विद्रोहका लागि बाध्य नबनाऊ

सम्पादकीय टिप्पणी
‘विद्रोह जनताको अधिकार हो’, यो प्रख्यात महान्वाणी नेपाली जनताका लागि फेरि सही साबित बन्दै गएको छ । वाम खोलमा सञ्चालित वर्तमान सरकारले चौतर्फी दमन र हमला गरेर नेपाली जनतालाई अर्को शक्तिशाली विद्रोहमा उत्रिन बाध्य बनाइरहेको छ ।
केपी–पीके गठबन्धन र एकतापछिको दुईतिहाइको कथित वामपन्थी सरकारले नेपाली जनतालाई निरङ्कुश राणाशासन, पञ्चायती कालरात्री र शाहीशासनको आतङ्कको अनुभूति गराइरहेको छ । केपी अर्थात् खड्गप्रसाद र पीके अर्थात् पुष्पकमलहरू हिजोका अत्याचारी सत्ताका विरुद्ध सडक आन्दोलन र विद्रोह÷युद्धका माध्यमबाट सत्तामा पुगेका पात्रहरू हुन् । अझ रामबहादुर थापा नाम गरेका पात्र त यो सामाजिक दलाल पुँजीवादी सत्ता र बुख्याँचा सरकारको गृहमन्त्री नै छन् । उनी आफ्नो हात र आदेशबाट राणाकालीन, पञ्चायतकालीन र शाहीकालीन निरङ्कुश आदेश र फरमानहरू जारी गर्दै जनतालाई सडकमा भेला हुन, माग राख्न र आन्दोलन गर्न नदिने उर्दी दिइरहेका छन् र नेकपाका केन्द्रीय तहका नेतादेखि स्थानीय स्तरका कार्यकर्तासम्म सबैलाई देख्नासाथ समात्ने, थुन्ने र झूट्टा मुद्दा चलाउने गरिरहेका छन् ।

करिब एक दशकअघिसम्म यही प्रकृतिको सत्तालाई जनविरोधी र राष्ट्रविरोधी भन्दै अवैधानिक आन्दोलन अर्थात् हातहतियारसहितको युद्ध गरेर चोरबाटो हुँदै संसद्वादी सत्तामा छिरेका पीके र रामबहादुरहरूले यति छिट्टै कसरी आफ्नो विगत भुले होलान् ? हामीलाई यो प्रश्न सोध्न मन लागेको छ ! न्याय, समानता र स्वतन्त्रता माग्ने जनतालाई फासिवादी दमन गर्ने राणाशासकहरू अहिले कुन चपरीमुनि पुगेका छन् ? पञ्च शासकहरूलाई आज कुन दुर्बिनले देख्न र हेर्न सकिएला ? राजतन्त्र, ज्ञानेन्द्र शाही र तिनका मतियारहरूको हालत अहिले के छ ? के यो कुरा केपी, पीके र रामबहादुरहरूले बुझिरहेका होलान् कि बुझपचाइरहेका होलान् ! औपचारिक कार्यक्रम गरिरहेका र कार्यक्रम स्थलबाट आफ्नो बासस्थलतर्फ लागिरहेका नेकपाका पोलिटब्युरो सदस्य पदम राई, ओम पुन, भरत बम, अखिल नेपाल महिला सङ्घकी महासचिव धीरेन्द्रा उपाध्यायलगायत नेकपाका नेतालाई बाघले सिकार भेटेझैँ लखेटेर गिरफ्तार गर्नु र झूट्टा मुद्दा लगाउनु, मुगु गमगढीको एउटा शान्तिपूर्ण सभा र सामना परिवारको सांस्कृतिक कार्यक्रममा हवाईफायर, अश्रुग्याँस प्रहार, हमला, दमन, गिरफ्तारी, कुटपिट र झूट्टा मुद्दा लगाउनु केका सङ्केत हुन् ? के केपी, पीके र रामबहादुरहरू जनतालाई छिट्टै प्रतिरोध युद्ध÷क्रान्ति अर्थात् एकीकृत जनक्रान्तिका लागि ललकारिरहेका छन् ? साँचो अर्थमा उनीहरूले चाहेको तत्काल युद्ध हो र युद्धमाथि दमन गरेर विजय प्राप्त गरौँला भनेर यी शासकहरूले सोचेका छन् भने त्यो उनीहरूको मृगतृष्णा मात्र हो । सामाजिक दलाल फासिवादी शासकहरूले देश र जनताका कुन आवश्यकता पूरा गरेका छन् र तिनलाई आन्दोलन, सङ्घर्ष, विद्रोह, युद्ध वा क्रान्ति नगर भन्दै प्रतिबन्ध लगाउने र गिरफ्तार गर्ने अधिकार छ ? कुन नैतिकताले उनीहरू क्रान्तिकारी नेता र जनतालाई दमन गर्न तम्सिरहेका छन् ? स्वास्थ्य क्षेत्रमा भएको असङ्गति हटाउन माग गर्दै यही सत्ताका पक्षधर गोविन्द केसीले थालेको आमरण अनशनमा समेत हस्तक्षेप गरेर यो सरकार आफ्नै वर्गप्रति पनि कति अनुदार छ भन्ने प्रमाणित गरेको छ । राजधानीका विरोध प्रदर्शनस्थलहरुमा यो सरकारले लगाएको प्रतिबन्धले पनि यही कुरालाई प्रमाणित गर्छ ।

शासकहरूले के बुझ्नु आवश्यक मात्र होइन, अत्यावश्यक छ भने सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद जनताको मुक्तिको बाटो होइन । श्रमिक, उत्पीडित सर्वहारा जनता अर्थात् किसान–मजदुरले आफ्नो मुक्ति नहोउन्जेलसम्म विद्रोहको बाटो रोजिरहन्छन् । शासकहरू जति क्रूर र अनुदार हुन्छन् विद्रोह र क्रान्तिहरू उत्ति नै छिटो हुन्छन् । केपी–पीके र रामबहादुरहरूले यतिबेला देखाइरहेको हर्कत भनेको उनीहरूको सुखको स्वर्गको अन्त्यको समय नजिकइरहेको सङ्केत हो । नेकपाका महासचिव कमरेड विप्लवले सरकारको पछिल्लो गतिविधिलाई सङ्केत गर्दै भन्नुभएको छ, ‘हामीले जनताको जीवनमा समस्या परेका महँगी, भ्रष्टाचार र कमिसनको विरोध गर्नु दोष हैन । जनताको प्रतिनिधि पार्टी हुनुको नाताले यो हाम्रो जिम्मेवारी र अधिकार हो । हामीलाई थाहा छ– सत्ताको तर मारेर, जनताको जीवन चुसेर आरामदायी जीवन भोगिरहेकाहरूलाई ठूलो हुनसक्ला तर हामी यी सबै सहन तयार छौँ । राणा, पञ्चायत र दस वर्षको जनयुद्धमा नढलेको जीवन तिम्रो दमनले कदापि ढल्नेछैन । यो कुनै छोड्ने कुरा होइन, तिमीहरू पनि छोडिनेछैनौ । माओले भन्नुभएजस्तै क्रान्तिको विरुद्धमा जानु भनेको आफ्नै खुट्टामा गोली हान्नुजस्तै हो । परन्तु न यो दलाल पुँजीवादी सत्ता, न त तिम्रो पुँजीवादी सरकारको दमन सहन सम्भव छ । सायद तिनीहरूलाई थाहै छ दमनको जबाफ विद्रोह हो । युद्धको प्रतिरोध क्रान्ति हो । नेपालमा दलाल पुँजीवादी सत्ता रहेसम्म र साम्राज्यवादी हस्तक्षेप रहेसम्म युद्ध र क्रान्ति अनिवार्य छ । तिमीहरू त्यही चाहन्छौ भने हामी पनि त्यसका लागि तयार नै छौँ ।’
२०७५ असार २६ गते अपरान्ह ७ : ०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :