महासमरको सांस्कृतिक गौरवगाथा : खोमा तरामु मगर

(लुम्बिनीको सेरोफेरोमा सांस्कृतिक मोर्चा)

इतिहासको अध्ययनले वर्तमानलाई जोड्छ र भविष्यको यात्रा तय गर्छ । अझ वर्गसङ्घर्षको रक्तिम इतिहासले त बलिदानको उच्च र उदात्त आदर्शभावसँग जोड्छ र क्रान्तिको नयाँ भञ्ज्याङतिर डो¥याउँछ । लुम्बिनीमा जनसांस्कृतिक आन्दोलनका पन्नाहरूलाई गहिएर खोतल्दै जाँदा अनुभूति हुन्छ– ओहो, क्रान्तिको त्यो महागाथा ! साँच्चिकै भयानक, कठोर र रोमाञ्चक रहेछ । त्यहाँ बम र बारुदको धुँवासँगै गाइएका संवेदनाका अठोट र विश्वासका गीत मात्रै भेटिँदैनन्, विशाल महाकाव्यको रक्तिम महागाथाले साँच्चिकै उद्वेलित बनाउँछ । बलिदान र साहसको त्यो रक्तरञ्जित इतिहासगाथा कूपमण्डुकहरूका लागि कथा हुनसक्छ तर बारुदका सुगन्धले मुछिएका ती इतिहासका भावसंवेदनाहरू पढ्दा त्रासदीभित्रको सौन्दर्य प्रतीत हुन्छ । त्यही सङ्घर्षपूर्ण महागाथाहरूको लामो शृङ्खलाहरूलाई यहाँ सङ्क्षिप्तमा खोतल्ने प्रयास गरिएको छ ।
संस्कृति ः एक दृष्टिकोण

संस्कृति मान्छेको जीवनशैली हो । विचारद्वारा निर्देशित दृष्टिकोण हो । प्रकृतिसित सङ्घर्ष गर्ने ऐतिहासिक प्रक्रियामा संस्कृतिको जन्म भयो । अहिले हामी बाँचिरहेको समाज वर्गीय समाज हो । जुन समाज वर्गमा विभाजित हुन्छ त्यहाँ अनिवार्य वर्गसङ्घर्ष हुन्छ । वर्गसङ्घर्षले नयाँनयाँ संस्कृतिको विकास ग¥यो । अहिले हामी वर्गसङ्घर्षको नयाँ प्रक्रियामा छौँ । हामीले वर्गविहीन समाजको सपना देखेका छौँ । हाम्रो काँधमा पुँजीवादी÷उत्तरआधुनिकवादी संस्कृतिले फैलाएको सांस्कृतिक अराजकताविरुद्ध जनताका पक्षमा सुन्दर कला–साहित्यको सिर्जना गर्ने अभिभारा आएको छ । हामी मालेमावादको आलोक र त्यसको मार्गनिर्देशक सिद्धान्तमा आधारित एकीकृत जनक्रान्तिका पक्षमा कला–साहित्य सिर्जना गर्दै आइरहेका छौँ । मनुवादी शासकहरूले मान्छेलाई जातजातिमा विभाजन गरेर धार्मिक कानुन वा काव्यहरू सिर्जना गरी राजामहाराजाहरूलाई देवताको आसनमा पु¥याई आफूलाई स्थापित गरेको इतिहास हामीले भुलेका छैनौँ । अहिले पनि केही ‘साहित्यिक पण्डा’ हरूले त्यही कला–साहित्यको विषवृक्ष रोपिरहेका छन् । हामीले त्यो पाखण्डी अफिमविरुद्ध निरन्तर सांस्कृतिक सङ्घर्ष गर्नुपरेको छ । त्यसकारण सांस्कृतिक आन्दोलनको मूल उद्देश्य वर्गसङ्घर्ष वा प्रतिक्रान्तिका सबैखाले अवरोधहरूलाई धुलिसात पार्दै विश्व दृष्टिकोणको समस्या समाधान गर्नु हो ।
लुुम्बिनीको जनसंस्कृति ः सङ्क्षिप्त दृष्टि

कवि रामचन्द्र भट्टराईको बोई गीतिकाव्य, बुद्धिबहादुर थकालीलगायत टिमले चलाएको रेलिमाई सांस्कृतिक अभियान (२०२७–०२८), पचास रूपैयाँको तमसुक र ठूली नाटक गीतिको लुम्बिनीको सांस्कृतिक आन्दोलनमा महत्वपूर्ण योगदान रह्यो । त्यसपछि महान् जनयुद्धको सुरुआतसँगै यस क्षेत्रको प्रगतिवादी कला–साहित्यले नयाँ दिशा निश्चित गरेको देखिन्छ । सुरुका दिनहरूमा क. ताराकान्त पाण्डेय, क. घनश्याम पाठक र क. शान्ता थापाको पहलमा २०३५ सालमा अगुल्टो सांस्कृतिक परिवारले जनताको कला–साहित्य र संस्कृतिलाई अगाडि बढायो । २०४७ सालमा कमरेड विप्लवको नेतृत्वमा कपिलवस्तुमा चम्किलो सांस्कृतिक परिवार गठन भयो । त्यसमा क. वीरजङ्ग, क. कृति, क. हिमाल, क. तुलाराम, क. रमा घर्ती, क. सुष्मा, क. दीपक महरा र क. दिलकुमार रोका सदस्य हुनुहुन्थ्यो । यो टिमले कपिलवस्तुको कम्युनिस्ट आन्दोलनलाई सांस्कृतिक आन्दोलनसँग जोडेर अगाडि बढायो । महान् जनयुद्धका क्रममा क. रमा घर्ती (आरती) र क. दिलकुमार रोकाको सहादत भयो ।

नवलपरासीमा २०४५ सालमा देउचुली सांस्कृतिक परिवार स्थापना भएको थियो । त्यसमा क. ठाकुरप्रसाद चापागाई, क. शङ्करबहादुर नेपाली, क. सत्यनारायण भुसाल, क. सुकमाया नेपाली, क. रमा विकलगायतको टिम रहेको थियो । कमरेड रमा विकले जनयुद्धमा सहादत प्राप्त गर्नुभयो । २०५२ सालमा कपिलवस्तुमा चक्रपाणि खनालको नेतृत्वमा रक्तरञ्जित सांस्कृतिक परिवार गठन भयो । त्यसमा रमा, दीपक महरा र सुष्मा रहनुभयो । पाल्पामा क. चुनु गुरुङको नेतृत्वमा २०५५ सालमा श्रीनगर सांस्कृतिक परिवार गठन भयो । २०५२ को अन्तिमतिर क्षेत्रीय स्तरको क्षितिज सांस्कृतिक परिवार गठनसँगै रूपन्देही, कपिलवस्तु र नवलपरासीमा सांस्कृतिक आन्दोलनले नयाँ गति लियो । यसमा क. चुनु गुरुङ, क. धनकाजी गुरुङ, क. बिनबहादुर कुँवर, क. गङ्गा खनाल, क. रामप्रसाद बन्जाडे, क. चिरन बराल, क. विकास केसीलगायत संस्कृतिकर्मीको सहभागिता थियो । यो टिमलाई क्षेत्रीय स्तरको बनाइएको थियो र सुरुको जनयुद्धकालीन समयमा यसले निकै महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । यो टिम रूपन्देही, अर्घाखाँची, पाल्पा, गुल्मी हुँदै कपिलवस्तुतर्फ केन्द्रित भएको थियो । तत्कालीन गण्डक क्षेत्रमा जनवादी कला–साहित्य र संस्कृतिका क्षेत्रमा यसले महत्वपूर्ण भूमिका निर्वाह ग¥यो । २०५६ मा क्षितिज भाग १, भाग २ गीति क्यासेटहरू निकालेर देशैभर गीत–सङ्गीतका माध्यमद्वारा क्रान्तिकारी सन्देश दिएको थियो ।

त्यसपछि २०६२ तिर ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ रणनीतिक योजनाअन्तर्गत क्षितिज परिवारको टिम गण्डक क्षेत्रमा क्रियाशील रह्यो । यसको टिममा पूर्णजित पुन उभार, महेश आरोही, विप्लव बुढामगर, करुणा घर्ती, कोरस, वेदना गुरुङ, सम्झना पुन, सुवास बराइली, कोकिला पौडेल, निशा देवकोटा, प्रकृति, भीम, स्टेज मगर, सुवास विक, गोविन्द कँुवर, किशोर विकलगायतको टिम सक्रिय रह्यो । यो टिम गण्डक क्षेत्रमा रहेर जनसांस्कृतिक आन्दोलनलाई अगाडि बढायो । २०५९ सालमा अर्घाखाँचीमा अर्घा सांस्कृतिक परिवार गठन भयो । अर्घाखाँचीको सांस्कृतिक आन्दोलनलाई तारा, प्रतीक्षा, कलब गुरुङलगायतले नेतृत्व गर्नुभयो । ०५७÷०५८ सालतिर ‘रूपक’ सांस्कृतिक परिवार उपब्युरो गठन भयो । रूपकको अर्थ रूपन्देही, परासी र कपिलवस्तु थियो । यसको नेतृत्वमा इजाज अन्सारी (मोहन), आशीष, सुष्मा, संयोग, शैलेन्द्र, सागर शक्ति, करुणा, रेश्मी, बिना, जयकिशन, रेखा, चाहना, रक्षा, मुनिप, अमेरिकन, आकाश, किशोर थारूलगायत हुनुहुन्थ्यो । यो तत्कालीन अवध राज्यको उपब्युरोका रूपमा ०६३ सालसम्म सक्रिय रह्यो ।

तत्कालीन मगरात क्षेत्रअन्तर्गत रहेका गुल्मी, पाल्पा र अर्घाखाँचीमा २०५७ साल मङ्सिर २२ गते प्रतिरोध सांस्कृतिक परिवार गठन भयो । यो टिममा कुलमान बुढा, हुरी, दर्शना, प्रज्वलन, मोहितलगायत हुनुहुन्थ्यो । त्यसपछि परिवारमा क. भीम कुमाखी, क. सङ्घर्ष, क. सम्झना, क. नवीन, क. विप्लव, क. प्रगति, क. एलिना, क. विनय, क. प्रेरणा, क. चुनौती, क. अन्जना, क. धु्रव, क. रक्तिम, क. अमर, क. संयोग, क. झरना, क. अनुष्ठा, क. प्रकाश, क. सपनशिला, क. कोपिला, क. नवीना, क. प्रशान्त, क. रेवन, क. पवन, क. सुष्मिता, क. विवेक, क. हरि, क. रेनु, क. सोनिकालगायत २९ जना कलाकार हुनुहुन्थ्यो । २०६६ सालमा महासङ्घकी केन्द्रीय सदस्य क. सुष्मा रसाइलीको नेतृत्वमा महासङ्घको अवधस्तरीय समिति गठन भयो जसमा उपाध्यक्ष क. शिवशङ्कर बस्याल, क. किशोर, क. आशीष चौधरी, कविराज पौडेललगायत कलाकार हुनुहुन्थ्यो । यसको इन्चार्ज क. उदयमान हुनुहुन्थ्यो । २०६७ मा महासङ्घको अवध राज्य समिति उदयमानको अध्यक्षतामा उपाध्यक्ष सुष्मा विक, डा. शिवशङ्कर बस्याल, सचिव कविराज पौडेल, सहसचिव आशीष, सदस्यहरू अर्जुन ज्ञवाली, वसन्त पोखरेल, भुवन कार्की, यानेन्द्र जीसी, रुद्र शर्मा दुःखी, डा. घनश्याम परिश्रमी, गुरुदत्त ज्ञवाली, दीपक विक, शिव पौडेललगायत रहनुभयो । यसका सल्लाहकार दिल साहनी, लेखनाथ ज्ञवाली र मदनलाल पौड्याल हुनुहुन्थ्यो । इन्चार्ज रामचन्द्र भट्टराई हुनुहुन्थ्यो । यो टिमले बुटवलमा उत्तरआधुनिकतावाद र माक्र्सवादविषयक कार्यक्रमसमेत ग¥यो । यसभन्दा अगाडि महासङ्घका केन्द्रीय सदस्य क. उदयीमान, क. सुष्मा, क. किशोर, क. शिवशङ्कर बस्याललगायतले लुम्बिनीको जनसांस्कृतिक आन्दोलनको नेतृत्व गर्नुभयो । यो टिमले जनयुद्धको प्रचारप्रसारमा निकै ठूलो भूमिका निर्वाह ग¥यो । शान्तिप्रक्रियाको लामो समयपछि २०७१ साल मङ्सिर ८ गते कमरेड विप्लवको नेतृत्वमा नेकपा माओवादी पार्टी पुनर्गठनपछि महासङ्घको पाँचौँ राष्ट्रिय सम्मेलनपछि लुम्बिनीमा २०७३ पुस ३ गते महासङ्घका केन्द्रीय सदस्य क. खोमा तरामु मगरको संयोजकत्वमा ९ सदस्यीय लुम्बिनी ब्युरो गठन भयो । यसका सदस्यहरूमा क. संयोग, क. प्रकाशसिंह राना, क. लीला रानामगर, क. चरना घर्तीलगायत हुनुहुन्छ । यो टिमले बुटवलको ट्राफिक चोकमा २०७३ पुस १६ गते ‘सिर्जनामा परिवर्तनका स्वरहरू’ कविगोष्ठी ग¥यो । त्यसपछि झुल्केघाम साहित्यिक पत्रिका प्रकाशन सुरु ग¥यो । २०७३ चैत ५ गते कपिलवस्तुको बनगोवा गाउँमा क्षितिज परिवार, रक्तरञ्जित सांस्कृतिक परिवार र महासङ्घ लुम्बिनी ब्युरोले संयुक्त रूपमा प्रतिरोध सांस्कृतिक दिवस मनायो ।

यसबाहेक जनयुद्धका क्रममा विभिन्न क्षेत्रबाट जनवादी सांस्कृतिक आन्दोलनमा दिल साहनी, रामचन्द्र भट्टराई, गुरुदत्त ज्ञवाली, अर्जुन ज्ञवाली, लीलाधर मरासिनी, दयाराम बस्याल, ओमकारनाथ ज्ञवाली, चिरन बराल, पं. बाबुराम भट्टराई, दीपक विश्वकर्मा, नारायण खनाल, डा. शिव पौडेल, ज्ञानु थापा, खेमराज आत्रेय, यानेन्द्र जीसी विवश, लेखनाथ सजग, शिवशङ्कर बस्याल, शङ्कर पन्थी, लेखनाथ ज्ञवाली सुमेरु, सुवास यात्री, घनश्याम परिश्रमी, ऋतुराज, किशोर पन्थी, मदनलाल पौडेल, कविराज पौडेल, विन्दुकुमार चौहान, शिवनन्दन जैसवाल, सुनिल प्रजापति, मैया भट्टराई, रुद्र शर्मा दुःखीलगायतको योगदान रह्यो । यही सन्दर्भमा नवलपरासी, रूपन्देहीका विभिन्न स्थानहरूमा भोजपुरी, थारू भाषामार्फत कविता वाचन गरेर जनसांस्कृतिक आन्दोलनलाई निकै ठूलो ऊर्जा प्रदान गर्ने जनमेजय उपाध्यायको योगदान विशेष उल्लेखनीय रहेको थियो ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरोले विभिन्न जिल्लाहरूमा हुने साहित्यिक, सांस्कृतिक, मासिक गोष्ठी, अन्तरक्रियाहरूमा सहभागिता हुँदै आएको छ । ब्युरोअन्तर्गतका जिल्लाका मिडियाहरूमा हाम्रा लेखक, साहित्यकार एवम् संस्कृतिकर्मीहरूका जनवादी कला–साहित्यहरू प्रकाशित र प्रसारित हुँदै आएका छन् । जनवादी सांस्कृतिक आन्दोलनलाई अगाडि बढाउन विभिन्न स्थानबाट निस्कने झुल्केघाम, चुनौती साप्ताहिक, नयाँ सत्ता, दाउन्ने साप्ताहिक, जनघोष मासिक, लोकतन्त्र, घुयँत्रो, जनआह्वान, लालकलम, गर्जनपोस्ट, जनबाटो अनलाइन, जनदायित्वलगायत बुलेटिन, भित्तेपत्रिका र मुखपत्रहरूको महत्वपूर्ण योगदान रहँदै आएको छ ।
रूपन्देही

रूपन्देही जिल्लामा २०५२ सालमा प्रज्वलनको नेतृत्वमा सङ्ग्रामी सांस्कृतिक परिवार जन्मियो । त्यसपछि भरत रेग्मी, किशोर, आशीष थारूले नेतृत्व गर्नुभयो । यसले रूपन्देहीमा जनवादी कला–साहित्य र संस्कृतिलाई जनयुद्धसँग जोडेर युद्धस्तरमा अगाडि लग्यो । नवलपरासीमा पनि यो टिमले ठूलो प्रभाव पा¥यो । यही टिमका कलाकारहरू भारतको दिल्लीसम्म पुगे र यो टिम सांस्कृतिक अभियानका क्रममा बाजागाजाहरूसहित धेरैपटक गिरफ्तारीमा प¥यो ।

कलाकार क. धु्रव ज्ञवालीको संयोजकत्वमा अखिल नेपाल जनसांस्कृतिक सङ्घ र क्षितिज सांस्कृतिक परिवारको गठनपछि यसले रूपन्देहीको कला, साहित्य र संस्कृतिका क्षेत्रमा वैचारिक र सांस्कृतिक आन्दोलनको नेतृत्व ग¥यो । यही टिममा क. चुनु गुरुङ, चिरन बराल, भरत रेग्मी, वसन्त पोखरेल, दिल साहनी, धनकाजी गुरुङ, रामप्रसाद बन्जाडे, रामचन्द्र चापागाईं, वसन्त श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, प्रकाश श्रेष्ठ, राधा पौडेल, उषा आले, प्रेम खनाल, माधवी पोखरेल, ललित पुनलगायतको अगुवाइ रह्यो । यो टिम पछि क्षेत्रीय स्तरको भए पनि रूपन्देहीमा नै बढी केन्द्रित भयो ।

त्यसपछि क. इन्द्रबहादुर (किशोर) विकको संयोजकमा गठन भएको समितिले सांस्कृतिक आन्दोलनलाई थप अगाडि बढायो । यस टिममा सुमित्रा परियार, चाहना, सुष्मा विक, सुशीला, रक्षा, संयोग, विमला, सामना, निस्ता, भूमिका, कमल, तीव्र, बादल, आत्मा, राजु, जयकिसन, ज्वाला, सङ्गम, शारदा, स्नेहालगायत कलाकार रहनुभएको थियो । त्यसपछि सुष्माको नेतृत्वमा यो टिम निर्माण भयो । यो टिमले लुम्बिनीको जनसांस्कृतिक आन्दोलनमा नयाँ तरङ्ग नै ल्यायो । यही सन्दर्भमा टीकाराम गौतम, गणेश ढकाल, नारायण घिमिरे, सुमित्रा घिमिरे, केवल गाहा र कमल भुजेलको सहादत भएको थियो भने सांस्कृतिक अभियानमा सुनगाभा पोखरेल, प्रवास पोखरेल, अलिसा (सन्तोषी) आले, चन्द्रकला पौडेल, आरती गुरुङ, श्रद्धा बराललगायत कलाकारहरूले कलाको माध्यमबाट जनयुद्धलाई सांस्कृतिक मोर्चामार्फत योगदान गर्नुभयो । यही टिमले रूपन्देही र नवलपरासीमा जनयुद्धको व्यापक प्रचारप्रसार गरेको थियो । सङ्ग्रामी सांस्कृतिक परिवारको थप गतिशील दिन भीमप्रसाद थारूको संयोजकत्वमा सदस्यहरू नमुना पुन, आकाश, कविता, मीना काउचालगायत रहेको नयाँ समिति गठन भयो र यसले जनसांस्कृतिक आन्दोलनमा थप भूमिका निर्वाह ग¥यो ।

शान्तिप्रक्रियापछि महासङ्घको अवध राज्यस्तरीय प्रथम सम्मेलन बुटवलमा सम्पन्न भयो । २०६८ साल असारमा नेकपा–माओवादी बन्यो । अखिल नेपाल जनसांस्कृतिक महासङ्घ क्रान्तिकारी विचारका पक्षमा उभियो । रूपन्देही जिल्लामा क. कविराज पौडेलको अध्यक्षतामा उपाध्यक्ष क. ज्ञानु पौडेल, क. कृष्ण पाण्डे, सचिव क. खोमा तरामु मगर, कोषाध्यक्ष क. प्रदीप पोखरेल र सदस्यहरू क. अर्जुन खनाल, क. आत्मा, क. तारामिलन छन्त्याल रहेको जिल्ला समिति गठन भयो । यो टिमले २०७० सालको ‘दोस्रो संविधानसभाको चुनाव बहिष्कार गरौँ !’ भन्ने नारासहित बुटवलको पुष्पलाल पार्कमा ‘सडक–कविता’ कार्यक्रम सम्पन्न ग¥यो । कार्यक्रममा रूपन्देहीका २५ भन्दा बढी कविले निर्वाचन बहिष्कारसम्बन्धी कविता सुनाए । नेकपा–माओवादीबाट विप्लवको नेतृत्वमा नेकपा माओवादी पुनर्गठनपछि त्यसको प्रभाव रूपन्देहीमा देखाप¥यो । खोमा तरामु मगर, लीला राना, प्रकाशसिंह राना, बिहानी, प्रेम विकलगायतले महासङ्घको नेतृत्व गर्नुभयो । २०७४ चैत १० गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घ रूपन्देही गठन भयो । यसले क. अनाम विद्रोहीको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिति गठन ग¥यो । महासङ्घले १६ औँ सांस्कृतिक बलिदान दिवसका सन्दर्भमा ‘इच्छुकको सिर्जनामा वर्गचेत’ विषयक गोष्ठी बुटवलमा सम्पन्न ग¥यो । यो टिम रूपन्देहीमा भएका सबै सांस्कृतिक तथा राजनीतिक कार्यक्रमहरूमा सहभागी भयो ।
कपिलवस्तु

कपिलवस्तु जनवादी सांस्कृतिक आन्दोलनको केन्द्र हो । २०४७ सालमा विप्लवको नेतृत्वमा चम्किलो सांस्कृतिक परिवार गठन भयो । यसका सदस्यहरूमा क. वीरजङ्ग, क. कृति, क. हिमाल, क. तुलाराम, क. रमा घर्ती, क. सुष्मा, क. दीपक महरा, क. दिलकुमार रोका रहनुभयो । यो टिमले कपिलवस्तुको कम्युनिस्ट आन्दोलनलाई सांस्कृतिक आन्दोलनसँग जोडेर अगाडि बढायो । महान् जनयुद्धका क्रममा क. रमा घर्ती (आरती) र क. दिलकुमार रोकाको सहादत भयो । २०५१ सालमा चक्रपाणि खनालको नेतृत्वमा कपिलवस्तुमा रक्तरञ्जित सांस्कृतिक परिवार गठन भयो । त्यसपछि डीबी थापा, दीपक महरा, सुष्मा, अजयकुमार दर्लामी, संयोक, शैलेन्द्रलगायतले नेतृत्व गर्नुभयो । यसले कपिलवस्तुको क्रान्तिकारी सांस्कृतिक आन्दोलनलाई उचाइमा पु¥यायो । जनयुद्धको व्यापक प्रचारप्रसार र जनतामा नयाँ जागरण पैदा ग¥यो । यही सन्दर्भमा २०५९ कात्तिकमा प्रतिक्रियावादी जल्लादहरूले कलाकारहरू क. गणेश बस्नेत, क. डीबी थापा, क. रमा घर्ती, क. शङ्कर विक, क. मोहन विक, क. रामप्रसाद रोका र क. चेतमान परियारको हत्या गरे । यसले कपिलवस्तुको जनसांस्कृतिक आन्दोलनमा अपूरणीय क्षति पुग्यो । यी कलाकारहरू अखिल नेपाल जनसांस्कृतिक महासङ्घमा आबद्ध हुनुहुन्थ्यो भने केही जनसेनामा हुनुहुन्थ्यो । शान्तिप्रक्रियासँगै नेकपाको पुनर्गठनसँगै रक्तरञ्जित सांस्कृतिक परिवार पुनर्गठन भयो । २०७५ वैशाख ५ गते अखिल नेपाल जनसांस्कृतिक महासङ्घ कपिलवस्तुको प्रथम जिल्ला भेला त्रिपालनगरमा सम्पन्न भयो । भेलाले क. देवराज देउकीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला समिति गठन ग¥यो । क. देवराज देउकीकै संयोजनमा रक्तरञ्जित सांस्कृतिक परिवार पनि क्रियाशील रहेको छ ।
नवलपरासी

नवलपरासीको सांस्कृतिक आन्दोलन उठाउन २०४५ सालमा देवचुली सांस्कृतिक परिवार स्थापना भएको थियो । यसमा क. ठाकुरप्रसाद चापागाईं, क. शङ्करबहादुर नेपाली, क. सत्यनारायण भुसाल, क. सुकमाया नेपाली, क. रमा विकलगायतको टिम रहेको थियो । कमरेड रमा विकले जनयुद्धकालमा सहादत प्राप्त गर्नुभयो । त्यस्तै २०६३ मा बिना ज्ञवालीको संयोजकत्वमा प्रोत्साहन सांस्कृतिक परिवार गठन भयो । त्यसपछि देवी अधिकारी संयोजकत्वमा गठन भयो । यसले जनयुद्धकालीन समयमा निकै ठूलो प्रभाव राख्यो । शान्तिप्रक्रियासँगै लेखक सङ्गठन निर्माण भयो । २०६४ मा क. शिवशङ्कर बस्यालको अध्यक्षतामा अखिल नेपाल जनसांस्कृतिक महासङ्घ गठन भयो । यसको उपाध्यक्षमा क. अर्जुन अविरल, सदस्यहरू क. प्रितम भुजेल, क. आशीष भुर्तेललगायत रहनुभयो । खासगरी नवलपरासीको जनवादी सांस्कृतिक आन्दोलनलाई उचाइमा पु¥याउनेमा लेखक एवम् संस्कृतिकर्मीहरू डा. शिवशङ्कर बस्याल, शङ्कर पन्थीलगायतको महत्वपूर्ण भूमिका रह्यो । यसक्रममा पत्रकार एवम् साहित्यकार शङ्कर पन्थीको सहादत भयो र उहाँको हत्यासँगै त्यहाँको जनसांस्कृतिक आन्दोलनमा ठूलो क्षति पुग्यो ।
गुल्मी

२०५४ मा क्षितिज परिवार अभियानसहित गुल्मी पुग्यो । यही अभियानका क्रममा बाँझकटेरीमा ३६ जना जनकलाकारलाई प्रतिक्रियावादी राज्यसत्ताले गिरफ्तार ग¥यो । यसले प्रतिरोधी सांस्कृतिक आन्दोलनलाई थप ऊर्जा थप्यो । गुल्मी र अर्घाखाँचीका जनकलाकारहरूको संयुक्त टिमले त्यसको निरन्तर प्रतिरोध गरिरह्यो र ०५८ सालमा बडागाउँको पेँगामा कलाकारहरूको भेलाले क. खुमराज आचार्यको अध्यक्षतामा जिल्ला कलाकार टिम गठन ग¥यो । उक्त टिमको ‘रेसुङ्गा जनमुक्ति सांस्कृतिक परिवार‘ नामकरण ग¥यो ।

२०५८ सालमा क. रिज्जु श्रेष्ठ ‘सञ्जु’ को अध्यक्षता शारदा आचार्य (लता) कमिसार रहेको सांस्कृतिक टोली नारायण घिमिरे (रेसुङ्गा) को नेतृत्वमा अभियान सञ्चालन गर्दै ०५९ असोजमा क. मुक्तिको नेतृत्वमा ५ सदस्यीय कलाकार टिम निर्माण भयो । ०५९ पुसमा सम्पन्न भेलाले क. अशोक थापा (मुक्ति) को नेतृत्वमा सदस्यहरू क. मनबहादुर तरामु मगर (मनोज), क. बुद्धिबहादुर परियार (पहाड), क. सपना, क. उषा, क. कामना, क. सङ्गमलगायत रहेको ९ सदस्यीय गठन ग¥यो । यो टिमले भार्से, छापचौर, खड्कोट, भुर्तुङ, ग्वाघा, शान्तिपुर, विशुखर्क, आँपचौरमा प्रशिक्षण एवम् सांस्कृतिक अभियान सञ्चालन ग¥यो । यही टिमले ०६० सालमा ठूलो लुम्पेक, सिर्सेनी र म्यालपोखरीमा शिविर सञ्चालन गरी ९ बाट २० जनाको टोली निर्माण ग¥यो । २०६० मा पार्टीले सञ्चालन गरेको एकीकृत जनप्रतिरोध अभियानमा कलाकारहरूको टिम सहभागी भयो र रुकुमको सिस्ने सांस्कृतिक परिवारसमेत गुल्मी आइपुग्यो । २०६१ वैशाख २७ गते फोक्सिङको बल्लीमा पुग्यो । टोलीसँगै जनमुक्ति सेनाको बटालियनसँगै दुस्मनसँगको भिडन्तमा सहभागी भयो । दुस्मनको स्थिति बुझ्न ठूलो लुम्पेक पुगेका कलाकार क. मनवहादुर तरामु मगर (मनोज) लाई ठूलो लुम्पेकको सत्यवतीमा सिभिल पोसाकमा आएका दुस्मनले वैशाख २७ गते नृशंस हत्या ग¥यो । २०६१ असोज ६ गते परिवारका सदस्य क. महादीपलाई इश्माको खग्रेटामा निशस्त्र अवस्थामा नै हत्या ग¥यो । अर्घाखाँचीको सिद्धधारामा परिवारका सदस्य कमरेड राधिका भुसाललाई क्रूरतापूर्वक हत्या ग¥यो ।

कलाकारहरूको हत्या हुँदै गएपछि परिवारको बैठक बसी क. सपनालाई संयोजक चुन्यो । २०६१ चैत २५ गते खारा आक्रमणमा परिवारका सदस्य क. पहाडको सहादत भयो । कलाकारहरूको बलिदानी वा सहादतले गुल्मेली सांस्कृतिक आन्दोलन रोकिएन । क. मनोजको सहादतले देउराली सांस्कृतिक परिवार १ नं. कमान्ड र लालतारा सांस्कृतिक परिवार १ नं. एरिया जन्मियो । क. पहाडको बलिदानले बडिघाट सांस्कृतिक परिवार ५ नं. इलाका र हुग्दीशिर सांस्कृतिक परिवार ३ नं. इलाका जन्मियो । सहिद क. करुणा र महादीपको बलिदानले निस्ती मदाने सांस्कृतिक परिवार जन्मियो । संयोजक क. सपनामा वैचारिक विचलन देखापरेपछि २०६२ असार ३ गते ध्रुवकुमारलाई संयोजक चुन्यो । केही समयपछि मुक्तिलाई नै पुनः टोलीको संयोजक चुन्यो । उक्त टिममा साहित्य, बिहानी, एलिना, सङ्गीता, यात्रा, सोनी, स्वर्णिमा, सामना, जुना, सङ्गीता, बरदान, संयोग, जीवन, बर्साद र आभास हुनुहुन्थ्यो । २०६३ मा जुनिया बैठकले कमरेड साहित्यलाई संयोजक चुन्यो ।
पाल्पा

पाल्पामा २०५५ सालमा श्रीनगर सांस्कृतिक परिवार गठन भयो । यसको नेतृत्व क. चुनु गुरुङलगायतले गर्नुभयो । यस सन्दर्भमा श्रीनगर सांस्कृतिक परिवारका तर्फबाट गीतकार चुनु गुरुङले ‘रातो सलाम हाम्रो’ शीर्षकको गीत नै लेख्नुभयो । जुन गीत २०५५ साल मङ्सिर १८ गतेको जनआह्वान पत्रिकामा प्रकाशित रहेको छ । जनयुद्धकालीन समयमा कमरेड चुनु गुरुङको कार्यक्षेत्र स्थानान्तरण हुनुपरेकाले पाल्पाको जनसांस्कृतिक आन्दोलनमा श्रीनगर सांस्कृतिक परिवारको क्रियाशीलता सोचेजस्तो हुन सकेन । यद्यपि त्यहाँको वर्गसङ्घर्षलाई अगाडि बढाउने क्रममा क्षितिज परिवार, प्रतिरोध सांस्कृतिक परिवार र मगर सांस्कृतिक परिवारलगायत सांस्कृतिक टिमको महत्वपूर्ण भूमिका रहेको छ ।
अर्घाखाँची

अर्घाखाँचीमा २०५९ सालमा अर्घा सांस्कृतिक परिवार गठन भयो । सुरुमा यसको टिममा तारा, प्रतीक्षा, कलब गुरुङलगायत रहनुभयो । जनयुद्धको प्रचारप्रचारमा यो टिमले सांस्कृतिक क्षेत्रमा ठूलो भूमिका निर्वाह ग¥यो । त्यसपछि किशोर, तुफान, सागर दर्लामी, सेनु, सलिना, दीप, पार्वता, करुणा, सुनिल, बालकृष्ण बलामी, रक्षा सारुलगायतले त्यहाँको सांस्कृतिक आन्दोलनलाई उठायो । यस सन्दर्भमा २०६१ सालमा कलाकार रक्षा सारुको सहादत भयो ।
पुनर्गठनपछि लुम्बिनीको सांस्कृतिक आन्दोलन

कमरेड विप्लवको नेतृत्वमा २०७१ मङ्सिर ८ गते जनमुक्ति सेनाको स्थापना दिवस पारेर पार्टी पुनर्गठनपछि लुम्बिनीमा महासङ्घसँगै क्षितिज परिवार र रक्तरञ्जित सांस्कृतिक परिवार पुनर्गठन भयो । २०७३ कात्तिक ३० देखि मङ्सिर १ गते काठमाडौँमा सम्पन्न पाँचौँ राष्ट्रिय सम्मेलनपछि २०७३ पस ४ गते केन्द्रीय सदस्य क. खोमा तरामु मगरको संयोजकत्वमा ९ सदस्यीय अखिल नेपाल जनसांस्कृतिक महासङ्घ लुम्बिनी ब्युरो गठन भयो जसमा सदस्यहरू क. संयोग, क. लीला राना मगर, क. प्रकाशसिंह राना, क. चरना चुनिए ।

महासङ्घको केन्द्रीय कार्यक्रमअन्तर्गत २०७३ पुस १६ गते बुटवलमा विशेष कवि–गोष्ठी सम्पन्न ग¥यो । कविगोष्ठीमा तत्कालीन नेकपा (माओवादी) केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज क. वीरजङ्ग, महासङ्घका महासचिव क. खेम थपलिया, वरिष्ठ माक्र्सवादी सौन्दर्यचिन्तक एवम् कवि दिल साहनी, कविहरू डा. शिवशङ्कर बस्याल, ज्ञानु केसी, लीला राना मगर, प्रकाशसिंह राना, रूपसिंह विश्वकर्मा, गङ्गाराम कहाँर, प्रेम विक र खोमा तरामु मगरले कविता सुनाए । गोष्ठीमा अतिथि कविका रूपमा रामचन्द्र भट्टराई, अजम्बरध्वज खाती, कपिलबन्धु, चतुर्भुज आत्रेय, कविराज पौडेल, गिरी श्रीसमगर, दीपक विश्वकर्मा, ताराप्रसाद श्रेष्ठ, विकास केसी, डा. शिव पौडेल, जयन्ती सरगम र गणेश खनालको कवितात्मक उपस्थिति रहेको थियो ।

महासङ्घको लुम्बिनी ब्युरोले २०७३ माघ ५ गते साहित्यिक प्रकाशन झुल्केघाम सार्वजनिक ग¥यो । झुल्केघामको सार्वजनिकीकरण नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कमरेड हेमन्तप्रकाश ओली ‘सुदर्शन’ द्वारा सम्पन्न भयो । २०७३ फागुन २१ गते सहिद दिवसको सन्दर्भ पारेर कपिलवस्तुको पत्थरकोटबाट क्षितिज सांस्कृतिक परिवार सांस्कृतिक प्रशिक्षणपछि पार्टीको योजनामा ‘राष्ट्रघात र दलालीकरणविरुद्ध निरन्तर क्रान्ति’ अभियान सुरु भयो । अभियानमा नेकपाका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज कमरेड वीरजङ्ग, केन्द्रीय सदस्यहरू भेषराज भुसाल, कृति, सञ्जीवकुमार, कपिलवस्तु इन्चार्ज सङ्गम, सेक्रेटरी सुनिललगायत नेता कार्यकर्ताहरूको सहभागिता रह्यो । परिवारको इन्चार्ज कमरेड ममता, संयोजक कमरेड संयोग र सहसंयोजक कमरेड आत्मालाई चुन्यो । कलाकार टिममा सुनील, अमर, विकास, मुना, तारा, रेखा, सेरमन, सृष्टि, सोनम र पुरन हुनुहुन्थ्यो । अभियान टोली कपिलवस्तुको पत्थरकोट, टिक्कर, इमिलिया, बुकलपुर, मौलाबारी, खयरबारी, मोतीपुर, भ्रलासास, चौवा, ताप्के, बोडगाउँ, बनकट्टी, वनगवालगायत स्थानमा सांस्कृतिक अभियान सञ्चालन ग¥यो । यो अभियानका क्रममा २०७३ फागुन ५ गते कपिलवस्तुको मनरवापुरस्थित कलाकार तारा र रञ्जनको घरमा श्रमशिविर सम्पन्न गरियो । अभियानका क्रममा २०७३ चैत ५ गते कपिलवस्तुको बनगवामा प्रतिरोध सांस्कृतिक दिवस सम्पन्न भयो । अनेकोटमा सहादत प्राप्त क. च्याङ्बा लामालगायत महान् सहिदहरूको सम्झनामा गरिएको उक्त कार्यक्रममा नेकपा कपिलवस्तुका इन्चार्ज सङ्गम, सेक्रेटरी सुनिललगायत जिल्ला नेतृत्वको उपस्थिति थियो । यसबीचमा पार्टीको योजनाअन्तर्गत बुटवलमा केन्द्रीय जनसभाको सन्दर्भमा बुटवलमा क्षितिज परिवार र रक्तरञ्जित सांस्कृतिक परिवारले जनवादी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

सरकारले स्थानीय चुनाव घोषणा गरेलगत्तै नेकपाले चैत २४ गते जनआन्दोलन दिवसको सन्दर्भ पारेर नवलपुरबाट तीनमहिने ‘एकीकृत जनजागरण तथा प्रतिरोध अभियान’ सुरु ग¥यो । अभियानको उद्घाटन नेकपाका पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज कमरेड वीरजङ्गले गर्नुभयो । अभियानमा क्षितिज परिवारको कलाकार टिम नवलपरासी, गुल्मी, पाल्पा, रूपन्देही, अर्घाखाँची हुँदै कपिलवस्तु पुग्यो । यसक्रममा पोलिटब्युरो सदस्य एवम् लुम्बिनी ब्युरो इन्चार्ज क. वीरजङ्ग, केन्द्रीय सदस्यहरू क. भेषराज भुसाल, क. विजय, क. कृति, सञ्जीवकुमार र ब्युरो सदस्य एवम् जिल्ला इन्चार्जहरू क. सङ्गम, क. जुझारु, क. शरद ओली, क. धीरज, क. सुमन, क. सामना र सेक्रेटरीहरू क. सुनिल, क. विश्सास, क. अमर, क. मङ्गलसेन, क. भुवन, क. खिम खड्कालगायत जिल्ला नेताहरूको नेतृत्व रह्यो ।

अभियानका क्रममा विभिन्न स्थानमा प्रहरीले हस्तक्षेप गर्ने प्रयास ग¥यो तर जनताको अपार समर्थन र सहभागिताले त्यो सम्भव भएन । अभियानका क्रममा क्षितिज परिवारको कलाकारको गाडी पाल्पामा दुर्घटना भयो । दुर्घटनामा केही कलाकार घाइते हुनुभयो । एकीकृत जनजागरण तथा प्रतिरोध अभियानअन्तर्गत ब्युरोका दर्जनौँ स्थानमा पुगेर जनताका बीच क्रान्तिकारी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरियो । चुनाव खारेजीका पक्षमा पार्टीले चलाएको जनजागरण अभियानका क्रममा रूपन्देही, कपिलवस्तु र अर्घाखाँचीमा प्रहरीले हस्तक्षेप ग¥यो । रूपन्देहीको सैनामैना भड्छा, रुद्रपुरको गरगरे, दक्षिणी भैसाही र कपिलवस्तुको बाणगङ्गास्थित दानापुर गाउँ र अर्घाखाँचीमा सांस्कृतिक कार्यक्रम चलाइरहेको बेला प्रहरीले हस्तक्षेप ग¥यो । अभियानकै क्रममा २०७३ वैशाख १० गते महासङ्घका केन्द्रीय सदस्य एवम् लुम्बिनी ब्युरो संयोजक क. खोमा तरामु मगर र २०७५ वैशाख १८ गते महासङ्घका कपिलवस्तु जिल्ला अध्यक्ष एवम् कलाकार क. देवराज देउकीलाई गिरफ्तार गरी प्रहरीले हिरासतमा राख्यो । कपिलवस्तु जिल्ला अध्यक्ष क. देवराज देउकी र कार्यक्रममाथि गरिएको हस्तक्षेपविरुद्ध महासङ्घ लुम्बिनी ब्युरोले रिहाइको माग गर्दै प्रेसविज्ञप्ति प्रकाशन ग¥यो ।

यतिखेर जनयुद्धको विद्रुप पक्ष उतारेर प्रतिक्रियावादीद्वारा क्रान्तिलाई बदनाम गर्ने कोसिस गरिँदैछ र अब राजनीतिक क्रान्तिको औचित्य सकिएको ढोङ पिटिँदैछ । वर्गसङ्घर्षका क्रममा सांस्कृतिक मोर्चाबाट उदात्तभावका साथ क्रान्तिलाई अगाडि बढाई सुन्दर बिम्ब र महान् आदर्शको निर्माण गरेका तर छरपस्ट रहेका ती योद्धाहरूको रक्तिम महागाथालाई सचेततापूर्वक अभिलेखीकरण गर्दै जानु आवश्यक छ । यहाँ लुम्बिनी क्षेत्रको जनसांस्कृतिक आन्दोलनमा योगदान गर्ने थुप्रै महत्वपूर्ण कमरेडहरूको नाम र योगदान पर्याप्त सूचना र स्रोत अभावका कारण छुट्न गएको छ । सबै विषय एकै ठाउँमा सम्भव पनि हुँदैन । प्राविधिक कारणवश छुटेका कमरेडहरूका बारेमा आगामी दिनमा पुनः लेखिनेछ र लेखिनुपर्छ । हामीले नलेखे नयाँ पुस्ताले लेख्छ । तर सिर्जनाको धर्ती कहिल्यै बाँझो हुनेछैन । क्रान्तिको सपना पूरा नहुँदासम्म रगतको इतिहास मेटिनेछैन । हामीलाई विश्वास छ, कलम जतिसुकै शक्तिशाली भए पनि कलमले क्रान्तिको स्पर्श नगर्दासम्म महासमरको गौरवगाथा पनि लेखिन सम्भव छैन । अन्त्यमा, वर्गवैरीविरुद्ध जीवनको बलिदान गर्नुहुने ए, राता मान्छेहरू ! ए, लालयोद्धाहरू ! युगयुगसम्म रक्तिम अभिवादन !

(सन्दर्भ स्रोत– जनादेश अङ्क–२६, वर्ष– १०, ०५८ जेठ २, जनादेश वर्ष–१३, ०६० पुस ८, जनआह्वान वर्ष–४, ०५७ माघ २०, दैनिकपत्र २०६९ कात्तिक २५, जनसंस्कृति, युगप्रतिभा, प्रतिरोधका आवाजहरू, जनक्रान्तिको दशक, बेलिसरा, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ पाँचौँ राष्ट्रिय सम्मेलन प्रतिवेदन ।)
२०७५ साउन ६ गते अपरान्ह ४ ३१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :