नेकपाका नेतालाई छोड्दै समाउँदै / पोलिटब्युरो सदस्य पदम राई, ओम पुनलगायतलाई फेरि झूट्टा मुद्दा


काठमाडौँ : सर्वोच्च अदालतले बुधबार रिहा गरेका नेकपाका पोलिटब्युरो सदस्यहरू पदम राई र ओम पुनलाई प्रहरीले तत्काल सर्वोच्च परिसरबाटै गिरफ्तार गरी अज्ञात स्थलतर्फ लगेको छ । पार्टीको उदयपुर जिल्ला इन्चार्ज केदार राईलाई पनि प्रहरीले सर्वोच्च परिसरबाटै पुनः गिरफ्तार गरेको छ । अर्का पोलिटब्युरो सदस्य भरत बम भने हिरासतमुक्त हुनुभएको छ । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी महासचिव धीरेन्द्रा उपाध्याय भृकुटी, रोल्पा–काठमाडौँ जनगणतान्त्रिक सम्पर्क मञ्च समाजका अध्यक्ष रणबहादुर पुन र सम्पर्क समाजका केन्द्रीय सदस्य शिव राई पनि बुधबारै मुक्त हुनुभएको छ । उहाँहरूलाई गत शनिबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रमबाट गिरफ्तार गरिएको थियो ।

गैरकानुनी थुनामा रहेका नेकपाका नेताहरूका पक्षमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गाना र चिरञ्जीवी ढकालले बहस गर्नुभएको थियो । ६ जनाको मुद्दामा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर राणा र मीरा खड्काको इजलासले गैरकानुनी थुनामुक्त गर्ने आदेश दिएको थियो ।

गैरन्यायिक थुनामा रहेका नेता ओम पुनमाथि लगाइएको अर्को मुद्दामा सर्वोच्चका न्यायाधीश प्रकाशमानसिंह राउत र तेजबहादुर केसीको इजलासमा वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, शम्भु थापा, सुशील पन्त, एकराज भण्डारी, अधिवक्ताहरू कपीलचन्द्र पोखरेल, सतीषराज मैनाली, कान्तिराम ढुङ्गाना र चिरञ्जीवी ढकालले बहस गर्नुभएको थियो ।
२०७५ असार २७ गते साँझ ७ : १८ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :