‘अपराधी’ प्रकाण्ड

वामपन्थ र कम्युनिस्टको मुखुन्डो लगाएको सामाजिक दलाल पुँजीवादी समूहहरूको गठबन्धन केपी–पीके सरकार झन्झन् क्रूर र फासिवादी बन्दै गएको छ । कथित दुईतिहाइको दम्भले भ्यागुतोझैँ फुलेको केपी–पीके सरकारले राष्ट्रियता, जनतन्त्र, जनजीविकाको रक्षा एवम् सुनिश्चितताका साथै अन्याय, विभेद र असमानताको अन्त्यका लागि जनताको साथ लिएर एकीकृत जनक्रान्तिमा होमिएका नेकपाका शीर्ष तहका नेतादेखि कार्यकर्तासम्मलाई षड्यन्त्रपूर्ण गिरफ्तारी, चरम यातना र झूट्टा मुद्दा लगाउँदै निरङ्कुश राणाकाल, पञ्चायतीकाल र शाहीकाल तीनवटै निकृष्ट व्यवस्थाको एकीकृत स्वरूप अभिव्यक्त गरिरहेको छ । गतसाता नेकपाका स्थायी समिति सदस्य एवम् पार्टीप्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत तीनजनालाई अपराधीको आरोप लगाउँदै गिरफ्तार गरियो । प्रकाण्डसहित तीनजनाको आपराधिक शैलीको गिरफ्तारी, आँखामा पट्टी, हतकडी, यातना र झूट्टा मुद्दासम्म आइपुग्दा यो बुख्याँचा सरकार नेकपालाई भड्काएर तत्काल गृहयुद्ध सुरु गराउन उद्यत छ भन्ने सङ्केत देखिन्छ । यो उसको आत्मघाती हर्कत हो । यसको जति निन्दा र भत्र्सना गरे पनि कमै हुन्छ । हामी षड्यन्त्रपूर्वक गिरफ्तार गरी झूट्टा मुद्दा लगाइएका, हिरासत, हतकडी र आँखामा कालोपट्टी बाँधिएका प्रकाण्डलगायत नेकपाका सबै नेता र कार्यकर्ताहरूको तत्काल रिहाइका लागि माग गर्दछौँ ।

केपी–पीके सरकारले रामबहादुर थापालाई मोहरा बनाएर यतिबेला नेकपाका प्रवक्ता प्रकाण्डलगायत पीबीएमहरू पदम राई, ओम पुन, मोहन कार्की, कृष्ण धमला, सीसीएम आजाद, देवनारायण शाहलगायत देशभरबाट कयौँ नेता र कार्यकर्तालाई बिनाकारण गिरफ्तार गरी अमानवीय व्यवहार गर्दै झूट्टा मुद्दामा फसाउने प्रपञ्च रचिरहेको छ र नेकपालाई नेपाल बन्द गर्न बाध्य बनाएको छ । गृहमन्त्री रामबहादुर थापाले एउटा सार्वजनिक कार्यक्रममा प्रकाण्डलगायत नेकपाका नेताहरूले आपराधिक र आतङ्ककारी गतिविधि गरिरहेकाले गिरफ्तार गर्नुपरेको झूट्टा भाषण गरेका छन् । बाटो हिँड्दै गरेका, घर र कोठामा बसिरहेका नेता–कार्यकर्ताहरूलाई अपराधी र आतङ्ककारी देख्ने रामबहादुर र केपी सरकारको दृष्टिभ्रम शान्तिपूर्ण आन्दोलनले हट्ने देखिँदैन । यो सरकारले देश र जनताका पक्षमा लडिरहेका नेता र कार्यकर्ताहरुलाई अपराधी भन्दै यस किसिमको निकृष्ट व्यवहार गर्न पाउँदैन । जनताले बुझिसकेका छन्, हिजो पनि संसद्वादी शक्ति र राजतन्त्रका पक्षपातीहरुले जनयुद्ध लडिरहेको माओवादीलाई अपराधी र आतङ्ककारी घोषणा गरेका थिए । यसले विद्रोही शक्तिलाई क्रान्ति अघि बढाउन सहज भएको थियो । देश र जनताको सेवा गरिरहेको शक्तिलाई अपराधी र आतङ्ककारी घोषणा गरेपछिको परिणाम राजतन्त्र र संसद्वादीहरुले राम्रैसँग अनुभूति गरेका थिए । तर केपी र रामबहादुरहरु यति छिट्टै त्यो ताजा विगत भुलेको नाटक गरिरहेका छन् ।

केपी–पीके सरकार यतिबेला चौतर्फी अलोकप्रिय र बदनाम बन्दै गएको छ । यो सरकारले एकातिर जनतामाथि तीन तहका कर लादेर उठ्नै नसक्ने गरी थलापारेको छ भने अर्कातिर सिंहदरबारको भ्रष्टाचारलाई संस्थागत गरेर तल्लो तहसम्म पु¥याएको छ । महँगीले जनताको दैनिक जीवन नै सञ्चालन हुन मुस्किल भएको छ भने समाजमा व्याप्त हत्या, बलात्कार र व्यभिचारले विगतका कुनै पनि अलोकप्रिय र जनविरोधी घटनाहरूलाई बिर्साउँदै लगेको छ । बालिका बलात्कार र हत्या, बालक अपहरण र हत्या, कर्मचारीद्वारा करोडौँ भ्रष्टाचार, वैदेशिक रोजगारीमा झुक्याएर लगिएका महिला र युवाहरूको बिचल्ली…दैनिक यसप्रकारका निन्दनीय घटनाले सञ्चारमाध्यम रङ्गिएका छन् र लाचार सरकारका उपलब्धि मान्दै जनताले यस्ता घटना हेर्दै र सुन्दै दिन–रात काट्नुपरेको छ । प्राकृतिक प्रकोपका कारण बेहाल हुने जनताको त कुनै लेखाजोखा नै छैन । देशको सीमा मिचिइरहेकै छ । सीमा क्षेत्रका जनतामाथि भारतीय साम्राज्यवादको हस्तक्षेप र यातना बढिरहेकै छ तर पनि केपी–पीके सरकार जनतालाई झुक्याइरहेको छ– समृद्ध नेपाल, सुखी नेपालीको झूट्टा नारा र आश्वासन बाँडेर । बलात्कार, अपहरण र हत्या वृद्धि गरेर, महँगी र भ्रष्टाचार व्यापक बनाएर, देशभक्त र क्रान्तिकारी विद्रोहीहरूलाई जेलनेल हालेर र झूट्टा मुद्दामा फसाएर यो सरकारले कस्तो समृद्धि र सुख बाँड्न खोजिरहेको होला, आश्चर्यको विषय बनेको छ । यो छट्टु स्यालले आकाशतिर चिल देखाउँदै भुइँको चल्ला चोरेर फरार भएजस्तो हो ।

एउटा महान् उक्ति छ– संसारभरकै प्रतिक्रियावादी र जनविरोधीहरू एउटै धातुले बनेका हुन्छन् । हिटलर, मुसोलिनी, डोनाल्ड ट्रम्पदेखि केपी–पीके र रामबहादुरसम्मका हर्कतहरूलाई हेर्दा यो उक्ति तिनकै लागि बनाइएको होजस्तो लाग्छ । हिटलरले पनि समाजवादकै नाममा आमहत्या र नरसंहार गरेको थियो । राणाशासक र राजामहाराजाहरूले पनि ‘रामराज्य’ को गुलियो सपना बाँडेर जनदमन गरेका थिए । यतिबेला समाजवादको भ्रम बाँड्दै हिँडेका पीके–केपी र रामबहादुरहरू पनि जनदमन गर्दै जनता र देशविरोधी गतिविधि गरेर निरङ्कुश शासकको सिको गरिरहेका छन् । आफैँ समाप्त नहोउन्जेल गल्ती दोहो¥याइरहने प्रतिक्रियावादी शासकहरूको चरित्र यो सरकारले पनि दोहो¥याइरहेको छ । हामी यो सरकारलाई सुझाव दिन्छौँ– सरकार, जनता र विद्रोहीमाथि दमन गरेर र झूट्टा मुद्दा लगाएर तिम्रो राज्य ‘रामराज्य’ बन्दैन । सम्पादकीय
२०७५ भदौ २ गते शनिबार बिहान ११ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :