रसुवा हिरासतका कठोर २१ दिन : रसुवाली कवि

संविधान भन्छ– नागरिकले बिनाहातहतियार आफ्नो धारणा राख्ने अधिकारको ग्यारेन्टी पाउँछन् । ३० बर्से पञ्चायती शासन ढलेपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले समेत अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा उल्लेख गरेको छ तर लामो बलिदानको इतिहासपछि बनेको वाम सरकारले भने जनताका तमाम हकहरूलाई खोसिरहेको छ । यसै सिलसिलामा २०७५ जेठ २९ गते भएको प्रहरी दमनलाई लिन सकिन्छ ।

भौगोलिक हिसाबले दुर्गम मानिने रसुवा जिल्लामा जेठ २९ गते अखिल क्रान्तिकारीले जिल्ला सम्मेलन राखेको थियो । पार्टीको निर्णयअनुसार नुवाकोटको बट्टारबाट पाटी इन्चार्ज रजमान तामाङसहितको टोलीमा म पनि रसुवाको धुसेनीस्थित सेती भूमि मा.वि. पुगेका थियौँ । विद्यार्थीहरू जिल्ला सम्मेलनमा भाग लिन विभिन्न स्कुलबाट धुसेनी आउने क्रम जारी थियो । विद्यालय समय समाप्त भएपछि हाम्रो उद्घाटनसत्र सुरु भयो । विद्यार्थी जिल्ला संयोजक साजन घिमिरेको अध्यक्षतामा कार्यक्रम सुरु भयो । विद्यार्थीका केन्द्रीय सदस्य बद्री अधिकारी, अटल शर्मा र म अतिथिका रूपमा रह्यौँ । चितवनका विद्यार्थी नेता सेजन चन्दले कार्यक्रम सञ्चालन गरे । हामी अटल र मैले कार्यक्रमको सुरुआतमा शैक्षिक विकृति र रसुवागढी नाकाको तस्करीका विषयमा आफ्नो धारणा पेस ग¥यौँ । बद्रीजी बोल्दै गर्दा फिल्मी सैलीमा बेत्रावतीका सई दुर्गा गिरी कार्यक्रम रोक्नुस् भन्दै देखापरे । पटकपटक साजन घिमिरे र मेरो घर घेर्दै परिवारलाई मानसिक यातना दिर्दै आएका गिरी र हामीबीच छलफल र वादविवाद चर्कियो । हामीले भन्यौँ– शान्तिपूर्ण ढङ्गले कार्यक्रम गरेका हौँ, दमन नगर्नुस् । उनले भाडाका अभिभावक खरिद गरेर ल्याएका रहेछन् । उनीहरू पनि हामीविरुद्ध खनिए तर रसुवाका विद्यार्थीहरूले भने प्रहरी दमनको चर्को आलोचना गरे । वादविवादमा उत्रिए । दमनका विरुद्ध उठ्छौँसमेत भने ।

विद्यार्थीको प्रतिकारबाट आजित दुर्गाले जिल्ला प्रहरी प्रमुख शरदकुमार क्षेत्रीलाई फोन सम्पर्क गरे । केहीबेरमा जिल्ला प्रहरी कार्यालयको निर्देशनमा इलाका प्रहरी कार्यालय कालिकास्थानको भ्यान आयो । आफ्नो कार्यक्षेत्रबाट बाहिर गएर दुर्गा गिरीले हामीलाई गिरफ्तार गरे । केहीबेरमा भ्यान कालिकास्थानमा पु्ग्यो । प्रहरीले हामीप्रति सकारात्मक व्यवहार देखायो । माथिको निर्देशन पालना गरेको र हामीप्रति व्यक्तिगत दुस्मनी नभएको समेत उनीहरूले बताए । कालिकास्थानका प्रहरी प्रमुखसँग हाम्रो सकारात्मक कुराकानी पनि भयो । सिपाहीहरू भन्थे– विप्लवको विचार राम्रो छ । नेता पनि राम्रो चाहियो ।

कालिकास्थानमा १ घन्टा राखेपछि भ्यानले हामीलाई धुन्चेतिर लग्यो । ठाडेमा पुगेपछि हामीलाई लिन गर्न जिल्ला प्रहरी कार्यालयको गाडी आयो । केहीबेरमा हामी धुन्चे पुग्यौँ । प्रहरीले प्रक्रिया पु¥याउन जिल्ला अस्पतालमा हाम्रो स्वस्थ्य जाँच गरायो । स्वास्थ्य जाँचपछि हामीलाई धेरै नै फोहोर हिरासतकक्षमा हुलियो । मानवअधिकारको निकै ठूलो गफ गर्ने सरकारले हिरासतकक्षलाई अघोषित ट्वाइलेटका रूपमा विकास गरेझैँ लाग्थ्यो । सानो कोठा, पिसाब फेर्ने भित्रै राखिएको कोपराले मानवअधिकारका अनेकन धाराहरूलाई गिज्याइरहेका थिए । हामी गएपछि नयाँ बाल्टीको व्यवस्था ग¥यौँ । म्याट किन्यौँ तर पनि पिसाबको गन्धले टाउको दुख्ने क्रम जारी थियो । चिसोले गर्दा अत्यधिक मात्रामा पिसाब आउँथ्यो । निकै कष्टकर थियो हिरासत ।

हिरासतलाई रमाइलो बनाउन बद्रीजी गीत भन्थे । अटलजी र म बहसमा भाग लिन्थ्यौँ । साजन र सेजनको छुट्टै समूह थियो । लुँडो किनेका थियौँ । त्यसमा सर्पको खेल खेलेर दिन बिताउने वातावरण भएको थियो । रसुवाका विभिन्न साथीहरूसँग भेटघाट हुन्थ्यो । एक किसिमले रमाइलो पनि थियो । जबर्जस्ती करणी मुद्दामा फसाइएका सलाम तामाङ हुन् वा यार्सागुम्बा मुद्दामा आएका जिल घले, उनीहरु हाम्रा साथी थिए । उनीहरू एकीकृत जनक्रान्तिको कार्यदिशामा आपूmहरू लाग्न चाहेको समेत बताउँथे । महिला सेलका कारण सामान्य वादविवादमा समेत हिरासतमा आउनुपर्ने बाध्यता बोकेका पुरुष अनुहार हुन् वा महिला हकलाई सम्बन्धविच्छेदको तारो बनाउने एनजीओहरू खतरनाक र रमाइला विषय थिए । सायद रसुवा जिल्लालाई कमिसनको दुहुनो गाई बनाउन यस्ता एनजीओहरूको प्रमुख भूमिका देखिन्थ्यो ।

पार्टी इन्चार्ज रजमान तामाङको पहलमा असार ७ गते हामीलाई दमन गरिएको भन्दै रसुवा बन्द गरियो । रसुवा बन्दले प्रहरीको टाउको दुख्न थाल्यो । डीएसपीको प्रेसर बढ्यो । प्रहरीका सञ्चार सेटहरू व्यस्त हुन थाले । रजमान तामाङको निगरानी राख्न रसुवा बन्द दबाउन व्यापक मात्रामा प्रहरी परिचालन गरियो । अन्ततः रसुवा बन्द सफल भयो । केही मात्रामा भए पनि प्रहरीले हामीप्रति शक्ति छ भन्ने कुरा थाहा पायो । रसुवा बन्दपछि होमप्रसाद आचार्य र रजमान तामाङप्रति प्रहरी खनियो । उनीहरूको फोन कल निगरानीमा राखियो । हाम्रा आफन्तजनलाई भेट्नसमेत नदिने वातावरण बन्यो । प्रहरीका सिपाही नरबहादुर खत्रीले हामीलाई निकै सहयोग गरे । हामीलाई आवश्यक वस्तु बजारबाट ल्याइदिनेदेखि आफन्तजनलाई भेटाइदिने कामसमेत गरे । प्रहरीका सिपाही दीपक सापकोटा जो मुद्दा फाँटमा काम गर्थे उनले भने कैदी हौ, कैदी भएर बस भन्दै मानसिक यातना दिने काम गरे ।

खासै मुद्दा नभएका कारण प्रहरीले हामीलाई १३ औँ दिनको दिन छुट्ट्याउने योजना बनायो । सजनहरूले किरिया सकिएको भन्दै ठट्टा गरे तर प्रहरीले हतारहतार काम गर्दा पनि हाम्रो म्याद थपियो । उत्साहमा कुठाराघात भयो । डीआईजी रवीन्द्र शर्माले हाम्रो रिहाइ रोकेको भन्ने हल्ला पनि सुनियो । प्रहरी डीएसपी शरद क्षेत्रीको त्यही समय सरुवा पनि भयो । प्रहरीको महिला सेल उद्घाटन गर्न आएका रवीन्द्र शर्मासँगै वेत्रावतीका सई दुर्गा गिरीको सरुवा भएको खबर आयो । साजन निकै खुसी भए । महिला सेलको उद्घाटनको दिन पत्रकार जी लेकालीले पनि भेटे । उनले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । स्थानीय निर्माण व्यवसायी छेसिङले पनि रामै्र सहयोग गरे । अन्य शुभचिन्तकको सहयोग पनि उल्लेख्य रह्यो । अन्ततः २१ दिनको दिन हामी छुट्यौँ । ३० किलोमिटर सडकमा पानीमा रुज्दैभिज्दै कालिकास्थान आइपुग्यौँ । लामो हिरासत बसाइले गर्दा थकित खुट्टाहरू निकै गलेका थिए । हामी पसिनाले चुर भएका थियौँ । त्यसको असर अझै पनि देखिएकै छ । रसुवा हिरासतले पीडाभित्र पनि साहस महत्वपूर्ण हुन्छ भन्ने पाठ सिकायो । रसुवा हिरासतमा छिर्न नसकेका सुन तस्कर फुलीवालाहरू रहुन्जेल हाम्रा हातहरू पछि हट्नु हुन्न ।
२०७५ असार ३० गते बिहान १० : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :