जीवनका पाइला–३ : चित्रबहादुर आले

 गताङ्कबाट क्रमशः …

राइटरकाण्ड
धनुषा जिल्ला, बटेश्वर गाउँपालिका (साविक भूचक्रपुर) मा कृष्णसुन्दर श्रेष्ठ नामको सामन्त थियो । उनी ‘राइटर साहेब’ भनेर चिनिन्थे । उसले चर्को सुदखोरी गर्दै आएको थियो । चेलीको अस्मिता लुट्थ्यो । तर गाउँमा उसैको शासन चल्थ्यो । स्थानीय बबुराहरूलाई सरकार भनेकै ‘राइटर साहेब’ थिए ।

सामन्त राइटर साहेबलाई जनकारबाहीस्वरूप गोडा भाँच्ने निर्णय भएको थियो । त्यो २०३६ सालको कुरा थियो । तीसको दशकमा देशव्यापी किसान विद्रोहहरू भएका थिए । २०३४ सालमा नै चितवनमा जुगेडी किसान विद्रोह भएको थियो । तत्कालीन मजदुर–किसान सङ्गठनको नेतृत्वमा उक्त विद्रोह भएको थियो । रूपलाल–रोहितहरू उक्त पार्टी (उनीहरूले त्यो पार्टीलाई पूर्वपार्टी अर्थात् कम्युनिस्ट पार्टी नबनिसकेको अवस्था भनेका थिए ।) का नेता थिए । त्यही वर्ष सर्लाहीमा रघुनाथकाण्ड र प्रकाशबहादुरसिंह काण्ड भनेर चिनिने सामन्तवादविरोधी विद्रोहहरू भएका थिए । त्यसको नेतृत्व मोहनविक्रम सिंह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (चौम) ले गरेको थियो ।

सिराहामा त्यसबेला मदिरा सेवनविरोधी सङ्घर्ष, गुण्डागर्दीविरोधी सङ्घर्ष पनि चलाइएको विष्णुलाल तामाङ बताउँछन् । सामन्तलाई कुटपिट गरेर छोडे । अत्यधिक रक्तश्राव र उपचारको अभावमा राइटरको मृत्यु भयो । ‘राइटरलाई प्रशासनले चाहेको भए बचाउन सक्थ्यो । राइटर मरोस् र त्यसकै निहुँमा कम्युनिस्टलाई दमन गर्न पाइयोस् भनेर उपचार ढिलाढाला गरेका हुन्’, वामपन्थी नेता विष्णुलाल तामाङ भन्छन् ।

त्यसबेला बीएल, केएल, वीरबहादुर स्याङ्तान जनकपुर ब्युरो सदस्य थिए । गाउँमा पार्टीको हैकम चल्दै थियो । जनवादी गीतहरू गाइन्थे । चीन सचित्र र प्रगतिशील साहित्यको प्रचार तीव्र पारिएको थियो । गोलबजार नगरपालिका ३, भाङबारी (सावित जम्दह ४) का वीरबहादुर स्याङ्तानको नेतृत्वमा ५ सदस्यीय रेडगार्ड गठन भएको स्याङ्तान बताउँछन् । २०३६ सालको तिहार आसपासमा उक्त घटना भएको हो । स्याङ्तानको लडाकु टोलीले बटेश्वर बजारदेखि नै राइटरको पिछा गर्यो । विगी खोलामा ५ जनाको टोली ढुकेर बसेको थियो । त्यहीँ राइटरमाथि आक्रमण भएको थियो ।

२०३६ भदौ २४ गते जनकपुर, बाह्रबिघा भएको पञ्चायती व्यवस्था नै झस्कने विशाल जनप्रदर्शन र सभामा सिराहाबाट पनि पैदलै जनता सहभागी थिए । सामन्त र प्रशासन सिराहामा कम्युनिस्ट प्रभाव रोक्न षड्यन्त्र गर्दै थिए । राइटरले गाउँको सूचना प्रहरीसमक्ष दिएको ठानिन्थ्यो । त्यसपछि गाउँमा छापामार्ने, गिरफ्तार गर्ने, कोको जनकपुर गए ? भन्दै तर्साउने भइरहेको थियो । प्रहरी ज्यादती बढिरहेको समयमा राइटरकाण्ड भयो ।

हरिबहादुर वाइबा, टेकबहादुर वाइबासहित ६२ जनालाई ज्यान मारेको मुद्दा लगाइयो । शाही नेपाली सेनाले गाउँमा अपरेसन सुरु भयो । बाटोमा भेटिएका गोठाला, हली, घाँसी सबैलाई कुटपिट गरे । छाप मार्न गएको घरमा मान्छे नभेटेपछि गाई, भैँसीलाईसमेत पिटेका थिए । ‘नाङ्लो ठटाएर हात्ती तर्साउने’ भनेझैँ अबोध पशुलाई यातना दिएर राजाको सेना जनता तर्साउन चाहन्थ्यो होला । सयौँको सङ्ख्यामा किसानहरू गाउँबाट विस्थापित भए । उनीहरू कोही भारतीय भूमिमा शरणार्थी भए, कोही अर्को जिल्लामा हली, गोठालो बनेर वा आफन्तकहाँ शरण लिएर बस्न बाध्य भए । उक्त घटनामा अन्य कम्युनिस्ट घटकलाई पनि मुद्दा लगाइएको थियो । तत्कालीन नेकपा (माले) सम्बद्ध रामलखन महतो (धनुषा) लाई पक्राउ पुर्जी जारी गरेपछि उनी पनि विस्थापित भएका थिए । राइटरकाण्डपछि सिराहामा श्वेतआतङ्क चरम भयो नै, सामन्तहरूमा खैलाबैला भयो । झापा विद्रोह सेलाउँदै गएको बेला सिराहामा नयाँ वर्गसङ्घर्ष प्रकट भएको थियो । शोषण, दमन रहेसम्म विद्रोहको झुल्का कतै न कतैबाट विस्फोट भइरहन्छ भन्ने सङ्केत थियो त्यो ।

पटवारी शासनविरोधी विद्रोह

२०११ सालमा सिराहा, सिसबनी गाउँमा ठक्कु गोहीबार काण्ड भएको थियो । त्यसबेला पार्टी भनेकै किसान हुन्थ्यो । विद्यार्थी तथा बुद्धिजवीको सङ्ख्या कम थियो । प्रभाव पनि त्यस क्षेत्रमा न्यून थियो । चिनियाँ क्रान्ति र नक्सलबाडी विद्रोहको प्रभावले पनि इमानदार नेताहरूमा किसानमै भर पर्ने सोचाइ हावी थियो । जाली तमसुक फट्टा सङ्घर्ष, बनियाँ वृद्धि (ज्याला) सङ्घर्ष, मोहीयानी हक सङ्घर्ष, जालीफटाहाविरोधी सङ्घर्ष, भकारीफोर सङ्घर्ष व्यापक थियो । त्यसबेला तराईमा ‘पटबारी शासन’ चल्थ्यो । हरेक क्षेत्रमा सरकारले शासक सामन्त चुनेको हुन्थ्यो । जसलाई ‘पटवारी शासन’ भनिन्थ्यो । सामन्तको नजिकका नातेदार, इष्टमित्र, कारिन्दाको समेत हैकम चल्थ्यो । सामन्तको गोठालोले पनि सानपूर्वक भन्थ्यो । पटबारी शासकको गोठालोसँग पनि जनताले डराउनुपथ्र्यो ।

२०१९ सालको तेस्रो महाधिवेशनपछि २०३३ सालसम्म पुग्दा नेकपा केन्द्रविहीन बन्न पुग्यो । मेची–कोसीमा पूर्वी कोसी प्रान्तीय समिति क्रियाशील थियो । यद्यपि त्यहाँभित्र मनमोहन अधिकारी संशोधनवादी दिशामा र युवा मोहनचन्द्र अधिकारी झापा विद्रोहतिर भएर समग्र पार्टी नै दुई धु्रव हुँदै थिए । जयगोविन्द साहले पश्चिम कोसी प्रान्तीय समिति सञ्चालन गरिरहे । किसान सङ्घर्षको नेतृत्व गरिरहे । ‘किसान सङ्घर्ष उठाउने, सङ्गठन विस्तार गर्ने क्रममा जयगोविन्द साह नयाँनयाँ युवाहरूलाई सङ्गठित गर्दै हिँड्थे । त्यही सिलसिलामा चित्रबहादुर आले पनि साहमार्फत सम्पर्कमा आएका हुन्’, विष्णुलाल तामाङ भन्छन् । २०२८ सालमा महोत्तरी, भब्सीमा आलेसँग भएको पहिलो भेटको स्मरण गर्दै तामाङ भन्छन्, ‘सेतो कुर्तासुरुवाल, काँधमा गम्छा, कम्मरमा टल्किने खुकुरी भिरेर यिनी बैठकमा आएका थिए । युवा आलेको चमकधमक आकर्षक थियो । क. आजाद खुकुरी नबोकी हिँड्दैनथे र अरूलाई पनि त्यसै गर्न लगाउँथे ।’ क. आजादको गहिरो प्रभाव क.आलेमा परेको देखिन्थ्यो । आलेको जीवन सङ्घर्षमा क. आजाद भेट्न सकिन्थ्यो ।

सर्लाही, घुर्कौलीका कृष्णकुमार लामाले चित्रबहादुर आलेलाई पनि सम्पर्कमा ल्याएको आलेका समकालीन तथा २०४८ सालका सांसद विष्णुलाल तामाङ दाबी गर्छन् । त्यसबेला धनुषाका बलराम सुवेदीले विद्रोहीहरूलाई अथाह सहयोग गरेको भुक्तभोगीहरू बताउँछन् । सुवेदीले दरभङ्गामा चन्दा उठाएरसमेत नेपालमा सैनिक अपरेसनबाट विस्थापित राजनीतिकर्मीहरूलाई मद्दत गरेका थिए ।

सूर्यनाथ यादवको हत्या र विवाद

सूर्यनाथ यादव २०३१ सालको नेकपाको चौथो महाधिवेशनमा केन्द्रीय सदस्य भएका थिए । २०३३ सालमा उनलाई सिराहा जेलबाट उदयपुर जेल सरुवा गर्ने बहानामा जेलबाट निकालेर राती उदयपुर, बेल्टार जङ्गलमा हत्या गरिएको थियो । यादव धनुषा, कायलपुरका बासिन्दा थिए ।
सूर्यनाथ यादव मारिएपछि निर्मल लामा पक्षले यादवलाई सहिद मान्नुपर्ने जिकिर गरे । मोहनविक्रम सिंह यादवलाई सहिद मान्न तयार थिएनन् । २०४० सालमा पार्टी विभाजनपूर्व नै मोहनविक्रमले सहिद यादवको आलोचना, चरित्रहत्या गरिएको पर्चा प्रकाशित गरी बाँडेका थिए । विद्यार्थी नेता गिरिराजमणि पोखरेलले उक्त पर्चा सिराहामा बोकेर गए । मोहनविक्रमद्वारा सूर्यनाथलाई ‘हत्यारा’ आरोप लगाइएको उक्त पर्चाका कारण त्यहाँ असन्तोष तीव्र भयो । गिरिराजमणि पोखरेललाई महेश मास्केमार्फत लगाम लगाएर पर्चा वितरण रोकियो । कालान्तरमा सूर्यनाथ यादवलाई सहिद घोषणा गरियो ।

सूर्यनाथ यादवकाण्डदेखि नै एकथरी सामन्त, फटाहाहरू र उनीहरूबाट प्रभावित केही नेताहरू यादवप्रति सहानुभूति राख्नेहरूसँग बदलाभाव राख्थे । त्यही तप्काले बहुदलीय व्यवस्था आएपछि अर्थात् २०४६ सालपछि धर्मनाथ साहलाई प्रयोग गरेर कम्युनिस्ट आधार भत्काउन खोजेको विष्णुलाल तामाङको आरोप देखिन्छ । धर्मनाथ साहले प्रशासनसँग मिलेर कार्यकर्तालाई फसाउने, गुण्डागर्दी गर्ने गर्न थाले । त्यसपछि अल्टु पासवान, राजकुमार महतोसहितको लडाकु टोलीले धर्मनाथ साहलाई जनकारबाही गर्ने योजना बनाए । त्यसको भेद खुल्न गयो । त्यसको सकारात्मक प्रभाव के भयो भने धर्मनाथ साह हच्किए । ‘नलडी केही हुँदैन भन्ने हाम्रो आफ्नै अनुभव छ’ कृष्णलाल भन्छन् ।

२०४७ सालमा ‘माओवाद–विचार’ मान्ने कम्युनिस्ट पार्टीहरूका बीचमा पार्टी एकता भएपछि नेकपा (मशाल) मा रहेका धर्मनाथ साह पनि एउटै पार्टीमा भए । नेकपा (एकताकेन्द्र) को वैधानिक मोर्चाका रूपमा संयुक्त जनमोर्चा नेपाल गठन भएको थियो । विष्णुलाल तामाङले चुनाव जित्यो भने कम्युनिस्ट प्रभाव कायम रहन्छ भनेर काङ्ग्रेसले षड्यन्त्र गरेको कतिपयको बुझाइ छ । त्यसक्रममा कमजोर उम्मेदवार धर्मनाथ साहलाई उठाउने योजना बन्यो । वैकल्पिक उम्मेदवार धर्मनाथ साहको नाम पनि पठाउने र उनैका पक्षमा माथिल्लो समितिमा पहल गर्ने दोहोरो चरित्र विश्वनाथ साहको रहेको बीएल–केएलको आरोप छ । त्यसबेला पार्टी महामन्त्री प्रचण्ड धर्मनाथ साहको निवास सिराहा गएका थिए । तर विष्णुलाल तामाङ भेट्न गएनन् । अर्को दिन प्रचण्ड बीएलको घरमा गए । जिल्ला समितिको आकस्मिक बैठक बोलाउन लगाए । सबैको धारणा प्रत्यक्ष सुनेपछि प्रचण्डले धारणा परिवर्तन गरेर क.विष्णुलाल तामाङलाई उम्मेदवार बनाए । हेर्दा चुनावी मोर्चाजस्तो देखिए पनि त्यसप्रकारको आन्तरिक र बाहिरी सङ्घर्षमा प्रवृत्ति र घटनालाई बुझ्ने दृष्टिकोण अभिव्यक्त भएको बुझ्न सकिन्थ्यो । सहिद सूर्यनाथ यादवको हत्या, मोहनविक्रम सिंहको राजीनामा माग्ने र त्यो माग पूरा नहुँदा आफैँले राजीनामा दिने जयगोविन्द साहकै पालाको मनोविज्ञान पनि जोडिएको थियो । क. ऋषि देवकोटा आजादको विचार र भावनाको प्रभाव पनि छँदै थियो ।

२०४६ को जनआन्दोलन र त्यसपछि

२०४५ सालमा राजा वीरेन्द्रले भारतसँग भएको सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको प्रतिकूल हुनेगरी चीनसँग नेपाली सेनाका लागि हतियार खरिद गरे । उक्त सन्धिअनुसार भारतले तेस्रो देशसँग हतियार किनबेच गर्दा नेपालसँग परामर्श गर्नुपर्ने प्रावधान छ । तर भारतले व्यवहारमा नेपालसँग त्यसरी परामर्श गर्दैन । भारतले परामर्श गर्दैन भने नेपालले किन गर्नुपर्यो भन्ने पञ्चहरूको तर्क थियो । नेपालले चीनसँग हतियार खरिद गरेपछि चिढिएको भारतले २०४५ सालमा नेपालमाथि नाकाबन्दी लगायो । त्यो नाकाबन्दी स्वतन्त्र भारतद्वारा नेपालमाथि लगाएको तेस्रो नाकाबन्दी थियो । २०१९ साल र २०२७ सालमा पनि भारतले नेपालमाथि नाकाबन्दी लगाएको थियो । २०१९ सालमा भारत समर्थित सरकार ढालेर चीन र पश्चिमी देशप्रति नरम पञ्चायती व्यवस्था लादेको भारतीय आरोप थियो । २०१७ सालमा नेपालको उत्तरी सीमानाबाट भारतीय सेनाको जाँचचौकी हटाउन बाध्य पारेकोमा भारत असन्तुष्ट भएको थियो । भारतद्वारा नाकाबन्दी लगाइएपछि भारतको दबाबसँगै पञ्चायती व्यवस्थाको विरुद्ध जनता सडकमा उत्रिए ।

चित्रबहादुर आले २०४६ सालमा नेकपा (चौम) का नेता हुनुहुन्थ्यो । २०४६ सालको जनआन्दोलन काठमाडौँकेन्द्रित थियो । त्यो जनआन्दोलन अन्तिममा पोखरा, चितवन र हेटौँडासम्म विस्तार भए पनि त्यसले तराईलाई तताउन सकेको थिएन । तत्कालीन नेकपा (चौम) संयुक्त ‘वाम’ मोर्चामा संलग्न थियो । क. आले ७० जना कार्यकर्ताको नेतृत्व गरेर काठमाडौँ पुग्नुभयो । कानुन व्यवसायी चण्डेश्वर श्रेष्ठको गलैँचा कारखाना खाली गरेर आन्दोलनकारीका लागि बासको व्यवस्था गरिएको थियो । कार्यकर्ता गिरफ्तार हुन्थे, छुट्थे । जनअन्दोलनको उत्कर्षको दिन चैत २४ गते भोटाहिटी–रत्नपार्क चोकमा झडप भएछ । प्रहरीले गोडामा लाठी बजारेपछि क. आले लड्नुभएछ । बेहोस भएर लडेपछि ब्युँझँदा जुत्ता छरिएका रहेछन् । प्रहरीले छोडेर गएछन् ।

‘उठेर बल्लबल्ल जुत्ता लगाएँ । ट्याक्सी चढेर पाटनढोका बासमा पुगेँ । डिँड्न सक्ने अवस्था थिएन’, क. आले भन्नुहुन्छ । २०४७ भदौमा नेकपा (मशाल), नेकपा (चौम) र सर्वहारावादी श्रमिक सङ्गठनबीचमा पार्टी एकता संयोजन समिति बन्यो । कालान्तरमा हरिबोल गजुरेल नेतृत्वको नेकपा (विद्रोही मसाल) सहित पार्टी एकता भयो । क. आलेको जनकपुर नै कार्यक्षेत्र भयो । एकीकृत पार्टीको केन्द्रीय समितिमा रहनुभयो । त्यसबेला जनयुद्ध कि जनविद्रोह ? माओवाद कि माओवाद÷माओविचार ? तत्काल सशस्त्र सङ्घर्ष कि जनसङ्घर्ष ? अन्तरसंघर्षका विषयहरु थिए । त्यसप्रकारको अन्तरसंघर्षको बीचमा २०४८ सालमा चितवन, माडीमा एकता महाधिवेशन सम्पन्न भयो । त्यसले माओवादी, सशस्त्र सङ्घर्ष र जनयुद्धका पक्षमा फैसला दियो । दुई लाइन सङ्घर्ष रोकिएन । २०५१ सालमा लामा पक्ष भनिने अल्पमत पक्षमा स्वनामसाथीबाहेक सबै कारबाहीमा परे । त्यसपछि पार्टी औपचारिक रूपमा विभाजित भयो । क. आले निर्मल लामाद्वारा नेतृत्व गरिएको एकताकेन्द्रमा रहनुभयो । प्रचण्ड नेतृत्वको बहुमत पक्षले २०५१ सालमै चितवनमा प्रथम राष्ट्रिय भेला गरेर (एकराज डल्लाकोटीको कुखुरा फाराममा अर्धभूमिगत रूपमा भएको) पार्टीको नाम परिवर्तन नगरेर नेकपा (माओवादी) राख्यो । निर्मम लामा पक्षले नेकपा (एकताकेन्द्र) नै राखिरह्यो । पार्टी नाम परिवर्तन गर्नुपर्नाको कारणबारे सार र रूपमा एकत्व कायम गर्न भनिएको थियो । २०५१ सालमा ललितपुर थैवमा राष्ट्रिय भेला गरेर नेकपा (एकताकेन्द्र) को नीति र नेतृत्व विन्यास गरिएको थियो । त्यसपछि पनि क. आलेको कार्यक्षेत्र जनकपुर अञ्चल नै थियो । क. आले जनकपुर ब्युरो इन्चार्ज भएर क्रियाशील हुनुभयो ।

गिरिराजमणि पोखरेल, विश्वनाथ साहहरूको कार्यक्षेत्र पनि जनकपुर नै थियो जससँग क. आलेको विचार र कार्यशैलीमा अन्तरविरोध धेरै अघिदेखि प्रकट भइरहेको थियो । २०४६ सालको खुला वातावरणमा त्यसप्रकारको समस्या झन् बढ्न गयो ।

निर्मल लामाको अपमान

२०५० सालमा नै निर्मल लामालाई अत्यधिक मदिरापानका कारण अर्बुद रोग लागेको थाहा भयो । राजनीतिक बेवास्ताका कारण लामाप्रति पारिवारिक गुनासो थियो । नारायणकाजी र गिरिराजमणि पक्षले हस्तक्षेप बढाउँदै गोडा अड्काउँदै गएको थियो । त्यसपछि लामाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राख्न थालेका थिए । निनु चापागाईं सक्रिया राजनीतिबाट पृथक भएका र श्याम श्रेष्ठले पार्टी छोडेर पत्रकारिता गर्न थालेका कारण लामाले नारायणकाजी श्रेष्ठलाई अगाडि सारे । लामाले सुरुदेखि नै (निवृत्त जीवन) विषयमा राख्दै आएका थिए । मृत्युसम्म आफैँ पार्टी प्रमुख नभएर समयमै उत्तराधिकारी तयार गर्नुपर्छ भन्ने धारणा लामाको थियो । तर चित्रबहादुर, नरबहादुर, आले, अमिक शेरचनलगायत नारायणकाजीलाई नेतृत्व हस्तान्तरणका पक्षमा थिएनन् तर लामा त्यसो गर्न तयार भएनन् । थैव भेलाअघि नै नारायणकाजी श्रेष्ठ नेतृत्वमा पुगिसकेका थिए । नारायणकाजी र रूपलालका बीचमा मतभेद चुलियो । रूपलाल कम्युनिस्ट धाराबाटै पलायन भए । रूपलाल विकलाई पलायन हुनबाट रोक्ने प्रयासमा क. आलेले मेहनत गर्नुभयो । तर सम्भव भएन ।

थैव भेलापछि जनकपुरमा संयुक्त जनमोर्चाको राष्ट्रिय भेला थियो । निर्मल लामाले जनमोर्चाको झन्डा हँसिया–हथौडा हटाउँदा धेरैलाई समेट्न सकिन्छ, पार्टीमा भए भइहाल्छ भनेका थिए । पार्टीमा भएको आन्तरिक छलफल लामाले सार्वजनिक गरिदिए । लामाको ठूलो आलोचना भयो । चित्रहादुर आले, नरबहादुर कर्माचार्य, अमिक शेचरचनहरूले पनि साथ दिएनन् । त्यसपछि लामा झनै निरास भए । म अब राजनीति गर्दिनँ, आलेले त साथ दिएन– निर्मल लामाले भनेका थिए । भेलामा चर्को आलोचना भएपछि नारायणकाजीले लामालाई जनकपुरकै लक्ष्मण रानाको घरमा लगेर अघोषित बन्दी बनाएको लामाको गुनासो भयो । साथीहरूले त भनेका थिए– सर्पलाई दूध खुवाए जस्तो भयो– निरास निर्मल लामा आफ्नानिकट सहयोगीसँग भन्ने गर्थे ।

जनकपुरको घटनापछि निर्मल लामामा निरासा झन्झन् बढेर गएको, लामालाई योजनाबद्ध रूपमा निषेध गरेको, सम्मानभावको नाटक गरेर नेतृत्व हत्याउने षड्यन्त्र गरेको क. आलेको चर्को आरोप नारायणकाजीमाथि छ । त्यसपछि निर्मल लामा बैठकमा जान छोडे । बाहिर वरिष्ठ वामपन्थी नेता, पार्टीभित्र राजनीतिक समितिका सदस्य थिए । त्यसपछि लामाले मदिरापान झन् बढाउन थाले । घाँटीको अर्बुद रोगका कारण चिकित्सकले मदिरा पूर्णतः निषेध गरेका थिए ।

निर्मल लामालाई भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरियो । लामा र आलेका बीचमा पारिवारिक सम्बन्ध थियो । निर्मल लामाले आलेकी छोरी इन्दीरालाई चितवन बोलाए । आले छोरीसहित ४ महिना चितवनमा लामासँग बसे । आलेले छोरीलाई पढ्न जान भने तर छोरीले जनताको प्यारो नेता मर्दैछ, उसले मलाई छोड्न चाहेको छैन । पढाइ बिग्रोस् भनेर छोरी घर फर्किनन्– क. आले भन्नुहुन्छ । घेरै दबाब दिएपछि छोरी फर्किन् तर त्यसको ३ दिनमै लामाको काठमाडौँ, महाराजगन्जस्थित शिक्षण अस्पतालमा २०५५ सालमा निधन भयो । जीवनको अन्तिम क्षणमा लामालाई चितवनबाट काठमाडौँ लगिएको थियो । जयगोविन्द शाह, ऋषि देवकोटा ‘आजाद’ हुँदै २०५५ सालमा अर्का आदर्श निर्मल लामालाई क. आलेले गुमाउनुप¥यो । शाह पञ्चायतीकालमा रोग र बुढ्यौलीले मृत्युको मुखमा परे । लास नेपालमा ल्याउनसमेत पञ्चायती व्यवस्थाले थिएन । क. आजादलाई आदर्श ठान्दाठान्दै साथ दिन सकेनन् । २०५५ सालमा कतिपय गुनासो र आलोचनासहित इमानदार ठानेका आदर्श निर्मल लामाको पार्टीभित्रबाट अपमानित भएको अवस्थामा दुःखद् निधन भयो । यी घटनाहरूतिर फर्केर हेर्दा क. आले भावुक र उद्वेलित बन्नुहुन्छ । समयले सबैलाई निर्ममतापूर्वक कुल्चेर अघि बढ्दो रहेछ । तर आफ्नो विवेक र बर्कतले भ्याएपछि उहाँ न्याय र सत्यका पक्षमा लडिरहनुभयो ।

२०७७५ असार ४ गते साेमबार बिहान १० :१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :