प्रहरी दमनको विरोधमा असार ७ गते रसुवा बन्द

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी रसुवाले यही असार ७ गते बिहीबार जिल्ला बन्दको आह्वान गरेको छ । प्रशासनले आफ्नो पार्टीका नेता तथा कार्यकर्तामाथि दमन गरेको भन्दै एक दिने बन्द आह्वान गरिएको नेकपा रसुवाले जनाएको छ । जेठ २९ गते नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलन चलिरहेको बेला प्रहरीले हस्तक्षेप गरी क्रान्तिकारीसम्बद्ध ५ जनालाई पक्राउ गरेपछि विरोधस्वरूप जिल्ला बन्द गरिएको बताइएको छ । विद्यार्थीको सम्मेलनस्थलबाटै जेठ २९ गते पक्राउ पर्नेहरूमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यद्वय बद्री अधिकारी र ईश्वर पाण्डे, जिल्ला संयोजक नवीन घिमिरे, सिर्जन ठकुरी र ठाकुर तिमिल्सिना रहेका छन् । उनीहरू सबैलाई सार्वजनिक मुद्दा लगाएर जिल्ला प्रहरी कार्यालय धुन्चेमा राखिएको छ ।

यसैबीच प्रहरीले रसुवाको कालिका र उत्तरगया गाउँपालिकाका केही बस्तीहरूमा विशेष अप्रेसन चलाएर नेकपा निकट कार्यकर्ता र समर्थकहरूलाई आतंकित पार्ने काम गरेको नेकपा रसुवाले जनाएको छ । बेतरावली प्रहरी चौकीका इन्चार्ज दुर्गा गिरीको नेतृत्वमा रहेको प्रहरी टोलीले नेकपाका कार्यकर्ताहरूका घरहरूमा पुगेर पार्टी छोडन् दबाब दिएको नेकपाले जनाएको छ । नेकपाका रसुवा इन्चार्ज रजमान तामाङले प्रहरी चौकीका इन्चार्जसहित दुर्गा गिरी नेपाली कांग्रेस निकटका व्यक्ति भएका कारण आफ्नो पार्टीका नेता–कार्यकर्ता र समर्थकहरूका घर–घरहरूमा गएर विप्लव नेतृत्वको नेकपामा नलाग्न भन्दै दबाब दिने र आतंकित पार्ने काम गरेको बताएका छन् । उनले प्रहरी दमन र सरकारी रवैयाको विरोधमा जिल्ला बन्दको आह्वान गरिएको भन्दै उक्त बन्द सफल पार्न सबैलाई अनुरोधसमेत गरेका छन् ।
२०७५ असार ११ गते बिहीबार ११ : ०५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :