नेकपाको सभामा प्रहरीद्वारा हवाईफायर, प्रतिरोध जुलुस निकालिँदै

काठमाडौँ :  नेपाल कम्युनिस्ट पार्टी कर्णालीले मुगुमा आयोजना गरेको जनसभामाथि प्रहरीले हवाईफायर गरी व्यापक दमन गरेको छ । शुक्रबार मुगुको सदरमुकाम गमगढीमा भएको सभामा प्रहरीले अश्रुग्याँससहित हवाईफायर गरेपछि झडप भएको थियो । प्रहरीको हवाईफायर र आक्रमणबाट नेकपाका जिल्ला सचिवालय सदस्य अडिकसहित ६ घाइते भएका छन् । झडपमा परी स्थानीय बासिन्दाको एक बच्चासमेत घाइते भएको समाचार प्राप्त भएको छ । सदरमुकाम गमगढीस्थित बजारमा प्रहरीले छापामारिरहेको बताइएको छ । नेकपाले प्रतिरोध जुलुस र सभा गर्ने तयारी गरिरहेको जानकारी प्राप्त भएको छ ।
कार्यक्रमस्थलबाट प्रहरीले नेकपा मुगुका इन्चार्ज सङ्गम र जिल्ला सचिवालय सदस्य अडिकलाई गिरफ्तार गरेको छ । नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली ब्युरो इन्चार्ज एटम बीसीले राज्यले शान्तिपूर्ण कार्यक्रममा प्रहरी हस्तक्षेप गर्नु निन्दनीय भन्दै भत्र्सना गरेका छन् । इन्चार्ज बीसीले गिरफ्तारीमा परेका नेता–कार्यकर्तालाई बिनासर्त तत्काल रिहाइको माग गर्दै आफ्नो शान्तिपूर्ण कार्यक्रम गर्न पाउनुपर्ने बताएका छन् । नेकपाले आयोजना गरेको शान्तिपूर्ण कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको प्रति स्थानीय काङ्ग्रेसलगायत संसद्वादी पार्टीहरूले समेत विरोध गरेका छन् ।

२०७५ असार २२ गते अपरान्ह ४ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :