सर्वोच्चले भन्यो, प्रकाण्डलाई ४८ घण्टाभित्र उपस्थित गराउनु

काठमाडौँ : प्रहरी हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डलाई ४८ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले सरकारको नाममा आदेश जारी गरेको छ । सरकारले गैरकानूनी रुपमा गिरफ्तार गरी मानसिक र शारीरिक यातना दिई थुनामा राखेको भन्दै त्यसविरुद्ध खडकबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्माले प्रकाण्डसहित तीन नेता–कार्यकर्तालाई थुनामुक्त गर्न माग गर्दै आइतबार सर्वोच्चमा दायर गरेका थिए । सोमबार बन्दी प्रत्यक्षीकरणको रिट उपर सुनुवाई गर्दै कायममुकायम प्रधानन्यायधीश ओमप्रकाश मिश्रको एकल इजलासले सरकारलाई सो आदेश दिएको हो । यस्तै प्रकाण्डसँगै पक्राउ गरिएका उनका सचिव हरिचन्द्र आर्चाय र मानबहादुर श्रेष्ठलाई पनि सर्वोच्च अदालतमा ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चले आदेश दिएको छ । साउन २२ गते मंगलबार बेलुका काठमाडौंको दक्षिणकालीबाट पक्राउ गरिएका प्रकाण्ड लगायत उनका सहयोगीहरुलाई २३ गते म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थिति गराईएको थियो । निवेदकको तर्फबाट बरिष्ठ अधिवक्ताहरु गोविन्द गौतम,शेरबहादुर केसी,विश्वप्रकाश भण्डारी, एकराज भण्डारी,श्री यदुनाथ खनाल, श्री हरि फुयाल, अधिबक्ताहरु कपिलचन्द्र पोखरेल,राजु अधिकारी,कान्तिराम ढुंगाना,नरबहादुर खड्का,सागरप्रसाद बगाले,नारायणप्रसाद तिवारी र राजदेव अधिकारीले बहस गरेका थिए । पार्टी कामको सिलसिलामा काठमाडौं बाहिरबाट आउदै गरेको बेला प्रहरीले प्रकाण्डलगायत ३ जनालाई मंगलबार दक्षिणकालीबाट पक्राउ गरिएको थियो । बिनाकारण आफ्नो पार्टीका नेताकार्यकर्तालाई सरकारले गिरफ्तार गरेको भन्दै सो पार्टीका महासचिव विप्लवले यस अघि नै एक प्रेस विज्ञप्ति जारी गरी साउन २९ गते एक दिने नेपाल बन्दको घोषणा गरेका छन् ।
२०७५ साउन २८ गते बेलुका ९ : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :