नेकपाका नेताहरु जनताको घर दैलोमा


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको देश व्यापी जन जागरण अभियान अन्तर्गत मध्य केन्द्रीय कमान्डमा विशेष अभियान सञ्चालन गरिएको छ । विशेष अभियानको अवधिमा नेकपाका केन्द्रीय नेताहरु जनस्तरसम्म पुगेका छन् । सो पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य र केन्द्रीय समितिका सदस्यहरु पनि यो अभियानमा गाउँ टोल सम्म पुगेर सेल (इकाई) संगठन बनाए । मध्य केन्द्रीय कमान्ड अन्तर्गत पुर्वको रामेछाप देखि पश्चिमको चितवनसम्म वैशाख ६ गते देखि जेठ अन्तिम सम्म चलाइएको यो अभियानको क्रममा केन्द्रीय नेताहरु जनताको घर दैलोमा पुगे । उनीहरु सहिद बेपत्ता परिवार, घाइते, अपाङहरुसँग पुगे र क्रान्तिको रक्तरन्जित झण्डा उठाई राख्ने बाँचा समेत गरे । शहरबाहिरको ग्रामीण क्षेत्रमा जनताको व्यवस्थापन र सत्कारमा बस्दा अभियानकर्मीले समेत नयाँ अनुभव बटुले । विशेष अभियान टिममा सहभागी नेकपाका पोलीटब्युरो सदस्य भरत बम ‘रणविर’ भन्छन् –‘मैले २२ वर्ष पछि स्थानीय तहमा पुगेर विद्यार्थीको इकाई संगठन बनाए, यसले मलाई जनयुद्धकालीन समयमा जनतासँग हुँने जीवन्त सम्वन्धको अनुभव गरायो, जनतासँगको सम्बन्ध पुनस्थापित भयो, यो मेरो राजनैतिक जिवनको महत्वपुर्ण क्षण बन्यो ।’ नेता रणवीर पार्टीलाई जनतासँग जोड्नको लागि अभियान टिम लिएर गाउँ पुगेको र यसले गर्दा आफ्नो पार्टीको योजना र कार्यक्रम जनतासँग जोड्न सफल हुने विश्वास व्यक्त गर्दछन् । उनी भन्दछन–‘एकीकृत जनक्रान्ति किन आवश्यक छ भनि जनतालाई बुझाउनको लागि हामी अभियान लिएर जनताका बीचमा पुगेका हौं ।’ उनको भनाई अनुसार प्रचण्ड–बाबुरामले हिजो जुन सत्ताका विरुद्ध बन्दुक उठाएका थिए । उनीहरु अहिले त्यही सत्तामा विलय हुनपुगेपछि हामी क्रान्तिमै छाैं भन्ने सन्देश दिनको लागि र पार्टीको एजेण्डा जनतासँग जोड्नको लागि यसरी अभियान चलाइएको हो ।

जनयुद्धकालीन आधिमय दिनहरुको सम्झना हुने गरी ठूलै दलबल सहित विकट गाउँबस्तीसम्म पुगेका नेकपाका स्थायी समिति सदस्य तथा मध्यकेन्द्रीय कमान्ड इन्चार्ज सुदर्शन भन्छन् –‘आफैले आफैलाई बदल्ने साँस्कृतिक क्रान्तिलाई पकड्ने पहलकदमी लिन, विचारधारा र कार्यदिशालाई जनतासँग जोड्न, नेतृत्वलाई जनतासँग जोड्न र संगठनको जगलाई बलियो बनाउन, तथ्यबाट सत्य पत्ता लगाउनको लगाउन यो अभियान सफल भएको छ ।’ उनी नेकपाका नेता कार्यकर्ता सहितको अभियान टोली लिएर जनता कार्यकर्ता, सहिद बेपत्ता परिवारका घरहरुमा पुगे र उनीहरुसँग क्रान्ति जारी रहेको सन्देश सहित सहिदहरुका सपना पुरा गरेरै छोड्ने विश्वास व्यक्त गरे । जवाफमा सहिद बेपत्ता परिवार, घाइते अपाङग योद्धाहरुले पनि आफ्नो क्रान्तिकारी उदेश्यमा अबिचलित हुन सल्लाह दिदै नेकपालाई सधै सहयोग गर्ने बाचाँ गरे । रामेछाप पिङखुरीका सहिद परिवार गुन्जनले भने ‘क्रान्तिकारी जनता र कार्यकर्ताको आशा र भरोसाको केन्द्र विप्लव नेतृत्वको नेकपा मात्र हो, हामी जस्ता सहिद परिवारको सहयोग र समर्थन क्रान्ति र परिवर्तनको सपना बोकेको यो पार्टीलाई हुन्छ ।’ गुन्जनका भाई जनयुद्धमा सहिद भएका हुन् । यस्तै काभ्रेको पाँचखाल नजिकमा रहेको सहिद रसकमलको परिवारजनले पनि नेकपालाई आशा र विश्वासको नजरले हेरेका छन् । सहिद परिवारहरुले आशा गर्ने पार्टी नेकपा मात्र भएको विश्वास व्यक्त गर्दै राम्रो काम गर्दै अघि बढ्न शुभकामना दिए । अभियानमा सहभागी नेकपाका नेताकार्यकर्ताहरुले सहिद बेपत्ता योद्धा, घाइते अपाङगहरुलाई भेट्ने र उनीहरुलाई संगठित गर्ने काम पनि गरे । माथिल्लो तहका नेताहरु समेत गाउँ टोल सम्म पुगेर सेल समिति बनाउदै हिडे । पार्टीलाई जनतासँग जोड्नको लागि अभियान चलाइएको यस्तो अभियान निरन्तर चलाउनुपर्ने अभियानमा सहभागी नेकपाका कार्यकर्ताले नै नेताहरुलाई सुझाव दिए ।
२०७५ असार ९ गते शनिबार बिहान ९ : ५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :