सरकारको निरङ्कुश निर्णय

काठमाडौं :सरकारले निश्चित स्थान तोकेर त्यसभन्दा बाहेक शान्तिपूर्वक भेला र प्रदर्शनसमेत गर्न नदिने निर्णय गरेपछि चौतर्फी विरोध र आलोचना भएको छ । केपी सरकार बनेपछि मुलुकमा महँगी ह्वात्तै बढेकाले विभिन्न पार्टी र जनवर्गीय संगठनहरु त्यसका विरुद्ध सडकमा उत्रिएकै समयमा सरकारले शान्तिपूर्वक भेला र प्रदर्शन गर्न पाउने स्थानहरु तोक्दै घुमाउरो पारामा विरोध प्रदर्शनमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको हो । केपी सरकारका गृहमन्त्री रामबहादुर थापाले बिहीबार पत्रकार सम्मेलन नै गरेर उक्त निरङ्कुश निर्णय सुनाएका थिए ।

सरकारले नीति तथा कार्यक्रम पनि नयाँ ल्याउन नसकेको र जनताको सुरक्षामा पनि चुनौती बढ्दै गएको अवस्थामा सरकारप्रति असन्तुष्टि बढ्दै गएको छ । थापाले बिहीबार पत्रकारसम्मेलन गर्दै ‘जनताको असुविधालाई ध्यानमा राख्दै’ र ‘शान्तिसुरक्षा कायम राख्नका लागि’ राजधानी काठमाडौँका अधिकांश स्थानलाई प्रदर्शन निषेधित क्षेत्र घोषणा गरेपछि त्यसको चौतर्फी आलोचना सुरु भएको हो । थापाले तोकेको ठाउँभन्दा अन्यत्र प्रदर्शन गरेमा कारबाही नै गर्ने चेतावनी पनि दिए । थापाले सर्वसाधारणलाई अपायक पर्ने काठमाडौँका ७, ललितपुरका ६ र भक्तपुरको एक ठाउँलाई मात्र विरोध प्रर्शन गर्न पाउने स्थल तोकेर निरङ्कुशत प्रदर्शन गरेका हुन् । यो निर्णयले जनतको शान्तिपूर्ण भेला हुन पाउने मौलिक हकप्रति नै सरकार बाधक बनेको छ ।

श्रमजीवी जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगारलगायत सबै आधारभूत आवश्यकतामाथि आँखा चिम्लिएको सरकारले यही संविधानले दिएको मौलिक अधिकारको प्रयोगमा समेत निषेध गरेको छ । राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयलाई लिएर जनता सडकमा उत्रिन थालेपछि जनबलदेखि डराएको केपी–पीके सरकारले दुईतिहाइ बहुमतको घमण्डमा जनतालाई आफ्ना माग लिएर सडकमा निस्किनै प्रतिबन्ध लगाएपछि नागरिक समाज, अधिकारवादी सङ्घसंस्था र जनसमुदाय आक्रोशित बनेका हुन् । सत्तामा पुगेपछि सडक बिर्सने मात्र होइन, आफ्ना माग राख्न सडकमा आउने जनतालाई नै प्रतिबन्ध लगाउने निरङ्कुश निर्णयको सर्वत्र आलोचना भएको छ । विडम्बना त के छ भने हिजो सडक आन्दोलन गर्दा पनि सरकारले आफ्नो आवाज सुनेन, दमन ग¥यो भनेर सशस्त्र सङ्घर्ष–जनयुद्धको बाटो रोजेका रामबहादुर थापाहरूले नै घुमाउरो पाराले जनतालाई न्यायपूर्ण माग राखेर सडक आन्दोलन गर्नबाट वञ्चित गरेका छन् । अझ हाँसउठ्दो कुरा त पत्रकारले ‘तपाईंहरुले नै सबै ठाउँमा विरोध प्रदर्शन गर्नुभएको थियो, अहिले किन त्यही स्थानमा निषेध गर्नुभएको ?’ भनेर प्रश्न राख्दा गृहमन्त्री थापाले ‘हिजोको कुरा बेग्लै थियो, अब विधिको शासन चल्छ । जहाँ पायो त्यहीँ प्रदर्शन गर्न पाइँदैन’ भन्ने जबाफ फर्काएका थिए ।
२०७५ असार १५ गते शुक्रबार मध्यान्न १२ : ३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :