सरकारसँग वार्ताको कुनै गुन्जायस छैन : विप्लव

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव

अम्बिका चन्द / काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सरकारले वार्ताका लागि गरेको आह्वान लेपन लगाएको विषको चक्की मात्र भएको बताएका छन् । शुक्रबार वार्ता आह्वान गरेको सरकारले मङ्गलबार बिहान नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई गिरफ्तार गरेपछि मङ्गलबार साँझ प्रेसविज्ञप्ति जारी गर्दै विप्लवले यस्तो प्रतिक्रिया दिएका हुन् । साथै विप्लवले सामाजिक फासिवादी सरकारका यिनै षड्यन्त्र, हर्कत र रबैयाका बीचमा वार्ताको कुनै गुन्जायस नभएको कुरा विज्ञप्तिमार्फत स्पष्ट गरेका छन् । विज्ञप्तिमा विप्लवले मानवअधिकारवादी, सञ्चारकर्मी, कानुन व्यवसायी तथा अन्य राजनीतिक दलहरूलाई सरकारको यस्तो रबैयाको भण्डाफोर गर्दै न्यायका पक्षमा उभिन आह्वानसमेत गरेका छन् ।

नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’

नेकपाका नेता–कार्यकर्तामाथि सरकारले शृङ्खलाबद्ध रूपमा दमन, गिरफतारी बढाउँदै लगेपछि आक्रोशपूर्ण प्रतिक्रिया व्यक्त गर्दै महासचिव विप्लवले केपी र पीकेको गठबन्धनमा बनेको,वाम खोल ओढेको सामाजिक फासिवादी सरकारले आफ्नो पार्टीमाथि दिनानुदिन षड्यन्त्र, दमन र गिरफ्तारीको शृङ्खला चलाइरहेको बताएका छन् । विप्लवले संविधान प्रदत्त अधिकारभित्रको शान्तिपूर्ण कार्यक्रममा पूर्ण रूपले प्रतिबन्ध लगाएको भन्दै दिनदिनै आफ्नो पार्टीका नेता र कार्यकर्ताहरूलाई गिरफ्तार गरी बेपत्ता पार्ने काम गरिरहेको बताएका छन् । उनले विज्ञप्तिमा सर्वोच्च अदालतको आदेशलाई पनि लत्याउँदै विभिन्न झूट्टा मुद्दामा फसाई छानबिनका नाममा हिरासतमा राखिएका आफ्नो पार्टीका प्रवक्ता प्रकाण्ड, पीबीएम, सीसीएमलगायत सबै बन्दीहरूलाई तुरुन्त रिहा गर्न पनि सरकारसँग जोडदार माग गरेका छन् ।

आफ्नो पार्टीका नेता–कार्यकर्ताहरूलाई बिनाकारण सरकारले गिरफ्तार गरी यातना दिने कार्य गरेर आफूलाई अनावश्यक उत्तेजनामा ल्याउन खोजिरहेको भन्दै विप्लवले सरकारी हर्कतले आफूलाई उत्तेजित पार्ने नभई यसले आमजनतामा दिनप्रतिदिन यो सरकार नाङ्गिँदै गएको स्पष्ट हुने बताएका छन् । सरकारका गतिविधिले स्वाभाविक रूपमा आफ्नो पार्टी आक्रोशित भएको र क्रान्तिलाई केन्द्रबिन्दुमा राखी वैज्ञानिक समाजवाद स्थापनाको उदेश्यमा दृढ रहेको बताएका छन् । साथै गिरफ्तारी, यातना र दमनले क्रान्ति नरोकिने, बरु त्यसले अझ उर्वर बनाउने उनको भनाइ छ ।
अहिले उक्त पार्टीका स्थायी समिति सदस्य प्रकाण्डलगायत पोलिटब्युरो सदस्यहरू पदमबहादुर राई, ओमप्रकाश पुन, कृष्ण धमला र मोहन कार्की, केन्द्रीय सदस्य तथा नेकपाका कोसी ब्युरो इन्चार्ज किरण राई, सगरमाथा ब्युरो इन्चार्ज दिपेश राई, देवनारायण शाह र टेकबहादुर केसी प्रहरी हिरासतमा छन् । मङ्गलबार बिहान मात्र नेकपाकी पोलिटब्युरो सदस्य उमा भुजेल ‘शिलु’ लाई प्रहरीले काठमाडौँ बनस्थलीमा रहेको उनकै डेराबाट गिरफ्तार गरेको छ । सादा पोसाकमा रहेको नेपाल प्रहरीको सीआईबीको टोलीले भुजेललाई गिरफ्तार गरेको उनको परिवारले जनाएको छ ।


२०७५ भदौ १२ गते मंगलबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :