क्रान्तिका वस्तुगत आधारहरू : हरिबहादुर चन्द ‘अविरल’

 

समय गतिशील छ । सायद त्यसैको प्रभाव होला आजको बदलिँदो विश्वपरिवेश र यसले विज्ञान र प्रविधिमा गरेको अभूतपूर्व विकास । आदिम साम्यवादी व्यवस्थावाट अगाडि बढेको मानवसमाज दासयुग, सामन्तवादी युग हुँदै पुँजीवादी युगमा प्रवेश त ग¥यो तर ५औँ शताब्दीमा रोमन साम्राज्यको पतन र भारतीय उपमहाद्वीपमा गुप्त साम्राज्यको उदयसँगै सामन्तवादलाई पुँजीवादले प्रतिस्थापन ग¥यो भनिए पनि आजको विश्वपरिवेश र विशेषतः तेस्रो विश्वका देशहरूलाई नियाल्दा नपुँजीवाद प्रगतिशील पुँजीवाद (जनवाद) तिर अगाडि बढ्यो, न त सामन्तवादकोसमूल नष्ट नै भयो । हुन त २०औँ शताब्दीको सुरुआततिर सन् १८७१ को पेरिस कम्युनको विजय र सन् १९१७ को अक्टोबर क्रान्तिको अभूतपूर्व विजयले विश्वलाई समाजवादी व्यवस्थाका लागि अगुवाइ त ग¥यो तर त्यसले निरन्तरता भने पाउन सकेन । त्यसैले आजको विश्व सामन्तवादी अवशेषसहितको पुँजीवाद र प्रगतिशील पुँजीवाद (जनवाद) हुँदै समाजवादबीचको चरम सङ्घर्षबाट अगाडि बढिरहेको छ । सायद यो सङ्घर्षमा समाजवाद नै विजय भएर अगाडि बढ्नेछ । किनकिपुँजीवादी व्यवस्था सङ्कटग्रस्त अवस्थामा छ । अझ भनौँ आज विश्वमा जेजति सङ्कटहरू पैदा भएका छन् ती सबै पुँजीवादका कारण भएका छन् । त्यसैले आजको विश्वपरिवेश समाजवादी दिशातिर अगाडि बढ्ने वा पुँजीवादलाई नै संरक्षण गरेर अगाडि बढ्ने भन्ने अन्तरद्वन्द्वमा रुमल्लिरहँदा नेपालमा भने एकीकृत जनक्रान्तिमार्पmत वैज्ञानिक समाजवादमा जान सकिन्छ भनेर नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा क्रान्ति अगाडि बढिरहेको छ ।

पछिल्लोपटक सन् १९४९ मा चीनमा क. माओले जनवादी क्रान्ति सम्पन्न गरेपछि संसारमा कहीँ पनि जनवादी क्रान्तिहरू सम्पन्न भएका छैनन् । यद्यपि पेरू, नेपाललगायत केही देशमा तीव्ररूपमा क्रान्ति अगाडि बढे पनि त्यसले पूर्ण सफलता नपाउँदै प्रतिक्रान्ति हावी भयो । त्यसपछिविश्वका कम्युनिस्टहरूलाई एक जबरजस्त प्रश्नले घेरा हालेर राख्यो, त्यो के हो भने क्रान्तिमा जनतालाई सङ्गठित गर्न नसक्नु, सङ्गठित गरेपनि लड्न नसक्नु, लड्न सकेपनि जित्न नसक्नु, जित्न सकेपनि चलाउन नसक्नु र चलाउन खोजे पनि टिकाउन नसक्नुको कारण के हो ?यी समस्याहरूबाट के कुरा स्पष्ट हुन्छ भने विश्वकम्युनिस्ट आन्दोलनमा नयाँ बहसको आवश्यकता छ जुन आन्दोलनले नयाँ शिराबाट आपूmलाई विजयी गराओस् ।

आजको विश्व क. माक्र्स र एङ्गेल्सको पालाको जस्तो अवश्य छैन । आजको वस्तुगत अवस्थाअनुसार हामीले क्रान्तिको कार्यदिशा तयार पा¥यौँ भने मात्र आन्दोलन वा क्रान्तिले सफलता पाउन सक्छ । त्यसैले हाम्रो पार्टी ने.क.पा. को ८औँ महाधिवेशनले माक्र्सवादका केही नीतिगत र दार्शनिक सवालमा नै विकास गरेको छ । १८४८ मा क. माक्र्सले भनेका थिए, संसार बुझ्ने र बदल्ने कुरा नै प्रमुख हो । तर आजको परिवेशमा आउँदा यतिले मात्र पुग्दैन । त्यसैले हाम्रो पार्टीले भनेको छ– संसार बुझ्ने र बदल्नेसँगै त्यसको रक्षा गर्न जरुरी छ र रक्षा गरेको चीज समयअनुसार विकास गर्न जरुरी छ । यो नै आजको माक्र्सवाद हो । दोस्रो कुरा अन्तरसङ्घर्ष पार्टीको जीवन हो भनेर त हामी सबैले पढेकै थियौँ तर नेपाललगायत विश्वकम्युनिस्ट आन्दोलनमा अन्तरसङ्घर्षले पार्टीलाई जीवन दिनेभन्दा समाप्त गर्ने काम मात्र ग¥यो । तसर्थ हाम्रो पार्टीले यो सवालमा के भन्यो भने सजातीय अन्तरसङ्घर्षले मात्र पार्टी र क्रान्तिलाई जीवन्तता दिन्छ तर विजातीय अन्तरसङ्घर्षले पार्टी र क्रान्तिको जीवन समाप्त गर्छ । आजको नेपालको अवस्था नलेनिनकालीन रुसजस्तो छ, न त माओकालीन चीनजस्तो छ । त्यसैले यहाँ गर्ने क्रान्तिको मोडेल पनि नयाँ हुन जरुरी छ । अझ भनाँै आजको निगम पुँजीवाद, त्यसको भूमण्डलीय स्वरूप, सूचनाप्रविधिको विकास, प्रतिस्पर्धात्मक राजनीति, नगर समाजको विकासजस्ता थुप्रै कारणले आजको विश्व विकसित र भिन्न छ । त्यसैले यो परिस्थितिमा नेपालमा गर्ने क्रान्तिको मोडेल भनेको एकीकृत जनक्रान्ति हुन्छ । यस्का आफ्नै विशेषताहरू छन् जो आजको भूमण्डलीकृत विश्वराजनीति र नेपालमा विकास भैरेहको राजनीतिक एवम् आर्थिक उत्पादन समन्वयले गर्दा पैदा हुन पुगेका छन्् । तिनलाई हामीले गहिरो गरी नबुुझेसम्म र आत्मसात नगरेसम्म नेपालको क्रान्तिलाई पार लगाउन सकिँदैन । सानो र भूपरिवेष्ठित अवस्था, गाउँ र सहरको निकट सम्बन्ध, मध्यमवर्गको विकास, जाति, जनजाति र दलित जातिको बसोबास, दलाल पुँजीवादको प्रभुत्व, देशभक्त शक्तिको प्रभाव र प्रविधिमा भएको तीव्र विकाससहितका विशेषतालाई हामीले एकीकृत जनक्रान्तिका मौलिक विशेषता भनेका छौँ । यिनै विशेषतासहितको एकीकृत जनक्रान्तिले नेपालमा चिहानघाटमा पुगेको कम्युनिस्ट आन्दोलनलाई कङ्काल हुनबाट बचाएको मात्र छैन, समयसापेक्ष हिसाबले आफ्नो गतिमा तीव्रता प्रदान गरिरहेको छ । सायद नेपालको प्रगति,समृद्धि र राष्ट्रिय स्वाधीनताकालागि एकीकृत जनक्रान्तिबाट हुने क्रान्ति नै कोसेढुङ्गा साबित हुनेछ ।

नेपालमा पटकपटक क्रान्तिमा धोका र बेइमानी हुँदै प्रतिक्रान्ति भएका छन । राज्य दलाल पुँजीपतिहरूको कब्जामा छ । भारतीय साम्राज्यवादको हस्तक्षेप नाङ्गो रूपमा बढ्दैछ । नेपालीश्रमिक जनतादिन प्रतिदिन आक्रोशित बन्दै गइरहेका छन् । यो परिस्थितिमा नेपालमा क्रान्ति गर्ने आधारहरू के हुन् त ? तिनीहरूबारे केही चर्चा गर्न आवश्यक छ जुन निम्नअनुसार छन् ः
१. संसद्वादीहरूको देश र जनताप्रति गम्भीर जिम्मेवारीबोध नहुुनु

आज नेपालमा जेजति सङ्कटहरू छन् त्यसको मूल जड भनेको राजनीति हो । यो राजनीति यति विकृत भैसकेको छ, जनताहरू राजनीति गर्न त के सुन्न पनि चाहन्नन् । नेपालमा प्रजातन्त्र आएको पनि २९ वर्ष भैसकेछ तर यो प्रजातन्त्रले जनताकालागि शासन गर्नुको सट्टा आफ्ना निकटवर्तीहरूलाई भरणपोषण गर्ने काम मात्र ग¥यो । त्यसैले जनताहरू यो संसदीय प्रजातन्त्रबाट वाक्कदिक्क भैसकेका छन् । संसदीय व्यवस्था मान्ने कुनै पनि दलहरूजनताका न्यूनतम आवश्यकताबारे अनभिज्ञ छन् । उनीहरू देशका सिमानाहरू मिचिँदा भनौँवा देश र जनताको स्वाभिमान गुम्दा पनि चुप लागेर बस्छन् । जनताले पढ्न पाए कि पाएनन्, उनीहरूको स्वास्थ्य अवस्था के छ, रोजगारीको अवस्था के छ, उनीहरूको जीवन भोगाइमा दुःखकष्टहरू केके छन्, यीर यस्ता सवालमा संसद्वादीहरू बेखबर हुन्छन् । उनीहरू त केवल जनतालाई सत्तामा जाने भ¥याङकारूपमाप्रयोग गर्छन् । यसले गर्दा विद्यमान संसद्वादी राजनीतिक दलहरू र बहुसङ्ख्यक जनताबीच तीव्र अन्तरविरोध चुलिँदैछ जुन नेपालको वस्तुगत परिदृश्य हो । हामीले यो मनोविज्ञानलाई सही तरिकाले सदुपयोग गर्न सक्यौँ भने क्रान्तिका लागि जनलहर बढ्नेमा कुनै शङ्का छैन ।

२. संसद्वादी दलहरूमा स्पष्ट दृष्टिकोणको अभाव

नीतिहरूको पनि नीति हो राजनीति । देशलाई कतातिर डो¥याउने भन्ने कुरा राजनीतिले निर्धारण गर्दछ । तर नेपालका संसद्वादी दलहरूसँग स्पष्ट दृष्टिकोण नै छैन– कस्तो राजनीति गर्ने ? कसका लागि गर्ने हो अनि कहाँसम्म पुग्ने हो । भन्दाखेरि ठूलठूला नारा दिएर विकास, समृद्धि, सुशासन भनेर फलाक्छन् तर व्यवहारमा शून्य उपलब्धि हुन्छ । नेपाल अपार सम्भावना भएको देश हो । त्यसैले यी सम्भावनाहरूको सही लेखाजोखा राख्ने राजनीतिक पार्टी र नेताको आवश्यकता छ । नेपाल कृषिप्रधान देश भएकाले कृषिमा अल्पकालीन हिसाबले के गर्ने, दीर्घकालीन हिसाबले के गर्ने ? कसैसँग कुनै योजना छैन । दिन प्रतिदिन नेपालीहरूको टाउकोमा ऋणको थुप्रो बढ्दैछ तर यसको हल गर्ने कुरा वा हाम्रो राष्ट्रिय अर्थतन्त्र बलियो बनाउने कुरा, प्रत्येक वर्ष उत्पादित श्रमशक्तिलाई नेपालमै खपत गर्न उद्योग,कलकारखाना खोल्ने कुरा र नेपालको पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रसँग जोड्ने कुरामा कुनै पनि दलसँग स्पष्ट दृष्टिकोण छैन । त्यसैले उनीहरूमध्ये जुनसुकै दल पनि सत्तामा जाँदा खासै उपलब्धि भएको देखिँदैनजसले गर्दा गरिब र सुकुमबासीहरूको सङ्ख्या दिन प्रतिदिन बढ्दैछजुन यथार्थ धरातल एकीकृत जनक्रान्तिका लागि वस्तुगत आधार बन्न सक्छ ।

३. राजनीतिक दलहरूमा चरम सत्तालिप्सा

राजनीति गर्ने दलहरू स्वाभाविक रूपमा सत्तामा जान चाहन्छन् किनकि उनीहरूले आफ्नो पार्टीको विचार, दर्शन र राजनीतिबाट देश र जनताको सेवा गर्न सकून् तर नेपाल मात्र त्यस्तो देश हो जहाँ सत्तामा पुग्नका लागि सारा हथकण्डा अपनाइन्छ । २०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि करिब २९ वर्षमा कतिवटा सरकार बने भन्ने कुराले के स्पष्ट गर्छ भने नेपालमा राजनीतिक दलहरू कति सत्ताभोगी रहेछन् । कतिसम्म भने कुनै पार्टीको कुनै पात्रलाई सरकारमा जान मन लाग्यो भने ऊ पार्टी फुटाएर भएपनिसरकारमा जान्छ । सरकारमा जानका लागि नेपालका संसद्वादी दलहरूलाई कनै मूल्य, मान्यता र आदर्श चाहिँदैन । यो परिदृश्य नेपाली जनताले विगत २९ वर्षयता लगातार हेर्दै आएका छन् । त्यसैले जनतायी दलहरूप्रति विरक्तिएर नयाँ दल र परिवेशको अपेक्षा गरिरहेका छन् । त्यो आकाङ्क्षा २०६४ सालमा तत्कालीन ने.क.पा.(माओवादी) लाई अत्यधिक मत दिएर जिताएपनि हुन सकेन । जनताको त्यो इच्छा र आकाङ्क्षालाई हामीले क्रान्तिमा जोड्ने कुरा नै वैज्ञानिक र वस्तुवादी हुन जान्छ । त्यसैले चरम सत्तालिप्साको राजनीति नेपाली क्रान्तिका लागि एक वस्तुगत आधार हुन सक्छ ।

४. राज्यसत्ताका उपरिसंरचनामा संस्थागत भ्रष्टाचार मौलाउनु

नेपालका धेरै नेताहरू सरकारमा जानुपूर्व भन्छन्– भ्रष्टाचारलाई कडाइपूर्वक नियन्त्रण गरिन्छ । तर पछि तिनै नेताहरू भ्रष्टाचारीहरूलाई संरक्षण दिन्छन् । मूलतः भ्रष्टाचार दुईवटा प्रकृतिका हुन्छन् ः एक आर्थिक र अर्को नीतिगत भ्रष्टाचार । नीतिगत भ्रष्टाचारमा जनताको त्यति धेरै चासो नभएपनि आर्थिक भ्रष्टाचारमा भने धेरै चासो भएको देखिन्छ । आजका दिनमा नेपालका हरेक ठाउँवा भनौँ राज्यका प्रत्येक उपरिसंरचना भ्रष्टाचारका केन्द्र भएका छन् । चाहे त्यो कर्मचारीतन्त्र भन्नुहोस् वा अदालत, चाहे त्यो सुरक्षा निकायहरू भन्नुहोस्वा राजनीतिक दल र उसका भ्रातृ सङ्गठनहरू, एनसेल करकाण्ड, सशस्त्र प्रहरीभित्र भएको भ्रष्टाचार, चूडामणि शर्मा, गोपाल खड्का, गोविन्दराज जोशी, जयप्रकाश गुप्ता, लाउडा विमान काण्ड, डाफर काण्ड त सतहमा आएका भ्रष्टाचारका प्रतिनिधि काण्डहरू हुन् । कर फस्र्योट आयोगमा हुँदा चूडामणि शर्माले मात्र ३० अर्ब ५२ करोड रूपैयाँ राजस्व बक्यौतामध्ये ९ अर्ब ५४ करोड रूपैयाँ मात्र राज्यकोषमा दाखिला गरी अन्य रकममा नीतिगत भ्रष्टाचार गरे । आयल निगमको हाकिम हुँदा गोपाल खड्काले कम मूल्यको जग्गा बढी पैसामा किनेको बिल पेस गरेर करोडौँ आर्थिक भ्रष्टाचार गरे । सरकारी कार्यालयमा काम गर्न जाँदा कर्मचारीहरूलाई पैसा नदिई कुनै पनि काम हुँदैन । स्थानीय जनप्रतिनिधिहरूले एउटा हस्ताक्षरका भरमा लाखौँकरोडौँ भ्रष्टाचार गरिरहेका छन् । सुरक्षा निकायहरूमा भर्ती हुन जाँदा लाखौँ रकम मागी तलदेखि माथिसम्म बाँडेर संस्थागत भ्रष्टाचार गरिन्छ । राजनीतिक दलमा आबद्ध पात्रहरू कहाँ कमिसन आँउछ, कता पैसा कुम्ल्याउन पाइन्छ भन्दै संस्थागत रूपमा मन्त्रालय र नेताहरूको घरदैलो चहार्दै हिँड्छन् । यसरी दिन दुई गुना रात चार गुनाको हिसाबले मौलाएको भ्रष्टाचारबाट जनता आजित भैसकेका छन् । त्यसैले भ्रष्टाचार पनि नेपाली जनतालाई हाम्रो क्रान्तिमा जोड्ने एक प्रमुख आधार बन्न सक्छ ।

५. शिक्षा, स्वास्थ्य र रोजगारबाट जनता वञ्चित हुँदै जानु

राज्य जनताप्रति कति धेरै गैरजिम्मेवार छ भने ऊ जनताको शिक्षा, स्वास्थ्य र रोजगारबारे पूर्ण रूपमा अनभिज्ञ छ । संविधानका पानाहरूमा मौलिक अधिकारकारूपमा उल्लेख गरे पनि आज बहुसङ्ख्यक नेपाली जनताका छोराछोरीहरू शिक्षाबाट वञ्चित भैरहेका छन् । शिक्षा र स्वास्थ्यमा भएको निजीकरणले जनताको जीवनमाथि भयावह स्थिति सिर्जना गरिरहेको छ । आज केही हुनेखानेहरू नर्सरी कक्षामा पढाउन ४÷५ लाख रूपैयाँ भर्ना गर्नलाई तिर्छन् त बहुसङ्ख्यक गरिबहरू छोराछोरीहरूलाई भर्ना नै गर्न सक्दैनन् । कोही टाउको दुखेकै भरमा सिङ्गापुर, थाइल्यान्ड र युरोपका महँगा अस्पतालमा धाउँछन् त कोही ५ रूपैयाँको सिटामोल खान नपाएर अस्पतालको छतबाट हामफालेर आत्महत्या गर्छन् । प्रत्येक वर्ष नेपालमा ५ लाख १२ हजारको हाराहारीमा नयाँ श्रमशक्ति तयार हुन्छ जसमध्ये ७५ प्रतिशत खाडी र मलेसिया जान्छन् भने अन्य भारतलगायत अरू देशहरूमा जान्छन् । यसले के जनाउँछ भने नेपालमा रोजगार नै छैन वा उनीहरू वञ्चित छन् । त्यसैले बहुसङ्ख्यक नेपाली कामदारहरूले विदेशी भूमिमा कमाएको पैसाबाट पठाएको रेमिट्यान्सले मात्र धानेको छ यो देशको अर्थतन्त्र । त्यसैले शिक्षा, स्वास्थ्य र रोजगारको सङ्कट बढ्दै जानु एकीकृत जनक्रान्तिका लागि एउटा आधार बन्न सक्छ ।

६. बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्ति हाबी हुनु

नेपालविश्वकै एउटा स्वाधीन राष्ट्र हो । तर हाम्रो छिमेकी राष्ट्र भारत सदैव नेपाललाई औपनिवेशिक आँखाबाट हेरिरहन्छ । उसले नेपालमा प्रत्येक दल र राज्यका उपरिसंरचनामा आफ्ना दलालहरू खडा गरेको छ । त्यसैले नेपालको राजनीतिदेखि अर्थ, परराष्ट्र, सुरक्षा र कर्मचारीतन्त्रमा पनि भारतको हस्तक्षेपकारी व्यवस्थापन हाबी छ । नेपालका राजनीतिक दलहरू हरेक समस्याको हल बाह्य शक्तिबाट गराउँछन् । कतिसम्मभने कुनै दल मिल्न र फुट्न पनि बाह्य शक्तिको पर्खाइमा रहन्छन् । को प्रधानमन्त्री बन्ने, को मन्त्री बन्ने, को मुख्यसचिव बन्ने, को सुरक्षा निकायमा प्रमुख बन्ने भन्ने कुराहरूमा पनि बाह्य शक्ति भारतको प्रभाव बढी नै छ । यस्तोखाले बाह्य शक्तिकेन्द्रमुखी प्रवृत्तिले देशलाई स्वाधीन बनाउनुभन्दा पराधीन बनाउँछ । नेपालमा राज्य सञ्चालनमा रहेका प्रायः सबै स्वचालितभन्दा परचालित भएकै कारण आज हाम्रो राष्ट्रियता अति नै जोखिममा छ । त्यसैले यो प्रवृत्तिका बारेमा जनता पूर्ण जानकार भएकाले एकीकृत जनक्रान्तिलाई थप मलजल गर्न यो पनि वस्तुगत आधार हुन सक्छ ।

७. मूल्य र मान्यताको राजनीतिबाट दलहरू च्यूत हुनु

नेपालमासंसद्वादी राजनीतिक दलहरूमा मूल्य र मान्यताको राजनीतिको निकै नै खडेरी देखिन्छ । आफ्नो विचार, सिद्धान्त र आदर्शबाट च्यूत भएर काम गर्नु नेपालका संसद्वादी राजनीतिक दलहरूका लागि सामान्य भैसक्यो । यहाँ रूपमा कम्युनिस्ट र काङ्गे्रस भएपनि सारमा यिनीहरू एउटै कित्तामा छन् । उनीहरू सदैव आफ्नो स्वार्थको राजनीति गर्छन् । स्थानीय चुनावमा माकेले काङ्गे्रससँग मिलेर चुनाव लडेको र प्रदेशमा एमालेसँग मिलेर लडेको प्रतिनिधि उदाहरण मात्र हुन् । निजी सम्पत्तिको विरोध गर्ने कम्युनिस्टहरूसँग आज सबैभन्दा बढी सम्पत्तिथुप्रिएको छ । उता प्रजातन्त्रको कुरा गरी नथाक्ने काङ्ग्रेसले कहिल्यै विधिको शासनको पालना गरेन । त्यसैले मूल्य र मान्यताको राजनीतिबाट संसद्वादीहरू च्यूत हुने कुरा हाम्रा लागि राजनीतिक रूपमा फाइदाजनक नै हुन्छ तर हामीले मूल्य र मान्यताको राजनीति गर्नु जरुरी छ ।

८. राज्यबाट जनताले न्याय र सुरक्षाको अनुभूति नपाउनु

विश्वमा नेपाल मात्र त्यस्तो देश हो जहाँ न्याय किनिने र बेचिने साधन भएको छ । पहुँचवालाहरूका निमित्त जस्तोसुकै अपराध पनि क्षमायोग्य हुन्छ तर जनताका लागि कहिल्यै हुँदैन । गरीब जनताले वकील र अदालतलाई पैशा दिन नसकेकै कारण सदैव अन्याय सहेर बसेका छन । आज जनताको सुरक्षाको कुनै ग्यारेण्टी छैन । जनताको सुरक्षाको जिम्मा लिएर बसेका नै उल्टै अपराधीलाई साथ दिएर लाठी र बुटले जनता तर्साउछन । दिनदहाडै हत्या, हिंसा, बलत्कार र अपहरणका घटनाहरू हुन्छन तर राज्य बेखवर हुन्छ । त्यसैले नेपालको न्याय र सुरक्षा प्रणालीवाट सन्तष्टि नहुने कुरा आफैमा क्रान्तिको निमित्त फाइदाजनक छ । तर हामीले सञ्चालन गरेको सत्ताभित्र भने जनतालाई पूर्ण रूपमा न्याय र सुरक्षा हुनुपर्छ ।

९. स्थानीय जनप्रतिनिधिहरूसँग जनताको अन्तरविरोध बढ्दै जानु

नेपालमा अहिले कथित कम्युनिस्टहरूको दुईतिहाइबहुमतको सरकार छ । तर कम्युनिस्ट आदर्शविपरीत सरकार मातहतका स्थानीय निकायले जनताको टाउकोमाथि करको भारी बढाएकाले जनता र जनप्रतिनिधि संस्थासँग अन्तरविरोध चुलिएको छ । कर पनि थोरै होर ? न्यूनतम सयदेखि हजारसम्म बढाइएको छ । हुँदाहुँदा साइकलको पनि कर लगाएका छन् । केहीले त ठट्यौली पाराले अब हामीले लगाउने जुत्ता र चप्पलको पनि कर लाग्छ भनेर यो सरकारलाई गिज्याइरहेका छन् । स्मरण रहोस्, तत्कालीन अमेरिकामा ब्रिटिस साम्राज्यले बढाएको करका कारणले नै १२५ (१६०७ देखि १७३२ सम्म) वर्षसम्म चलेको उसको साम्राज्य ध्वस्त भएको थियो । त्यसैले कर वृद्धिको मनोविज्ञान पनि क्रान्तिका लागि आधार बन्न सक्छ ।

अन्त्यमा नेपालको चौतर्फी सङ्कटको हल भनेको केवल चौतर्फी क्रान्ति हो । सबैले बुझ्ने सत्य यही हो– नेपालमा क्रान्ति आवश्यक छ र सम्भव पनि छ । यहीँनिर हामीले बुझाउने कुरा के छ भने नेपालमा विश्वक्रान्तिका सार्वभौम शिक्षाहरूलाई आत्मसात गर्दै नेपाली विशेषताहरूलाई पक्डेर गर्ने क्रान्ति मात्र सम्भव छ । यो क्रान्ति माओले भन्नुभएजस्तै न कसैको यान्त्रिक अनुकरणबाट सम्भव छ, न त विश्वक्रान्तिका सार्वभौम मान्यतालाई त्यागेर नै सम्भव छ । यो त नेपाली विशेषतासहितको क्रान्तिको मोडेल एकीकृत जनक्रान्तिबाट मात्र सम्भव छ । २०७५ भदौ ५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :