नेकपाका २ केन्द्रीय सदस्यसहित ४ गिरफ्तार

 

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका दुई केन्द्रीय सदस्यसहित चार जनालाई प्रहरीले गिरफ्तार गरेको छ । गिरफ्तार पर्नेहरुमा सो पार्टीका केन्द्रीय सदस्यहरु किरण राई र दिपेश राई रहेका छन् । किरण राई कोशी ब्युरो इन्चार्ज हुन् भने दिपेश राई सगरमाथा ब्युरो इन्चार्ज हुन् ।

यस्तै सगरमाथा ब्युरो कार्यालय सचिव चन्द्र बुढाथोकी ‘सैलेश’ र नेकपाका कार्यकर्ता राकेश पनि पक्राउ परेका छन् । उनीहरु सबैलाई मंगलबार राती १२ बजे सुनसरीको धरान १६ बाट गिरफ्तार गरेको नेकपाले जनाएको छ । बर्दीमा आएका प्रहरीले मध्यरातमा पक्राउ र उनीहरुलाई कहाँ राखिएको छ भन्ने थाहा हुन नसकेको नेकपाका एकजना ब्युरोस्तरिय नेताले बताएका छन् ।

गिरफ्तार पर्नेहरु मध्य केन्द्रीय सदस्य किरण राई यो भन्दा पहिले १ सय १२ दिनसम्म हिरासत बसेर रिहा भएका थिए । पछिल्लो समय सरकारले नेकपाका नेताकार्यकर्तालाई गिरफ्तार गर्ने कार्य तीव्र पार्दै गएको छ ।

सो पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड, पोलिट ब्युरो सदस्यहरु पदम राई, ओमप्रकाश पुन, मोहन कार्की र कृष्ण धमलालाई यस अघि नै पक्राउ गरी हिरासतमा राखिएको छ । यस्तै केन्द्रीय सदस्यहरु टेकबहादुर केसी र देवनारायण शाह लगायत दर्जनौं नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरी विभिन्न ठाँउमा राखेको छ ।

संविधानले दिएको अधिकार अनुसार शान्तिपूर्ण राजनीतिक कार्यक्रम, सभा, सम्मेलन गर्न पाउनुपर्ने भन्दै नेकपाले संघर्षका कार्यक्रमहरु गर्दै आइरहेको छ । सो पार्टीका गतिविधिमाथि सरकारले गरेको दमनको चौतर्फी विरोध भइरहेको छ ।
२०७५ साउन ३० गते बुधबार बिहान ८ : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :