गैरन्यायिक हिरासतका तीक्ष्ण अनुभूति : नरोत्तम पाण्डे

२०७५ साल असार १६ गते बिहान मेरो मोबाइलमा जनगणतान्त्रिक सम्पर्क मञ्चका सचिव पूर्ण श्रेष्ठको फोन आयो । उहा“ले भन्नुभयो, ‘सर, ग्रामीण आदर्श कलेज नेपालटारमा दिनको १ बजे ध्रुवीकरण कार्यक्रम छ, आउनुहोला ।’

म १ बजे उक्त कार्यक्रम स्थलमा पुग्दा असारे काका (ईश्वरीप्रसाद दाहाल), पदमबहादुर राई, भरत बम रणवीर, मकर गुरुङ, रत्न मगर, धीरेन्द्रा उपाध्याय, केदार राईका साथै अन्य केही साथी पनि आइसक्नुभएको थियो । म पुगेको केही समयपछि पार्टी प्रवेशका लागि एल.बी. मगरलगायत अरू २५ जनाजति हलमा प्रवेश गर्नुभयो ।

करिब २ बजे कार्यक्रम सुरु भयो । पूर्ण श्रेष्ठले सञ्चालन गर्नुभएको र रत्न मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि असारे काका हुनुहुन्थ्यो । अतिथि पदम राई, भरत बम, मकर गुरुङ, केदार राई र एलबी मगरलाई आसन ग्रहण गराइयो । त्यसपछि अतिथिहरूलाई खादा ओढाउने, सहिदप्रति श्रद्धाञ्जली व्यक्त गर्ने काम सकियो । अर्जुन कटुवालले स्वागत मन्तव्य राखेपछि पार्टी धु्रवीकरणमा आउनुभएका एलबी मगरलगायत २५ जनालाई अबिर तथा खादासहित प्रमुख अतिथि तथा अतिथिहरूद्वारा स्वागत गरियो ।

नवप्रवेशीको स्वागतपछि प्रमुख वक्ताका रूपमा असारे काकाले आफ्नो मन्तव्य राख्नुभयो । त्यसपछि पदमबहादुर मगरले मन्तव्य राख्न सुरु गर्नुभयो । केही समयपछि उक्त कार्यक्रम हलभित्र बालाजु वृत्तका डीएसपीको नेतृत्वमा ५०–६० जना प्रहरी प्रवेश गरे ।

शान्तिपूर्ण रूपले भैरहेको संविधानप्रदत्त वैधानिक कार्यक्रममा प्रहरीले हस्तक्षेप गरी पक्राउपुर्जीबिना मलगायत ४३ जनालाई गैरकानुनी पक्राउ गरी बालाजु वृत्तमा ल्याएर थुनामा राखियो । २०७५ साल असार १७ गते एक रात थुनापछि ३६ जनालाई थुनामुक्त गरियो भने भरत बम, धीरेन्द्रा उपाध्याय, पदमबहादुर मगर, केदार राई, शिव राई, रणबहादुर पुनमगर र मसमेत सातजनालाई प्रहरीले शान्तिसुरक्षा खलबल्याउने योजना बनाइरहेको अवस्थामा पक्राउ गरेको भन्ने झूट्टा प्रतिवेदन तयार गरी काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट ६ दिनको म्याद थपी सार्वजनिक मुद्दा लगाई बालाजु वृत्त प्रहरी हिरासतमा राखियो ।

पक्राउ परेको पहिलो दिन सबैभन्दा पहिले वरिष्ठ अधिवक्ता तथा जनअधिकार फोरम नेपालका संयोजक एकराज भण्डारी र अधिवक्ता कपिलचन्द्र पोखरेल हाम्राबारेमा जानकारी लिन बालाजु प्रहरीवृत्तमा आइपुग्नुभयो । उहा“हरूले हामीलाई प्रहरीले गैरकानुनी रूपमा हिरासतमा राखेकाले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन हाल्नुपर्ने कानुनी सल्लाह दिनुभयो ।

उहा“हरूको सल्लाहअनुसार पदमबहादुर राई, भरत बम, धीरेन्द्रा उपाध्याय, केदार राई, शिव राई र रणबहादुर पुनमगर ६ जनाको हकमा पदमबहादुर राईकी श्रीमती जमुना राईले र मेरो हकमा श्रीमती शारदा पाण्डेले सर्वोच्च अदालतमा गैरन्यायिक तरिकाले सरकारी हिरासतमा हामीहरूलाई राखेकोमा नेपाल सरकार गृह मन्त्रालय, काठमाडौँ जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय र महानगरीय प्रहरी बालाजु वृत्तविरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभयो । उक्त रिटउपर सर्वोच्च अदालतले विपक्षीहरूलाई चौबीस घन्टाभित्र हामी थुनुवाहरूलाई थुनामा राख्नुपर्ने कारणसहित सर्वोच्च अदालतमा उपस्थित गराउन असार २५ गते आदेश जारी गरियो । उक्त कारण देखाऊ आदेश जारी गर्नुअघि हामी पीडित थुनुवाका तर्फबाट वरिष्ठ अधिवक्ता एकराज भण्डारीले बहसपैरवी गर्नुभएको थियो ।

२०७५ साल असार २६ गते हिरासतमा रहनुभएका ६ जनालाई सर्वोच्च अदालतमा उपस्थित गराइयो र असार २७ गते सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटउपर बहसपैरवी भई विपक्षी नेपाल सरकार, गृह मन्त्रालय, काठमाडौँ जिल्ला प्रशासन, प्रहरी प्रधान कार्यालय र काठमाडौँ महानगरीय प्रहरी बालाजु वृत्तले गैरकानुनी तवरले हिरासतमा राखेको ठहर गर्दै थुनामुक्त गर्ने आदेश सर्वोच्च अदालतद्वारा जारी भई थुनामुक्त गरियो ।

उक्त रिटउपर थुनुवाहरूका तर्फबाट वरिष्ठ अधिवक्ताहरू एकराज भण्डारी, शम्भु थापा, हरिहर दाहाल, सुशीलकुमार पन्त तथा विद्वान् अधिवक्ताहरू कपिलचन्द्र पोखरेल, कान्तिराम ढुड्डाना र चिरञ्जीवी ढकालले बहसपैरवी गर्नुभएको थियो । त्यसैगरी मलाई असार २७ गते सर्वोच्च अदालतमा उपस्थित गराई असार २८ गते गैरन्यायिक हिरासतबाट थुनामुक्त गर्नुपर्ने आदेश सर्वोच्च अदालतबाट भई थुनामुक्त गरियो । मेरो रिटमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी र अधिवक्ता कान्तिराम ढुड्डानाले बहसपैरवी गर्नुभयो ।

नेपाल सरकारले पूर्वाग्रही भई नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरूलाई गैरकानुनी रूपमा पक्राउ गरी भूmट्टा मुद्दा लगाउने संस्कृतिको विकास गर्न खोजेको छ । वर्तमान सरकार लोकतन्त्रविरोधी र नेपाल कम्युनिस्ट पार्टीप्रति हतास रूपमा प्रस्तुत भएको अनुभूति भएको छ भने सर्वोच्च अदालतले सरकारको गैरन्यायिक हस्तक्षेपविरुद्ध थुनामुक्त गर्ने आदेश जारी गरेको छ ।

हिरासतमा रहँदा नेपाल कम्युनिस्ट पार्टीका साथीहरू, शुभेच्छुकहरू, भेटघाटमा आउनुभयो । हामीप्रति ऐक्यबद्धता देखाउनुभयो जसले गर्दा हामीमा उत्साह, खुसी र प्रेरणा जागेको अनुभूति गरेका छौँ । थुनामा सँगै रहनुभएका साथीहरू, सिड्डो नेपाल कम्युनिस्ट पार्टी, भेटघाट गर्न आउने शुभेच्छुकहरू, न्यायका पक्षमा थुनामुक्त गर्ने न्यायाधीशहरू र हाम्रा पक्षमा बहस गर्ने विद्वान् अधिवक्ताहरू सबैमा हार्दिक आभार तथा धन्यवाद ।
२०७५ साउन ७ गते बिहान ११ : २२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :