाको चुस्की चुस्न पाएपछि
जनसेना र अदालत भुल्दो रैछ मान्छे
जनताको ढिँडो खाई झुपडीमा बस्ने मान्छे
कुर्सी प्रमुख भएपछि फगत डुल्दो रैछ मान्छे

पुँजीवादको महलभित्र एकछिन घुस्न पाएपछि
जनताको झुपडी र सङ्गत भुल्दो रैछ मान्छे
क्रान्तिको बाटो छोडी अक्रान्तिमा लागेपछि
सहिदका सपना र रगत भुल्दो रैछ मान्छे

संसद्वादको मस्ती लुट्न पाएपछि
सपना र आदर्श भुल्दो रैछ मान्छे
समाजवादी नेताहरू पुँजीवादमा गएपछि
फगत डुल्दो रैछ मान्छे

भुइँमा खुट्टा टेक्नै छोडे कुर्ची हातमा पाएपछि
पहिला बस्ने चटाईको लागत, सम्मान भुल्दो रैछ मान्छे
स्वार्थपूर्ति गर्न रमझम सहर घुम्न पाएपछि
गरिबको झुपडी र स्वागत भुल्दो रैछ मान्छे

दलाल साम्राज्यवादको आशीर्वाद पाएपछि
राष्ट्रियता र जनतालाई भुल्दो रैछ मान्छे
वर्तमानले खाएपछि विगत भुल्दो रैछ मान्छे
फगत डुल्न पाएपछि जगत भुल्दो रैछ मान्छे

२०७५ भदौ १६ गते शनिबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :