जनसांस्कृतिक महासङ्घको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासङ्घले भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्दप्रति ध्यानाकर्षण व्यक्त गरेको छ । उक्त महाङ्घका महासचिव खेम थपलियाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय सरकारद्वारा माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी पाँचजना सामाजिक कार्यकर्ताहरूलाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै अहिले घरमै नजरबन्द गरिएकोप्रति खेद व्यक्त गरेका छन् ।

महासचिव थपलियाले नजरबन्द गरिनुभएका अभियानकर्मी–मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी चिन्तक तथा कवि वरवर राव, वकिल अरुण फरेरा तथा वरिष्ठ पत्रकार गौतम नवलखाप्रति भएको भारतीय सरकारको रवैयाको घोर भत्र्सना गरेका छन् ।

 

साथै नेपालको वर्तमान केपी ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्यायी समिति सदस्य तथा पार्टी प्रवक्ता  प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू पद्म राई, शिलु,  जीवन्त,  गम्भीर, ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू किरण,  दिपेश,  सुमन, आजाद, असल, देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिएको आपत्ति जनाएका छन् ।

उनले नेपाल तथा भारतलगायत देशहरूका शासकद्वारा बन्दी बनाइनुभएका राजनीतिकर्मी, लेखक, पत्रकार, बुद्धिजीवी, एवम् सामाजिक अभियन्ताहरूलाई यथाशीघ्र रिहाई नगरे आन्दोलन गर्न बाध्य हुने विज्ञप्तिमार्फत् चेतावनी दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘भारतीय मोदी सरकारद्वारा लेखक तथा बुद्धिजीवी बरबर रावलगायतका बुद्धिजीवी, सामाजिक अभियानकर्मीहरूको गिरफ्तारी र अदालतको आदेशपश्चात् घरमै गरिएको नजरबन्दप्रति अखिल नेपाल जनसांस्कृतिक महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ । मोदी फासिवादले भारतका बहुचर्चित पाँचजना बुद्धिजीवीलाई यही अगस्त २८ गते हिरासतमा लिएको थियो । हरेक वर्ष हुँदै आएको महाराष्ट्रको भीमा कोरेगाउँमा आयोजना गरिएको कार्यक्रमले हिंसात्मक रूप लिएपछि दलित युवाहरूको हत्या र अल्पसङ्ख्यकका घर र पसलसमेत लुटिए । यो घटनामा भारतीय सरकारले माओवादीको घुसपैठको आरोप लगाउँदै लेखक, पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी पाँचजना सामाजिक कार्यकर्ताहरूलाई माओवादीसम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार गर्दै अहिले घरमै नजरबन्द गरिएकोप्रति हामी तीब्र खेद व्यक्त गर्दछौँ । साथै, केही समयअघि बङ्गलादेशमा भएको सरकारविरोधी आन्दोलनमा ऐक्यबद्धता जनाएबापत बङ्गलादेशी सरकारद्वारा बन्दी बनाइनुभएका लेखक साइदूल आलमको पनि हामी यथाशीघ्र रिहाइको माग गर्दछौँ ।
भारतीय सरकार अहिले पनि देशव्यापी छापा मार्ने तथा धरपकड गर्ने काम गरिरहेको छ । भारतीय सरकारले यसअघि नै विभिन्न मुद्दा लगाएर प्राध्यापक साइबाबा तथा संस्कृतिकर्मी हेम मिश्रालगायत चारजना आजीवन कारावासमा राखिरहेको सन्दर्भ पनि विशेष स्मरणीय छ । हामी नजरबन्द गरिनुभएका अभियानकर्मी–मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी चिन्तक तथा कवि वरवर राव, वकिल अरुण फरेरा तथा वरिष्ठ पत्रकार गौतम नवलखाप्रति भएको भारतीय सरकारको रवैयाको घोर भ्रत्र्सना गर्दै उहाँहरूको स–सम्मान एवम् यथाशीघ्र रिहाइको माग गर्दछौँ ।
साथै, नेपालको वर्तमान केपी ओली सरकारद्वारा नेपाल कम्युनिस्ट पार्टीका स्यायी समिति सदस्य तथा पार्टी प्रवक्ता कमरेड प्रकाण्ड, पोलिटब्युरो सदस्यहरू कमरेड पद्म राई, शिलु, कमरेड जीवन्त, कमरेड गम्भीर, कमरेड ओमप्रकाश पुन, केन्द्रीय सदस्यहरू कमरेड किरण, कमरेड दिपेश, कमरेड सुमन, कमरेड आजाद, कमरेड असल, कमरेड देवनाराण शाहलगायत सयौं राजनीतिकर्मीलाई विभिन्न झुट्टा मुद्दामा जेल तथा हिरासतमा राखिएको छ । कमरेड शिलु चर्चित नेता, गोरखा जेलब्रेककी कमान्डर तथा सशक्त लेखकसमेत हुनुहुन्छ ।
निःशस्त्र कलमजीवीहरूलाई घरमा नजरबन्द गरेर, तिनका किताबखाना तथा आफन्तहरूका घरमा छापा मारेर एवम् विभिन्न बहानामा जेल–हिरातमा राखिनु भारतीय क्षेत्रीय फासिवादको ज्वलन्त नमुना हो । नेपाल पनि आज गम्भीर राजनीतिक सङ्कटबाट गुज्रिरहेको छ । यस्तो अवस्थामा हाम्रो सङ्गठन नेपाल तथा भारतलगायत देशहरूका शासकद्वारा बन्दी बनाइनुभएका राजनीतिकर्मी, लेखक, पत्रकार, बुद्धिजीवी, एवम् सामाजिक अभियन्ताहरूलाई यथाशीघ्र रिहाइको माग गर्दछ । यो बेला आँखा खोलेर हेर्ने र कलम तिखार्ने बेला हो । तसर्थ, परिवर्तनकामी सबै लेखक, साहित्यकार तथा कलाकर्मीहरूलाई सबैखाले सामाजिक फासिवाद तथा क्षेत्रीय फासिवादका विरुद्ध आन्दोलित हुन पनि हामी यसै प्रेस विज्ञप्तिमार्फत आह्वान् गर्न चाहन्छौँ ।’
२०७५ भदौ १५ गते शुक्रबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :