भारत तथा नेपालका लेखक, पत्रकार तथा अधिकारकर्मीद्वारा बरबर रावलगायत बुद्धिजीवीको यथा शीघ्र रिहाइको माग

मोदी फासिवादले भारतका बहुचर्चित ५ जना बुद्धिजीवीलाई यही अगस्त २८ मा हिरासतमा लिएको छ । उक्त घटनाविरुद्ध नेपाल र भारतका बौद्धिकहरुसमेत आन्दोलित भएका छन् । भारतमा गिरफ्तार गरिएका अभियानकर्मीहरूमा मानवअधिकारकर्मी तथा वकिल सुधा भारद्वाज, सामाजिक अभियानकर्मी तथा लेखक वरनान गोन्जाल्विज, माक्र्सवादी विचारक तथा कवि बरबर राव, वकिल अरुण फरेरा र पत्रकार गौतम नवलखा छन् ।
भारतका बहुचर्चित बुद्धिजीवी लेखक पत्रकार बरबर राव, गौतम नवलखा, सुधा भारद्वाज, अरुण फरेरा, वरनान गोन्जाल्विजको धरपकडको विरोध तथा उनीहरूको रिहाइलाई लिएर नेपालका लेखक, पत्रकार तथा वामपन्थी बुद्धिजीवीहरूले पनि विभिन्न माध्यममार्फत आफ्ना भनाइ सार्वजनिक गरेका छन् । यसरी व्यक्त गर्नेमा आख्यानकार तथा समालोचक डा. ऋषिराज बराल, कवि तथा माक्र्सवादी चिन्तक रोशन जनकपुरी, पत्रकार नरेन्द्रजङ्ग पिटरलगायत ३०० जना माओवादीनजिकका लेखक÷पत्रकार छन् ।
पृष्ठभूमि
भारतमा दलित समुदायले सन् १८१८ को ऐतिहासिक घटनासित जोडेर हरेक वर्ष महाराष्ट्रको भिमा कोरेगाउँ भन्ने ठाउँमा विशेष कार्यक्रम गर्ने गरेका छन् । यसपल्ट पनि एल्गर परिषद्ले उक्त कार्यक्रम आयोजना गरेको थियो । तर हिन्दुवादी सङ्गठनले उक्त कार्यक्रम हुन नदिने र भएमा भाँड्ने भनेपछि घटनाले हिंसात्मक रूप लियो । दलित युवाहरूको हत्या भयो र अल्पसङ्ख्यकका घर र पसलहरू लुटिए । घटनाले निकै उग्र रूप लियो । सरकारले यसलाई माओवादीहरूको घुसपैठको आरोप पनि लगायो ।

यसै क्रममा यही जुनमा पत्रकार, मानवअधिकारवादी, वकिलसमेत गरी ५ जना सामाजिक कार्यकर्तालाई उक्त घटनासित सम्बद्ध अभियोग लगाएर सरकारले पक्राउ ग¥यो । यसमा पत्रकार तथा मानवअधिकारकर्मी रोना विल्सन पनि छन् । उनी आदिवासी क्षेत्रसित सम्बद्ध अध्येता पनि हुन् । सरकारले पक्राउका क्रममा महत्वपूर्ण कागजात हात पारेको र पक्राउ परेका एकजनाको ल्यापटपमा राजीव गान्धी शैलीमा मोदीको हत्या गर्न माओवादीले लेखेको चिठी फेलापरेको भनेर समाचार बाहिर ल्यायो । ५ जनालाई माओवादी सम्बद्ध ‘सहरी नक्सल’ भनेर प्रचार ग¥यो र त्यसैअनुसारको अभियोग लगायो ।

उक्त कलाहीन नाटकको परिपञ्चको बौद्धिक तथा मानवअधिकारवादी क्षेत्र साथै राजनीतिक वृत्तबाटसमेत व्यापक आलोचना र निन्दा भयो । जनताका सामु आफ्नो खस्कँदो स्थितिमाथि पर्दा हाल्न, जनतालाई आतङ्कमा राखेर सरकारका गलत क्रियाकलापबारे बोल्न नदिन र बोलेमा दमन गर्न गरिएको आयोजना भनेर यसको चौतर्फी निन्दा भयो । मोदी सरकारले विदेशी बहुराष्ट्रिय कम्पनीको स्वार्थमा यसो गरिरहेको छ र यसको सम्बन्ध आगामी चुनावसित पनि गाँसिएको छ भनेर पत्रपत्रिकाले समाचार बनाए । अरू त अरू काङ्ग्रे्रस आईले समेत मोदीको नाटकले लोकतन्त्रकै उपहास ग¥यो भनेर धारणा व्यक्त ग¥यो ।

अहिलेको धरपकड

पछिल्ला दिनमा मोदी फासिवादले सहर र गाउँ दुवै क्षेत्रमा राज्यआतङ्क तीव्र बनाएको छ । अप्रेसन ग्रिनहन्टको दोस्रो चरण भन्दै उसले ‘माओवादी सखाप अभियान’ चलायो र माओवादीलाई गाउँमा पालनपोषण गर्ने आदिवासी गाउँलेहरू हुन् भन्दै गाउँलेमाथि दमन गरेर सेल्टरविहीन बनाउने नाममा ग्रामीण क्षेत्रमा दमन तीव्र बनायो । गाडचिरोली र पत्थरगढीमा भएका पछिल्लो नरसंहार यसैको उदाहरण थियो । त्यहाँ भएका दमन र नरसंहारमाथि सहरी पत्रकार र बुद्धिजीवीहरू केही नबोलून् भनेर मोदी सरकारले अहिले सहरमा नयाँ शृङ्खला आरम्भ गरेको छ । यही अगस्त २८ का दिन भारतव्यापी भएको छापामारी तथा धरपकडको काम यसैको पछिल्लो शृङ्खला थियो । पहिले ‘मोदीको हत्याको जिम्मा सहरी नक्सलवादीलाई दिएको र अमूकअमूक बुद्धिजीवीले यसको जिम्मा लिएको’ भनिएको थियो भने अहिले मोदी, अमित साह र राजनाथको समेत नाम जोडेर माओवादीले तीनजनाको हत्याको योजना बनाएको र यसमा अमूकअमूकलाई जिम्मा दिएको भन्ने अर्को नाटक गरेको छ । जो बुद्धिजीवीले मोदीको शासनसत्ता र राज्यआतङ्कको आलोचना गरेका छन्, सरकारले ती सबैलाई ‘सहरी नक्सल’ र मोदीको हत्याको योजनाकार बनाएर जेल पठाउन खोजेको छ । पहिले नै प्राध्यापक साइबाबा तथा संस्कृतिककर्मी हेम मिश्रालगायत ४ जना आजीवन काराबासमा छन् ।
उनीहरूको गिरफ्तारीको देशभित्र मात्र नभएर विदेशमा पनि विरोध भएको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) देखि लिएर काङ्ग्र्रेस आईले समेत मोदी आतङ्कप्रति टिप्पणी गरेका छन् । इतिहासकार प्राध्यापक रामचन्द्र गुहा र लेखक तथा आदिवासी अध्येता अरुन्धती रायले वक्तव्य निकालेर गिरफ्तारीको सन्दर्भलाई इमर्जेन्सी लागू गरेको स्थिति भनेर भत्र्सना गरेका छन् र रिहाइको माग गरेका छन् ।

मानवअधिकारवादी थुप्रै सङ्गठनहरू, सार गिलानीको नेतृत्वमा रहेका राजबन्दी रिहाइसम्बन्धी कमिटी, ह्युमन राइट फोरम तथा मजदुर सङ्गठनले वक्तव्य प्रकाशित गरेर रिहाइको माग गरेका छन् । त्यसै गरी भारत तथा नेपालका बुद्धिजीवीहरूले हस्ताक्षर अभियान चलाएर पक्राउको विरोधका साथै रिहाइका लागि अभियान चलाएका छन् । यसक्रममा कवि मङ्गलेस डबरालसहित ३०० जनाले हस्ताक्षर गरिसकेका छन् । प्रसिद्ध इतिहासकार रोमिला थापरलगायत बुद्धिजीवीहरूले गिरफ्तार बुद्धिजीवीका पक्षमा सर्वोच्चमा रिट दायर गरेका छन् । स्रोत : http://janamel.com/

२०७५ भदौ १४ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :