शर्मिष्ठाको गुपचुप हत्या ! हत्यारालाई कारबाही गर्न परिवारको माग

जनकपुर : बलात्कारपछि हत्याका घटनाले मुलुकलाई नै तरङ्गित बनाइरहेको समयमा जनकपुरमा भएको यस्तै एउटा त्रासद् घटना भने सत्ताको दबाबले ओझेलमा मात्र होइन, गुमनाम नै बनाइएको छ । विगत ६ वर्षदेखि जनकपुरको ब्रह्मपुरीस्थित जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा स्टाफ नर्सका रूपमा कार्यरत शर्मिष्ठा सुवेदी बराल रामेछापको मन्थली १, सानीमदौ सिर्जनानगरमा ३७ वर्षअघि जन्मिएकी हुन् । केही महिनाअघि उनलाई जनकपुरधामस्थित पिडारीचोकको विक्की थापाको घरमा रहेको डेरामा मृत फेलापारिएको थियो । मृत्यु हुनुअघि उनलाई सोही मेडिकलमा एमबीबीएसमा अध्ययनरत मनीष यादवले हत्या गर्ने धम्कीसहितको म्यासेज पठाएका थिए भने घटनापछि शर्मिष्ठाका भाइ विजयले जनकपुर प्रहरीमा उनीविरुद्ध हत्याको किटानी जाहेरीसमेत दिएका छन् । तर २ नं. प्रदेशका मन्त्रीहरूको आफन्त भएकै कारण प्रशासनले अभियुक्तलाई पक्राउसमेत नगरेको आफन्तको दाबी छ ।

सिन्धुलीका शिक्षक आनन्द बरालसँग वैवाहिक सम्बन्ध रहेकी शर्मिष्ठालाई अभियुक्तले विषय बाहिर लगे मार्ने धम्की दिइरहने गरेको र मृत्यु हुनुभन्दा एक घन्टाअघिसम्म उनले आफूलाई जनकपुरमा बस्न गाह्रो भएकाले छिट्टै काठमाडौँ आउन लागेको छोरीलाई बताएकी थिइन् । यादवले घटनाको केही मिनेटअघि तिम्री आमा मर्दैछे भनेर छोरीलाई फोनबाटै सुनाएका थिए तर किटानी जाहेरीपछि उनी सम्पर्कमा नरहेकाले पक्राउ गर्न नसकिएको प्रशासनले जनाउने गरेको छ । प्रदेशका मन्त्रीहरूसँगको सम्बन्धकै कारण आरोपी यादवलाई प्रहरीले हालसम्म पक्राउ नगरेको शर्मिष्ठाका बाबु केशव सुवेदी, किटानी जाहेरी दिने भाइ विजय र विदुर तथा बहिनीहरू सुलोचना र सिर्जनाले बताउँदै आएका छन् । शर्मिष्ठाका देवर राजकुमार बरालले भाउजूको हत्यापछि यादव फरार रहेको भनिए पनि जनकपुरतिरै घुमिरहेका देखिएको तर प्रहरीले पक्राउ नगरेको बताएका छन् । उजुरी गर्नेहरूलाई पनि यादवले धम्क्याउँदै आएको पीडितहरूको भनाइ छ ।

एउटै संस्थामा काम गर्ने शर्मिष्ठा र यादवका बीच नजिकको सम्बन्ध रहेको र यादव बारम्बार उनको कोठामा आउनेजाने गरेको जनकपुरका दीपेन्द्र सिंहले लेखेका छन् । स्थानीय बासिन्दाले भने आरोपीले कर्तव्य गरी शर्मिष्ठाको हत्या गरेको बताएका छन् । देशभर महिलाको बलात्कारपछि हत्याका एउटै प्रकृतिका जघन्य घटना भइरहेका छन् । पीडितहरू आन्दोलनमै उत्रिए सम्बोधन हुने र हारगुहार मात्र गर्नेले न्याय पाउन नसकेको शर्मिष्ठाका वृद्ध र रोगी बाबु केशव बताउँछन् । छोरीका हत्यारालाई कारबाही नगरिए गृह मन्त्रालयमै अनशन बस्ने उनले बताए ।

२०७५ भदौ १३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :