विद्यार्थीद्वारा शिक्षा नियमावलीको विरोध

 
काठमाडौँ : महानगरपालिकाबाट प्रकाशित स्थानीय राजपत्र विद्यालय शिक्षा नियमावली २०७४ मा समावेश गरिएका केही बुँदाहरू विद्यार्थीको हितविपरीत भएको भन्दै अखिल क्रान्तिकारी काठमाडौँ जिल्लाले विरोध गरेको छ । नेपालको संविधान २०७२ ले आधारभूत शिक्षा अनिवार्य भनेर गरेको व्यवस्थाको उल्लघन गरी विद्यालयहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा चर्को शुल्क लिएको क्रान्तिकारीले जनाएको छ ।
निजी विद्यालय खोल्न अनुमति दिने कार्य तत्काल बन्द गर्न माग गर्दै काठमाडौँ जिल्लाभित्रका शिक्षक दरबन्दी मिलानको समस्या तत्काल माग गर्न पनि क्रान्तिकारीले माग गरेको छ । क्रान्तिकारीका काठमाडौँ जिल्ला अध्यक्ष दर्शनकुमार नेपालीद्वारा हस्ताक्षरित मागपत्रमा सरकारी विद्यालयले चलअचल सम्पत्ति दुरुपयोग गरिरहेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न माग गरिएको छ ।
त्यसैगरी अखिल (क्रान्तिकारी) ललितपुर जिल्लाले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसमक्ष विद्यार्थीहरुका जायज माग तत्काल पूरा गर्न आग्रह गर्दै १४ सूत्रीय माग पेस गरेको छ । शैक्षिक संस्थाले नीतिनियम उल्लङ्घन गरेर शैक्षिक संस्था चलाएको भन्दै अखिल (क्रान्तिकारी) ले त्यस्ता संस्थालाई तुरुन्त कारबाहीको दायरामा ल्याउन पनि ध्यानाकर्षण गराएको छ । ती संस्थाले कारबाही नगरेमा आफूले कारबाही गर्ने चेतावनी पनि अखिल (क्रान्तिकारी) ललितपुरले दिएको छ ।
२०७५ साउन १६ गते दिउँसो १२ : ५१ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :