आज कर्णाली बन्द, शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप जारी रहे प्रतिरोध गर्छौँ : बीसी

मुगु : नेपाल कम्युनिस्ट पार्टी कर्णाली ब्युरोले आह्वान गरेको कर्णाली बन्दको दिन सोमबार कर्णालीका पाँचै जिल्ला बिहानैबाट बन्द भएका छन् । बन्दका कारण बिहानैबाट बजार र यातायातका साधनहरु, शिक्षण संस्थाहरु ठप्प छन् ।

शुक्रबार नेकपाको केन्द्रीय कार्यक्रमअन्तर्गत ‘एकीकृत जनजागरण अभियान’ कार्यक्रम मुगुको गमगढीमा जनसभामाथि प्रहरीले हवाईफायर, अश्रुग्याँस प्रहार, लाठी चार्जसमेत गरेर नेताहरु गिरफ्तार गरेको विरोधमा नेकपाको कर्णाली ब्यूरोले पाँचै जिल्ला बन्दको घोषणा गरेको थियो ।

पूर्वघोषित कार्यक्रमअनुसार आइतबार साँझ कर्णाली व्युराेमा पर्ने हुम्ला, जुम्ला, कालिकाेट,दैलेख  मुगुमा नेकपाका कार्यकर्ता , समर्थक र शुभचिन्हतकहरूले अाइतबार बेलुकी मशाल जुलुश निकालेका थिए भने आज विहानैबाट नेकपाका कार्यकर्ताहरु सडकमा निस्केर नाराबाजी गरिरहेका छन् । उनीहरुले गमगढीमा गरिएको हस्तक्षेपमा मुगु इन्चार्ज संगमसहित तीन नेताको रिहाइको माग गरेका छन् । बन्दका कारण कर्णाली राजमार्ग ठप्प भएको छ ।

ब्यूरो इन्चार्ज एटम बिसीले आफ्नो पार्टीको शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप जारी रहे थप संघर्षका कार्यक्रमसहित प्रतिरोध गर्न बाध्य हुने चेतावनी दिएका छन् ।

२०७५ असार २५ गते सोमबार बिहान १० : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :