तथ्यहीन समाचारप्रति नेकपा ललितपुरको आपत्ति

ललितपुर : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा फटाहा र भूमाफियाले राजनीतिक संरक्षणमा गैरकानुनी तरिकाले अनुत्पादक क्षेत्रमा लैजान बिक्री गर्न लागेको पाइएपछि त्यसविरुद्ध निरन्तर संघर्ष गरिरहेको जनाएको छ । नेकपा ललितपुरका सेक्रेटरी विपीन शर्माले आइतबार प्रेसविज्ञप्ति जारी गर्दै उक्त विवादित जग्गामा जनताका पक्षमा काम नभएसम्म पार्टीले संघर्ष जारी राख्ने जनाएका छन् ।

विज्ञप्तिमा आफ्नो पार्टीप्रति फैलाइएको भ्रम र तथ्यहीन समाचारप्रति विश्वास नगर्न आम जनसमुदाय र सम्बन्धित पक्षसँग आग्रह गरिएको छ । नेकपाले जनताको हितमा काम गरेपछि बढ्दै गइरहेको जनसमर्थनको लहरबाट अत्तालिएकाहरुबाट षड्यन्त्रपूर्ण समाचार बाहिर ल्याइएको पनि जनाएको छ ।
विज्ञिप्तमा ‘यसरी रोकियो हरिसिद्धि इट्टा तथा टायल कारखानाको जग्गा बेच्ने योजना’ शीर्षकमा प्रसारित समाचारमा जिल्ला सचिव विपीनलाई लाखौंको अफर, विभिन्न व्यक्तिहरुसँगको जिल्ला सेक्रेटरीको भेटघाट, पार्टी हेडक्वार्टरको ध्यानाकर्षण इत्यादि भन्ने समाचार भ्रामक, कपोलकल्पित, तथ्यहीन, षड्यन्त्रपूर्ण र बदनियतपूर्ण रहेको प्रस्ट पारिएको छ ।
जिल्ला सेक्रेटरी विपिन शर्मासँग जोडेर केही अनलाइन समाचार संस्थाहरुले केही दिनदेखि निरन्तर भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरिरहेका छन् । सेक्रेटरी शर्माले उक्त समाचार झुठा र जनताको पक्षमा अधिकारको संघर्षमा खटिएका नेता–कार्यकर्तालाई बदनाम गराउने नियतबाट प्रेरित रहेको जनाएका छन् ।
उक्त समाचार कुत्सित स्वार्थ पूरा गर्ने उद्देश्यबाट लेखिएको भन्दै संस्थालाई खण्डन गर्न समेत चेतावनी दिइएको छ । जिल्ला पार्टी र नेतासँग जोडेर पटकपटक विभिन्न शीर्षकमा कपोलकल्पित समाचार लेख्न नरोकिएपछि सम्बन्धित सञ्चार संस्थाको ध्यानाकर्षण गराइएको हो ।
२०७५ साउन २१ गते अपरान्ह ५ : ५३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :