प्रलेस सिन्धुपाल्चोक, ऐतिहासिक दुगुनागढी र तातोपानी : खेम थपलिया

विषयारम्भ
प्रलेस सिन्धुपाल्चोकले आयोजना गरेका दुई दिने साहित्यिक पदयात्रा कार्यक्रममा सहभागी हुने अवसर प्राप्त भयो । यसअघि प्रलेस सिन्धुपाल्चोकको जिल्ला सम्मेलनमा सहभागी भएको थिएँ । यो कार्यक्रम झन्डै–झन्डै छुटेको पनि थियो तर ललितपुरमा आयोजना गरिएको पूर्वनिर्धारित एउटा महत्वपूर्ण कार्यक्रम अन्तिम क्षण आएर स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भएपछि मात्र यो कार्यक्रममा सहभागी हुने अवस्था सुनिश्चित भएको थियो । जुरेको पहिरोभन्दा माथिल्लो भागतिर नगएकोले ती ठाउँमा पुग्ने र अध्ययन गर्ने सोचाइ मेरो पुरानै थियो । साहित्यिक पदयात्राको सन्दर्भका केही अनुभूतिलाई यहाँ सङ्क्षिप्तमै भए पनि समेट्ने प्रयास गरिएको छ ।

बा¥हबिसेमा साहित्यिक कार्यक्रम

२००९ सालमा स्थापना भएको प्रगतिशील लेखक सङ्घ आज करिब ४५ वटा जिल्लामा क्रियाशील रहेको छ । ती क्रियाशील जिल्ला शाखामध्ये सिन्धुपाल्चोक प्रलेस पनि अग्रपङ्क्तिमा नै पर्दछ । २०७५ साल जेठ २६ गते बा¥हबिसेमा प्रलेस अध्यक्ष मातृका पोखरेलको प्रमुख आतिथ्यता, प्रलेस सिन्धुपाल्चोकका अध्यक्ष दिनेश दुलालको अध्यक्षता तथा टीका सुवेदीको उद्घोषणमा साहित्यिक कार्यक्रम सम्पन्न भयो । यो कार्यक्रममा आख्यानसम्बन्धी छोटो अवधारणापत्र पनि प्रस्तुत गर्नुका साथै शशिनाथ आचार्यले स्वागत मन्तव्य दिनुभएको थियो । यही कार्यक्रममा प्रलेस सिन्धुपाल्चोकको मुखपत्र ‘बिहानी’ को सार्वजनिकीकरण गर्ने कार्यक्रम पनि सम्पन्न भएको थियो । बा¥हबिसे भोटेकोशी नदीको किनार तथा अग्ला–अग्ला पहाडको खाेंचमा रहेको सानो बजार रहेछ । तातोपानी नाका बन्द भएपछि यहाँको व्यापारिक चहल–पहल ह्वात्तै घटेको रहेछ । सयौँ लेखक तथा साहित्यकारहरू क्रियाशील रहेको सिन्धुपाल्चोक जिल्लाको बा¥हबिसेमा आयोजना गरिएको यो कार्यक्रममा विभिन्न कविहरूले आ–आफ्ना समसामयिक विषयमा रचिएका कवितावाचन गर्नुभएको थियो । सुरेश बुढाथोकीले ‘देश हराएको सूचना’, रमेश पौडेलले ‘बा के छ घरितिर ?’, किशोर बुढाथोकीले ‘सिङ्गो संसार एक्लै हाँक्न सक्छु’, सुन्दर शिरिषले ‘मुस्कानको मानचित्र’, युवराज वसन्तपुरेले ‘हामी किसान’, दिल कार्कीले ‘शरणार्थी’ लगायत विभिन्न कविहरूले रचनावाचन गर्नुभएको थियो । त्यसैगरी प्रलेस जिल्ला सल्लाहकार गङ्गा पौडेल, पुराना कवि जगन्नाथ आचार्यले आफ्ना भनाइसहित रचनावाचन गर्नुभएको थियो । सो क्रममा कथाकार देविका तिमिल्सनाले आख्यानसम्बन्धी केही सैद्धान्तिक चर्चा गर्नुभएको थियो भने चर्चित महाकवि चन्द्रपसाद न्यौपाने तथा प्रदेश सभासद् सरेश नेपालले पनि आ–आफ्नो भनाइ राख्नुभएको थियो । प्रलेस अध्यक्ष मातृका पोखरेले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै भन्नुभएको थियो, “नेपालको सबै राजनीतिक आन्दोलनमा प्रलेसले प्रतिनिधित्व गर्दै आएको छ । आज प्रलेसले विभिन्न चुनौतीको सामना गरेर अघि बढिरहेको छ । यसको आदर्शको रक्षा गर्ने कुरा कम चुनौतीपूर्ण छैन । आज सबैले केही मानिसले समृद्धिको कुरा गरिरहेका छन् । समृद्धि कस्तो र कसका लागि हो भन्ने कुरा स्पष्ट हुनुपर्दछ । के हामीले खोजेको समृद्धि अमेरिकाको जस्तो हो ! अमेरिकाको समृद्धि भनेको सारा संसारलाई लुटेर भएको समृद्धि हो । प्रलेसले कस्तो समृद्धि भनेर प्रश्न उठाउन जरुरी छ । हामीले आज पनि राजतन्त्रप्रतिको घृणा कायमै राख्नुपर्दछ । हामीले आलोचनात्मक चेतको विकास गर्नुपर्दछ । संयुक्त मोर्चालाई व्यवस्थित र अनुशासित बनाउनुको कुनै विकल्प छैन । यथास्थितिवाद प्रलेसको मापो होइन ।”

ऐतिहासिक दुगुनागढी

बा¥हबिसे बजारबाट भोटेकोशीको किनारैकिनार अघि बढेपछि चिनियाँ सरकारद्वारा निर्माणाधीन ड्राइपोर्ट आउँदो रहेछ । त्यही ठाउँबाट कच्ची बाटो हुँदै समुद्र सतहदेखि २१२३ मिटरको उचाइमा अवस्थित दुगुनागढी पुगिँदो रहेछ । हाम्रो यात्रा त्यतै मोडियो । सिन्धुपाल्चोक जिल्लाको साविकको तातोपानी गाविस वढा नं ६ यार्मासिङमा निर्मित दुगुनागढी ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिँदो रहेछ । नेपाल तिब्बत सिमानाको मितेरीपुलबाट साढे चार किलोमिटर पूर्व लार्चा भन्ने ठाउँबाट करिब एक घन्टाको उकालो हिँडेपछि उक्त गढीमा पुगिँदो रहेछ ।

१९०३ मा आफू प्रधानमन्त्री भएपछि जङ्गबहादुरले तिब्बतसँगको परराष्ट्र नीतिमा केही फेरबदल ल्याए । त्यतिबेला राजनीतिक कारणले नेपाल र चीनबीच खटपट थियो । नेपालले तिब्बतसँग पटक–पटक युद्ध लड्यो । तिब्बती सेनाले नेपाली सेनालाई केही लखेट्दै ल्याएपछि जङ्गबहादुरले सीमानजिक आफ्ना सेनालाई सुरक्षित र मनोबल बलियो बनाउने हिसाबले यहाँ गढी बनाउन लगाए । प्रधानमन्त्री भएको नौ वर्षपछि १९१२ मा ४ महिना लगाएर जङ्बहादुर राणाको निर्देशनमा यो गढी निर्माण भएको बताइन्छ । यो गढी कालीप्रसाद, शेर र गोरखनाथ गरी तीन गणले संयुक्त रूपमा निर्माण गरेको बताइन्छ । दुगुनागढी नेपाल–तिब्बत सीमायुद्धका कारण निर्मित गढी राष्ट्रकै पुरातात्विक सम्पदा हो । तिब्बत युद्धका जययात्रा पार गर्दा लेफ्टिनेन्ट कर्णेल पहलमानसिंह कुवँरको फौज पुगी नेपालको सीमा खासा कायम गरी फर्किएर यस ठाउँमा गढी बनाएर फौज बसेको थियो । श्री शेर, श्री कालीप्रसाद गोरखनाथ गोर्खा फौजअन्तर्गत जनरल वीरशमशेरको मर्जीबाट पहलमानसिंह कुँवर युद्धको नेतृत्व गरी सीमा रक्षाको लागि दुगुना आएको कुरा शिलालेखमा उल्लेख छ । यो गढी निर्माणको तजबिज तत्कालीन लेप्टिनेन्ट कर्णेल पहलमानसिंह बस्नेत र निर्माण कार्यको रेखदेख जनरल धीरशमशेरले गरेका थिए । भोटसँगको युद्धमा नेपालीले यसै गढीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेख (हाल पुरिएको) मा उल्लेख छ । दुगुनागढी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण ठाउँ देखिन्छ । आदिबासी शेर्पाहरूको प्राचीन सभ्यता–संस्कृतिले तिनमा केही मात्रामा आफ्नै पहिचान र अस्तित्व रहिरहेको भए पनि हामी त्यहाँ पुग्दै गर्दा ठूल–ठूला आवाजमा हिन्दी गीत घन्किरहेका थिए । समुन्द्री सतहबाट २१२३ मिटरको उचाइमा अवस्थित दुगुनागढी विशाल भीमकाय गगनचुम्बी पहाडहरूको मध्यभागतिर सुरक्षित र स्वतन्त्र थुम्कोको स्वरूपमा खडा भएको देखिन्छ । यहाँबाट पारि नजिकैजस्तो देखिने खासाबजार हाराहारी उचाइमा छ । यसको तल तल बगिरहेको भोटेकोशीको गहिराइले आँखा तिरमिर तिरमिर पार्दछ । २०७२ वैशाख १२ को शक्तिशाली भूकम्पले यस ठाउँलाई पूर्ण रूपले क्षतिग्रस्त बनाएको रहेछ । त्यसलगत्तै वैशाख १३ को ६.८ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु पनि यही ठाउँ रहेछ । विनासकारी भूकम्पले क्षतविक्षत पारेको, ठूलठूला धजा फाटेको दुगुनागढीको हालत अहिले पनि बेहाल नै रहेछ । सिन्धुपाल्चोक जिल्लाको सबैभन्दा बढी भूकम्पबाट क्षतिग्रस्त ठाउँ पनि दुगुनागढी रहेछ । दुगुनागढी प्राकृतिक मनोरम वातावरणले मात्रै अनुपम होइन, सामरिक दृष्टिकोणले उच्च र दुश्मनले हत्तपत्त आक्रमण गर्न नसक्ने पनि रहेछ । हामीले निकैबेर त्यहाँ पुर्खाको वीरता, साहस र बुद्धिमत्ताको स्मरण ग¥यौँ । पुगेपछि झर्नै मन नलाग्ने दुगुनागढीबाट पड्काएको तोपगोलाले खासाबजारका घरहरूको झ्यालढोकाका बाहाँसम्म छेडेका थिए रे ! सानो र ठूलो गरी दुईवटा किल्ला रहेको दुगुनागढीमा आवत–जावत गर्न कच्ची बाटो पुग्दै रहेछ ।

दुगुनागढीको शिलामा यसप्रकार लेखिएको छ ः वि.सं. १९१२ साल मङ्सिर महिनामा श्री जनरल वीरशम्शेर जंग कँुवर राजाजीबाट मर्जी भै दुगुना बस्दा श्री लेफ्टिनेन्ट कर्णेल पहलमानिसंहले तजबिज गरि ३ पल्टनसमेत किल्लाको नाप बाहिरि फेरो हात १० मी. फेरी हात ५६१ प्रगलो हात १० मि. फेरि हात ५०० मुची ४ माह हात १९ भित्री मैदान पूर्वपश्चिमतर्फ १११ हात भित्री मैदान उत्तर दक्षिण १६ पूर्वपश्चिम ६२ गा¥हो ढोका दक्षिणतर्फ बाहिरीमा ढोका र जम्मा जग्गाको गढी ५७७ रहेको देखिन्छ । सम्वत् १९१२ भित्र पौस सुदी १ रोज ३ देखी चैत्रभरी रोज ३ सम्म । सीमा सुरक्षा या अन्य कुराले बेला–बेलामा भइरहने खटपटका कारण अंशुवर्माभन्दा पछिका शासकहरूले सीमा, अस्तित्व रक्षाका खातिर आ–आफ्ना बुद्धिले भ्याएसम्मको काम गर्दै आएको भए पनि नेपाल–तिब्बतको सीमायुद्ध समाप्तिसँगै प्रयोगविहीन बन्न गएको उक्त गढी संरक्षणको लागि कुरिबसेको छ ।

तातोपानी क्षेत्रको पीडा

सिन्धुपाल्चोकको तातोपानी ऐतिहासिक र महत्वपूर्ण ठाउँ हो । यहाँको तातोपानीले नुहाउनाले छालासहित अन्य रोग निर्मूल हुने जनविश्वास पाइन्छ । हामीले पनि यहाँको तातोपानीमा नुहायौँ । अन्यका लागि यो क्षेत्र नयाँ नभए पनि मेरो लागि नितान्त नौलो थियो । प्राकृतिक रूपमा नै तातोपानीका धारा हुनाले यस ठाउँको नाम पनि तातोपानी रहन गएको हो । चौताराबाट झन्डै १४ कोस टाढा पर्ने तातोपानीको पूर्वमा तथा उत्तरमा तिब्बत पर्दछ भने पश्चिममा गुम्बा र दक्षिणमा लिस्तिकोट र फुल्पिङकट्टी क्षेत्र पर्दछन् । यो चीनसँगको भन्सार नाका तातोपानी रहेको छ । यो क्षत्रमा मूलतः शेर्पा तथा तामाङ जातिको बाक्लो बसोबास रहेछ । अन्य जाति पनि यहाँ बसोबास गर्दा रहेछन् । तातोपानीको स्नान मात्र नभएर नेपाल–चीन आयात–निर्यातको महत्वपूर्ण नाका पनि यही हो । २०७२ साल वैशाखमा आएको शक्तिशाली भूकम्पपछि यो नाका बन्द रहेको छ । अग्ला–अग्ला भीर तथा पहराहरूका बीचमा भोटेकोशी नदी निस्फिक्री बग्ने भएकोले भोटेकोशी राफ्टिङका विश्वमा चर्चित रहेको छ । भूकम्पपछि बन्द भएको नाका तुरुन्त खोल्नुपर्ने तथा ध्वस्त राजमार्ग पुनर्निर्माण हुनुपर्ने स्थानीय बासिन्न्दाको ठूलो माग छ । यो क्षेत्रमा जताततै पहिरो नै पहिरो देखिन्छ । खेत तथा बारीमा ठूल–ठूला देख्दैमा डर लाग्ने धजा फाटेका छन् । गाउँमा दूध पाइन छाडेको छ । कृषिप्रधान देश भएर पनि दूध हालेको चिया खान नपाइने अवस्था पनि त्यहाँ बनेको रहेछ । हामीले त्यहाँ कालो चिया खाएर चियाको धीत मेटायौँ । भूकम्पबाट पीडित जनताको तत्काल राहात, उद्धार तथा सुरक्षित बासस्थानका लागि सरकारले अझै पनि उचित बन्दोवस्त नगरिदिएकोमा यो क्षेत्रका जनता सरकारी उदासीनताप्रति आक्रोशित रहेछन् ।

बन्जीजम्प, द लास्ट रिसोर्ट

२०७५ जेठ २७ गते अभियानको अन्तिम कार्यक्रम थियो । बन्जीजम्पको पारिपट्टि रहेकोद लास्ट रिसोर्टको चौरमा सो कार्यक्रम राखिएको थियो । तीन देशको लगानी रहेको उक्त रिर्सार्टमा अधिकांश सामान स्थानीय स्रोत साधानबाट बनाइएको रहेछ । त्यहाँ परिचयात्मक कार्यक्रम भयो । त्यो ठाउँलाई नयाँ पुल पनि भनिँदो रहेछ । यो क्षेत्र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बन्दै रहेछ । बन्जीजम्प सेन्टर पनि हेरियो । एक जनाले जम्प गरेको देख्दा आफूहरूलाई पनि जम्प गरूँ गरूँजस्तो लाग्यो । बा¥हबिसे नगरपालिकाभित्र रहेको यो ठाउँमा भएको कार्यक्रममा मातृका पोखरेल, खेम थपलिया, दिनेश दुलाल, टीका सुवेदी, रत्न उप्रेती, आरएाम डङ्गोल, स्नेह सायमी, रहमेश पराजुली, चित्रबहादुर श्रेष्ठ, चन्द्रप्रसाद न्यौपाने, सुरेश कसजु, उमेश विश्वकर्मा, दिल कार्की, सुरेश थामी, विदुर आचार्य, केदार माझी, सुन्दर शिरीष, साधुराम नेपाल, डा. पुष्करहरि भट्ट, रमेश पौडेल, जगन्नार्थ आचार्य, लक्ष्मण तिमिल्सिना, गंगानाथ भण्डारी, यदुनाथ वसन्तपुरे, शशिनाथ आचार्य, सन्तोष चौलागाईं, यज्ञ दंगाल, रामचन्द्र नेपाल, नवराज गौतम, अशोक पराजुली, डम्बर रसिक भारती, सागर खड्का, बुद्धिप्रसाद आचार्यलगायत कवि–लेखक तथा साहित्यकारको सहभागिता थियो । यहाँ विभिन्न कविले आ–आफ्नो रचना पनि वाचन गर्नुभएको थियो । यो कार्यक्रममा प्रलेस उपाध्यक्ष डा. पुष्करहरि भट्टले आख्यानसम्बन्धी सङ्क्षिप्त प्रवचन पनि दिनुभएको थियो ।

जुरेको नजुरेको अवस्था

आज पनि जुरेको अवस्था उस्तै रहेछ । त्यहाँ पुगेपछि जुरेको नजुरेको अवस्था देख्दा मेरो मन एकतमासको भयो । त्यहाँको जनधनको अपूरक्षणीय क्षतिको कुनै हिसाब–किताब नै रहेनछ । उठिबास भएको जनतालाई आजसम्म पनि सरकारले कुनै वैकल्पिक व्यवस्थापन नगरेको गुनासो त्यहाँका जनताले गरिरहेका छन् । सिन्धुपाल्चोकको जुरेमा पहिरोले एउटा पूरै गाउँ बगाएको थियो । २०७१ साउन १७ गते बिहान २ बजेतिर साविकको माङ्खा गाविसको एउटा बस्ती नै सखाप भएपछि जिल्ला दैवीप्रकोप उद्धार समिति सिन्धुपाल्चोकले राहतकोष खडा गरेको थियो । त्यो कोषमा ठूलो रकम जम्मा भयो पनि । पहिरोबाट प्रभावितहरूको वर्गीकरण र सहायता वितरणको मापदण्ड तय गर्न उपसमिति गठन पनि गरियो । उपसमितिले स्थलगत अध्ययनबाट लगत सङ्कलन गरेर समितिमा प्रतिवेदन बुझायो । जिल्ला दैवी प्रकोप उद्धार समितिले सहायता रकम वितरण प्रक्रिया अघि बढाउनुपर्नेमा त्यो काम अझै पनि चित्तबुझ्दो ढङ्गले नभएको पीडितहरूको गुनासो छ । जुरेका पहिरो पीडितलाई सरकारले प्रति मृतक रु.४० हजार किरिया खर्च र एक लाख रुपैयाँ राहत दिएको थियो तर पहिरोमा कोही नपरेका तर पूरै सम्पत्ति गुमाएकाहरूले भने सरकारी सहयोग पाएनन् । जुरे पहिरोमा माङ्खा, राम्चे, धुस्कुन र टेकानपुरका १४५ जनाले ज्यान गुमाए भने ९७ घर पहिरोमा परेका थिए । डुबानमा परेका र बस्न नमिल्नेसमेत गर्दा जम्मा २२० घर प्रत्यक्ष प्रभावित भएका थिए । स्मरण रहोस्, जुरोको पहिरोले भोटेकोशी नदीलाई २४ घन्टा पूरै थुनेको थियो ।

उपसंहार

दोलालघाट तरेपछि २०७२ वैशाखमा आएको शक्तिशाली भूकम्पबाट भएको क्षतविक्षत घाउ देखिन थाल्दछ । सिकुटे हुँदै अघि बढेको हाम्रो यात्रा जुरेको पहिरोको भयावह तस्बिरले जो कोही पनि मन नपग्लिरहन सक्तैन । खतराको साइरन बजाउँदै हुँकिएको भोटेकोशीको रजगज चीनसँगको उत्तरी नाका तातोपानीसम्म पनि उस्तै थियो । लाग्छ, भोटेकोशीको अर्को नाम नै जङ्गबहादुर हो । जे होस्, केही व्यवस्थापकीय र केही समयको व्यवस्थापनलगायत विषयमा तालमेलको सीमा रहे पनि प्रगतिशील लेखक सङ्घ, सिन्धुपाल्चोकको आयोजनामा ंबा¥हबिसेदेखि दुगुनागढी हुँदै तातोपानीसम्मको प्रलेस स्रष्टायात्रा, बिहानी विमोचन तथा आख्यान गोष्ठी कार्यक्रम सम्पन्न भयो । भूकम्पपछिको पुनर्निर्माणमा जागरण पैदा गर्न एक वर्षअगाडिदेखि थालिएको प्रलेस स्रष्टायात्रा तातोपानीसम्म पुगेर टुङ्गिनुअघि चौतारा र हेलम्बुमा यस किसिमको साहित्यिक यात्रा सम्पन्न भइसकेको छ । अनन्त सुखद् अनुभूति र केही महत्वपूर्ण जानकारीसहित हामी २७ गते बेलुकीतिर काठमाडौं उत्रियौँ ।
२०७५ असार ७ गते बिहीबार साँझ ६ : ३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!