केन्द्र र गाउँको दूरी : रसुवाली कवि

भकारो मिल्काएको हात बोकेर
जीवनका खुसीहरूलाई
आधा बोकेर, आधा छोडेर
हिमालको मुस्कानलाई छोडेर
आमाको आँखा तोडेर
म केन्द्र धाइरहेको छु

रुने आँखाहरू उतै छन्
रमाइला लाग्ने पाखाहरू उतै छन्
ऐँसेलु, अम्बा र कटुसका बोटहरू उतै छन्
धरहराभन्दा अग्ला रूखहरू उतै छन्
चक्रपथको जामभन्दा नि अल्छीलाग्दो
दुःख पनि उतै छ
छ भने एक थान देशभक्ति उतै छ
टर्च बालेर आउने दाइहरूलाई सम्झिरहेछु
छ भने एक थान सपना उतै छ
मैलो न मैलो सर्ट लगाएर
एकदम सुकिलो विचार बोकेर
झोलामा गुन्द्रुक बोकेर
म केन्द्र धाइरहेछु

यहाँ पाउरोटी पनि पाइन्छ
दाल पनि पाइन्छ
मलाई बहुत रहर छ
दलमा पाउरोटी चोपेर खान
सबैसबै चाहनाहरू उतै थन्क्याएर
बोकेर आएको छु एक थान विद्रोह
म यो मूर्धन्य
केन्द्र धाइरहेछु
२०७५ भदौ १३ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!