टपरटुइयाँ लेखनशैलीका विरुद्ध : समीर यात्री


आज हाम्रो लेखनक्षेत्रमा एउटा विकृति हुर्किरहेको छ । यो विकृति आवाराशैली र गैरजिम्मेवारीपनकारूपमा प्रकट भइरहेको छ । लेखनकार्य आफैँमा जिम्मेवारीपूर्ण कार्य हो । यसले स्वयम् लेखकहरूबाट उच्चस्तरको जिम्मेवारीबोध, नैतिक मूल्य, मान्यता र आदर्शको प्रारूपीकरण तथा गहन अध्ययन, अनुसन्धान, विश्लेषण र सत्यको अन्वेषण गर्ने कुराको माग गर्दछ । यो लेखकीय धर्म हो । लेखकीय धर्म पूरा गर्न नसक्नेहरूवास्तविक अर्थमा लेखक हुनै सक्तैनन् । समाजप्रतिको दायित्वबोध र इतिहासप्रतिको जिम्मेवारीबोधको अभावमा लेखकीय धर्म पूरा गर्न सम्भव हुँदैन । लेखकीय धर्मलाई ठीक ढङ्गले पक्रन नसक्नु वा यसबाट च्यूत हुँदै जाने समस्याले नै यस क्षेत्रमा विकृति पैदा गरेको हो ।

लेखकलाई लेखकीय स्वतन्त्रता प्राप्त हुन्छ । यसकारण ऊ लेख्नका लागि स्वतन्त्र छतरलेखकीय धर्मबाट भाग्न पाउँदैन । विषयवस्तुको चयन, विश्लेषणशैली, सम्प्रेषणशैली, अन्तरवस्तुको प्रस्तुतीकरण, वैचारिक पक्षधरता, आस्थाप्रतिको अनुरागजस्ता विषयहरू लेखकका निजी कुरा हुन् । यसमा कसैको हस्तक्षेप स्वीकार्न आवश्यक हुँदैन । यस्ता विषयमा एकले अर्काको अस्तित्व स्वीकार्न र सम्मान गर्न सक्नुपर्दछ । तरयसको अर्थ सबै कुराहरू लेखकका निजी मामला हुन सक्दैनन् । यस अर्थमा लेखक निरपेक्षरूपले स्वतन्त्र हुन सक्तैन । लेखक पनि समाजको एउटा सचेत र जिम्मेवार सदस्य हो । त्यसैले ऊ समाजप्रति अनिवार्य रूपले उत्तरदायी हुनैपर्छ । समाजप्रतिको यही उत्तरदायित्वका कारणले ऊ आफ्नो लेखनकार्यप्रति जबाफदेही हुनैपर्छ । लेखकले आफ्नो लेखनकार्यमार्फत समाज र राष्ट्रलाई के दियो र कति दियो भन्ने कुराको मापदण्ड समाजप्रतिको उसको उत्तरदायित्वबोध नै हो ।

उत्तरदायित्वबोधको अभावको कारणले आज लेखकहरूमा नै गम्भीर चिन्तन, मनन, अध्ययन, अनुसन्धान र अन्वेषणप्रतिको अरुचि बढिरहेको छ । अध्ययन गर्नेहरूमा पनि एउटा समस्या रहँदै आएको छ । उनीहरू सिर्जनात्मक क्षमता र आलोचनात्मक चेतको विकास गर्ने कुराप्रति त्यति गम्भीर देखिँदैनन् । उनीहरूको अध्ययन कुनै पूर्वप्रकाशित कृतिहरूको सुगारटाइ र शास्त्रीय परम्पराका यान्त्रिक नक्कलभन्दा माथि उठ्न नसकेको स्थिति छ । यस्तो अध्ययनले वास्तविक जीवनव्यवहारलाई दिशानिर्देश गर्न सक्तैन । सैद्धान्तिक अध्ययनलाई वैज्ञानिक दृष्टिकोण निर्माणमार्फत वास्तविक जीवनव्यवहारसँग जोड्न सकिएन भने त्यस्तो अध्ययन कोरा उपदेशमा सीमित हुन पुग्छर त्यसले अन्ततः ढोङ र पाखण्डको रूप लिन पुग्छ । अध्ययन, लेखन र अनुसन्धानमा लागिरहेका हाम्रा बुजु्रकहरूको हालत ठीक यही हो ।

अर्कोथरी मानसिकता छ जसले अध्ययन र लेखनका नाममा तथ्यको भ्रष्टीकरण गर्दैछ । अध्ययन र लेखनजस्तो गम्भीर, मर्यादित र प्रतिष्ठित क्षेत्रलाई ठगीखाने धन्दाकारूपमा प्रयोग गर्ने हुण्डीवालहरूको जमातले यही मानसिकता पाल्दै आएको छ । लेखन क्षेत्रमा प्रदूषण फैलाइरहेको यो हुण्डीवालहरूको जमातविरुद्ध स्वाभिमानी लेखकहरूले जमेरै प्रतिवाद गर्न जरुरी छ । यसरी मात्र लेखकीय धर्म, मर्यादा र स्वाभिमानको रक्षा हुन सक्छ ।

यो प्रवृत्ति मूलतः जनविरोधी प्रवृत्ति हो । यसले राष्ट्र र जनताविरुद्ध दलाल र नोकरशाही पुँजीपति वर्गको प्रतिनिधित्व गर्दछ । जनताको क्रान्तिकारी आकाङ्क्षा र मुक्तिको चाहनाविरुद्ध तीर चलाउँछ । यसका निमित्त सफेद झूट, भ्रम र षड्यन्त्रको सहारा लिन्छ, प्रतिक्रियावादी सत्ताको सहारा लिन्छ र परिवर्तनकारी शक्तिको उछित्तो काढ्छ । आफूलाई खुबै बुद्धिमान सम्झन्छ र अरुलाई बज्रस्वाँठ देख्छ । शक्तिको पूजा गर्छ र शक्तिहीनहरूलाई हेप्छ । लेखन क्षेत्रमा रहेको यो प्रतिक्रियाबादी चिन्तनका विरुद्ध निरन्तर सङ्घर्षको बीचबाट नै यो लेखन क्षेत्रलाई समाज र राष्ट्रप्रति उत्तरदायी बनाउन सकिन्छ ।

केही समययता लेखनप्रति नयाँ पुस्ताको आकर्षण तीव्ररूपले बढ्दोछ । पत्रकारिता र साहित्य लेखनप्रतिको आकर्षण त झन् उल्लेखनीय नै छ । यो सकारात्मक पक्ष हो । तर गहिरो अध्ययनप्रतिको अभिरुचि भने निकै फितलो छ । त्यसैले यसप्रकारको अध्ययन छिपछिपे नै छ । निरन्तर साधनाको बीचबाट यो बिस्तारै विकसित र परिस्कृत पनि हुँदै जालातरअहिलेको अध्ययनप्रतिको अभिरुचिको स्तर र आवश्यकताबोधको कमजोर धरातल हेर्दा भन्नैपर्छ, लेखनप्रतिको साधनालाई अध्ययनप्रतिको साधनासँग जोडेर लैजान जरुरी छ । गहिरो अध्ययनको जगमा नै स्तरीय लेखनको जग खडा हुनसक्छ । अध्ययन भनेको सत्य रतथ्यको खोजी हो । लेखन भनेको त्यसको प्रस्तुति, पुनर्निर्माण र पुनर्सिर्जन हो । अध्ययनले दृष्टिकोणनिर्माण गर्दछ र लेखनले त्यसको विश्लेषण र संश्लेषणलाई प्रस्तुत गर्दछ । त्यसैले लेखनका निमित्त अध्ययन अनिबार्य आवश्यकता हो । अन्तर्वस्तुको हिसाबले आफ्नो लेखनमार्फत पाठकलाई के दिने भन्ने कुरामा हमेसा सचेत रहनैपर्छ । त्यसैगरी लेखनमार्फत पाठकहरूमा पर्ने प्रभावबारे पनि लेखकले ध्यान दिनैपर्छ । आफ्नो क्षमता र हैसियतभन्दा माथिबाट लेख्न खोज्ने महत्वाकाङ्क्षा वा त्यसबाट तल झरेर लेख्न खोज्ने लघुताभासबाट लेखक हमेसा बच्न जरुरी छ । यसरी मात्र मनोगतवादी खतराबाट जोगिँदै लेखनशैलीलाई सन्तुलित तरिकाले विकास गर्न सकिन्छ ।

स्पष्ट छ, क्षमता वा हैसियतको मापन विषयविज्ञताले, जीवन र जगत्लाई हेर्ने सही दृष्टिकोणले, समाजप्रतिको गम्भीर उत्तरदायित्वबोधले र सामाजिक सेवाकानिमित्त निरन्तरको त्याग, योगदान र त्यसप्रतिको इच्छाक्तिले निर्धारित गर्दछ । यो नै मापदण्डसम्बन्धी वैज्ञानिक मान्यता हो । माओ त्सेतुङले घिसेपिटे लेखनशैलीको विरोध गर्न दिएको निर्देशनको मर्म यहीँनेर छ । घिसेपिटे लेखनशैलीको आधार टपरटुइयाँ अध्ययनशैली हो । आज हामी ‘टपरटुइयाँ लेखनशैलीको विरोध गर’ भन्नुपर्ने अवस्थामा छौँ । जे होस्, लेखन क्षेत्रमा लेखकीय धर्म र उत्तरदायित्वको दायराभित्र सबैले बस्नु अनिवार्य छ । अनिवार्य बनाइनैपर्छ । यसले न्यूनतमरूपमा पनि लेखन क्षेत्रमा बढ्दै गएको विकृतिलाई रोक्दै लेखकीय धर्म, मर्यादा र स्वाभिमानको रक्षा गर्नेछ । देशभक्त, जनपक्षीय र स्वाभिमानी लेखकहरूसामु देखापरेको यो आजको चुनौती हो ।
२०७५ असार १८ गते सोमबार बिहान १० : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :