मजदुर आन्दोलनका समस्याहरू : विनोद थापा

आन्दोलन भन्नेबित्तिकै परिवर्तनका लागि जनताहरूले गर्ने सङ्घर्ष बुझ्ने र त्यसलाई दलहरूले नेतृत्व गर्दछन् भन्ने कुरा पनि साँचो हो । कहीँकतै पनि स्वतस्फूर्त गरिएका आन्दोलनबाट अधिकार प्राप्त भएको उदाहरण छैन । कतिपय सङ्घर्षहरू वर्गीय उद्देश्यबाट प्रेरित हुन्छन् । वर्गसचेत जनताद्वारा गरिएको आन्दोलनले दीर्घकालीन महत्व राख्दछ । पुरानो राज्यसत्ताले गरेको थिचोमिचो र आधारभूत जनतामाथि गर्ने शोषणको उत्कर्ष नै आन्दोलनको रूप हो । कसैले विधिको शासन माग गर्ने त कसैले परिवर्तनका एजेन्डा राखेर सङ्घर्ष गर्ने गरेका छन् । उद्देश्य भिन्नभिन्न हुन सक्दछन् तर वर्गीय पक्षधरताका विषयमा उठेका मुद्दाहरूलाई सङ्घर्षबाट स्थापित गर्न धेरै देशहरूमा सङ्घर्ष हुने गर्दछन् र विजय–पराजयको पनि सामना गरिरहेका छन् । नेपालमा पनि शृङ्खलाबद्ध राजनीतिक आन्दोलन भइरहेको छ । कुनैबेला कुन राजनीति पार्टी कतिबेला कुन दलले सत्ता समाल्छन् जनतालाई थाहै हुँदैन । सरकारमा पुग्ने, शासक बन्ने, ओहोरदोहोर गर्ने गरेको हामीले देखिरहेका छौँ र कतिपय अवस्थामा यिनीहरूका टिप्पणीहरू सुन्ने गर्छौं ।

सबैले जनताकै कुरा गर्ने गर्दछन् । अझ कम्युनिस्ट पार्टीका खोल ओढेकाहरू त वर्गीय कुरा गरेर थाक्दैनन् । जतिखेर पनि मजदुर, किसान, उत्पीडितहरूको असली रक्षक हुँ भनी दाबी गर्दछन् । नेपालभरि नै त्यस्ता जमातहरू, असरल्ल देख्न सकिन्छ । शोषितपीडितको गाथा गाउँदै बाँच्न पल्केकाहरू यहाँ धेरै छन् । यस्ता मान्छेहरू अनगिन्ती हुनुमा कसलाई दोषी देख्ने ? अहिलेको शासन व्यवस्थालाई वा सामाजिक परिवेशलाई कि त राजनीतिक अगुवाहरूलाई हाम्रासामु यस्तै अनेकौँ तरङ्गहरू पैदा भइरहेको हुन्छ । यसको गतिलो जबाफ नपाउँदा धेरै मान्छे निराश र हैरानीमा भौँतारिरहेका छन् । यी सबै हुनुमा संसदीय व्यवस्था मूल कारक हो ।

आन्दोलनकै पृष्ठभूमिबाट स्थापना भएका मजदुर सङ्घसङ्गठनहरू मजदुरहरूका वास्तविक सारथी बन्न सके कि सकेनन्, यो सोचनीय विषय हो । नेपालमा मजदुर सङ्गठनको जगमा ख्याती कमाएका नेताहरू धेरै छन् । उच्च ओहदादेखि बरिष्ठ र कनिष्ठ नेताहरू मजदुर सङ्गठनकै पृष्ठभूमिबाट राजनीतिक यात्रा सुरु गरे तर नेपालका श्रमिक मजदुरहरूको दुःखदायी जीवन ज्यूँका त्यूँ नै छ । यसको मुख्य कारण सपनाको खेती गर्ने नेताहरूबाट यसो हुन गयो । झन्डै ७२ वर्षअगाडिबाट मजदुर सङ्गठनले उठाएका मुद्दाहरू अहिले पनि जस्ताको तस्तै छन् । यहाँनिर हामी के सोच्न बाध्य छौँ भने वर्गसङ्घर्ष किन कमजोर बन्यो ? पुँजीपतिहरू किन रातारात सम्पन्नशाली भए ? क्रान्ति किन प्रतिक्रान्तिमा बदलियो ? संसदीय पार्टीले गरेका सङ्घर्षहरूबाट लक्ष्य प्राप्त भएन । त्यसकारण सर्वहारा श्रमिक वर्गले आशा गरेको मुक्तिको सपनामा पूर्णविराम लाग्यो । हामी मजदुरहरूले के कुरा गम्भीर भएर बुझ्नुपर्दछ भने मजदुर वर्गले पुँजीवादी व्यवस्थाबाट छुटकारा पाउन समाजवादी व्यवस्थाका लागि सङ्घर्ष गर्नुपर्दछ । पुँजीवादी व्यवस्थामा केही सुधारवादी कामहरू त होलान् तर निम्न पुँजीवादी चिन्तन र प्रवृत्ति आन्दोलनहरूमा देखा पर्दछ । अहिले नेपालमा एकथरी कम्युनिस्ट पार्टी माक्र्सवादलाई भ्रष्टीकरण गर्दै अवसरवादहरूसँग भावुकतापूर्वक सम्बन्ध राखिरहेका छन् । जो साम्राज्यवादीहरूसँग बिकेका छन् उनीहरूले साम्राज्यवादी पुँजीपतिको निर्देशनलाई पालना गर्दै मजदुर आन्दोलनमा दलालको भूमिका निर्वाह गरी मजदुरहरूलाई दास बनाउने कुरामा समर्थन गर्दछन् । श्रमिक मजदुर वर्गले विसर्जनवादको निन्दा गर्नुपर्दछ । अहिले नेपालको ट्रेड युनियन आन्दोलनमा प्रभुत्ववाद हाबी हुन गएको छ । संसद्वादी कित्तामा उभिएका मजदुर सङ्गठनले दलाल सरकारसँग मिलेर मजदुरविरोधी गतिविधि गरिरहेका छन् । तिनलाई मजदुरको बीचमा गई भण्डाफोर गर्नुपर्दछ । वर्गसचेत मजदुरहरूको सङ्गठनात्मक, विचारधारात्मक, राजनीतिक चेतनामा कैयौँ गुणा विस्तार गर्नुपर्दछ । अहिले आम मजदुरहरू संसदीय व्यवस्थाभित्र रहेका अभिजात वर्गको विरुद्धमा छन् । जब क्रान्तिकारी जनतालाई यहाँका कम्युनिस्ट भनाउँदाले गद्दारी गरे त्यसपछि केही निराश त पक्कै बनायो तर पनि नेपाल कम्युनिस्ट पार्टी जो सङ्घर्षमा छ उसको गतिविधिले मजदुरहरूले उत्साहपूर्वक पहिलेभन्दा खुला रूपले आन्दोलनको महत्वलाई बुझेर पुरानो मार्गबाट मुक्ति सम्भव छैन भन्ने बुझेर क्रान्तिकारी मजदुर आन्दोलनमा अग्रसर भइरहेका छन् । यो सुखद पक्ष हो । क्रान्तिकारी मजदुर सङ्गठनले पनि मजदुरमाथि संसदीय व्यवस्थाबाट हुने गरेका शोषण र अन्यायलाई गम्भीर ढङ्गबाट नियालिरहेको छ । मजदुर सङ्गठनका खराबीहरूका बारेमा अनुसन्धान गर्दै नयाँ संश्लेषण गर्न सफल भएको छ । पुँजीवादी समाजले साना उत्पादक र सर्वहारा वर्गमाथि आफ्नो पूरा बोझ लादेर मजदुरहरूलाई भोकमरीको स्थितिमा पु¥याइदिने र उनीहरूलाई भोकभोकै मार्ने परिस्थिति पैदा गराउने दिशातिर लागेका छन् ।

त्यसको पछिल्लो कडी भनेको दिनैपिच्छे महँगी आकासिनु महँगीको अनुपातमा मजदुरहरूले तलब सेवासुविधा नपाउनुजस्ता कारणले अहिले व्यवस्थामा मजदुरहरू कति पिल्सिनुपरेको छ भन्ने कुरा पुष्टि हुन्छ । सुधारवादी मजदुर आन्दोलनले पुँजीवादीले लागू गरेका श्रम कानुन लागू गर्ने कुरामा जोड दिन्छन् तर यहाँ मजदुरको हकहितका लागि बनेका ऐननियमहरू लागू हुनु त परै जाओस्, बनाउने र थन्क्याउनेभन्दा अरू नयाँ काम हुन सकेको छैन किनभने सरकारको जग पुँजीवादको मातहतमा हुन्छ । उसको स्वार्थमा बन्ने ऐनले किमार्थ मजदुरहरूको हित गर्न सक्दैन । त्यसैले अब मजदुरवर्गीय आन्दोलन वैज्ञानिक समाजवादी आन्दोलनमा परिणत हुन जरुरी छ । मजदुर युनियनमा एउटा नयाँ भावना जागृत गर्न आवश्यक छ । अब मजदुर आन्दोलन घिसेपिटे रूपमा हैन, बिजुलीको गर्जनजस्तै गर्जिनुपर्दछ । अहिले नेपालका सामाजिक दलाल पुँजीवादीहरूले सोचिरहेका छन्– मजदुरलाई हिंसाका लागि भड्काउन सकिनेछ तर हाम्रो सङ्गठनले सचेत क्रान्तिकारी मजदुर आन्दोलनद्वारा मजदुरका अधिकारलाई स्थापित गराउनेछ । मजदुर वर्गले श्रमजीवी तथा शोषित जनता जो अधिकारबाट वञ्चित छन्, उनीहरूलाई क्रान्तिकारी आन्दोलनमा आकर्षित गराउन सक्नुपर्दछ । क्रान्ति किन आवश्यक छ भन्ने विषयमा प्रशिक्षित गराउनुपर्दछ । प्रत्येक इमानदार मजदुरका लागि जसले जनवाद र समाजवादका लागि त्याग गर्दछन् । मूल तत्वलाई बुझ्दछन् । उनीहरू वैचारिक रूपमा कति स्पष्ट छन् भन्ने स्वतः स्पष्ट हुन्छ । संसद्वादी ट्रेड युनियनले अवसरवादलाई बलियो बनाइरहेको छ । यसका बाछिटाहरूले हामीलाई पनि छुन सक्छन् । त्यो विषयमा गम्भीर हुन आवश्यक छ । राजनीतिक खिचातानीका कारणले कति मजदुरहरू पिछडिएका छन् । तिनलाई रक्षा गर्ने दिशातिर मजदुर सङ्गठन अग्रसर हुनुपर्छ । आम श्रमिक मजदुरहरूलाई राजनीतिक ज्ञान र शिक्षा आवश्यक छ । बुर्जुवा भावनाको विकास गर्न दिनु हुँदैन । अहिलेको बदलिँदो परिस्थितिमा मजदुर वर्गको एकता र ऐक्यबद्धता एउटा देश वा जातिमा मात्र सीमित छैन । त्यसैले सङ्घर्षको अन्तिम लक्ष्य यस्तो हुनुपर्दछ– आफ्नो पूर्ण मुक्तिको सर्त सङ्गठित मजदुरले पूरा गर्नसक्छन् । मालिकले उसको इच्छामुताबिक उत्पीडन गरिरहेका छन् । स्वेच्छाचारी व्यवहारसँग साक्षात्कार मात्र हुनेछैन अलग न्यायको आशा गर्ने होइन, राज्यसत्ताले गरेको अन्यायको सामना गर्ने साहस राख्नुपर्दछ । पुँजीद्वारा श्रमको शोषणमाथि आधारित सम्पूर्ण सामाजिक प्रणालीका विरुद्ध क्रान्तिकारी सङ्घर्ष सोझ्याउँदै ठेकेदारी करार, ज्यालादारी प्रथाको अन्त्यका लागि अगाडि बढ्ने, मजदुर वर्गको सङ्घर्ष राजनीतिक सङ्घर्षमा आधारित हुने कुरालाई मुख्य जोड दिने, मजदुर वर्ग अन्तर्राष्ट्रिय मजदुर आन्दोलनको एक अङ्ग हुनुको नाताले पहिलो लक्ष्य राजनीतिक मुक्ति प्राप्त गर्नु हो । अहिले दलाल संसदीय व्यवस्थाका पक्षमा खडा भएको ट्रेड युनियनहरूले राज्यसँग मिली अँध्यारो कोठामा मजदुरविरोधी कार्य गर्न खोजिरहेका छन्, राज्यको निकाय श्रम मन्त्रालयबाट गठित श्रमिकसम्बन्धी तलब निर्धारण समिति र मजदुरविरोधी मजदुरहरूले मजदुरको तलब वेतन, सेवासुविधाका विषयमा छलफल र सम्झौता गर्ने तयारी गरिरहेका छन् तर कोहीलाई काखा कोहीलाई पाखालगाइ गर्ने निर्णयले कदापि मजदुरको हित गर्नेछैन । यद्यपि मिलोमतोमा गर्ने सम्झौता र सहमतिले गम्भीर सङ्कट निम्त्याउनेछ । साँच्चिकै मजदुरहरूको न्यायका लागि पहल गर्ने हो भने राज्यको निजामती कर्मचारीहरूले पाउने तलबभत्ता सोसरह तलब निर्धारण गर्नुपर्दछ । मजदुरहरूलाई व्यवस्थापनका लागि अतिरिक्त सुविधाको ग्यारेन्टी गर्नुपर्दछ । आवास, स्वास्थ्य, शिक्षालगायत निःशुल्क उपलब्ध गराउने र छिटोछरितो न्याय सम्पादनका लागि छुट्टै श्रम अदालत गठन गर्न आवश्यक छ । यी जायज मागहरूका विषयमा सरोकारवाला निकाय गम्भीर नभएमा मजदुर वर्गको आन्दोलनको आँधीबेहरीले संसदीय दलाल सत्ता र सरकारको सिंहासन उखेलेर फाल्नेछन् । असमान व्यवस्थामा त्यो सङ्कट टर्नेछैन ।
२०७५ असार ३२ गते अपरान्ह ४ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :