प्रचण्ड–ओलीको नेकपामा भाँडभैलो, प्रवक्ता नारायणकाजीले दिए राजीनामा

काठमाडौँ :  तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीच पार्टी एकता भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा तीव्र भाँडभैलो मच्चिएको छ । पार्टी प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बुधबार पदबाट राजीनामा दिएको सार्वजनिक भएपछि भाँडभैलो सार्वजनिक भएको हो ।

पार्टीको बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म एकअर्काको आलोचनादेखि विरोध र असन्तुष्टि छरपस्ट हुँदै आएको थियो । सरकार सञ्चालनप्रति पनि पूर्वमाओवादी केन्द्रका नेताहरूले अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको विरोध गरिरहेका छन् ।
आन्तरिक किचलो व्यवस्थापनभन्दा पनि फैलिँदै गएको छ । अध्यक्ष ओलीसँगको विवाद बढ्दै गएपछि श्रेष्ठ राजीनामा दिन बाध्य भएको बताइएको छ । उनले गत शनिबारै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाललाई सम्बोधन गर्दै केन्द्रीय सचिवालय बैठकमा प्रवक्ता पदबाट राजीनामा दिएका थिए तर बुधबार मात्र यो घटना सार्वजनिक भएको हो ।

पार्टी नीतिविपरीत आमरण अनबनमा बसेका प्रा. डा. गोविन्द केसीलाई भेटेर उनको आन्दोलनप्रति नैतिक समर्थन जनाएको भन्दै प्रवक्ता श्रेष्ठसँग पछिल्लो सचिवालय बैठकमा अध्यक्ष ओलीले मौखिक स्पष्टीकरण लिएका थिए । ‘पार्टीको जानकारीबिना तपाईंले किन भेट्नुभो, कसको अनुमतिमा भेट्नुभो, सामाजिक सञ्जालमा भेटको प्रचार पनि गर्नुभएछ’ भन्दै बैठकमा ओलीले स्पष्टीकरण लिएका थिए । कानुनमन्त्री शेरबहादुर तामाङको विवादास्पद अभिव्यक्तिपछि श्रेष्ठले उनको राजीनामा मागेको सार्वजनिक भएको थियो ।

अर्का अध्यक्ष दाहालले पनि ‘पार्टीको जानकारीबिना केसीलाई भेटेर गलत काम गरेको र उनको नाममा काङ्ग्रेसको आन्दोलनलाई मलजल गरेको’ भन्दै ओलीको भनाइलाई समर्थन जनाएपछि श्रेष्ठले तत्काल राजीनामाको घोषणा गरेको सचिवालयका एक नेताले बताए ।
स्रोतका अनुसार राजीनामापत्र फिर्ता नलिएपछि अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई श्रेष्ठलाई सम्झाएर पूर्ववत् जिम्मेवारीमा फर्काउने वातावरण निर्माणको जिम्मेवारी दिएका छन् । वरिष्ठ नेता नेपाल कम्बोडियाबाट सोमबार स्वदेश फर्किएलगत्तै अध्यक्ष ओलीले उक्त जिम्मेवारी दिएका हुन् ।
२०७५ साउन १६ गते बिहान १० : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :