परीक्षा नियन्त्रक नियुक्तिमा शैक्षिक माफियाको हात

काठमाडौं : लाखौँ विद्यार्थीको भविष्य निर्धारण गर्ने राष्ट्रिय परीक्षा बोर्डको नियन्त्रक नियुक्तिमा योग्यता र दक्षताभन्दा पनि पैसा र शैक्षिक माफियाको ठूलो चलखेल भएको सार्वजनिक भएको छ । केही दिनअघि मात्र राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासलाई शिक्षामन्त्री गिरिराजमणि पोख्रेल र परीक्षा बोर्डका सदस्यसचिव दुर्गा अर्यालको मिलोमतोमा हटाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको चाहनाबमोजिम उनको पार्टीका कार्यकर्ता कृष्ण शर्मालाई नियुक्ति दिइएको छ । कृष्ण शर्माभन्दा वरिष्ठ, सक्षम र योग्यता बढी भएका अन्य १३ जना कर्मचारी रहँदारहँदै पनि उनलाई नै नियन्त्रकमा नियुक्त किन गरियो भन्नें जिज्ञासा सर्वत्र रहेको छ । यसअघि उच्च शिक्षा परिषद्का रूपमा रहेको राष्ट्रिय परीक्षा बोर्डको पदाधिकारी नियुक्तिमा जहिले पनि ठूलो आर्थिक चलखेल हुने र उक्त पद नियुक्तिमा नेपालका ठूला र राम्रा, महँगा कहलाएका +२ कलेजका मालिकहरूले प्रधानमन्त्री र शिक्षामन्त्रीलाई मोटो रकम बुझाउने परम्परा नै रहेको छ । यसरी नयाँ पदाधिकारी नियुक्त गरेपछि उनीहरूले आफ्नो कलेजका पक्षमा परीक्षाको परिणाम पार्ने गरेका छन् ।

ठीक यही विकृति यसपटकको परीक्षा नियन्त्रक नियुक्तिमा भएको छ । २०७४ मङ्सिरमा भएको संसदीय चुनावका क्रममा तत्कालीन एमालेलाई चुनाव खर्च भनी गोल्डेन गेटका मालिक रमेश सिलवाल, जेभियर्स इन्टरनेसनलका लोक भण्डारी, पिनाकलका ऋषि तिवारीहरूले अन्य बोर्डिङ स्कुलका मालिकहरूसँग पैसा उठाउँदै हिँडेका थिए । उनीहरूले भनेको पैसा नदिने मालिकहरूलाई एमालेको सरकार बनेपछि राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रक एमालेको हुने भनी धम्क्याउने, परीक्षा परिणाम बिगारिदिनेसम्म भनेको केही बोर्डिङका मालिकहरूले रातो खबरलाई बताएका छन् ।

चुनावमा एमालेलाई कुस्त चन्दा उठाउँदै हिँडेका तिनै मान्छेहरूले अहिले डम्बर बतास, गोविन्द खनियाँ, हरिशरण वाग्ले, रामचन्द्र पाण्डे, जङ्गबहादुर अर्याल, सुषमा आचार्य, सन्तोष अर्याल, जयन्ती सञ्ज्याल, रमाकान्त तिवारी, भगराज कोइराला, देवनाथ अधिकारी, उत्तमदेव बिष्टभन्दा कनिष्ठ कृष्ण शर्मालाई परीक्षा नियन्त्रकजस्तो कार्यकारी पदमा नियुक्त गरेका छन् । यसभन्दा पहिला परीक्षा नियन्त्रण कार्यालयले परीक्षाको परिणाम गराइसकेपछि मात्र प्रमुख नियुक्त गर्ने गरेको थियो । तर यसपालि गएको जेठमा मात्र कक्षा ११ र १२ को परीक्षा सकिएको छ र उक्त परीक्षाको परिणाम सार्वजनिक भएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोख्रेल नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् । उनी निकट मनीप्लान सहकारी संस्थाका सदस्य सुदर्शन र सुसन कर्माचार्यमार्फत परीक्षा नियन्त्रक नियुक्तिमा ठूलो आर्थिक चलखेल भएको बुझिएको छ ।

स्मरण रहोस्, यसअघिको उच्च शिक्षा परिषद्मा मूल रूपमा सदस्यसचिव र परीक्षा नियन्त्रक नियुक्तिमा जहिले पनि आर्थिक चलखेल हुने गरेको छ । त्यही परिषद् अहिले परीक्षा बोर्डमा रूपान्तरण भएपछि पनि त्यही रोगले सताइराखेको छ ।
२०७५ असार २० गते बुधबार बिहान ८ : ५९ ममा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :