दलित मुक्ति मोर्चाको चेतावनी

काभ्रे : जिल्लाको पाँचखाल नगरपालिका ७ का वडा अध्यक्ष पुष्कर ढकालले सोही वडास्थित शिखरपुरका हर्कबहादुर परियारको निधन भई मृतकका छोराहरूलाई सरकारी खर्चमा निर्मित सार्वजनिक किरियापुत्री भवनमा किरिया बस्न नदिएको घटनाप्रति दलित मुक्ति मोर्चा काभ्रेले आपत्ति जनाएको छ । मङ्गलबार विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट दलित मुक्ति मोर्चा नेपाल जिल्ला समिति काभ्रेका अध्यक्ष रमेश नेपालीले प्रेसविज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘हजारौँ वर्षदेखि आर्थिक–समाजिक रूपमा पछाडि पारिएको दलित समुदाय अझै पनि छुवाछूतजस्तो सामाजिक अपराधलगायत विविधखाले भेदभावहरूबाट प्रताडित हुँदै आएको अवस्था छ ।’
उनले भनेका छन्, ‘कथित संसदीय गणतन्त्रको संविधान, कम्युनिस्टहरूको महुमतको सरकार र समाजवाद उन्मुख आर्थिक–सामाजिक कार्यक्रमको नारा सामाजिक दलाल पुँजीवादीहरूको बकबास मात्र हो भन्ने पाँचखालको घटनाले पनि पुष्टि गरेको छ ।’
उक्त घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाहीका लागि अधिकारकर्मी, पत्रकार र सम्बन्धित सङ्घसंस्थाहरूलाई पहल गरिदिन आग्रह गर्दै उनले सिङ्गो दलित समुदायलाई प्रतिवादमा उत्रन अपिलसमेत गरेका छन् । दोषीमाथि कारबाही नभए इँटको जबाफ पत्थरले दिने चेतावनी पनि उनले दिएका छन् ।

२०७५ साउन ८ गते अपरान्ह ४ : ५९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :