भारतमा बिमिस्टेकको संयुक्त सैन्य अभ्यास , तनावपूर्ण दक्षिणएसिया

काठमाडाैँ : गतसाता अमेरिकाले आफ्नो छैटौँ सेना गठन गरेको कुरा सार्वजनिक गरेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्टागनमा गएर त्यहाँका अफिसर्सलाई अन्तरिक्ष बल तयार पार्नका लागि निर्देशन नै गरेका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तरिक्षमा अमेरिकालाई सुरक्षित राख्नका लागि भन्दै अन्तरिक्ष बल स्पेस फोर्स बनाउने घोषणा गत सोमबार गरेका थिए ।

गत सोमबार अमेरिकी सेनाको छैटौँ शाखाका रूपमा अन्तरिक्षमा शक्ति सिर्जना गर्नका लागि डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको बताइएको छ । अमेरिकी सेनाका संयुक्त चिफ स्टाफका अध्यक्ष मारिन जेन.जोसेफ डमफर्डले ‘अन्तरिक्षमा युद्ध तयारी गर्ने र अन्तरिक्षमा रहेका अमेरिकी उपग्रहहरूलाई हानि हुनबाट बचाउने’ उद्देश्य रहेको बताएका छन् । डोनाल्ड ट्रम्पले पेन्टागनका सैन्य अधिकृतहरूलाई सङ्क्षिप्त निर्देशन दिँदै ‘हामीसँग हवाई सेना छ । हामी अलग्गै तर समान अन्तरिक्ष शक्ति निर्माण गर्न चाहन्छौँ’ भनेका थिए ।

केही समयअघि मात्र ट्रम्पले ‘चीनले अमेरिकाविरुद्ध युद्धको तयारी गरिरहेको’ भनी सार्वजनिक रूपमा नै बोलेका थिए । सिङ्गापुरमा ट्रम्प र जनवादी गणतन्त्र कोरियाका राष्ट्रपति किम जोङ उनका बीचमा भएको शिखर वार्तामा भएका सहमति कार्यान्वयन हुनुको साटो उल्लङ्घन हुँदै गएको आरोप अमेरिकाले लगाइराखेको छ । उसको आरोप छ, ‘उत्तरकोरियाले भित्रभित्रै आणविक भट्टीहरू सञ्चालन गरिराखेको छ ।’ यसरी एसियाली क्षेत्रमा अमेरिकी हैकम कम हुँदै र पूर्वी र दक्षिणएसियामा उसको पकड घट्दै गएको छ । कुनै समयमा अमेरिकाको कठपुतली बनेको पाकिस्तान अहिले अमेरिकालाई चटक्कै छाडेर चिनियाँ खेमामा पुगेको छ । आणविक शक्ति रहेको पाकिस्तान चिनियाँ खेमामा पुगेपछि भारतीय टाउकोदुखाइ त थियो नै साथै अमेरिकाको पनि सर्वाधिक चासो बन्न पुगेको छ ।

यही परिवेशमा अमेरिकाको विशेष योजना र भारतको पहलकदमीमा दक्षिण र दक्षिणपूर्व एसियाका बिमिस्टेकमा संलग्न देशहरूले सैन्य संयुक्त सैन्य अभ्यास गर्दैछन् । यही भदौ २५ गतेदेखि ३१ गतेसम्म भारतको महाराष्ट्रस्थित पुणेमा नेपाल, भारत, भुटान, बङ्गलादेश, थाइल्यान्ड, म्यान्मार र श्रीलङ्काका सेनाहरूका बीचमा सैन्य अभ्यास हुँदैछ । यो संयुक्त सैन्य तालिमलाई भारतीय पदाधिकारीहरूले बिमिस्टेकबाट पाकिस्तानलाई अलग्याउने र चीनलाई तर्साउन यसो गरिएको जनाएका छन् ।

विगत केही वर्षदेखि दक्षिणएसियाली क्षेत्रीय सहयोग सङ्गठन—सार्कलाई दक्षिणएसियाको राजनीतिबाट पाकिस्तानलाई पूर्ण रूपले अलग्याउने भारतको रणनीतिअनुसार नै बिमिस्टेकलाई सक्रिय पार्ने र दक्षिणएसियामा भारतीय सेनाको कमान्डमा रहने गरी बाँकी देशका सेनाको परिचालन गर्ने नीति बनाएको देखिएको छ ।

पछिल्लो क्रममा यसरी बढेर गएको सैन्य गतिविधि, आर्थिक सङ्कट, व्यापारयुद्ध र दक्षिणएसियामा रहेको जनसङ्ख्या, भूगोल र राजनीतिमा त्यसले पार्न थालेको प्रभाव असन्तुलित बन्दै गएको छ । औपचारिक रूपमा सहज, सरल र सामञ्जस्य देखिए पनि वास्तविक रूपमा दक्षिणएसियामा तनाव उत्पन्न भएको छ । यो तनाव दिनदिनैजसो बढेको छ र सजिलै तनाव कम हुने पनि देखिँदैन ।
२०७५ भदौ ६ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :