माके–एमाले एकता : सुरा, सुन्दरी र विलासिता – उदयबहादुर चलाउने

‘चीनका अध्यक्ष हाम्रा पनि अध्यक्ष’, ‘नयाँ जनवादी क्रान्ति जिन्दावाद’, ‘कमरेड माओ जिन्दावाद’ भन्दै २०२८ सालमा झापा जिल्लाबाट थालिएको सशस्त्र क्रान्ति जसको आदर्श थियो चिनियाँ नयाँ जनवादी क्रान्ति । उक्त क्रान्तिमा सहभागीमध्ये एकजना प्रभावशाली व्यक्तित्व थिए— केपी ओली अर्थात् वर्तमान कम्युनिस्ट नेतृत्वको दुईतिहाइ मतसहितका शक्तिशाली प्रधानमन्त्री । ठीक त्यसैगरी ‘चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति नेपाली क्रान्तिको प्रस्थान बिन्दु हो’ भन्ने संश्लेषणसहित ‘माओवाद र जनयुद्धको आत्मसातीकरण र जनमुक्ति सेनाको गठनबिना कुनै पनि कम्युनिस्ट पार्टी साँचो अर्थमा कम्युनिस्ट पार्टी हुन सक्दैन’ भन्दै जनवादी क्रान्तिकै लक्ष्य राखेर २०५२ फागुन एक गतेबाट जनयुद्धको शङ्खघोष गरेर हजारौँ जनसेना गठन गरी दस वर्षसम्म देशमा सशस्त्र युद्धको नेतृत्व गरेका प्रमुख नेता थिए— प्रचण्ड अर्थात् लोकतान्त्रिक गणतन्त्रका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ।

समयको एउटा सन्जोग, यी दुवै व्यक्ति अध्यक्ष रहेका पार्टीहरू एमाले र माओवादी केन्द्र (माके) बीच हालै एकता भएको छ । यो एकताका बारेमा विभिन्न क्रियाप्रतिक्रियाहरू आइरहेका छन् । हुँदै जानेछन् । उनीहरूको नवगठित पार्टी नेकपा (अन्डरलाइन) अब नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भएको छ । माके–एमाले एकताबारे टिप्पणीको सुरुआत प्रचण्ड कमरेडले नै विगत कुनै बेला एमालेका बारेमा गरेको टिप्पणीको प्रसङ्गबाट गर्नु यहाँ सान्दर्भिक हुनेछ । उहाँले भन्नुभएको थियो, ‘चिन्तनका दृष्टिले प्रतिक्रियावादको स्तरमा पुगेको एमालेको पूरै नेतामण्डली भ्रष्टाचारको बलमा वस्तुतः सामन्तवाद र साम्राज्यवादले दिएको हिस्सा (कलो) खाएर भौतिक र वर्गीय रूपले समेत अभिजात बन्न पुगेको छ । महल, गाडी, सुरा, सुन्दरी एमाले नेताका लागि सहज कुरा भए ।’
(नेपाली क्रान्तिका समस्याहरू भाग २, पृ. १४५)

प्रचण्ड कमरेडले विश्लेषण गरेको त्यो एमाले र पार्टीएकता गर्दाको यो एमालेको तुलना गर्दा यो माओवादी केन्द्र (माके) को त्यही भ्रष्टाचार, सुरा, सुन्दरी र विलासितामा रूपान्तरण हो वा एमालेको क्रान्तिकारी रूपान्तरण ? एकपटक ठण्डा दिमागले सोच्नुपर्ने स्थिति उत्पन्न भएको छ ।

नवगठित पार्टी नेकपाको मार्गदर्शक सिन्द्धान्त ‘माक्र्सवाद–लेनिनवाद’ रहेको छ । इतिहासलाई फर्केर हेर्दा के देखिन्छ भने केपीहरूले कुनै बेला अङ्गीकार गरेको ‘माओ विचारधारा’, ‘नौलो जनवाद’ को सिद्धान्त तथा नीति–कार्यक्रमहरू परित्यागपछि मात्रै एमालेको ‘कम्पोजिसन’ सम्भव भएको थियो । आजका प्रचण्डहरू पनि ‘प्रचण्डपथ’, ‘माओवाद’, ‘माओ विचारधारा’, ‘नयाँ जनवाद’ त्यागेपछि मात्र यो एकता सम्भव हुन आएको छ । यसले सपाट बताउँछ– यो एकता एमालेको रूपान्तरणमा होइन । बरु यो त माकेको स्खलनमा सम्भव भएको हो । नेपाली क्रान्तिको कार्यक्रम पनि पूर्वएमालेले भन्दै आएको ‘जनताको बहुदलीय जनवाद (जबज)’ लाई छोटो बनाएर ‘जनताको जनवाद’ भनिएको छ । चुनाव चिह्न ‘सूर्य’ राखिएको छ । यी सबै माकेको एमालेमा रूपान्तरणका थप दृष्टान्तहरू हुन् ।

क्रान्तिको महायात्रामा सुरा, सुन्दरी र विलासिताको नजिकको सम्बन्ध रहेको छ । माक्र्सवादमा जब संशोधनवादको ऐँजेरु पलाउँछ तब सुरा, सुन्दरी र विलासिताका राता, पहेँला फूलहरू फुल्न सुरु गर्दछन् । व्यावहारिक रूपमा भन्नुपर्दा बाध्यता र आवश्यकताको चोर दुलोबाट पसेको पुँजीवादी जीवनपद्धतिको बाटो हो यो । जसरी पूर्वझापाली समूहले माओ विचारधारा, नयाँ जनवादी क्रान्तिको सिद्धान्त परित्याग गर्दा ‘परिस्थितिको आवश्यकता’ बताएको थियो त्यसैगरी प्रचण्ड समूहले प्रचण्डपथ र माओवाद पत्यिाग गर्दा ‘नयाँ क्रान्ति’, ‘नयाँ जनयुद्ध’ बताउँदै आइरहेको थियो । समयानुकूलको परिवर्तन, सिर्जनशीलता, विशिष्टता भन्दै माक्र्सवादका आधारभूत मूल्यहरू तिलाञ्जली गर्नु संशोधनवादको आधारभूत विशेषता हो । विश्व कम्युनिस्ट आन्दोलन यसको भुक्तभोगी छ । नेपाली कम्युनिस्ट आन्दोलन अछुतो रहने कुरै भएन ।

क्रान्तिकारी आन्दोलनमा जब संशोधनवादले नेतृत्वको स्थान लिन थाल्दछ तब बाध्यता र आवश्यकताका नाममा भ्रष्टाचार, घुस र कमिसनको अङ्कुरण सुरु हुन पुग्छ । अन्ततः पार्टी आन्दोलनको संस्कार नै भ्रष्टाचारी, कमिसनखोरी र दलाली बन्न थाल्छ । पूर्वएमाले, विशेषतः झापा आन्दोलनबाट आएका पुराना नेता, कार्यकर्ताहरू आफूहरू कसरी एमाले संस्कारमा आइएको हो भन्ने बडो दुःखपूर्वक बताउने गर्दछन् । जसरी एमालेका नेताहरूले पार्टीलाई एनजीओ र आईएनजीओकरण गरे, सुरासुन्दरी र विलासिताको संस्कृतिलाई मन्द विषसरह पार्टीमा फैलाए, माओवादी केन्द्रलाई त उति समय नै लागेन । यो त माकेको भद्दा र घिनलाग्दो स्खलन साबित हुन्छ ।

जुवा–तास, मदिरा, परस्त्री–परपुरुषगमन संसद्वादी पुँजीवादको सांस्कृतिक विशेषता हो । त्यसका लागि भ्रष्टाचार गर्नु, कमिसन खानु, तस्करीमा सहभागी बन्नु बिल्कुल आवश्यक हुन जान्छ । बरु अन्डरलाइन नेकपाको तल्लो तहमा रहेका कार्यकर्ता र एकाध इमानदार नेताहरू मूकदर्शक बन्नु, अझ उल्टै पार्टीभित्र उपहासको पात्र बन्नुबाहेक अब अर्को विकल्प त्यहाँ हुन सक्दैन ।

सुरा, सुन्दरी र विलासिताको संस्कृति पुँजीवादी संस्कृति हो । माके–एमाले एकताको गन्तव्य पनि त्यही हो । नेपाली सन्दर्भमा आजको पुँजीवाद दलाल पुँजीवाद हो । डनवाद, धनवाद र व्यक्तिवाद दलाल पुँजीवादका विशेषताहरू हुन् । संसदीय पार्टीहरूमा जसले यी तत्वहरूलाई राम्ररी प्रयोग गर्न सक्छ ऊ नै हाबी हुन्छ । ऊ नै सक्षम र क्षमतावान् कहलिन्छ । यो तथ्यलाई गत चुनावले समेत राम्ररी पुष्टि गरिसकेको छ ।

माके–एमाले एकताको राजनीतिक उद्देश्य संसद्वादको पुनस्र्थापना हो । २०६२ सालमा भएको बाह्रबुँदे सहमति जसलाई शान्तिप्रक्रियाको आधारशिला भनिन्छ । त्यसको मूल उद्देश्य नै त्यही संसद्वादको पुनस्र्थापना थियो किनकि तत्कालीन राजा ज्ञानेन्द्रको ‘कू’ मा परेर संसद्वाद कोमामा गइसकेको थियो । कोमामा गइसकेको संसद्वादलाई पुनर्जीवन दिन माओवादी आन्दोलनलाई राम्ररी प्रयोग गरियो । संसद्वादलाई मरणासन्न प्रहार गरिदिएको परिणाम राजा ज्ञानेन्द्रले गद्दी त्याग मात्रै गर्नु परेन, सदाका लागि राजसंस्थाको समेत अन्त्य गरियो ।

माओवादी जनयुद्धको अनौचित्य साबित गर्नु पनि माके–एमाले एकताको अर्को अर्थ हो । यद्यपि यो कुनै सम्भव कुरा भने होइन । तर यसले जनता र कार्यकर्ताको एउटा पङ्क्तिलाई केही क्षण नकारात्मक प्रभावित गर्ने निश्चित छ । त्यसमा पनि जनयुद्धको एउटा हिस्सासमेत सहभागी भएपछि थाकेको, निराश भएको र विचलित भएको मनोविज्ञानलाई यसले केही समय थामथुम पार्ने कोसिस अवश्य गर्छ ।

माक्र्सवादको अपराजेयता यही कुरामा अन्तर्निहित छ– यो लगातार आफँैभित्र र बाहिरी खराबीका विरुद्ध सम्झौताहीन सङ्घर्षमा रहिरहन्छ । माके–एमाले एकताको ढोल पिट्दैमा संसदीय दलाल पुँजीवादी नृशंशताको अन्त्य कदापि हुनेवाला छैन । बरु एकताको खोलभित्रबाट एकपछि अर्को अमानवीय लुटखसोटका नयाँ चक्रव्यूहहरू रचना हुँदै जानेछन् । त्यसले क्रान्तिको नयाँ आवश्यकतालाई नयाँ यथार्थमा अनिवार्य बनाइदिनेछ । सच्चा र इमानदार क्रान्तिकारीहरूले एकपटक फेरि अठोट गर्नैपर्छ– सुरा, सुन्दरी र विलासिताको पुँजीवादी यात्रा मुर्दावाद ! निरन्तर क्रान्ति जिन्दावाद !!

२०७५ असार २४ गते आइतबार बिहान १० : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :