अमेरिकालाई फ्रान्सको चेतावनी

आर्जेन्टिना : फ्रान्सका अर्थमन्त्री ब्रुनो ल मेयरले अमेरिकालाई व्यापार युद्ध अहिले एउटा वास्तविकता भइसकेको बताएका छन् । आर्जेन्टिनाको ब्वेनोस आइरिजमा दुई दिनसम्म चल्ने जी–२० शिखर बैठकमा उनले यस्तो चेतावनी दिएका छन् ।

एकतर्फी रुपमा कर लगाउने अमेरिकी व्यापार नीति ‘जङ्गली कानूनमा आधारित’ रहेको उनले आरोप लगाए । तर अमेरिकी अर्थमन्त्री स्टिभन मनुसिनले अमेरिकी करको बचाउ गर्दै युरोपेली संघ र चीनलाई स्वतन्त्र प्रतिस्पर्धाका लागि आ–आफ्नो बजार खुल्ला राख्न आग्रह गरे ।

गत हप्ता अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापारका लागि इयु एउटा शत्रु भएको बताएका थिए । त्यसपछि ट्रम्पले अमेरिका पुग्ने ५०० अर्ब डलर बराबरका सबै चिनियाँ सामानमा कर लगाउने धम्की दिए ।

अमेरिकाले २८ सदस्य राष्ट्र भएको इयु र चीन दुवैसँगै ठूलो व्यापार घाटा बेहोर्दै आएको छ । ब्वेनोस आइरिजमा दुई दिन चल्ने वार्ताका लागि ठूलो अर्थतन्त्र भएको विश्वका २० देशका अर्थमन्त्री तथा ब्याङ्करहरू भेला भएका हुन् ।

फ्रान्सका अर्थमन्त्री ल मेयरले समाचार संस्था एएफपीलाई भने, “विश्व व्यापार जंगली कानूनमा आधारित हुनसक्दैन र एकतर्फी रुपमा कर वृद्धि गर्नु जङ्गली कानून हो ।” “जङ्गली कानून, सक्नेका लागि कानून, विश्व व्यापार सम्बन्धको भविष्य यो हुनसक्दैन ।”

ल मेयरले थपे, “जङ्गली कानूनले वृद्धिलाई कमजोर तुल्याउनेछ, कमजोर मुलुकहरूलाई गाह्रो पार्नेछ र त्यसको भयावह राजनीतिक परिणाम निस्कनेछ ।”

उनले व्यापार युद्ध अहिले वास्तविकतामा परिणत भइसकेको बताउँदै अमेरिकाले स्टील र एलुमिनियममा लगाएको कर फिर्ता नलिएसम्म इयुले उसँग स्वतन्त्र व्यापारबारे वार्ता गर्न नसक्ने उल्लेख गरे ।
२०७५ साउन ६ गते बेलुका ७ : ०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :