नेकपाका संस्थापक नेता पुष्पलालको स्मृति

निर्वासनमा रहँदा पुष्पलाल

अम्बिका चन्द / काठमाडौँ : नेपालमा जहानिया राणाशासनको अत्याचारका कारण जनता आजित बनिरहेको समयमा २००६ सालमा नेपालमा कम्युनिस्ट पार्टी स्थापना गर्ने नेकपाका संस्थापक पुष्पलालको ४० औँ स्मृति दिवस सोमबार देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपालका विभिन्न कम्युनिस्ट घटकले पुष्पलालको सम्झना गरेका छन् । नेपाली क्रान्तिका सिद्धान्तकारका रूपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका पक्षमा लामो सङ्घर्ष गरेका थिए । १९८१ साल असार १५ गते रामेछापको भँगेरीमा जन्मेका उनी कम्युनिस्ट पार्टी विस्तार अभियानमा देशका विभिन्न ठाउँमा पुगेका थिए । पुष्पलाल राणाविरोधी आन्दोलनका अगुवा सहिद गङ्गालाल श्रेष्ठका माइला भाइ हुन् । पुष्पलालले माक्र्स–एङ्गेल्सद्वारा लिखित कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी नेपाली कम्युनिस्ट आन्दोलनमा थप योगदान गरेका थिए ।

पुष्पलालले २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । त्यो हिसाबले आज नेपालमा कम्युनिस्टको बिउ रोपिएको सात दशक भएको छ । २००६ सालमा कम्युनिस्ट पार्टीको स्थापना हुँदा पुष्पलालसहित चारजना युवक नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र नारायणविलास जोशी मात्र थिए । तर आजसम्म आउँदा नेपालमा कुल जनसङ्ख्याको आधाभन्दा बढी नेपाली जनता कम्युनिस्ट विचारधारामा सहमत छन् । यो अवधिमा २०५२ सालमा कम्युनिस्ट पार्टीकै नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भयो । जनयुद्ध रणनीतिक सन्तुलन हुँदै प्रत्याक्रमणको चरणमा प्रवेश गरेको थियो भने देशको ८० प्रतिशत भूगोलमा जनसत्ताको अभ्याससमेत भएको थियो । तर जनयुद्ध उत्कर्षमा पुग्दै गर्दा प्रचण्ड–बाबुरामहरू संसद्वादी बाटो समातेर पछि फर्केका कारण जनयुद्धका सबै उपलब्धिको रक्षा हुन सकेन । परिणामस्वरूप जनताले सञ्चालन गरेको जनसत्ता र ३० हजारभन्दा बढीको सङ्ख्यामा जनताको बीचमा तैनाथ जनसेना पनि विघटन गरियो । तैपनि अहिले कम्युनिस्ट पार्टीको नेतृत्वमा एउटा क्रान्तिकारी धार निरन्तर क्रान्तिमा छ । नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा एकीकृत जनक्रान्तिको कार्यदिशामा अघि बढिरहेको नेकपा मात्रै वास्तविक कम्युनिस्ट विचार र सिद्धान्त बोकेर अघि बढिरहेको छ । अन्य केही कम्युनिस्ट घटकहरू पनि छन् । बाँकी प्रचण्ड र केपी ओलीहरू संसदीय भासमा डुबिसकेका छन् ।

पुष्पलालको मृत्यु भएको चार दशकसम्म पनि उनको योगदान नेपाली कम्युनिस्ट आन्दोलनमा अमर छ । पुष्पलाल स्मृति दिवसका अवसरमा कम्युनिस्ट आन्दोलनका पुराना नेता मोहनविक्रमले आफूलाई कम्युनिस्ट बताउने ओली र प्रचण्डहरू अहिले पुष्पलालको बाटोमा नरहेको बताएका छन् । एक सञ्चारमाध्यमसँग कुरा गर्दै सिंहले सत्ताधारी नेकपाका नेताहरू केपी ओली र प्रचण्डले माक्र्सवाद र लेनिनवादसमेत परित्याग गरेको भन्दै उनीहरू कम्युनिस्ट नै नरहेको बताए ।

पुष्पलालको सम्झना गर्दै नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य सुदर्शनले उनलाई एक नेता मात्र नभएर लेखक र विचारकसमेत भएको बताएका छन् । यो संश्लेषणले के प्रस्ट हुन्छ भने पुष्पलालको योगदान धेरै परसम्म अमर रहनेछ । उनै पुष्पलालको २०३५ साल साउन ७ गते ५४ वर्षको उमेरमा दिन निधन भएको थियो ।
२०७५ साउन ९ गते बिहान ९ १५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :