सर्वाेच्चमा किन प्रहरी तैनाथ गरियो


काठमाडौँ : काठमाडौंको दक्षिणकालीबाट साउन २२ गते पक्राउ गरिएका नेकपाका नेता प्रकाण्डलाई सर्वोच्च अदालतले शुक्रबार रिहाइको आदेश गरेको छ । तर सर्वोच्चले रिहाइको आदेश गरेपनि नेकपाका प्रवक्ता प्रकाण्डलाई पक्राउको तयारीका लागि गाडि सहित प्रहरी सर्वोच्च अदालत परिसरमा तैनाथ भएपछि प्रकाण्ड शुक्रबार अबेरसम्म सर्वोच्च अदालतमै रहेका छन् । बाहिर ठूलो संख्यामा प्रहरी परिचालित भएपछि प्रकाण्डलाई पुन पक्राउको तयारी गरिएको आशंका गरिएको थियो । अदालतबाटै पक्राउ हुनसक्ने देखिएपछि प्रकाण्ड अदालतबाट बाहिर ननिस्केर रजिष्टारको कार्यालयमै बसिरकेका छन् । प्रकाण्डसँगै गिरफ्तार परेका हरिचन्द्र आचार्य र मानबहादुर श्रेष्ठ रिहा भएका छन् । उनीहरु पनि सर्वोच्चको आदेशमा रिहा भएका छन् । रिहा पछि आचार्य र श्रेष्ठ आफनो गन्तब्यतिर गइसकेका छन् ।

प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनुवाईका लागि शुक्रबार दिउँसो सर्वोच्चमा उपस्थित गराएको थियो । नेपाल सरकार, गृहमन्त्रालय, काठमाडौँ प्रहरी र काठमाडौँ जिल्ला अदालतलगायत विपक्षीहरुले लिखित जवाफ पेश गर्न ढिलाई गरेका कारण बिहीबार हुने भनिएको सुनुवाई स्थगित भएको थियो । प्रहरीले गैरकानूनी रुपमा गिरफ्तार गरी थुनामा राखिएको भन्दै साउन २७ गते प्रकाण्डका पुत्र नरेन्द्र विकले प्रकाण्ड, आर्चाय र श्रेष्ठको रिहाइको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिट उपर साउन २८ गते सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले ४८ घण्टाभित्र बन्दीहरुलाई लिखित जवाफसहित उपस्थित गराउन सरकारको नाममा आदेश भएको थियो । नेकपा प्रवक्ता र पूर्व मन्त्री समेत रहेका प्रकाण्डलाई चन्दा असुली गरेको अभियोग लगाइएको थियो । तर उक्त अभियोग पुष्टि हुन नसकेपछि सर्वोच्चले रिहाइको आदेश दिएको हो । यता नेकपाले भने फरक राजनैतिक विचार राखेकैकारण आफ्नो पार्टीका नेता–कार्यकर्तालाई पक्राउ गरिएको भन्दै विरोध गर्दै आएको छ ।
२०७५ भदौ १ गते शुक्रबार बेलुका ९ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :