गिरफ्तारीमा परेका नेता असारे काकालगायत सबै नेताकार्यकर्ताहरु रिहा गर : मोहन वैद्य ‘किरण’, महासचिव, क्रान्तिकारी माओवादी

काठमाडौं : नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य‘किरण’ले वक्तव्य जारी गरी शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला प्रहरीले हस्तक्षेप गरी विप्लव नेतृत्वको नेकपाका सल्लाहकार समितिका अध्यक्ष, ईश्वरीप्रसाद दाहाल ‘असारे काका’ लगायतका नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरेको घटनाप्रति कडा विरोध तथा भत्र्सना गर्दै शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनुलाई निरङ्कुशता तथा फासिवादको अभ्यासको संज्ञा दिएका छन् । आइतबार जारी गरिएको वक्तव्यमा गिरफ्तार गरिएका नेता असारे काका लगायतका सबै नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइका लागि सरकारसँग जोडदार माग गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “हालै एउटा शान्तिपूर्ण कार्यक्रममा भेला भइरहेको बेला नेकपासित सम्बद्ध क. असारे काका, क. पदम राई, क. भरत बमलगायतका करिब ४ दर्जन जति नेता तथा कार्यकर्ताहरुलाई गिरफ्तार गरी प्रहरी हिरासतमा राखिएको छ भनी आएको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ । शान्तिपूर्ण रुपमा कार्यक्रम गरिरहेको समयमा यसरी गिरफ्तार गरिनु निरंकुशता तथा फासिवादकै अभ्यास हो । आफूलाई कम्युनिष्ट तथा वाम बताउने सरकारको यस प्रकारको निन्दनीय गतिविधिको हामी कडा विरोध तथा भत्र्सना गर्दछौं । साथै, गिरफ्तार गरिएका क. असारे काका, क. पदम राई, क. भरत बम सहितका नेता कार्यकर्ताहरुको अविलम्ब रिहाइका लागि सरकारसित हामी जोडदार माग गर्दछौं ।”

२०७५ असार १७ गते आइतबार अपरान्ह ४ : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :