देशव्यापी अभियानमा होमियो नेकपा

अम्बिका चन्द / काठमाडौँ : चारमहिने एकीकृत जनजागरण अभियान सञ्चालन गरेको नेपाल कम्युनिस्ट पार्टीले फेरि पनि देशव्यापी ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ सञ्चालन गरेको छ । नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको बैठकको निर्णयअनुसार भदौ १ गते शुक्रबार यो अभियानको उद्घाटन गरिएको छ । नेकपाका एक केन्द्रीय नेताका अनुसार आगामी चार महिनासम्म देशव्यापी सञ्चालन हुने उक्त अभियान जनजीविका, राष्ट्रियता र जनाधार निर्माणका विषयमा केन्द्रित हुनेछ । इतिहासमा राष्ट्रियता सर्वाधिक कमजोर बनेको निष्कर्षसहित जनतालाई जागरुक बनाउन जनजीविका र राष्ट्रियताको मुद्दा आमजनतामा लैजाने उक्त अभियानको उद्देश्य रहनेछ ।

अभियान अवधिमा पार्टीको आन्तरिक पङ्क्तिलाई सुदृढ गर्नका लागि सङ्गठन निर्माण तथा विस्तार गरिनेछ । अभियानमा नेकपाका सबै तहका नेता–कार्यकर्ता जनतासँग गएर जनसेवाका काम पनि गर्नेछन् । यस्तै उनीहरूले आफ्नो पार्टीको कार्यनीतिक कार्यक्रम एकीकृत जनक्रान्ति र रणनीतिक कार्यक्रम वैज्ञानिक समाजवादका बारेमा पार्टीपङ्क्तिलाई प्रशिक्षित गर्नेछन् भने जनतालाई पनि आफ्नो कार्यक्रमबारे बुझाउन कोसिस गर्नेछन् । नेकपाका नेताहरू भन्छन्, ‘जनताका जनजीविकाका सवालहरूका बारेमा छलफल र बहस गर्न, पार्टीको जनाधार निर्माण गर्न र राष्ट्रियताप्रति जनतालाई जागरुक बनाउन विचारधारात्मक र राजनीतिक रूपले नेता, कार्यकर्ता र जनतालाई जोड्न, सङ्घर्षलाई नयाँ उचाइमा पु¥याउन र वैज्ञानिक समाजवादी अर्थतन्त्रको विकास गर्न नेकपाले सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।’

उक्त अभियानका क्रममा जनश्रम र जनसेवाका कामहरू पनि हुनेछन् । यो अवधिमा जनसत्ता गठन तथा विस्तार अभियान पनि अघि बढ्नेछ । यस्तै देशका विभिन्न ठाउँमा विकास निर्माणका नमुना कामहरू पनि सम्पन्न हुनेछन् । पार्टीमा पूर्णकालीन भएर काम गर्ने र परिवारलाई पनि पार्टी काममा लगाउने नेता, कार्यकर्ता, आर्थिक आय कमजोर भएका तथा आवासको व्यवस्था नभएकाहरूलाई आवासको बन्दोबस्त गर्ने कार्यक्रम नेकपाले अघि सारेको छ । यसअघि नै उक्त पार्टीले सल्लाहकार समितिका सचिव चित्रबहादुर आलेको आवास निर्माण गरेर यसको सुरुआत गरेको छ ।

नेकपाका चारवटै कमान्डमा अभियान उद्घाटनका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । मध्यकेन्द्रीय कमान्डमा पर्ने उपत्यकामा भव्य रूपमा अभियान उद्घाटन गरिएको नेकपाको उपत्यका ब्युरोले जनाएको छ भने पश्चिम कमान्डको उद्घाटन कार्यक्रम पोखरामा सम्पन्न भएको छ । पोखरामा सम्पन्न कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य विषमले आफ्नो पार्टीको कार्यदिशा जनतालाई बुझाउन र पार्टी सङ्गठन साँच्चै सुदृढ गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको बताए । यस्तै सुदूरपश्चिमको कञ्चनपुरमा पनि अभियानको उद्घाटन एक समारोहका बीच गरिएको छ । यस्तै पूर्वी कमान्डमा पनि अभियानको उद्घाटन भव्य रूपमा गरिएको छ । अभियानमा सहभागी केन्द्रीय नेताहरूसमेत जनताका घरआँगनमा सङ्गठन निर्माणका लागि जानेछन् ।

पूर्वी कमान्डमा अभियानको भव्य उद्घाटन

नेपाल कम्युनिस्ट पार्टीको पूर्वी कमान्डले ‘सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान’ को उद्घाटन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । भदौ १ गते शुक्रबार उक्त कमान्डअन्तर्गत पर्ने सिन्धुलीको हरिहरपुरगढी नगरपालिका २ झनझनेमा कार्यक्रम गरी अभियान उद्घाटन गरिएको छ । १ र २ नं. अभियान टिमको उक्त कार्यक्रम नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा केन्द्रीय सदस्य हितमान पनि उपस्थित थिए ।

.कार्यक्रम सञ्चालन तीर्थ राईले गरेका थिए भने अध्यक्षता कुमारले र हरिकृष्णले स्वागत भाषण गरेका थिए । उक्त अभियानको उद्घाटन कार्यक्रममा प्रहरीले हस्तक्षेप गर्न खोजे पनि ठूलो सङ्ख्यामा नेकपाका कार्यकर्ता र जनताको उपस्थितिले गर्दा प्रहरीले हस्तक्षेप गर्न नसकेको नेकपाको पूर्वी कमान्ड कार्यालयले जनाएको छ । नेकपाका केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेलले हँसियाहथौडा अङ्कित झन्डा केन्द्रीय सदस्य हितमानलाई दिएर अभियान उद्घाटन गरेका थिए ।

यस्तै ३ र ४ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम सप्तरीको सिसबारमा सम्पन्न गरेको छ । कार्यक्रम नेकपाका केन्द्रीय सदस्य निर्मलको प्रमुख आतिथ्यमा शशि राईको अध्यक्षता र प्रतीकको सञ्चालनमा सम्पन्न भएको हो । यसैगरी ६ नं. टोलीले अभियानको उद्घाटन कार्यक्रम मोरङको लेटाङमा सम्पन्न गरेको छ ।

यसैगरी ६ नं. टोलीले अभियान उद्घाटन कार्यक्रम मोरङको लेटाङमा सम्पन्न गरेको छ । नेकपाका नेता पुष्करको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको अध्यक्षता सङ्गीनले गरेका थिए भने सञ्चालन जोखिम र स्वागतभाषण प्रज्वलले गरेका थिए । यसैबीच नेकपाको पूर्वी कमान्डले अभियान सञ्चालनका लागि दिशानिर्देश गर्ने उद्देश्यले २५ बुँदे ‘अभियान निर्देशिका २०७५ जारी गरेको छ ।’
२०७५ भदौ ६ गते बुधबार प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :