तराई–मधेस यात्राको क्रान्तिकारी भावना : देवनारायण शाह

सन् १८१६ को सुगौली सन्धिमा नेपालले दुईतिहाइ भूभाग गुमाउन बाध्य भयो । तराईको एक खण्ड नेपालमा छ । त्यो भूखण्डमा अङ्ग्रेजले जसरी नै साम्राज्यवादी भारतले आँखा गाडेको छ । भारतले सीमा मिच्ने जङ्गे स्तम्भ उखेल्ने र सार्ने अपराधपूर्ण कार्य गरिरहेको छ । त्यसले गर्दा हजाराँै बिघा जग्गाको लालपुर्जा मधेसीको हातमा, त्यही भूगोल भने भारतीय नक्साभित्र परिरहेको अवस्था छ । भारतबाट अङ्ग्रेजहरू पलायन भएपछि सन् १८१६ को सुगौली सन्धिमा गुमेको जग्गा नेपालले फिर्ता पाउनुपर्ने हो । भारत नै अहिले अङ्ग्रेजको उत्तराधिकार बनेर नेपालको भूमि कब्जा गरिरहेको छ । उसले सुगौली सन्धिमा नेपालतिर परेको भूभागमा पनि आँखा गाडेको छ ।

हामी मधेसी नागरिक नै सबैभन्दा बढी भारतबाट पीडित छौँ । यो समस्या कुनै पनि मधेसवादी दलले उठाउँदैनन् । सीमा अतिक्रमण हुँदा, नेपाली मार्दा, लुटपाट हुँदा सरकार बोल्न सक्दैन । भारतीय साम्राज्यवादका दलालदलहरू र दलाल सरकार भारतीय साम्राज्यवादका विरुद्ध बोल्न सक्दैनन् । यिनीहरूको प्रभाव र नियन्त्रणभित्र तराईबासी मधेसीको स्वतन्त्रता सम्भव छैन । यही भावना र मुक्तिको चाहनाअनुसार हामीले मधेसी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) गठन गरेका थियौँ । त्यसको कार्यक्रम र सुनसरी–कपिलवस्तु यात्राले नौलो अनुभूति भएको छ ।

मेरो पहिलो यात्रा सुनसरी थियो । हाम्रो सङ्गठनका केन्द्रीय सदस्य क. देवनरायण राउतसँग सुनसरीमा भेट भयो । उहाँसँग त्यस क्षेत्रमा मधेसी जनताले भोगिरहेको द्ुःखकष्टका विषयमा छलफल भयो । त्यसपछि सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही जिल्ला हुँदै २०७५ जेठ ११ गते पर्सा जिल्ला पुग्यो । पर्सार्मा मधेसी राष्ट्रिय मुक्तिमोर्चा (क्रान्तिकारी) को पहिलो जिल्ला सम्मेलन भयो । व्यापक उपस्थिति थियो । पत्याउन गाह्रो थियो । नेकपाका जिल्ला इन्चार्ज आर्जनको सहयोगमा पारसमणिको अध्यक्षतामा सम्पन्न अधिवेशनमा म प्रमुख अतिथि थिएँ । सम्मेलनले रामवरण यादवको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति गठन ग¥यो । त्यसपछि म नवलपरासी जिल्लातिर गएँ । परासीमा पनि सङ्गठन निर्माण र विस्तारका कामहरू भए । छलफल भयो । छलफलपछि कैयौँ मधेसी साथीहरू हाम्रो सङ्गठनमा प्रवेश गरे ।

रूपन्देहीबाट कपिलवस्तुतिरको यात्रा झनै रोचक लाग्यो । रूपन्देही–कपिलवस्तु जिल्लामा क्रान्तिकारी आन्दोलन पेचिलो बन्दै गएको बुझ्न सकिन्थ्यो । भारतीय साम्राज्यवादका दलालले देशभक्त र क्रान्तिकारी आवाज उठ्न नदिने षड्यन्त्र र त्यसको प्रतिरोध बेलाबेलामा हिंसात्मक बनेको सुनिएकै थियो । मेरो सुरक्षाका लागि स्कर्टिङ गरेर गन्तव्यसम्म पु¥याएको थियो । पार्टी र साथीहरूको मायाले एकातिर खुसी र अर्कोतिर दायित्वबोधले थिचिएझैँ लाग्दै थियो । सारा मधेसी नागरिकलाई साम्राज्यवादका नौरङ्गी नाटकबाट भ्रममुक्त पार्ने दायित्व हाम्रोे सङ्गठनको काँधमा थियो ।

मेरो यात्राभर पर्सादेखि कपिलवस्तुसँगको जिल्लाले आर्थिक व्यवहार बहन गरे । सुरक्षाको व्यवस्था गरे । सबै केन्द्रीय सदस्यहरू उत्साहित भएर लागे । मलाई यो सुनसरी–कपिलवस्तु यात्राबाट मधेसमा क्रान्तिकारी आन्दोलनको लाभा उम्लिरहेको अनुभूति भयो । भारतीय साम्राव्यवाद र उसका दलालले लोकतन्त्र र मधेसको नाम बेचेर गरेको घोडा चढिरहेको अपमानबोध मधेसीहरूले गरेका छन् । मधेसले क्रान्तिकारी नीति र विद्रोह खोजिरहेको अनुभूति भयो । कञ्चनपुरसम्म पुग्ने योजना थियो । तर पार्टीको अर्को महत्वपूर्ण कामले गर्दा यसपटकको यात्रा कपिलवस्तुबाट पश्चिमतिर हुन सकेन । हामी अब सङ्गठनको केन्द्रीय बैठक बसेर थप कार्यक्रम बनाउनेछौँ । तराईमा बढ्दो मधेसी आकर्षणले एकीकृत जनक्रान्तिको कार्यदिशा र क्रान्तिकारी प्रवृत्तिको जनमत बढ्दै गएको सङ्केत गरेको छ । त्यसैले हामीले पहलकदमी बढाउनु परेको छ ।

तराई–मधेस भन्नासाथ मधेसवादी दल र काङ्ग्रेसको पकड क्षेत्र मानिन्छ । त्यो विगतको कुरा हो । इतिहासको कुरा हो । त्यो आजको कुरा होइन । मधेसमा वर्गसङ्घर्ष उठाउने चुनौती छ । शोषक वर्ग र साम्राज्यवादले जातीय, सामुदायिक र घृणाको राजनीति विस्तार गरेर लूटको राज्य कायम गर्ने षड्यन्त्र गरेका छन् । मधेसी जनताको शत्रु भारतीय साम्राज्यवाद र मधेसी सामन्त–सुदखोर छन् । तर सामन्ती तत्व र साम्राज्यवाद जातीय झगडामा छ । यो गरिब–गरिब लडाएर चयन गर्ने षाड्यन्त्र हो । त्यसपछि कारण मधेसको भावना र जनमत प्रतिक्रान्तिकारी होइन, वर्गसङ्घर्ष उठाउने कला र साहसको अभाव हो भन्ने निष्कर्षमा म पुगेको छु । हामीले प्रयत्न गर्ने हो भने पहाडी–मधेसी जनजातिले होइन, क्रान्तिकारी कम्युनिस्टले मधेसलाई बदल्न सक्छन् । त्यो सम्भव छ र त्यसमा त्यसका लागि वस्तुगत आधार तयार छ ।

२०७५ असार २१ गते बिहीबार बिहान १० : ३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :