समयको शालीन गर्जन : सपनाको मेघमाला : अनिल विरही


कवि शीला योगीको पहिलो कवितासङ्ग्रह ‘सपनाको मेघमाला’ प्रकाशित भएको छ । योगी लामो समयदेखि सांस्कृतिक अभियानमा संलग्न हुनुहुन्थ्यो । सांस्कृतिक फाँटमा त्यति चर्चामा नरहे पनि भ्याली सांस्कृतिक सङ्गम, सामना परिवारलगायतसँग जोडिएर सांस्कृतिक तथा साहित्यिक कार्यक्रममा जोडिँदै आउनुभएको हो । उनै कवि योगीको कविताकृतिका विषयमा यहाँ सामान्य चर्चा गरिएको छ ।

कवितासङ्ग्रहमा कवि योगीले समयले उठाएका प्रश्नहरूको जबाफ दिनुभएको छ र आफ्नो वर्गीय पक्षधरता प्रकट गर्नुभएको छ । त्यसो त प्रश्नहरूको जबाफ आफैँमा वर्गपक्षधरताको प्रमाण हो । उहाँले समयका तगाराहरू भाँच्दै कविताकर्म गर्नुभयो । मैले कविता किन र कसरी लेखेँ ? उहाँ भन्नुहुन्छ, ‘मेरोवरिपरि, साँझबिहान कहिले छोरीका नाममा, कहिले धनी र गरिबका नाममा र कहिले कथित माथिल्ला जात र तल्ला जातका नाममा हुने गरेका असमानता र त्यति मात्र होइन, सिङ्गो देशको राज्य संरचना र त्यसबाट भएका उत्पीडनहरूले मलाई छोए, छुँदै गए र तिनले मलाई कविता लेख्न सामग्री र उत्प्रेरणा दुवै प्रदान गरे ।’

आफू र आफ्नो वरिपरिको वातावरणले व्यक्तिलाई सिर्जनाकर्मका लागि विषय प्रदान गर्दछ । साहित्य यथार्थको मूर्तीकरण हो । त्यसो भए जीवनका लागि साहित्यको आवश्यकता किन प¥यो त ? साहित्यले जीवनलाई केन्द्रीकृत आदर्शमय, लालित्यमय र उच्च मूल्यबोध बनाउँछ । मानवीय मूल्यलाई अथवा जीवनलाई पशुचेतबाट रोकेर मानवीकृत गर्न प्रेरित गर्दछ । त्यसकारण साहित्यको आवश्यकता पर्दछ । योगीका कविता त्यसका साक्षी छन् ।

कविका कविताका पङ्क्तिहरू कतै शालीन तलाउजस्ता लाग्छन् भने ती कतै खहरेझैँ गड्गडाउँछन् । कतै ती आगोका फिलिङ्गाझैँ लाग्छन् । बाईसवटा कवितामध्ये ‘कम्लरी’ शीर्षकको कविता आगोको फिलिङ्गोजस्तै तातो कविता हो । सोही कविताको एउटा पङ्क्ति हेरौँ –

‘सधैँ डर र लाजले झुक्ने मेरा आँखाहरूबाट
आगो सल्केको पत्तै पाइनँ
म कम्लरीको ठाउँमा अब काली बनेर
तिमीजस्ता साहेब र मालिकका टाउका छिनालेर
तिमीजस्ता काला दैत्यहरूलाई
एउटै चिहान बनाउन चाहन्छु
अनि त्यही चिहानमा महिला मुक्तिको बिगुल फुकेर
एउटै जातिको मान्छेको बस्ती बसाउन चाहन्छु ।’

यो कवितामा कविले वर्गीय समाजको रूपान्तरणका लागि सशस्त्र विद्रोह अनिवार्य बन्ने तथ्यलाई स्वीकार गर्नुभएको छ । विषय र पात्र छनोटका दृष्टिले सबैभन्दा पिँधको मान्छेलाई नायकका रूपमा उभ्याउनुभएको छ । यो माक्र्सवादी सौन्दर्यचिन्तनको आधारभूत पक्ष हो ।
रातपछि दिन हुनु र दिनपछि रात हुनु जगत्को नियम नै हो । अँध्यारो रात चिरस्थायी हुनै सक्दैन । आज अँध्यारो छ र स्रष्टाहरूले अँध्यारोका विरुद्ध लेखिरहेका छन् । त्यसैप्रकारको कविता हो– ‘हरेक बिहानीले सुरुआत गर्छ ।’ हेरौँ सोही कविताका केही पङ्क्ति –

‘रात फेरि आउँछ
भोगाइका अनुभूतिहरू समालेर राख्नुछ
सुन्दर पल आफन्तसँगको साथले
पराजित गर्नुछ बेच्ने दलालहरूलाई
जोगाएर आफूलाई थुप्रै गौँडाहरू
अझै पार गर्नुछ ।’

नेपाली क्रान्तिमा घात भएको छ, प्रतिक्रान्ति मौलाएको छ । दमन, उत्पीडन बढ्दैछ । रात फेरि आउँदैछ । यस्तो बेला विचलित हुनु हुन्न । मनहरू समालेर राख्नुपर्छ । विगतका भोगाइहरू आगतमा झन् दुख्ने भएर आउनेछन् । श्रमिकहरू, प्रमिथसहरू सबैसबै एक मन, एक ज्यान हुनुपर्छ । घाम उदाउने सुन्दर बिहानीमा हाम्रो सुन्दर एकताले दलालहरूलाई लछार्नेछ । जनताका सपनामाथि घात गर्ने दलालहरूलाई पराजित गर्नुछ । आज गौँडागौँडामा दलाल पुँजीवाद गल्ला थापेर बसेको छ । अभाव, निराशा, भयवाद, फुट, विभाजन, अविश्वास, खरिदबिक्री, हत्कडी–जन्जिर, मनोवैज्ञानिक युद्ध सत्य र न्यायका विरुद्ध भयानक युद्ध छेडिएको छ र यो राजनीतिक स्वरूपको युद्ध फौजी टक्करतिर गतिवान् छ । त्यसकारण गौँडागौँडामा तैनाथ दुष्ट हावाबाट आफूलाई बचाउनुपर्छ । अयोग्य घोषणा गरिएका अनि सडकमा फालिएका सबै मनहरूमा रङ भर्नुपर्ने जिकिर छ कवि योगीको ।

तिर्खाएका मन, मेरो प्रेम बसेछ, अन्तिम इच्छा मध्यमस्तरका कविता हुन् । समकालीन राजनीतिक प्रणाली र चिन्तनको दृष्टिले हेर्दा ‘गणतन्त्र र नाङ्ले पसल्नी’ महत्वपूर्ण कविता हो । निरङ्कुश राजतन्त्रका विरुद्ध भुइँमान्छेहरू लडे । तर उनीहरूको जीवनमा लोकतन्त्र आएन । बास छैन, नानीहरूका लागि राम्रो छैन, नगरप्रहरीको ज्यादती झन् बढेको छ । उनीहरू मात्र भ¥याङ बनाइए । उनीहरूको भत्किएको करङमा जनजाति, दलित, महिला, मधेसी नारा उराल्दै नयाँपुराना ठालुहरू सत्तारोहण भए । हेरौँ ‘गणतन्त्र र नाङ्ले पसल्नी’ शीर्षक कविताका केही पङ्क्ति –
‘मेरी छोरीलाई सुमसुम्याउँदै, फकाउँदै
म भन्ने गर्थें–
अब त गणतन्त्र आउँछ रे !
हामीजस्ताको कुरा पनि सुनिन्छ रे !
मेरो कुरा सुनेर मेरी छोरीले
मलाई भन्ने गर्थी–
कसले सुन्छ हाम्रो कुरा ?
कहिले आउँछ गणतन्त्र ?
हिजोआज मलाई
मेरी छोरीको कुरा साँचो लागेको छ ।’

संसदीय लोकतन्त्रका मसिहाहरूले पुँजीपति वर्गको लोकतन्त्रलाई निम्छराको समेत लोकतन्त्र भनेर झूठो गीत गाइरहेका थिए । हामीले त्यसको विपक्षमा औँलो ठड्याएका थियौँ । हाम्रो स्वर सानो थियो । टाढासम्म पुग्न दिइएको थिएन । समयले आज कोल्टे फेरेको छ । नराधमहरूका विरुद्ध श्रमिक वर्ग सोझिन थालेका छन् । छलकपट भएको तथ्य व्यवहारद्वारा पुष्टि भएको छ ।

सार र रूप पक्ष अर्थात् विचार र कला दुवै दृष्टिले ‘लाङटाङ र आङा आले’ निकै सुन्दर कविता हो । यसमा आञ्चलिकताको मिठास छ । आफन्तीपनको न्यानोपन छ । प्रकृतिलाई मानवीकृत गरेर जनयुद्धका महान् सपना, त्याग, आदर्श र बलिदानहरूलाई आदर्शीकरण गर्नुभएको छ । यसलाई सौन्दर्यात्मक र विचारधारात्मक दुवै दृष्टिले अब्बल कविता भन्न सकिन्छ । हेरौँ केही पङ्क्ति –

‘अन्तिम श्वासमा
‘लाङटाङ तिमी साक्षी छौ’ भनेर ढले
हो, म साक्षी छु
तिम्रो बलिदानपूर्ण आस्थाको
म चुपचाप साक्षी भएर नियालिरहेँ
मृत्युको अन्तिम सँघारमा पुुगेको
प्यारा आङा र आलेलाई
मेरो काखमा राखेर
वीरताको विशाल खुसी दिइरहेँ ।’ (पृष्ठ २६)

महान् जनयुद्धको समयमा वा त्यसको भावभूमिमा लेखिएको यो कविता सुन्दर बिम्बमा लेखिएको छ । कविताको भाषा बिम्ब हो । कविताको आफ्नै भाषा हुन्छ, शैली हुन्छ । हेरौँ अरू केही पङ्क्ति –

‘चौँरी र च्याङ्ग्रा चर्ने चौरमा
उनीहरूका सिकार हुने गर्थे
चौँरी र च्याङ्ग्राहरू
हो, म साक्षी भएर टुलुटुलु हेरिरहेँ
मेरा आङा र आले खेल्ने काखमा
भोटे कुकुरका मालिकले
परेड खेलेको
रगतमा मात्तिएर नाचेको
हो म साक्षी छु (पृष्ठ २८)

कला र विचार पक्ष अर्थात् आधार पक्ष र रूप पक्ष दुवै दृष्टि सबैभन्दा सबल कविता ‘सपनाका मेघमालाहरू’ हो । यो कवितामा सपना नमार्न, अँध्यारो वर्तमानभित्र बिहानीका किरण देख्न आह्वान गरिएको छ । मरणशील वर्तमानका विरुद्ध संसद्मा नाचिरहेको काशीको चम्पाकलीको भ्रममा नपर्न कविले प्रेरित गर्नुभएको छ । श्रमिकका सपनामाथि विश्वासघात भएको कारण चौतर्फी निराशाको कालो बादल छाएको वर्तमानमा सपनाका सुन्दर मेघमालाहरू देख्न सक्नु दूरदृष्टिको परिचायक हो । यो कवि हृदयको विशेषता र सामाजिक दायित्व दुवै हो । हेरौँ सोही कविताका केही पङ्क्ति–

‘तिमीसँग रातो रङ छ बाँकी
छरिदेऊ आकाश नै रातो हुने गरी
बन्द हुन्छन्
बेमौसम फुल्ने फूलहरू
राता थुम्का बनेर बादलहरू मडारिँदै
गड्गडाउन सुरु गर्छन्
अनि बर्सिन्छन्
झुप्राका बलेनीहरूबाट राताराता धाराहरू
भो नबनाऊ मन उदास
बर्सिन्छन् फेरि सपनाका मेघमालाहरू (पृष्ठ ३३)

कवि शीला योगी वर्तमानप्रति असन्तुष्ट हुनुहुन्न । हिजोका सहकर्मीहरूले संसदीय पुँजीवादी व्यवस्थाका पक्षमा फोहोरी गीत गाइरहेको बेला उहाँ भने प्रतिध्रुवीय धारका पक्षमा उभिनुभएको छ । आफन्तहरू चेपिने र पराईले हेप्ने व्यवस्था हाम्रो सपना होइन भन्न हिच्किचाहट छैन कविमा । ‘बिराना आफन्तहरू’ कवितामा उहाँले क्रान्ति नभएको जिकिर गर्नुहुन्छ । हेरौँ केही पङ्क्तिहरू–

‘म कसरी पत्याऊँ यो गन्तव्यको गाउँ भनेर
मेरा आफन्तहरू
‘यो त आधुनिक गाउँ पो त
यहाँ त विश्वपरिवेशसँग सुहाउँदो बोल्नुपर्छ’ भन्छन्
‘यसको चालमा हिँड्नुपर्छ’ भन्छन्
‘नत्र जङ्गली भइन्छ रे’ भन्छन्
यो त सभ्य समाज हो
जे भए पनि बुझ्नुपर्छ
जे गरे पनि चुपचाप सहनुपर्छ
नत्र असभ्य भइन्छ रे !
यो सभ्य दुनियाँमा एक्लो भइन्छ रे !’ (पृष्ठ ४४)

कुरूप वर्तमानका विरुद्ध अझ पेचिलो कविता हो– बेवारिस वर्तमान । जहाँ खारा, होलेरी, जलजला र थबाङहरू आउँछन् । भेरी र कर्णालीका बगरहरू आउँछन् । बलिदान र आदर्शका बिम्बहरू थिए ती । खरीपाटी र पालुङटार कुरूपताका विरुद्ध शिव र सत्यका निम्ति लडिएका मोर्चाहरू थिए । यो कविताले वर्गीय पक्षधरता र दुई लाइन सङ्घर्षलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । यो कवितालाई शान्तिप्रक्रियापछिको माक्र्सवादी साहित्यको फाँटमा सबल कविता मान्न सकिन्छ । हेरौँ केही पङ्क्ति –

‘तर वर्तमानलाई स्वीकार्य छैन यो कुरूपता
ऊ गुहारिरहेछ सच्चा आफन्तलाई
चिच्याइरहेछ कुरूपता ढाल्नलाई
गिज्याउँछन् नचिनेर चमेराहरू
जो रातलाई मात्र चिन्छन्
र रातभित्र संसार देख्छन्
उज्यालोलाई घेर्छन् र कालो पोत्छन्
ऊ कहिले खरीपाटी सम्झिन्छ
कहिले पालुङटारका पाना पल्टाउँछ
कहिले बन्द अँध्यारो कोठामा छट्पटाउँछ । (पृष्ठ ५२)

कवि योगीको प्रस्तुत कवितासङ्ग्रहको अन्तिममा रहेको कविता हो– जुकाहरूलाई मिल्काइदेऊ । यो कविताले दलाल पुँजीवाद (साम्राज्यवादको स्थानीय एकाइ) लाई निर्मूल नगरी सामाजिक उत्थान नहुने जिकिर गरेको छ । यो कविताले कविलाई राष्ट्रिय परिधिबाहिर अन्तर्राष्ट्रिय आयाममा प्रवेश गराएको छ । कवि योगीको कवित्वचेतका विषय वरिष्ठ समालोचक प्रा.डा. जगदीशचन्द्र भण्डारी भन्नुहुन्छ, ‘यी कवितामा सत्य, सुन्दरता, शिवत्व अनि बलिदानी गाथाको गायन तथा उत्पीडनकारी शक्तिहरूका विरुद्ध क्रान्तिको आह्वान छ र सँगसँगै मायावी सत्ताका पक्षधर र तिनका विचलनयुक्त कुरूप आचारप्रति सौम्य प्रहार गरिएको छ ।’ (आवरण पृष्ठ, अन्तिम) । समालोचक भण्डारीले कविको सारगर्भित मूल्याङ्कन गर्नुभएको छ । यी कविताहरूले सर्वहारा मानवतावाद र स्वतन्त्र मानवजातिको निर्माणको पैरवी गरेका छन् । प्रस्तुत कवितासङ्ग्रह माक्र्सवादी साहित्यको अर्को उपलब्धि हो ।

२०७५ साउन १४ गते  मध्यान्न  १२  : १० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :