जीवनका पाइला ४ : चित्रबहादुर आले

गताङ्कबाट क्रमशः …

अन्तरपार्टी बहसमा जनयुद्ध

२०५२ सालमा नेपालमा सुरु भएको जनयुद्धले देशको सम्पूर्ण क्षेत्रमा प्रभाव पा¥यो । विस्तारै संशोधनवादी धाराको नेतृत्व तत्कालीन नेकपा (एमाले) ले र क्रान्तिकारी धाराको नेतृत्व नेकपा (माओवादी)ले गर्न थाले । देशमा रहेका दर्जन कम्युनिस्ट नामधारी पार्टीहरू दुई धाराका दुई खेमामा डोलायमान हुँदै गए । ध्रुवीकरणको प्रक्रिया तीब्र भएर गयो । जनयुद्धको पक्ष र विपक्षमा बहस सुरु हुन थाले । क. आले २०५७ मा गठित नेकपा (एकता केन्द्र–मसाल) पार्टीको नेता हुनुहुन्थ्यो । मृत्युको अन्तिम घडीमा मोहनविक्रम सिंह कुनै बेला आफैँले ‘गुप्तचर’ आरोप लगाएका निर्मल लामालाई भेट्न महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेका थिए । त्यही अवसरमा लामाले ‘नारायणकाजीले पार्टी चलाउँदैन, पार्टी एकता गरेर तपाईंले सम्हाल्नुप¥यो । मैले दुःख गरेर निर्माण गरेको पार्टी विघटन हुने भयो’ भनेका थिए । सिंहले तत्काल लामालाई आश्वस्त गर्दै ‘तपाईंको इच्छा र मलाई सुम्पेको जिम्मेवारी पूरा गर्छु’ भनेका थिए । त्यही प्रतिबद्धताअनुसार सिंहकै पहलकदमीमा नेकपा (एकता केन्द्र) र नेकपा (मसाल) को बीचमा पार्टी एकता भई नेकपा (एकता केन्द्र मसाल) गठन भएको थियो । वस्तुगत रूपले नेकपा (माओवादी) प्रति बढ्दो आकर्षण र ध्रुवीकरणले यी दुई ‘मध्यमार्गी’ दलहरूलाई अस्तित्व रक्षा नै चुनौतीपूर्ण बनेको अवस्थामा यो एकता भएको थियो ।

पार्टी एकतापछि पनि यो दलका नेताहरूको जनयुद्धप्रतिको धारणा यथावत् थियो । यी जनयुद्धका कटु आलोचक थिए । त्यस पार्टीका एक जना नेता डिलाराम आचार्यले एउटा सार्वजनिक सभामा ‘माओवादीबाट बगेको रगत र महिलाको महिनाबारीमा बग्ने रगतको मूल्य एउटै हो’ भन्न पुगे । नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र–मसाल) को बीचमा ठाउँ–ठाउँमा झडपहरू भए । तर नारायणकाजी श्रेष्ठ जनयुद्धप्रति लचिलो हुँदै गए । कालान्तरसम्म जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतान्तर बढ्दै गएर यी दुई दलहरू पुरानै नाम र नेतृत्वमा टुक्रिए ।

निर्मल लामा र मोहनविक्रम सिंहको बीचमा दुईओटा पार्टी एकीकरण गर्ने विषयमा छलफल चलिरहेको बेला ती दुईओटा दलहरूको बीचमा कार्यगत एकता भइरहेको अवस्था थियो । निर्मल लामाको मृत्यु भएको लगत्तै २०५७ सालमा पार्टी एकता भएको थियो । ‘केन्द्रीय समितिमा जनयुद्धप्रति सकारात्मक कोही पनि थिएन । नारायणकाजीको आफ्नै स्वार्थ र बिसर्जन गराउने उद्देश्य थियो’ क. चित्रबहादुर आले भन्नुहुन्छ ।

२०६२ सालमा नारायणकाजी श्रेष्ठ माओवादी नेताहरूलाई भेट्न रोल्पा गए । श्रेष्ठ रोल्पाबाटै दिल्लीतिर हानिए । श्रेष्ठले अमिक शेरचन र चित्रबहादुर आलेलाई दिल्ली बोलाएका थिए । आले दिल्ली जानुभएन, राष्ट्रघाती जनघाती ‘१२ बुँदे सहमति’ को साक्षी किनारा बन्न मान्नुभएन । ‘२००७ सालको दिल्ली सम्झौताले देश यस्तो अवस्थामा पुगेको छ । म अर्को दिल्ली सम्झौतामा औँठाछाप लगाउन दिल्ली जान्न भनिदिएँ’ क. आले भन्नुहुन्छ । ‘माओवादी पनि जनयुद्ध छोडेर शान्तिपूर्ण जनसंघर्षमा आलो भनेको छ रे, प्रकाशले आलेलाई लिएर दिल्ली आऊ भनेका छन्’ उसबेला अमिक शेरचनले भनेको सम्झनुहुन्छ क. आले । यो २०६२ दसैँ–तिहारअगाडिको कुरा थियो । नारायणकाजी श्रेष्ठ दिल्ली गइसकेका र आले शेरचनलाई दीपावलीलगत्तै बोलाएका थिए । बीचमा टेलिफोन वार्ता भयो ः

शेरचन : नारायणकाजीले केही भनेको छ ?
आले : भनेको छ । मैले पनि भनेको छु ।
शेरचन : तपाईंले के गर्नुहुन्छ त ?
आले : अर्को दिल्ली सम्झौताको साक्षी बन्न जान्न ।
शेरचन : म के गरौँ त ?
आले : तपाईंलाई जे लाग्छ त्यही गर्नुस् ।
शेरचन : आफ्नो कुरा राखौँला जाऊँ न
आले : बल नगर्नुस् जान्नँ ।

त्यसबेला २०६२/०६३ को जनआन्दोलनको सहयोगार्थ युवा संगठनले धान काट्ने, स्याहार्ने श्रम गरेर आर्थिक संकलनको अभियान चलाएको थियो । सो अभियान उद्घाटन गरेर अमिक शेरचन दिल्ली हानिए । माओवादी नेताहरूसँगको सहकार्य, १२ बुँदे सहमति, जनआन्दोलनलगायत कैयौँ विषयमा पार्टीको नाममा नारायणकाजी एक्लै निर्णय गर्थे । मोहनविक्रम सिंहसँग एउटै पार्टीमा भए पनि छलफल बन्द थियो । आ–आफ्ना गुटहरू चलाइरहेका थिए । त्यस्तो अवस्थामा चित्रबहादुर आले, नवराज सुवेदी, परि थापा, चिरन पुन, रामसिंह श्रीस, केबी गुरुङ, युवराज पन्थी नारायणकाजी र मोहनविक्रम सिंह दुवै गुटमा नलाग्ने, पार्टी फुटाउन नदिने र संयुक्त भेला बोलाउने रणनीतिमा लागे तर उनीहरूको प्रयास असफल भयो । कालान्तरमा उनीहरूको पनि अर्को समूह बन्न गयो । “गर्दा–गर्दै हाम्रो पनि अलग पार्टी पो बन्न गयो त” क. आले भन्नुहुन्छ । त्यसपछि रामसिंह श्रीसको नेतृत्वमा अर्को दल नेकपा (एकता केन्द्र–मसाल) अस्तित्वमा आयो । नारायणकाजीले पुरानो समूह चलाउन थाले ।

नारायणकाजीले गोरखपुरमा राष्ट्रिय भेला गरेर नेकपा (मसाल) गठन गरे । पूर्वी नेपालका नेताहरू भेला रोकेर फर्कन्छौँ भन्दै गएका थिए । भेला बहिष्कार गरेर फर्किए । त्यसपछि मोहनविक्रम सिंह नेतृत्वको भेलाले नेकपा (मसाल) ब्युँतायो र आफ्नै मुख्य नेतृत्वमा रहेको पार्टी नेकपा (एकता केन्द्र –मसाल) सँग ‘न सम्बन्ध, न त सम्बन्ध विच्छेद’ भएको अवस्था भन्दै वक्तव्य जारी ग¥यो । आफू नेतृत्वमा रहिरहेको, कारबाहीमा पनि नपरेको अवस्थामा समानान्तर पार्टी गठन भएको अनौठो घटना थियो त्यो ।

तेस्रो धारको उदय

मोहन विक्रम सिंहलाई नयाँ पार्टी विघटन गर्न र आत्मालोचना गर्न दबाब दिने निर्णयमा तेस्रो धार थियो । यो धारमा केही समयसम्म झापाका धर्मचन्द्र लावती र सोनाम साथी पनि थिए । केन्द्रीय समितिको बैठक बोलाउन दबाब दिए । नारायणकाजी श्रेष्ठले ‘अर्को पार्टी भइसक्यो, अब हाम्रो महामन्त्री पनि होइन’ भनेका थिए । उनी सिंहलाई भेट्न पनि तयार भएनन । मोहनविक्रम सिंहले केन्द्रीय समितिको बैठक बोलाए तर सिंह पक्षधर ११ जनाको मात्र उपस्थिति भयो । श्रेष्ठ पक्षधर एक जना पनि बैठकमा गएनन् । पार्टी औपचारिक रूपले फुटेको सो बैठकमा बोल्दा बोल्दै युवराज पन्थी धरधरी रोएका थिए । आलेसहितको फुटवाद विरोधी समूहले नारायणकाजी श्रेष्ठ र मोहनविक्रम सिंह कुनै गुटमा नलाग्ने निर्णय ग¥यो । त्यसपछि नयाँ पार्टी निर्माणको प्रक्रिया सुरु भयो ।

मोहन विक्रम सिंह कुनै गुटमा नलाग्ने निर्णय ग¥यो । त्यसपछि नयाँ पार्टी निर्माणको प्रक्रिया सुरु भयो ।
मोहन विक्रम सिंहले नयाँ पार्टी घोषणा गरेपछि नारायणकाजीले आफू पक्षधरको बैठक बोलाए । बैठकमा क. आले पनि सहभागी हुनुहुन्थ्यो । ‘सोनाम साथीलाई नेतृत्व देऊ, सम्मेलन–भेलाले तिमीलाई नै चयन गरेछ भने ठिकै छ’ आलेसहितको मध्यमार्गी समूहले भन्यो राजतन्त्र सक्रिय हुनासाथ नारायणकाजी भूमिगत भएका र मोहनविक्रम सिंह भारत निर्वासनमा गएका थिए । अमिक शेरचन गिरफ्तार भएका थिए । जनमोर्चाको उपाध्यक्ष क. आले हुनुहुन्थ्यो । मोहनविक्रमलाई रामसिंह श्रीस र नारायणकाजीलाई चित्रबहादुर श्रेष्ठले खोजी गर्ने सल्लाह गरे । त्यसपछि मात्र राजनीतिक समिति (पिबी) को बैठक बसेको थियो । त्यसबेला माधव नेपाल, गिरिजाप्रसाद कोइराला पनि गिरफ्तार भइसकेका थिए । त्यसबेला आले जनमोर्चाको कार्यवाहक अध्यक्ष हुनुभएको थियो । परि थापाले प्रकाश र सिंहलाई ‘एउटा दम्पट अर्को चम्पट’ आरोप लगाएका थिए । मध्यमार्गी पार्टी निर्माणको क्रममा सोनाम साथी र धर्मचन्द्र लावतीले उनीहरूको साथ छोडे ।

२०६३ वैशाखमा काठमाडौँमा भएको राष्ट्रिय भेलाले रामसिंह श्रीसको नेतृत्वमा नेकपा (एकता केन्द्र मसाल) गठन ग¥यो । त्यसपछि नारायणकाजी श्रेष्ठले दिल्ली र मोहनविक्रम सिंहले गोरखपुरमा आ–आफ्नो पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । मध्यमार्गी समूहको बैठक भने राजनीतिक–व्यावहारिक स्थिति जसरी नै गोरखपुर र दिल्लीको बीच लखनउमा बोलाइयो । सो बैठकले श्रेष्ठ र सिंह दुवै पक्षलाई बैठकमा बोलायो । दुवै पक्षधर बैठकमा उपस्थित भए । १ हप्तासम्म बहस चल्यो । त्रिपक्षीय टक्कर भयो । समाधान हुन सकेन । त्यसपछि सबैले आ आफ्नो डम्फु बजाउन थाले पार्टी नै खुला भएको परिस्थितिमा वैधानिक मोर्चा आवश्यक नपर्ने ठहर पनि मध्यमार्गी समूहले वैधानिक मोर्चा विघटन गरेको थियो ।

क्रान्तिकारी ध्रुवीकरणतर्फको यात्रा र १२ बुँदे सहमतिको विरोध

जनयुद्धको विषयमा पार्टीमा छलफल चलिरहन्थ्यो । चित्रबहादुर आले र चिरन पुन, जनयुद्धप्रति सकारात्मक बन्दै गएका थिए । प्रचण्ड र किरण पक्षधरको संघर्षमा क. आलेलाई किरण पक्ष ठीक लाग्दै गएको थियो । नारायणकाजी श्रेष्ठले प्रचण्डको पक्षपोषण गरिरहेको बेला क. आले भने किरण पक्षतिर ढल्किंदै जानुभएको थियो । ‘प्रचण्डले घुँडा टेक्यो भनेर दिल्ली नगएको हो’ क. आले भन्नुहुन्छ । जनयुद्धमा सहभागी नभएकोमा एक प्रकारको पछुतो देखिन्छ आलेमा । क. ऋषि देवकोटा ‘आजाद’ को सपना र जनयुद्धका सहिदको सपनामा समानता देख्नुहुन्छ क. आले । ‘नेपालमा फेरि कसैले दलाल सत्ताको विरुद्ध विद्रोह ग¥यो भने ढिलो नगरी सहभागी हुने” सोचको विकास भयो । त्यसबेला दिल्लीमा १२ बुँदेको खुसीयालीमा दारु पार्टी चलिरहेको बेला चित्रबहादुर आले, परि थापा, नवराज सुवेदीलगायतले १२ बुँदे सहमतिको विपक्षमा विज्ञप्ति जारी गरेका थिए । मोहनविक्रम सिंहले पनि १२ बुँदे सहमतिको विरोध गरेका थिए । नारायणकाजी श्रेष्ठ १२ बुँदे रूपी जनयुद्धको हत्या गर्ने सहमतिपत्र बोकेर आएका थिए ।

नारायणकाजी श्रेष्ठ रोल्पा जाँदा ‘साथीहरूले बोलाएका छन्, रोल्पा जान्छु’ भन्दा नै क. आलेमा अनेक शंका पैदा भएका थिए । ‘प्रकाशलाई गिरिजाले किन्यो । प्रकाशमार्फत् प्रचण्ड खरिद भए । अमिक शेरचनलाई गिरिजाले किनिसकेको थियो’ क. आले भन्नुहुन्छ । प्रचण्ड र किरणको बीचमा पार्टी विभाजन हुनासाथ क. आले र चिरन पुन नेकपा–माओवादीमा ध्रुवीकृत भए । त्यसबेला उनीहरू क्रान्तिकारी धारामा निःशर्त, मोलतोल नगरीकन सर्वहारा भावनाका साथ सहभागी भएका थिए । त्यसबेला क. आले केन्द्रीय सदस्य र चिरन पुन वैकल्पिक केन्द्रीय सदस्य भएका थिए । बिडम्वना क. आले नयाँ सपना र अपेक्षासहित भएकै बैठकमा क. विप्लव र क. किरणका अलग अलग दुईओटा दस्तावेजहरू प्रस्तुत भए । क. चित्रबहादुर आले विप्लवद्वारा प्रस्तुत दस्ताबेजप्रति निकट हुनुहुन्थ्यो । त्यसको गन्ध पाएका देवप्रसाद गुरुङले आलेको निवासमा भएको भेटमा ‘चिरन पुनलाई केन्द्रीय सदस्य र तपाईंलाई पोलिटब्युरोमा राख्नुपर्ने प्रस्ताव किरणको थियो तर विप्लवले नमानेको कारण सकिएन” भनेछन् । त्यो घटनाले क. आलेमा देव गुरुङ गुटप्रति अपार घृणा पैदा ग¥यो । अनुशासन र नियतको दृष्टिले पनि त्यो प्रसङ्ग राम्रो थिएन । आफूलाई लालचमा पारेर खरिद गर्न खोजेको महसुस गर्नुभयो । त्यसपछि क. चित्रबहादुर आले क्रान्तिकारी धारातिर खुलेर सहभागी बन्नुभयो । क्रमशः …

२०७५ असार ११ गते सोमबार बिहान ११ : १७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :