सुकुम्बासी बस्ती बसाल्ने योजना नरहेको नेकपाको स्पष्टोक्ति

ओम हमाल / पोखरा  : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कास्कीले कास्की जिल्लामा सुकुम्बासी बस्ती बसाल्ने र त्यसका नाममा रकम उठाउने कुनै योजना नरहेको भनाई सार्वजनिक गरेको छ । आफ्नो पार्टीको नाममा सुकुम्बासी बस्ती बसाल्ने भन्दै त्यसका लागि रकम उठाउने कार्य भइरहेको थाहा पाएपछि बुधबार प्रेस विज्ञप्ति जारी गरेर नेकपा कास्कीले जिल्लामा सुकुम्बासी बस्ती बसाल्ने र त्यसका नाममा रकम उठाउने कुनै योजना नरहेको भनाई सार्वजनिक गरेको हो । नेकपा कास्कीका सेक्रेटरी रुपेशद्वारा हस्ताक्षरित विज्ञप्तिमा केही दिन यता विप्लव नेतृत्वको नेकपाको नाममा केही व्यक्ति र समूहले सुकुम्बासीमा जग्गा मिलाइदिने भन्दै हाम्रो पार्टीको नाममा रकम उठाउने काम गरिएकोप्रति आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ । विज्ञप्तिमा अघि भनिएको छ, “भूमिहीनलाई जग्गा उपलव्ध गराउन र घरबासबिहीनलाई बास उपलव्ध गराउनका लागि जुझारु संघर्ष गर्न पछि नहट्ने आफ्नो पार्टीले हाल कास्की जिल्लामा सुकुम्बासी बस्ती बसाउने र त्यसका नाममा रकम उठाउने काम नगर्नुका साथै मातहतको अखिल नेपाल भूमिहीन सुकुम्बासी संघलाई समेत त्यस्तो निर्देशन नदिइएको सम्बन्धित सबैलाई सार्वजनिक रुपमा जानकारी गराउन चाहान्छौं ।”
विज्ञप्तिको अन्त्यमा “विभिन्न राजनीतिक पार्टी, संघ–संस्था र भू–माफियाको आर्थिक चलखेलमा कीर्ते कागजपत्र तथा प्रमाणहरु खडा गरी कास्की जिल्लामा रहेको हजारौं रोपनी जग्गा रातारात व्यक्तिका नाममा दर्ता गर्ने गलत धन्दाकाविरुद्ध हाम्रो पार्टी संघर्षरत रहेको पनि जानकारी गराउँदछौं ।” भनिएको छ ।
सोही विज्ञप्तिमा राष्ट्रघात, जनघात, अन्याय, अत्याचार, भ्रष्टाचार बेथिती र कुरीतिकाविरुद्ध तथा गरीब, किसान, मजदूर, सुकुम्बासी, मध्यमवर्ग लगायत सर्वहारावर्गको पक्षमा तथा दलाल पुँजीवादका विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी निरन्तर संघर्षमा रहेको जानकारी गराउँदै आगामी दिनहरुमा पनि यस खालका संघर्षहरुमा लागिपर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।
२०७५ असार १३ गते बुधबार अपरान्ह ५ : ०७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :