सर्वोच्च अदालतबाटै नेकपाका प्रवक्ता प्रकाण्ड पक्राउ


काठमाडौँ : सर्वोच्च अदालतले रिहाइको आदेश गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डलाई प्रहरीले पूनः गिरफ्तार गरेको छ । शुक्रबार सर्वोच्च अदालतले रिहाई गरेपछि मानव अधिकारकर्मीको गाडिमा बाहिर निस्कन लागेको बेला अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरिएको हो । मानव अधिकार कर्मीको टोली सहित गाडिमा बसेका प्रकाण्डलाई प्रहरीले उनी चढेको गाडि घेरा हालेर पक्राउ गरेको हो । पक्राउपछि उनलाई काभ्रे लाने तयारी गरिएको बुझीएको छ । सर्वोच्च अदालतले प्रकाण्डको गिरफ्तारी गैर कानूनी भएको भन्दै रिहाको आदेश गरेको थियो । प्रकाण्डका छोरा नरेन्द्र बिकले प्रकाण्डको पक्राउ गैर कानुनी भन्दै रिहाइको माग सहित सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमाथि बहस गर्दै सर्वोच्चका न्यायधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको ईजलासले प्रकाण्डलाई रिहाइका आदेश गरेको हो । बन्दीप्रत्यक्षीकरणको रिटको पक्षमा एकराज भण्डारीसहित २८ जना कानुन व्यवसायीहरुले बहस गरेका थिए ।
प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि शुक्रबार दिउँसो सर्वोच्चमा उपस्थित गराइएको थियो । नेपाल सरकार, गृहमन्त्रालय, काठमाडौं प्रहरी र काठमाडौं जिल्ला अदालतलगायत विपक्षीहरुले लिखित जवाफ पेश गर्न ढिलाई गरेका कारण बिहीबार हुने भनिएको सुनुवाई स्थगित भएको थियो । प्रहरीले गैर कानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भन्दै साउन २७ गते प्रकाण्डका नरेन्द्र विकले प्रकाण्ड, आर्चाय र श्रेष्ठको रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिट उपर साउन २८ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घण्टाभित्र बन्दीहरुलाई लिखित जवाफसहित उपस्थित गराउन सरकारको नाममा आदेश भएको थियो । नेकपा प्रवक्ता र पूर्व मन्त्री समेत रहेका प्रकाण्डलाई चन्दा असुली गरेको अभियोग लगाई साउन २२ गते काठमाडौंको दक्षिणकालिबाट पक्राउ गरिएको थियो । तर उक्त अभियोग पुष्टि हुन नसकेपछि सर्वोच्चले रिहाइको आदेश दिएको हो । यता नेकपाले भने फरक राजनैतिक विचार राखेकैकारण आफ्नो पार्टीका नेता कार्यकर्तालाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।

२०७५ भदौ १ गते बेलुका १० : २४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :