पूर्वका स्रष्टा, प्रतिरोधी चेतना र कथित स्थानीय निर्वाचन : खेम थपलिया

khem thapaliya
सामन्तलाई नगिँडे
दुश्मनसँग नभिँडे
आउँदैन है जनवाद
भाषण ठोकेर … ।                                                                                                 
२०२८ सालमा झापातिर असाध्यै चर्चित थियो यो गीत । त्यतिबेला भारत–नक्सलवाडीका चारु मजुमदारको ‘वर्गसत्रु खत्तम गर’ अभियानबाट प्रभावित झापाली युवा कम्युनिस्टहरू क्रान्तिको थालनी गर्न आतुर थिए; यतिबेला हामी पनि हेटौंडा हुँदै त्यतै पुग्न कम्ती आतुर थिएनौँ ।
नेपाल कम्युिनस्ट पार्टी, शिक्षा, साहित्य तथा संस्कृति विभागले कञ्चनपुरमा चैत २०, कैलालीमा चैत २२, बर्दियामा चैत २५, सुर्खेतमा चैत २७ र दाङमा चैत २९ मा कवितावाचन अभियान सम्पन्न गरेर काठमाडौं फर्किएपछि विभाग प्रमुख आरपी तिमिल्सिनाको उपस्थितिमा विभागको दोस्रो बैठक कौशल, खेम थपलिया, निभा शाह र शोभा दुलालको उपस्थितिमा बस्यो । बैठकले सम्पन्न भएका कवितावाचन अभियानको गम्भीर समीक्षा गर्दै कार्यक्रम सफल, भव्य र प्रभावकारी रहेको संश्लेषण ग¥यो । नेपालको पूर्वी क्षेत्रका चार स्थानमा विभागीय प्रमुखसँगै विभाग सदस्य खेम थपलिया, निभा शाह र शोभा दुलाल जाने निधो भयो । विभागले आवश्यक व्यवस्थापन र सम्पर्कको कामलाई तीव्र बनायो । अन्तिम समयमा कमरेड निभा शाहको असमर्थतासँगै कमरेड शोभा दुलाल पनि रोकिनुभयो । जसोतसो वैशाख ४ गते पश्चिममा सम्पन्न भएका कार्यक्रमको अनुभव र पूर्वमा हुने आगामी कार्यक्रमको सम्भावित परिस्थितिको आँकलन गर्दै हामी हेटौंडातर्फ लाग्यौँ । मकवानपुर–हेटौडा ः ४ गते अबेर हेटौंडा पुगियो । कमरेड मिलन हामीलाई कुरेर बस्नुभएको रहेछ ।

हेटौंडाको बसपार्कमा रहेको होटल कैलासमा बस्ने व्यवस्था मिलाइएको रहेछ । होटलमा पुगेपछि कार्यक्रमसम्बन्धी छलफल भयो । दिनभरको थकाइका कारण हामी लखतरान भएका पनि थियौँ । खाना खाएर आराम गर्नतिर लाग्यौँ । ‘राष्ट्रिय स्वाधीनता एवम् समसामयिक सन्दर्भमा कवितावाचन अभियान’ को छैठौँ कार्यक्रम वैशाख ५ गते हैटौंडामा अवस्थित होटल लिडोको सभाकक्षमा आयोजित कार्यक्रमको अध्यक्षता आरपी तिमिल्सिनाले गर्नुभयो । सञ्चालनको जिम्मा मैले सम्हालेँ । यो हाम्रो अभियानको पूर्वतर्फको पहिलो र समग्र अभियानको छैठौं कार्यक्रम पनि थियो । सभाकक्ष खचाखच थियो । नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरो इन्चार्ज एवम् केन्द्रीय सदस्य क. मिलन, भोजपुरी साहित्यिक अग्रज स्रष्टा नन्दन अर्याल, मकवानपुर इन्चार्ज क. ज्वाला, बारा इन्चार्ज क. नयन, मकवानपुर सेक्रेटरी क. वाटर, बारा सेक्रेटरी क. चन्द्रप्रकाश, नारायाणी ब्युरो सदस्य क. दावालगायत अतिथि हुनुहुन्थ्यो । अभियानमा मिलन, राप्ती, एस लामा, राजेश थापा, रमन घिमिरे, गिरिजा अधिकारी, मोहन शाह, श्यामसुन्दर ढुङ्गाना, पुरुषोत्तम आचार्य, प्रमोद अधिकारी, दिलमहम्मद अन्सारी, कृष्णप्रसाद घिमिरे, धर्मराज स्याङ्तान, रविन्द्र देउला, नन्दन अर्याल, लक्ष्मी श्रेष्ठलगायत स्रष्टाहरूले सिर्जनाका माध्यमबाट समसामयिक आवाज मुखरित गर्नुभएको थियो ।

त्यहाँ प्रतिरोधी आवाज थियो, परिवर्तनको उत्कट चाहना थियो र दलाल संसदीय व्यवस्थाप्रतिको तीव्र रोष थियो । त्यो अवसरमा नेपाल कम्युनिस्ट पार्टी, नारायणी ब्युरोद्वारा भोजपुरी भाषा– साहित्यका संस्थापक ८५ वर्षीय कवि नन्दन अर्याललाई प्रशंसापत्र, पुस्तक, डायरीसहित विशेष सम्मान गरिएको थियो । त्यसैगरी नारायणी ब्युरोले ब्युरोस्तरीय अविरल सांस्कृतिक परिवारका जनकलाकारहरू उत्तम वाइबा, कुमार ब्लोन, अस्मिता कालिकोटे, अमृता ब्लोन, निरुता श्रेृष्ठ, दिलकुमार लामिछाने, आशीष कुँवर, सविता वाइबा र मञ्जु लामालाई पनि प्रशंसापत्र, डायरीसहित सम्मान गरिएको थियो । ब्युरो इन्चार्ज कमरेड मिलनको समसामयिक प्रशिक्षात्मक मन्तव्यले कार्यक्रमलाई झन् उचाइमा पु¥याएको थियो भने अन्तिममा कार्यक्रम समापन गर्दै कमरेड राप्तीले राजनीतिक तथा सामाजिक रूपान्तरणमा कला–साहित्यको भूमिकासम्बन्धी विचार सम्पेषण गर्नुभएको थियो । कवितावाचन अभियानको सम्पूर्ण कामको कमान्ड स्वयम् ब्युरो इन्चार्ज कमरेड मिलनले गर्नुभएको थियो । लामो समय सांस्कृतिक मोर्चामा काम गरेको र कला– साहित्यको मर्मलाई नजिकबाट बुझेकोले पनि हुनुपर्छ; कमरेड मिलनको साथ, समर्थन, सहयोग र हौसला यो अभियानमा विशेष रह्यो । यो कुरा अन्य ब्युरोका लागि पनि उत्तिकै शिक्षाप्रद र मननीय छ । भोलिपल्ट जनकपुर ब्युरोअन्तर्गत सिराहाको लाहानमा आयोजना गरिएको वैशाख ७ गतेको कार्यक्रमको तयारी र आवश्यक संयोजन गर्न हामी नेपालको मध्यक्षेत्रको सुन्दर सहर हेटौंडाबाट सिराहातिर लम्कियौँ । सिरहा–लाहान ः चर्को गर्मीका बीच अलि अलि पानी परिरहेकोले हामीलाई केही राहतको अनुभूति भइरहेको थियो । हामी सिराहा पुग्याँै । त्यहाँ हामीलाई लिन पार्टीका केन्द्रीय सदस्य कमरेड देवनारायण साह र जिल्ला इन्चार्ज कमरेड हिक्मत आइपुग्नुभयो ।

उहाँहरू आउनुअघि हामी लाहानबजारमा बिक्री गर्न राखिएका ठूला–ठूला तर्बुजाका थुप्रो हेरेर रमाइरहेका थियौँ । उहाँहरूले लाहानचोकमा रहेको एक होटलमा लगेर एकछिन आरामसहित चिया खाने व्यवस्था मिलाउनुभयो । ऐतिहासिक लाहानबजार सुनसान जस्तो, के के नपुगेको जस्तो लाग्यो । सहिदचोकमा रहेका सहिदहरूका सालिकले हामीतिर हेरेर अनेकन् प्रश्न गरिरहेझैँ लाग्यो । त्यसपछि उहाँहरूले हामीलाई त्यही नजिकै रहेको दिलुचन्द्र अतिथिगृहमा लैजानुभयो । त्यो रात हामी त्यही अतिथिगृहमा बितायौँ । हामीसित उहाँहरू पनि सँगै बस्नुभयो । लाहानको गर्मी र लामखुट्टेको आतङ्कबीच पनि मीठा–ताजा खाना र कमरेडहरूको न्यानो माया र कमरेड्ली व्यवहारले हामीलाई चिसो– ठन्डा बनाइराखेको थियो । कवितावाचन अभियानको सातौँ कार्यक्रम वैशाख ७ गते पशुपति आदर्श माध्यामिक विद्यालय, लाहानको सभाकक्षमा सहभागी भयौँ । विभाग प्रमुखको अध्यक्षतामा कार्यक्रम अघि बढ्यो । यहाँ पनि कार्यक्रम सञ्चालन तथा सहजीकरणको जिम्मेवारी मलाई नै प¥यो । कार्यक्रममा राप्ती, खेम थपलिया, अर्जुनप्रसाद गुप्ता ‘बर्दिला’, देवनारायाण साह, वीरबहालदुर दनुवार ‘आइडिएल’, गणेश साह, रोयन्टल मण्डल, परमेश्वर रायलगायत आयोजक, कवि तथा अतिथिहरूले सिर्जना वाचन गर्नुभएको थियो । यहाँ कृष्ण सेन ‘इच्छुक’ द्वारा रचित ‘अस्वीकार्य’ शीर्षकको कवितावाचन पनि भयो । स्रष्टाहरूले राष्ट्रिय स्वाधीनका पक्षमा र कथित स्थानीय निर्वाचनको विपक्षमा आफ्ना सिर्जनात्मक आवाजलाई सशक्त ढङ्गबाट राख्नुभएको थियो । लाहानमा सङ्क्षिप्त तर सार्थक कार्यक्रम गर्न सफल भएकोमा हाम्रो मन त्यो बेला कम्ती चङ्गा भएको थिएन ! लाहानको कार्यक्रम सम्पन्न गरेर हामी सुनसरीतिर प्रस्थान ग¥यौँ ।

पूर्व–पश्चिम राजमार्ग र त्यहाँको बसको यात्रा कठीन हुँदाहुँदै पनि खै किन हो, हामीलाई जस्ता र जति पनि अभाव र अप्ठ्यारा मन पर्न थालेको थियो । सुनसरी–धरान ः इटहरी–बसपार्कमा झरेपछि हामी गोर्खा कम्प्लेक्स पुग्यौँ । त्यहाँ हामीलाई पर्खेेर कमरेड चेतना बसिरहनुभएको रहेछ । त्यहाँबाट हामी कोशी ब्युरो कार्यालयमा पुग्यौँ । त्यहाँ कमरेड मनु अछामीलगायत कमरेडहरूसित भेट भयो । बस्ने व्यवस्था त्यही मिलाइएको रहेछ । कामका चापमा कारण अलि ढिला गरेर पार्टीका केन्द्रीय सदस्य एवम् कोशी ब्युरो इन्चार्ज कमरेड नवीन आइपुग्नुभयो । केही राजनीति छलफल, धरानमा आयोजनाको गरिएको कवितावाचन कार्यक्रमको तयारी, अन्य सम्पन्न भइसकेका कविता कार्यक्रमको समीक्षाका साथै मीठो र स्वादिलो खाना अनि रमाइलो वातावरणले हाम्रा थकाइ निकै टाढा भागिसकेको थियो तर इटहरीका लामखुट्टेलाई भने मान्नैपर्दछ कि रातभर उनीहरूले आफ्नो ड्युटी पूरा गरिरहे । वैशाख ८ गते कोशी ब्युरोस्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको रहेछ । अलिकति समय पनि बाँकी रहेको र त्यहाँ अन्य कमरेडहरूसित भेटघाट पनि हुने भएकोले हामी कमरेड चेतना, कमरेड मनु अछामीसँगै विराटचोकमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा सहभागी भयौँ । प्रशिक्षणको प्रमुख अतिथि÷अतिथिहरूमा नेपाल कम्युनिस्ट पार्टीका स्याथी समितिका सदस्य कमरेड सुदर्शन, जनसरकारका उपप्रमुख तथा पार्टी पीबीएम कमरेड विकासलगायत हुनुहुन्थ्यो । भोलिपल्ट धरानका आयोजना गरिएको कार्यक्रमको तयरी एवम् आवश्यक संयोजनलगायतका काम गर्ने समय कम हुँदै गएकोले प्रशिक्षणमा पूरै समय बस्न असाध्यै मन हुँदाहुँदै पनि हामी धरानतर्फ हिँड्यौँ । बेलुकीपख हामी धरानको बसपार्क ओर्लियौँ ।

हामीलाई लिन अखिल नेपाल जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य एवम् सुनसरी ब्युरो इन्चार्ज लम्जेल सङ्घर्षशील आउनुभयो । हामीले बसपार्कसितै जोडिएको घन्टाघर पार्कमा केहीबेर थकाइ मार्दै चिया खायौँ । अलि–अलि भोलिपल्टको कार्यक्रमको तयारीको अवस्था र आवश्यक थप तयारीका विषयमा पनि कुराकानी ग¥यौँ । त्यतिखेरसम्म हामी बेलुका कहाँ बस्ने भन्ने कुरा निश्चित भइसकेको थिएन । होटलमा बस्नुभन्दा जनताका बीचमा बस्नु उपयुक्त हुने कुरा हाम्रो थियो । त्यसपछि हामीलाई लिएर लम्जेलजीले आफ्नो सेल्टरमा लैजानुभयो । त्यहाँ कमरेड जमुना श्रेष्ठसित भेट भयो । जमुनाले हाँसी–हाँसी बनाएको मीठो चियाको चुस्कीसँगै रमाइला कुराकानी भए । बेलुकी खाना त्यहीँ खाने र बस्नका लागि देउरालीमा जाने कुरा भयो । खाना खाएपछि आफ्नै मोटरबाट हामीलाई दुर्गा शङ्करजीले देउराली पु¥याउनुभयो । त्यो ठाउँ पूर्वको आधारइलाका नै रहेछ । विशाल सुकुमबासी बस्ती, निर्वाचनका बेला भोटबैङ्कको रूपमा प्रयोग गरिने र अरू बेला फर्किएर पनि नहेर्ने प्रचलनले त्यहाँका जनतामा स्थानीय निर्वाचनले छोएकै रहेनछ । केही घरमा एकाध पार्टीका झन्डाबाहेक केही देखिएनन् । त्यो पनि बाहिरका मानिस आएर राखिदिएका रे ! त्यो रात त्यहाँ स्थानीय करिब एकदर्जन समाजसेवी–पुराना र नयाँ पुस्तासित गम्भीर राजनीतिक कुराकानी भए । त्यो कार्यक्रमको सहजीकरण मैले गरेँ भने स्थानीय जिज्ञासा र पार्टीको आधिकारिक धारणा कमरेड राप्तीले सविस्तार राख्नुभयो । कार्यक्रम सिद्धिँदा रात छिप्पिन थालिसकेको थियो तर पनि उहाँहरूमा कुराकानीको धोको नपुगेको सहजै महसुस गर्न हुन्थ्यो । उहाँहरूलाई बिदा गरेर हामी निद्रारूपी पछ्यौरीमा बेहेरियौँ ।

हामी सबेरै उठेर नित्यकर्म सिध्यायौँ । एकघन्टाजति म एक्लै देराउलीको अवलोकनमा निस्किएँ । त्यहाँको जनजीवनको विषयको जानकारी लिएँ । चिया खाइवरी हामी धरानको मुख्यबजारतिर लाग्यौँ । लम्जेलजीकहाँ बिहानको खाना खाएर हामी कार्यक्रमस्थल महेन्द्र आदर्श बहुमखी क्याम्पसतर्फ लाग्यौँ । नेपालको परिवर्तनकामी आन्दोलनमा महेन्द्र बहुमुखी क्याम्पसको आफ्नै इतिहास रहेको छ । यहाँका विद्यार्थीले पञ्चायती निरङ्कुशताका विरुद्ध ठूल–ठूला आन्दोलन गरेका थिए । त्यही क्याम्पसमा आयोजना गरिएको वैशाख ९ गते कवितावाचन अभियानको आठौँ कवितावाचन कार्यक्रम सम्पन्न गर्न पुग्यौँ । कार्यक्रम आरपी तिमिल्सिनाको अध्यक्षता र लम्जेल सङ्घर्षशीलको उद्घोषणमा अघि बढ्यो । महेन्द्र बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न कवितावाचन कार्यक्रममा साहित्य अनुसन्धान परिषद् नेपालका अध्यक्ष केशव वाग्ले, कवि बम देवान, इटहरीका कवि खेमराज शर्मा, मोती संस्मरण समितिका अध्यक्ष गोविन्द तिम्सिना, नेकपा (माओवादी केन्द्र निकट अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य खेमराज खनाल, प्रगतिशील लेखक सङ्घ केन्द्रीय पार्षद् केशवकुमार सुनाम, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कोशी ब्युरो सदस्य डम्बर विके, अखिल नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सदस्य एवम् कवि प्रेमगङ्गा गिरी ‘साहस’ र विराटनगरका कवि भक्ति दाहाल, नेकपा (क्रान्तिकारी माओवादी) का पेमा लामा, दलित साहित्यकार मञ्च नेपालका कोषाध्यक्ष शकुन्तला भुसाल, अमर प्रतिभा समूह अमरहाटका अध्यक्ष मनि राई ‘गोठाले’, कवि खगेन्द्र पराजुली, प्रगतिशील लेखक सङ्घ, सुनसरी शाखा सदस्य हर्कराज चर्मकार, कवि डिडिलिन आङबुहाङ, कवि सन्तु राई, मनकुमार लिम्बूलगायतले देशभक्तिपूर्ण कवितावाचन गर्नुभयो । उक्त कार्यक्रममा केशव वाग्ले र केशवकुमार सुनामलाई निरन्तर कम्युनिस्ट विचार र आन्दोलनप्रति निष्ठावान व्यक्तित्वको रूपमा रातो अबिर र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी, निरन्तर प्रगतिशील कविता रचना गरेर समाज रूपान्तरणमा भूमिका खेल्ने कविहरू खेमराज शर्मा र बम देवानलाई पुरस्कृत पनि गरिएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र का केन्द्रीय सदस्य नुलम राई, बेपत्ता योद्धा परिवार समाज नेपालका केन्द्रीय सचिव नवराज ढुङ्गाना, युवा जनस्वयम् सेवकका कोशी ब्युरो संयोजक देव गुरुङ, अनेम सङ्घ (क्रान्तिकारी) कोशी ब्युरो संयोजक मनु अछामी, सुखानी सांस्कृतिक परिवार संयोजक जमुना श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ केन्द्रीय पार्षद् मनिता चाम्लिङ राई, नेपाल पत्रकार महासङ्घ, प्रदेश पार्षद् गोपाल कामत, अखिल (क्रान्तिकारी) का नेता नवराज भट्टराई, लाङ्घाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य अमृत लिम्बू, अखिल (क्रान्तिकारी) सुनसरी अध्यक्ष पुष्प न्यौपाने, अखिल नेपाल क्रान्तिकारी भूमिहीन सङ्घका सुनसरी अध्यक्ष मोहन कार्की, मिजार सेवा समाज धरानका अध्यक्ष धनबहादुर हमाल, दलित मुक्ति मोर्चा सुनसरी सदस्य दुर्गा शङ्करलगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा छ दर्जनभन्दा बढी विभिन्न सङ्घ–सङ्गठनमा आवद्ध व्यक्तित्वहरूको उपस्थिति थियो । सुनसरीको धरानमा कवितावाचन कार्यक्रम भव्यता र उच्चताका साथ सम्पन्न गर्दै तथा धरानी साहित्यिक मनहरूलाई हार्दिक आभार प्रकट गर्दै हामी सोही दिन झापातर्फ लाग्यौँ ।

झापा–विर्तामोड ः झापाको सुरुङ्गाबजारमा बेलुका अबेर पार्टीका केन्द्रीय सदस्य एवम् मेची ब्युरो इन्चार्ज कमरेड सुमनसित भेट भयो । उहाँसँगै सुरुङ्गाको एक होटलमा खाना खाएर सुरुङ्गाकै अर्को ठाउँमा गएर रात बितायौँ । भोलिपल्ट बिहान म सुरुङ्गाबजार घुम्न निस्किएँ । अलि अलि पानी परिरहेको थियो, अलि अलि गर्मीले अनौठो पनि लागिरहेको थियो । जब म घुम्दै सुरुङ्गाबजारमा पुगेँ, संयोगवस त्यहाँ पार्टीका केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष असारेकाकासित भेट भयो । उहाँ माइक्रोबसबाट काठमामाडौं फर्कन लाग्नुभएको रहेछ । उहाँले मलाई बजारमा डुलिरहेको देखेर बसबाट ओर्लिएर बोलाउँदै हुनुहँदो रहेछ ‘बाबु’ । कसैको कसैलाई बिल्कुल कुनै मतलव हुन छोडेको यतिबेला काकाको योखालको सदाशयता र आत्मीयता निकै ओजिलो लाग्यो । सायद ‘वल्ड इज गोल्ड’ भनेको यही र यस्तै यस्तै त होला ।

११ गतेको कार्यक्रमको तयारी लगभग पूरा भइसकेको थियो । नजिकैको साइबरमा गएर विर्तामोडको कवितावाचन कार्यक्रम र वैशाख १३ गते काठमाडौंमा आयोजना गरिएको जनसांस्कृतिक योद्धा सम्मान कार्यक्रमका प्रचारात्मकलगायत अन्य काम सिध्याइसकेको थिएँ । त्यसपछि बाँकी रहेको समय सदुपयोग गर्दै काकरभिट्टा गएँ । मलाई भद्रपुरका मित्र गोपाल खड्काले साथ दिनुभयो । काकरभिट्टापारि पुगेर, एकछिन सुस्ताएपछि हामी त्यहाँबाट फर्कियौँ । भोपिल्ट बिहान भद्रपुर पुगेँ । भद्रपुरमा थुप्रै साहित्यिक तथा सामाजिक व्यक्तित्वसित भेट भयो । मित्र गोपालजीले त्यहाँ सबै घुमाउनुभयो । चियाबगान पनि भव्य नै लाग्यो । भद्रपुरमा बन्दै गरेको पुलको अवलोकन गरियो । राजनीतिक दाउपेच र भ्रष्टाचारको कारण त्यहाँको पुल १० वर्षअघि निर्माणकार्य सुरु भएर पनि अझै पूरा भएको रहेनछ । गलगलैयाबाट नेपालतर्फ फर्केर हेर्दा विचित्रको अनुभूति भयो । त्यहाँ भारतीय पक्षले नेपाली भू–भागलाई नराम्ररी मिचेको यथार्थले भित्रैदेखि अमिलो भएर आयो । भारतले भद्रपुर माध्यामिक विद्यालयको छेउमै आएर पोल गाडेको रहेछ । कतिखेर त्यो सिङ्गो भद्रपुर भारतभित्र गाँभिने हो, भन्न सकिने स्थिति नै रहेनछ । नेपालको सबैभन्दा पुराना चार नगरपालिकामध्ये भद्रपुर (२००२) पनि एक रहेछ । निकै शान्त तर अवसरको खोजीमा रहेको भद्रपुरमा फेरि आउने प्रविद्धता र त्यहाँको स्तरोन्नतिको शुभेच्छासहित हतार–हतार विर्तामोड– मुक्तिचोक फर्किएँ ।

वैशाख ११ गते झापाको विर्तामोडमा अवस्थित मु क्तिचो कमा रहेको भेटघाट चौतारीको सभाकक्षमा कवितावाचन अभियानको नवौँ कार्यक्रम थियो । यहाँको कार्यक्रमको सञ्चालनको जिम्मा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, मेची ब्युरो प्रमुख नवल गजमेर र अध्यक्षता विभाग प्रमुखले लिनुभयो । कार्यक्रममा अतिथिहरू नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् मेची ब्युरो प्रमुख क. सुमन, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका महासचिव खेम थपलिया, केन्द्रीय सदस्य एवम् कोशी ब्युरो इन्चार्ज लम्जेल सङ्घर्षशील, प्रलेस केन्द्रीय सल्लाहकार भवानी क्षेत्री, झापा इन्चार्ज क. उमेश, झापा सेक्रेटरी क. तारा, प्रलेस झापा अध्यक्ष राजेन्द्र सङ्ग्रौला, झापा जवस इन्चार्ज क. दर्शनलगायत साहित्यिक तथा राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो । सो कार्यक्रममा सुमनसिंह, हरिश भट्ट, प्रशान्त, दीपक कुशवाह, तेजप्रसाद तिवारी, हरिभक्त सङ्ग्रौला, नवल गजमेर, राजेन्द्र सङ्ग्रौला, सुमित्रा बाङ्देल बेली, भवानी क्षेत्रीलगायत स्रष्टाहरूले आ– आफ्ना कविता, गीत, मुक्तक, गजलका माध्यमबाट राष्ट्रियता, स्वाधीनताका पक्षमा र स्थानीय निर्वाचनको विरोधमा आवाज बुलन्द गर्नुभएको थियो । सयौँ सङ्ख्यामा उपस्थित रहको र खचाखच हल भरिएको उक्त कार्यक्रमा मेची ब्युरो इन्चार्ज क. सुमनले सारगर्वित मन्तव्य राख्नुभएको थियो । पछिल्ला वर्षमा पटक–पटक पूर्वमा सङ्गठनात्मक तथा साहित्यिक– सांस्कृतिक विभिन्न कार्यक्रममा सहभागी भइसकेको हुनाले मलाई नेपालको पूर्वीक्षेत्र सामान्य लागिरहेको भए पनि कमरेड राप्तीको पहिलोयात्रा भएकोले उहाँ निकै रोमाञ्चित हुनुभएको प्रतीत हुन्थ्यो ।

हैटौंडादेखि विर्तामोडसम्मका वाचित रचनाको एउटै बोली थियो– वर्तमान सत्ता राष्ट्रघाती र दलाल छ । यो स्थानीय निर्वाचनले देश र जनताको हित गर्दैन । राष्ट्रिय स्वाधीनता चरम सङ्कटमा छ । नेपालका सबै कम्युनिस्ट, देशभक्त–राष्ट्रवादी शक्ति मिलेर आमूल परिवर्तनको दिशामा अघि बढ्नुको कुनै विकल्प छैन । स्पेनका महान् कवि फेदरियो गार्सिया लोर्काले भनेझैँ सिङ्गो संसार डगमगाइदिने यो समयमा कलाकर्मीहरूले सबैसँग हाँस्न र रुन आवश्यक छ । सोही दिन बेलुकी हामी वैशाख १३ गते काठमाडौंमा आयोजना गरिएको जनसांस्कृतिक योद्धा सम्मान कार्यक्रमको आवश्यक तयारी र सहभागिताका लागि रात्रिबस चढ्यौँ । भोलिपल्ट काठमाडौँ आइपुग्यौँ तर पूर्वका स्रष्टाका उदात्त कवि–हृदय र दलाल संसदीय सत्ताधारीका विरुद्ध प्रतिरोधी सिर्जनाले मन भने पूर्वतिरै घुमिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!