लुम्बिनीमा नेकपाको अभियान तीव्र


काठमाडौं : नेकपाले भदौ १ गतेदेखि सुरु गरेको ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ लुम्बिनीमा सानदार रूपले सफल हुँदै गएको अभियानकर्मीले बताएका छन् ।नेकपाका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले जनसमुदायका बीच भदौ १ गते भव्य रूपमा गर्नुभएको उद्घाटनमा अभियानका २८ समूह सहभागी थिए । ६ केन्द्रीय र २४ ब्युरो स्तरीय टोलीले जनताको घरदैलोमा पुगेर सङ्गठन निर्माण, जनभेला, पिँडीभेला, घरदैलो, जनसेवा, दलाल संसदीय व्यवस्थाको भण्डाफोर र एकीकृत जनक्रान्ति तथा वैज्ञानिक समाजवादका पक्षमा प्रशिक्षण सञ्चालन गरिरहेको जानकारी केन्द्रीय समूहको एक टोलीका कमान्डरसमेत रहेका अखिल क्रान्तिकारीका निवर्तमान अध्यक्ष पूर्णबहादुर सिंहले इरातो खबरलाई दिए । अभियान उद्घाटन गर्दै पार्टी पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज वीरजङ्गले दलाल संसद्वादको अन्त्य भएर छिट्टै वैज्ञानिक समाजवाद स्थापना हुने बताएका थिए । विजयले सञ्चालन र विश्वासले स्वागत गरेको उक्त अभियानका टोलीहरू ब्युरोभरि नै क्रियाशील रहेको र जनताले दलाल संसदीय व्यवस्थाको विकल्पमा हृदयदेखि नै वैज्ञानिक समाजवाद अवलम्बन गर्ने प्रतिक्रिया व्यक्त गरेको अभियानका कमान्डरहरूले बताएका छन् । जनताले दलाल संसद्वादका मतियार रहेको केपी वली–पुष्पकमल दाहाल गठबन्धन सरकार मात्र नभएर यो व्यवस्था नै छिट्टै धराशयी हुने र एकीकृत जनक्रान्तिको सफलतासँगै वैज्ञानिक समाजवाद स्थापना हुने विश्वास व्यक्त गरेको प्रतिक्रिया अभियानका कमान्डरहरूले दिएका छन् । नेकपाको चारमहिने यो अभियान देशका चारवटै कमाण्ड भरि नै चलिरहेको नेकपाले जनाएको छ ।

२०७५ भदौं ७ गते बिहीबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :