जनपक्षीय कला–साहित्य र सांस्कृतिक कार्य : खेम थपलिया

कलाको अर्थ निर्माण हो । उद्देश्यपूर्ण श्रम यसको स्रोत हो । कला ज्ञानको पनि स्रोत हो । कला यथार्थको सिर्जनात्मक पुनरुत्पादन हो । कला सामाजिक चेतना र मानव क्रियाकलापको विशिष्ट रूप हो । वस्तु र चेतनाको विकाससँगै कलाको पनि विकास हुँदै आएको छ । कला वैचारिक सङ्घर्षको महत्वपूर्ण साधन हो । यसको रूपान्तरणकारी भूमिका हुन्छ । संज्ञानात्मक, विचारधारात्मक तथा सौन्दर्यात्मक तरिकाले कला अभिव्यक्त हुन्छ । कलाले जीवन र जगत्को यथार्थबोध गर्न मानवज्ञानका सम्पूर्ण क्षेत्रलाई समेटेको हुन्छ । कला सामाजिक परिवेशबाट कहिल्यै स्वतन्त्र हुन सक्दैन । कलाले जीवन र जगत्को सौन्दर्यबोध गराउँछ । कला बिम्बमार्फत अभिव्यक्त हुन्छ । कला सौन्दर्यात्मक मूल्य हुन्छ । लेनिनले कला–साहित्यलाई सर्वहारावर्गीय उद्देश्य पूर्ति गर्ने यात्राको अभिन्न सहयात्री मान्नुभएको छ । सबैभन्दा उन्नत समाजवादी यथार्थवादी कलाका संस्थापक म्याक्सिम गोर्की हुन् ।

कलाका दुई प्रकारमध्ये उपयोगी कलाअन्तर्गत शिल्प, कौशल, शारीरिक बनावट, केशसज्जा, भवन निर्माण, डिजाइन, फेसन, पार्करचना, दैनिक प्रयोगमा आउने वस्तुहरू पर्दछन् । ललितकलाअन्तर्गत वास्तु, मूर्ति, सङ्गीत, साहित्य आदि पर्दछन् । ‘कला कलाका लागि’ भन्ने कलावादी जर्मनी दार्शनिक कान्टका जस्ता जीवन विरोधी चिन्तनका विरुद्ध कला जीवनका लागि, कला जनताका लागि, कला परिवर्तनका लागि जस्ता माक्र्सवादी कला चिन्तनको पक्षपोषण गर्नुपर्दछ । माक्र्सले भन्नुभएको छ, “मानिसका श्रममूलक क्रियाकलापकै प्रतिफलका रूपमा कलाको उत्पत्ति भएको हो । ” एङ्गेल्सले कलाको उत्पत्ति श्रमबाट भएको बताउनुभएको छ । भाषा–साहित्य कलाका विशिष्ट रूप हुन् । भाषा सङ्केतहरूको यादृच्छिकता हो । शब्दको माध्यमद्वारा यथार्थको कलात्मक प्रतिबिम्बन गर्नु नै साहित्य हो । साहित्यमा भाषा, भाव, विचार र रूपविधानजस्ता तत्वको आवश्यकता पर्दछ । साहित्य समाजको युगीन तथा सामूहिक चेतनाको कलात्मक अभिव्यक्ति हो । यसले गतिशील यथार्थको उद्बोधन गर्दै समाजको समतामूलक एवम् आमूल रूपान्तरणका लागि महत्वपूर्ण योगदान पु¥याउँछ । माओले अर्धसामन्ती र अर्धऔपेनिवेशिक मुलुकमा कला–साहित्यिक आन्दोलनात्मक प्रकृतिको व्याख्या गर्नुभएको छ । लेनिनले सौन्दर्यशास्त्रका यथार्थको कला–साहित्यसँगको सम्बन्ध, साहित्यमा चित्रणको अर्थात् प्रतिबिम्बनको सामग्री, कला–साहित्यमाथि सामाजिक प्रभाव, कला–साहित्यको वर्गीय पक्षधरता, लेखकीय स्वतन्त्रता र प्रतिबद्धता तथा कला सिर्जनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको छ । जर्ज लुकासले भन्नुभएको छ, “आधुनिकतावाद कलाको समृद्धीकरण होइन, बरु कलाको निषेध हो । ”
१. कला–साहित्यको वर्गीयता

हेगेलको आदर्शवादी द्वन्द्ववाद, फायरबाखको अधिभूतवादी भौतिकवाद र चाल्र्स डार्बिनको विकासवादबाट कार्ल माक्र्सले हेगेलीय द्वन्द्ववाद, फायरबाखीय भौतिकवाद र डार्बिनको विकासवादलाई वैज्ञानिक संश्लेषण गरेर ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी विश्वदृष्टिकोण निर्माण गर्नुभयो । माक्र्सले आदर्शवादी स्वर्गमा अधिभूतवादी पञ्जाले जकडिएको कला–साहित्यलाई ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोणले समृद्ध गर्नुभयो । लेनिनले कला–साहित्यको पक्षधरतालाई स्पष्ट पार्दै ‘जनताका लागि कला–साहित्य’ मा जोड दिनुभयो । ‘पार्टी सङ्गठन तथा पार्टी साहित्य’ (सन् १९०५) शीर्षकको लेखलगायत सामग्रीमा उहाँले यसको वर्गीय पक्षधरतामाथि प्रकाश पार्नुभएको छ । ‘कला किन र कसका लागि’ भन्ने जवाफमा माओले ‘क्रान्ति, परिवर्तन र जनताका लागि’ भन्नुभएको छ । वर्गीय समाजमा कला–साहित्यको वर्गीय चरित्र हुने गर्दछ । कलाकृतिहरू समाजको वर्गसंरचना तथा वर्गहितहरूको परिणामस्वरूप उत्पन्न वर्गीय मनोविज्ञानका आधार निर्माण हुन्छन् । कला–साहित्य वैचारिक सङ्घर्षका महत्वपूर्ण साधन हुन् ।

लु सुनले लेखकहरूले हस्तक्षेप र रूपान्तरणका लागि लेख्नुपर्छ भन्नुभएको छ । साहित्यले सर्वहारावर्गको सेवा, पक्षधरता, सर्वहाराको दृष्टिक्षितिज निर्माणको भूमिका खेल्नुपर्दछ । साहित्यको वर्ग हुन्छ र साहित्यकारले वर्गको पक्ष लिन्छन् । कला–साहित्य उत्पीडित, शोषित, दमितवर्गको पक्षमा उभिनुपर्छ । माओले भन्नुभएको छ, “संसारमा आज सबै संस्कृति, सबै साहित्य र कला विशेष वर्गका अधीनमा छन् र विशेष राजनीतिक दिशातिर हाँकिएका छन् । ” त्यसैगरी, हार्वड फास्टले भन्नुभएको छ, “लेखकहरू पछाडि बसेर होइन, अघिल्लो मोर्चामा बसेर अघि बढ्नुपर्छ । सर्वसाधारण जनतालाई यथार्थको स्वरूपबारे जानकारी गराउनु उनीहरूको काम हो । त्यसमा नै उनीहरूको कला र उनीहरूको गौरव रहेको हुन्छ किनभने उनीहरूको कामको स्वरूपले गर्दा नै उनीहरूका निम्ति मानवीय आशा, डर र दुःखकष्ट र विजयको सार निकाल्न सम्भव हुन जान्छ । ” माक्र्स र एङ्गेल्सले कला–साहित्यलाई विचारधाराको एउटा रूप मान्दै यसको जन्म समाजको भौतिक आधारलाई मान्नुभएको छ । लेनिनको विचारमा कला–साहित्य सर्वहारावर्गको साझा उद्देश्यको एक अङ्ग बन्नुपर्छ, समस्त मजदुरवर्गको अभिन्न र महान् सामाजिक जनवादी मेसिनको ‘दाँती र पेच’ हुनुपर्छ । आम जनसमुदायको जीवन नै क्रान्तिकारी कला र साहित्यको एक मात्र स्रोत हो । माओले येनान गोष्ठीमा राजनीतिको नेतृत्वमा साहित्य ‘पोलिटिक्स इन कमान्ड’ बताउनुभएको छ ।

पेरिस कम्युन (१८ मार्च सन् १८७१), बोल्सेभिक क्रान्ति (सन् १९१७), चिनियाँ क्रान्ति (सन् १९४९), नेपाली जनयुद्ध (२०५२–२०६२) सम्म राजनीति र कला–साहित्यको सम्बन्ध सुपष्ट रूपमा गाँसिएर आएको छ । माओले कला र राजनीतिको अभिभाज्य सम्बन्धको विश्लेषण गर्दै कलालाई वर्गीय राजनीतिअन्तर्गत राख्नुभएको छ । कला–साहित्यमा सर्वहारावर्गीय पक्षधरता, विचारधारात्मक प्रतिबद्धता, राजनीतिक प्रतिबद्धता र साङ्गठानिक प्रतिबद्धता हुनैपर्दछ । उत्तर–आधुनिकतावाद सांस्कृतिक साम्राज्यवादको साहित्यिक सिद्धान्त हो । यो पुँजीवादको विफलताबाट जन्मिएको हो । विसङ्घटन, महावृत्तान्तको अन्त, यथार्थको अन्त, लेखकको मृत्यु, विखण्डित मानव व्यक्तित्व र इतिहासको अन्त उत्तर–आधुनिकतावादका विशेषता हुन् । वर्गमुक्ति आन्दोलनलाई रोक्नु नै उत्तर–आधुनिकतावादको मूल उद्देश्य हो । कला–साहित्य जीवन–जगत्को व्याख्या–विश्लेषण वा आलोचना मात्र होइन, समाजको आधारभूत परिवर्तनको साधनसमेत हो र यही प्रक्रियामा नै यो मानवमुक्तिको सङ्घर्षको व्यापक प्रक्रियाको अङ्ग बन्ने गर्दछ । निकोलाई ओस्त्रोब्स्कीले भन्नुभएको छ, “किताबहरू थोरै नै होऊन् तर ती राम्रा होऊन् । सामूहिकतामै हामीले शिक्षा पाएका छौँ भन्ने कुरा नबिर्सौँ । जुन दिन हामीले हाम्रो सामूहिकतामा छोड्छौँ, त्यही दिन हाम्रो अन्त हुन्छ । एउटा लेखकले इमानदारीपूर्वक, आफ्नो देशका अन्य निर्माताझैँ काम गरिरहनुपर्दछ । उसको मानसिकता जस्तो होस्; समय मिलोस् नमिलोस् किनभने श्रम नै सबै घाउहरूको मलहमपट्टी हो । ” कला–साहित्यसम्बन्धी दुई दृष्टिकोण रहेका छन् । बुर्जुवा दृष्टिकोणमा कला–साहित्यको उद्देश्य यसप्रकार रहेका छन् ः (क) कला–साहित्य अरूका निम्ति होइन, आफ्नै मन बहलाउन (स्वान्त सुखाय) का लागि सिर्जना गरिन्छ । (ख) कला–साहित्य केवल मनोरञ्जनका साधन हुन्, यिनको अन्य सामाजिक उद्देश्य हुँदैन । (ग) जसमा सबैको हित गर्ने भावना हुन्छ, त्यही साहित्य हो । (घ) कला–साहित्य स्वतन्त्र र पवित्र कुरा हुन्, यसलाई राजनीतिसित जोड्नुहुँदैन । (ङ) कला कलाकै निम्ति हुन् । यसैगरी, माक्र्सवादी दृष्टिकोणमा कला–साहित्यको उद्देश्य निम्न रहेका छन् ः (क) कला–साहित्य र संस्कृतिका अङ्गहरूलाई निर्विवाद रूपमा क्रान्तिको साधानको रूपमा प्रयोग गर्नुपर्दछ । (ख) दुश्मनका जालझेलपूर्ण सैद्धान्तिक धरातल भत्काई जनक्रान्तिको सैद्धान्तिक पृष्ठभूमि तयार पारेर जनतालाई चेतनशील र सङ्गठित पार्न एवम् सर्वहारावर्गको पक्षमा उमङ्ग र उत्साहलाई अन्तिम विजयसम्म दिगो र दरिलो राख्न क्रान्तिकारी अग्रिम दस्ताको भूमिका निर्वाह गर्नुपर्दछ । (ग) कला–साहित्यको क्षेत्रमा ऐतिहासिक द्वन्द्वात्मक भौतिकवादी दृष्टिकोण लागू गर्नुपर्दछ । (घ) कला–साहित्यलाई क्रान्ति, जनता र परिवर्तनको पक्षमा लगाउनुपर्दछ । (ङ) कला–साहित्यलाई राजनीतिसित अन्योन्याश्रित रूपमा र वर्गीय पक्षधरतासित जोड्नुर्दछ । (च) कला–साहित्यलाई सांस्कृतिक क्रान्तिको भावधारासित जोड्नुपर्दछ ।

२.माक्र्सवादी सौन्दर्यशास्त्र र नयाँ यथार्थ

सौन्दर्यशास्त्र कलाको दर्शन हो । उत्पादनका निम्ति सङ्घर्ष, वैज्ञानिक प्रयोग र वर्गसङ्घर्षका बीचबाट दर्शनको जन्म भएको मानिन्छ । सौन्दर्यशास्त्रलाई ‘ब्युटी अफ साइन्स’ अर्थात् सुन्दरताको विज्ञान पनि भनिन्छ । मानिसले आफ्ना भौतिक आवश्यकताको परिपूर्तिको प्रक्रियामा प्रकृतिसँग सङ्घर्ष–सहकार्य गर्दा सौन्दर्यको जन्म भएको मानिन्छ । सौन्दर्यशास्त्र मानवीय संवेदना, स्वत्व र सिर्जनात्मक ऊर्जासित सम्बन्धित छ । साहित्य, सङ्गीत, नृत्य, चित्र, मूर्ति, स्थापत्य, रङ्गमञ्च, चलचित्र आदि कलाबाट सौन्दर्य उत्पन्न हुन्छ । सामाजिक जीवन, कला–साहित्य र संस्कृतिमा परिवर्तित सुन्दरसम्बन्धी धारणा, सौन्दर्यबोध, सौन्दर्यपरक आदर्श, नयाँ सौन्दर्यमूल्य, रुचि, वर्गीय चेतनाका साथै कुरूप र सुरूपको ध्रुवीकरण, सौन्दर्यानुभूति, सामूहिकता, उत्तर–आधुनिकता र त्यसका मूल्यहरूको प्रतिरोध, आतङ्क र आनन्दको अनुभूति, त्याग र समर्पणमा सुन्दरताको अनुभूतिजस्ता सुन्दरसम्बन्धी धारणा नै सौन्दर्यशास्त्रसम्बन्धी धारणा हुन् । सौन्दर्यशास्त्रकोे शाब्दिक अर्थ संवेदना÷अनुभूति हो । सौन्दर्यशास्त्रलाई संवेदनात्मक ज्ञानको विज्ञान पनि भनिन्छ । दर्शनकोशका अनुसार सौन्दर्यशास्त्रको उत्पत्ति साढे दुई हजार वर्षपहिले दास–मालिक समाजको युगमा मिश्र, बेबिलोन, भारत र चीनमा भएको थियो । सौन्दर्यशास्त्र शब्दको सर्वप्रथम सन् १७५० मा संवेदन क्षमताको अर्थमा जर्मनीका अलेकज्यान्डर बाउम गार्टेनले प्रयोग गर्नुभएको थियो । कलाका सिद्धान्तकार गार्टेनले सौन्दर्यशास्त्रसम्बन्धी पुस्तक नै लेख्नुभएको पाइन्छ ।

सोभियत विश्वकोषका अनुसार “सौन्दर्यशास्त्र दर्शनशास्त्रको त्यो शाखा हो, जसमा मानवीय मूल्यको संसारसितको सम्बन्धको विशिष्ट प्रकटीकरणका रूपमा सौन्दर्यात्मक र मानवीय कलात्मक गतिविधि दुवै क्षेत्रको अध्ययन गरिन्छ । ” अधिभौतिकवादी दृष्टिले वस्तुको सङ्गीतपूर्ण संरचना, तौल, रङ आदिमा सुन्दरता देख्दछ भने द्वन्द्वात्मक भौतिकवादले सौन्दर्यलाई सामाजिक जीवन र मानवजातिसँग सम्बन्धित वस्तुको गुण मान्दछ । माक्र्सवादी सौन्दर्यशास्त्र क्रान्तिकारी चिन्तनको संश्लेषणसित सम्बन्धित छ । जीवन र जगत्को व्यापक र उच्च धरातल कलात्मक प्रतिबिम्बन गर्नु माक्र्सवादी सौन्दर्यशास्त्रको क्षेत्र हो । यथार्थको विरोध, पक्षधरताको त्याग, वर्ग–समन्वयको पक्षपोषण, विचारधारात्मक र संज्ञानात्मक तत्वको बहिस्कार, न्यायपूर्ण युद्धको विरोध, कला र राजनीतिलाई पृथकीकरण, प्रतिबद्धताको विरोध र रूपवाद र उत्तर–आधुनिकतावादतिर आकर्षिने माक्र्सवादी विचलनबाट सौन्दर्यशास्त्रीय संशोधनवाद सुरु हुन्छ । संसारको व्याख्या र विश्लेषण मात्र होइन, त्यसलाई बदल्ने र रक्षा गर्ने प्रक्रियामा यसले सौन्दर्यबोध गर्दछ । माक्र्सवादी सौन्दर्यशास्त्रले कलाको मूल्य, त्यसको सार र सामाजिक चेतनाका रूपहरूसँगको सम्बन्धमाथि प्रकाश पार्दछ । लेनिनले सौन्दर्यशास्त्रका यथार्थको कला–साहित्यसँगको सम्बन्ध, साहित्यमा प्रतिबिम्बनको सामग्री, कला–साहित्यमाथि सामाजिक प्रभाव, कलासाहित्यको वर्गीय पक्षधरता, लेखकीय स्वतन्त्रता र प्रतिबद्धता र कला सिर्जनाको उद्देश्यमाथि प्रकाश पार्नुभएको छ । माओले राष्ट्रियतालाई सौन्दर्यतत्वमा सैद्धान्तिक रूपमा प्रवेश गराउनुभएको मानिन्छ । नेपालमा कम्युुनिस्ट पार्टीको स्थापना (२००६) सँगै माक्र्सवादी सौन्दर्यशास्त्रको चर्चा सुरु भएको हो । माक्र्सवादी सौन्दर्यशास्त्र माक्र्सवादका तीन सङ्घटक अङ्ग (दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवाद) सित अभिन्न रूपमा जोडिएको छ । माक्र्सवादी सौन्दर्यशास्त्र माक्र्सदेखि माओसम्मका दार्शनिक तथा वैचारिक चिन्तकहरूले विकास गर्नुभएको सौन्दर्यसम्बन्धी धारणाको मोठ रूप हो । सौन्दर्यशास्त्रीय मूल्यका दृष्टिले येनान गोष्ठीमा माओले दिनुभएको कला–साहित्यसम्बन्धी प्रवचनको सर्वोपरि महत्व छ । ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ (सन् १९४२) ले प्रतिबद्धता, सांस्कृतिक सेना, आधार अधिरचनाबीचको द्वन्द्वात्मक सम्बन्ध, रूप र अन्तर्वस्तु, संयुक्त मोर्चा, इतिहासको मूल्याङ्नजस्ता गहन र सार्वभौमिक विचार प्रस्तुत गरेको छ । म्याक्सिम गोर्कीले भन्नुभएको छ, “समाजको सौन्दर्यपरक चेतनाको स्तर प्रतिबिम्बित हुने कला–साहित्यमा कलात्मक बिम्बको मूर्त रूप दिने विचारधारात्मक शिक्षा–दीक्षा मात्र होइन कि भावनात्मक शिक्षा र मानिसलाई आनन्द र प्रेरणाको स्रोत दिने ज्ञानसिद्धान्त सौन्दर्यशास्त्र हो । ” माक्र्सवादी सौन्दर्यशास्त्रका सुन्दर, उदात्त, त्रासदी र प्रहसनात्मक आदि आधारभूत प्रवर्ग रहेका छन् ।

भीषण वर्गद्वन्द्वको रूपमा विकास भएको जनयुद्धले नयाँ यथार्थको जन्म गराएको हो । यो फौजी–राजनीतिक युद्ध मात्र नभएर समग्र युद्धको संश्लेषित रूप हो । जनयुद्धले प्रतिक्रियावादी राज्यसत्ता र चिन्तनका सबै क्षेत्रमा यसले जबर्जस्त धक्का दिएको थियो । जनयुद्ध कुनै आकस्मिक र एकलकाँटे घटना नभएर सचेततापूर्वक उद्देश्यपूर्ण ढङ्गले सुरु गरिएको राजनीतिक–ऐतिहासिक कार्य थियो । जनयुद्धकालमा पुरानो ध्वंस हुन थालेपछि त्यसका ठाउँमा नयाँ जनसत्ताको भ्रुणहरू जन्मिए । धार्मिक हैकम, राजतन्त्र, जातीय, क्षेत्रीय, लैङ्गिक उत्पीडनविरुद्ध धर्मनिरपेक्षता, गणतन्त्र, स्वतन्त्रता, समानताजस्ता कुराले ठाउँ लिए । परम्परागत प्रतिक्रियावादी राज्यसत्ताको विकल्पमा जनताको सत्ता स्थापना गर्न सम्भव छ भन्ने कुरामा जनविश्वास बढ्दै गयो । प्रतिक्रियावादी र संशोधनवादी मात्र होइनन्, साम्राज्यवादी र विस्तारवादी शक्तिहरू एक भएर हजारौँको हत्या, गिरफ्तारी र बेपत्ता पार्दा पनि विद्रोह र प्रतिरोध रोकिएन । विचारधारा, राजनीति र वर्गयुद्धका सन्दर्भमा एकीकृत बन्दै प्रतिरोध र आक्रमणका समस्त शृङ्खलासँग जोडिएका घटनाक्रमले नयाँ यथार्थको वस्तुगत पक्षको निर्माण गरेका छन् । २०५४ साल चैत २६ गते कालीकोटका निःशस्त्र महिलाहरूले आफूमाथि दमन गर्न आएका प्रहरीको हतियार खोस्नु, २०५३ मङ्सिर १ गते रोल्पाको मिरुलमा कुमारी बुढालाई जिउँदै आँखा निकाली शरीरमा मट्टीतेल खन्याई जलाएर मारिँदा पनि पार्टीको गोपनीयता कायम राख्नु, २०५३ पुस १९ गते बेथान प्रहरी चौकीमा आक्रमण गर्दा दिलमाया योञ्जनले सहादत प्राप्त गरी पहिलो सैन्य महिला सहिद हुनु तथा २०५७ चैत १८ गते गोरखा जेलमा रहेका ६ जना महिला बन्दीहरूले कमरेड शिलुको नेतृत्वमा सुरुङ खनेर जेलब्रेक गर्नुजस्ता वीरता र बलिदान जनयुद्धीय सौन्दर्यका परिचायक हुन् ।

जनयुद्धबाट सिर्जित यथार्थ नै नयाँ यथार्थ हो । जनयुद्धकालमा सौन्दर्यचिन्तनको क्षेत्रमा विकास भएको नवीनता र मौलिकता नै जनयुद्धको सौन्दर्यशास्त्र हो । यो असीम त्याग, वीरता, बलिदान र शौर्यका अनगिन्ती शृङ्खलाबाट निर्माण भएको छ । जनयुद्ध कलम, मादल र बन्दुकको फ्युजन हुँदै प्लाटुन, कम्पनी र बटालियनस्तरमा सांस्कृतिक आन्दोलन अघि बढेको थियो, जहाँ १७० भन्दा बढीले सहादत प्राप्त गरेका छन् । कृष्ण सेन ‘इच्छुक’ को बलिदान यसको उच्चता हो । माओवादी पार्टीमा टुटफुट र विभाजन आए पनि क्रान्तिकारी आशा र बिम्ब विभाजित नहुनु क्रान्तिकारी र जनयुद्धीय सौन्दर्यचेतना हो । माओले सन् १९४५ को जुन महिनामा सातौँ पार्टी महाधिवेशनलाई सम्बोधन गर्दै ‘पहाड पन्छाउने बूढो मान्छे’ को कथा भन्नुभएको थियो । त्यो बूढो मान्छेको घरअघि ‘ताइहाङ’ र ‘वाङ्बु’ ठूला पहाड थिए । त्यो मान्छे निरन्तर प्रयास गरे पहाड सम्याउन सकिने विश्वास गर्दथ्यो । ती बूढो मान्छेजस्तै एकीकृत जनक्रान्ति पक्षधरहरूसित क्रान्तिकारी आशावाद रहेको छ । क्रान्ति र मुक्तिको मूल्यबोधको चेतना ‘रातो लालटिन’ को जस्तो उच्च भावनाको वर्गीय चेतना हुँदै महान् सर्वहारा सांस्कृतिक क्रान्तिको उदात्त चेतनासम्म विस्तार भएको छ । जनयुद्धीय सौन्दर्यशास्त्रले ध्वंस र निर्माणको द्वन्द्वात्मक सम्बन्ध अनि आनन्द र आतङ्कको द्वन्द्वात्मक सम्बन्धलाई उजागार गर्दै क्रान्ति र परिवर्तनका लागि सङ्घर्षका सबै रूपहरूलाई सौन्दर्यात्मक ढङ्गले आत्मसात् गरेको छ । वैज्ञानिक समाजवादी क्रान्तिचेत माक्र्सवादी सौन्दर्यशास्त्रको सौन्दर्यदृष्टि हो । नयाँ यथार्थ÷जनयुद्धको सौन्दर्यशास्त्रीय सौन्दर्यदृष्टि पनि यही हो । यसको सार निरन्तर क्रान्तिको सौन्दर्यचेतनामा आधारित छ । नयाँ यथार्थ सामन्तवादी सोच, बुर्जुवा आधुनिकतावाद, उत्तर आधुनिकतावाद, सबैखाले संशोधनवाद र भ्रष्टीकरणका विरुद्ध उभिएको छ । नयाँ यथार्थ गतिशील यथार्थ हो र समाजवादी–यथार्थवादी यसको रचना विधि हो । जनयुद्धको सौन्र्यशास्त्र मालेमावादी सौन्दर्यशास्त्रकै निरन्तरता र उच्चता हो । जनयुद्धीय सौन्दर्यशास्त्रले जीवन र मृत्युको मूल्यबोध गराउँदै क्रान्तिको विकास हुने कुरामा विशवास गर्दछ । एकीकृत जनक्रान्तिले नयाँ यथार्थ र जनयुद्धीय सौन्दर्यशास्त्रको अन्तर्वस्तु वहन गरेको छ ।

३. सांस्कृतिक रूपान्तरण

सांस्कृतिक रूपान्तरणको चर्चा गर्दा सबैभन्दा पहिला संस्कृतिका निम्न विशेषता उल्लेख गर्न आवश्यक हुन्छ ः (क) संस्कृति समय र ठाउँअनुसार फरक फरक हुन्छ । (ख) संस्कृतिलाई भाषाले प्रभाव पार्दछ । (ग) संस्कृति मानिसले निर्माण गर्दछन् । (घ) संस्कृति सिक्ने व्यवहार हो । (ङ) संस्कृति गतिशील हुन्छ । (च) संस्कृति हस्तान्तरित हुन्छ । (छ) प्रत्येक समाजको आफ्नो विशिष्ट संस्कृति हुन्छ । (ज) संस्कृतिमा सामाजिक गुण हुन्छ । (झ) संस्कृति सभ्यताको प्रतिबिम्बिन हो । यसै सन्दर्भमा कम्युनिस्ट नैतिकता प्रसङ्ग पनि सँगसँगै आउँछ । कम्युनिस्ट नैतिकताका निम्न पक्षहरू उल्लेख्य रहेका छन् ः (क) पार्टी र क्रान्तिका लागि सङ्घर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु । (ख) पार्टीका लागि कठीन काम गर्नु, पार्टीको अनुशासन मान्नु । पार्टीको कार्यदिशा एवम् नीतिहरू कार्यान्वयन गर्नु । (ग) पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु । (घ) दिलोज्यानले जनताको सेवा गर्नु, जनता र पार्टीका लागि निःस्वार्थ रूपले सङ्घर्ष गर्नु तथा हरेक कुरामा दृष्टान्त हुनु । (ङ) आफ्नो सैद्धान्तिक स्तर उठाउनु, आफ्नो काममा सुधार ल्याउनु, आफ्ना कमरेडहरू सँगसँगै प्रगति गर्नका लागि माक्र्सवाद–लेनिनवाद–माओवादको अध्ययन गर्नु तथा निरन्तर रूपमा आलोचना र आत्मालोचनाको प्रयोग गर्नु ।

मानिसको श्रम, सीप र कौशलको केन्द्रीकृत रूप संस्कृति हो । मानिसले प्रकृतिसित सङ्घर्ष गर्ने प्रक्रियामा संस्कृतिको जन्म भएको मानिन्छ । समाज विकासको ऐतिहासिक प्रक्रियामा निर्मित भौतिक र आत्मिक मूल्यको समुच्चय नै संस्कृति हो । मानिसद्वारा उत्पादनका निम्ति गरिने सङ्घर्ष, वर्गसङ्घर्ष र वैज्ञानिक प्रयोगका प्रक्रियामा प्राप्त गुणात्मक उपलब्धिको स्तर भौतिक संस्कृति हो भने मानिसको प्रकृति तथा सामाजिक जीवनसम्बन्धी संस्कृति आत्मिक संस्कृति हो । कुनै पनि संस्कृति कुनै पनि समाज विशेषको राजनीति र अर्थतन्त्रको विचारधारात्मक प्रतिबिम्ब हो । म्याक्सिम गोर्कीको भाषामा मानवीकृत दोस्रो प्रकृति नै संस्कृति हो । नेपालमा लामो समयदेखि राष्ट्रिय र अराष्ट्रिय, जनवादी र जनविरोधी तथा वैज्ञानिक र अवैज्ञानिक संस्कृतिबीच सङ्घर्ष चल्दै आएको छ । सांस्कृतिक रूपान्तरण भनेको परम्परागत रुढी चिन्तन र व्यवहारलाई परित्याग गर्नु हो । पुरानो विचारधारा तथा संस्कृतिलाई विस्थापित गर्दै नयाँ विचारधारा र संस्कृतिलाई स्थापित तुल्याउनु नै यसको मूल लक्ष्य हो । यसका आत्मिक सङ्घर्ष, अन्तर्सङ्घर्ष र वर्गसङ्घर्षजस्ता तीन चरण छन् । सांस्कृतिक रूपान्तरण सर्वहारा सांस्कृतिक क्रान्तिको प्रक्रियामा हुन्छ । सांस्कृतिक रूपान्तरण भनेको सामन्ती, पुँजीवादी तथा निम्न पुँजीवादी संस्कृति र सबै किसिमका संशोधनवादी विश्वदृष्टिकोणका विरुद्ध सर्वहारा संस्कृतिको अवलम्बन गर्नु हो । यो वर्गीय र भावनात्मक रूपान्तरण अनि आत्मकेन्द्री व्यक्तिवादको विरोध र वैज्ञानिक समाजवादलाई अवलम्बन गर्ने प्रश्नसित सम्बन्धित छ । सर्वहारावर्गीय आदर्श, इमानदारिता तथा मालेमावादी सैद्धान्तिक प्रतिबद्धता आधारभूत सांस्कृतिक मानक हुन् । सांस्कृतिक रूपान्तरण सारतः ज्वारभाटाबाट सिर्जना हुने नवीन मूल्यमा आधारित हुन्छ ।

लक्ष्यमा अघि बढ्नु, नीति, नियम, आचार–संहिता पालना गर्नु, कम्युनिस्ट नैतिकता, आदर्श र जीवनशैली अपनाउनु, आफ्नो वर्गप्रति प्रेम र वर्गबैरीप्रति घृणा गर्नु, विचारअनुरूप आचरण र व्यवहार गर्नु रूपान्तरणका प्रक्रिया हुन् । नेपालको सन्दर्भमा सांस्कृतिक रूपान्तरण भनेको जनयुद्धले सिर्जना गरेको मूल्यमा आएको भयानक स्खलनले पु¥याएको नोक्सानीको क्षतिपूर्ति गर्नु पनि हो । लेनिनले भन्नुभएको छ, “सर्वहारा संस्कृति भनेको आकाशबाट झरेर आउने कुरा होइन । सर्वहारा संस्कृति त्यस ज्ञानराशिको स्वाभाविक विकासको देन हुनुपर्दछ, जुन मानवजातिले पुँजीपति समाज, भूमिपतिहरूको समाज र नोकरशाही समाजको जुवामुनि नारिएर सिर्जना गरेको थियो । ” राजनीतिलाई कमान्डमा राख्नु, विचारधारात्मक क्षेत्रका समस्यालाई द्वन्द्ववादका आधारमा समाधान गर्नु, विश्वदृष्टिकोणका आधारमा हरक्षेत्रमा दक्षता प्राप्त गर्नु, जनसमुदायलाई साथमा लिएर संशोधनवादविरूद्ध मालेमावादलाई दृढताका साथ अवलम्बन गर्दै नयाँ उचाइमा फड्को मार्दै रूपान्तरणका आधार हुन्छन् ।

समकालीन नेपाली समाजमा धर्म पनि समस्याको रूप उभिएको छ । केही मानिसद्वारा धर्मको खोल ओढेर जनविरोधी र राष्ट्रविरोधी कार्य तीब्र पारिएका छन् । माक्र्सले भन्नुभएको छ, “धार्मिक व्यथा एक साथ वास्तविक व्यथाको अभिव्यक्ति तथा वास्तविक व्यथाको प्रतिवाद दुवै नै हो । धर्म उत्पीडित मानिसको सुस्केरा हो । हृदयहीन संसारको मर्म हो साथै, निरुत्साह परिस्थितिको उत्साह पनि हो । यो जनताका लागि अफिम हो । ” लेनिनको भनाइ छ, “जहाँसम्म राज्यको सम्बन्ध हो, धर्मलाई व्यक्तिगत मामिला मान्न्ुपर्दछ तर जहाँसम्म पार्टीको सवाल हो, हामी धर्मलाई कुनै पनि प्रकारले व्यक्तिगत मामिला मान्न सक्तैनौँ । हामीले धर्मको विरोध गर्नुपर्दछ । ” यसैमा माओले थप्नुभएको छ, “प्रशासनिक आदेशद्वारा धर्मलाई उन्मूलन गर्न सकिँदैन । ” धर्मनिरपेक्ष मुलुकमा एउटा अमूक धर्म प्रवद्र्धन गर्ने अधिकार कसैलाई पनि हुँदैन । धर्म व्यक्तिगत मामिला हो तर यसको अन्यमा असर पर्नुहुन्न । नेपालमा राजनीतिक तथा अन्य स्वार्थका कारण धर्म परिवर्तन हुनुले राष्ट्रिय अस्मितामाथि गम्भीर आँच पु¥याएको छ । साथै, एक किसिमको जीवनपद्धतिसँग हिंडिरहेको मानिस वा समुदायलाई अर्को किसिमको जीवनपद्धति वा संस्कृतिमा हिंडाउन र रूपान्तर गर्न अर्को नयाँ बाटो दिनुपर्छ । बाटो बन्द गरेर न अग्रगमनमा जान सकिन्छ न त सांस्कृतिक रूपान्तरण नै हुन्छ । जनसंस्कृति वा सर्वहारा संस्कृति शून्यबाट सिर्जना हुँदैन । वैज्ञानिक जनसंस्कृति निर्माण गर्नु भनेको जनताले निर्माण गरेका विगतका सबै सकारात्मक एवम् उपयोगी सांस्कृतिक पक्षहरूलाई मिलाएर अगाडि बढ्नु हो । समाजमा हजारौँ वर्षदेखि हरेक तन्तुमा आनीबानी, संस्कार–संस्कृति अन्तर्घुलित भएर बसेकोले सांस्कृतिक रूपान्तरण तुरुन्ताको तुरुन्त हुँदैन ।

माक्र्सवाद कम्युनिस्ट घोषणापत्रबाट सन् १८४८ बाट सुरु हुन्छ । सन् १८४८ बाट अहिले १७० वर्ष भयो । १७० वर्षको बीचमा संसारको दुईतिहाइ भू–भागमा यसले क्रान्तिको सुनामी चलायो । एकातिर ८–१० हजार वर्ष, पुँजीवादको ४ सय वर्ष र अर्कोतिर माक्र्सवादको १७० वर्षको समयावधिलाई पनि हामीले ख्याल गर्न आवश्यक छ । नेपालमा २००६ सालमा कम्युनिस्ट पार्टी स्थापना भयो । समयावधिको कुरा गर्दा नेपालमा माक्र्सवाद ६८ वर्ष मा पूरा भयो । त्यसैले सांस्कृतिक रूपान्तरणमा अग्रगति प्रदान गर्न प्रचारात्मक र क्रियात्मक दुवै क्षेत्रमा ध्यान दिन आवश्यक छ । माक्र्सवादी दृष्टिकोणका साथ सर्वहारा सांस्कृतिक क्रान्तिद्वारा हामीले सांस्कृतिक रूपान्तरणको कार्यभार पूरा गर्न सक्छौँ । यसर्थ, सांस्कृतिक रूपान्तरणमा एकीकृत जनक्रान्तिको गहिरो चासो रहेको छ । क्रान्तिकारी कम्युनिस्ट नैतिकताका साथ सांस्कृतिक रूपान्तरणमा एकीकृत जनक्रान्तिको विशेष जोड रहेको छ ।
बाँकी अर्को अंकमा
२०७५ भदौ ५ गते प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :