राज्यद्वारा बेपत्ता छोरालाई आमाको चिठी : शान्ता भण्डारी

प्यारो छोरा विपीन,
अमर होऊ !
हामी सबै परिवार सञ्चै छौँ । तिमीलाई पनि सञ्चै होस् भन्ने कामना गर्दछु । तिमीसँग भेट नभएको १६ वर्ष पूरा भयो । तिम्री प्यारी बहिनीको विवाह भएको पनि दस वर्ष बितिसक्यो । तिम्रा प्याराप्यारा जुम्ल्याहा भान्जीहरू छन्ः मिली र जुली । साह्रै राम्रा । तिमीलाई नदेखे पनि तिम्रो फोटो हेरेर ‘हाम्रो मामा’ भनेर रमाउँछन् । फोटो देखेपछि ‘हाम्रो मामा खोइ ?’ भनेर आफ्नी आमालाई प्रश्न गर्छन् । तिम्रो हजुरबा पनि तिम्रै नाम लिँदालिँदै बिरामी पर्नुभो र उहाँ बितेको आज सात वर्ष बितिसक्यो । अरू खै के भनौँ, यस्तै छ ।

२०५९ साल असार ३ गते बिहान ४ बजेतिर प्रहरीले तिमीलाई पक्राउ गरेको खबर सोही बिहान ६ बजेको रोडियो सुनेर हामीले थाहा पायौँ । हामी एकदमै आत्तियौँ । हामी तुरुन्त प्रहरीकोमा गयौँ । पक्राउ नै गरेको छैन भनेर ढाँटे प्रहरीले । त्यसको केही दिनपहिला डीएसपी विक्रमसिंह थापा तिमीलाई खोज्न हाम्रो घरमा मध्यराति १२ः०० बजे आएका थिए । उनले त्यसबेला मलाई ‘एक साताभित्रै तिम्रो छोरालाई आत्मसमर्पण गराएनौ भने त्यसलाई पक्री काटेर कलेजो तिम्रो हातमा राखिदिन्छु’ भन्दै धम्की दिएर गएका थिए । नभन्दै तिमीलाई पक्राउ गरेको खबर आयो । हामीले सर्वाेच्च अदालतमा मुद्दा हाल्यौँ । राष्ट्रिय मानवअधिकार आयोगमा खोजतलास गरी ज्यानको सुरक्षाका लागि निवेदन ग¥यौँ । थुप्रै मानवअधिकारवादी सङ्घसंस्थासमक्ष हारगुहार ग¥यौँ । तिमीलाई सोह्रखुट्टे प्रहरीचौकीमा क्रूर यातनासाथ राखिएको खबर पाएपछि त्यहाँ पनि पुग्यौँ । अहँ, केही पत्ता लागेन ।

करिब ६÷७ महिनापछि कवि गौतमसँग हाम्रो भेट भयो । कवि गौतम पक्राउ पर्दा तिमीसँगै पक्राउ परेका विद्यार्थी रहेछन् । सबै कुरा उनैले बताए हामीलाई । काठमाडौँको सुकेधारास्थित एउटा ३ तले पक्की घरमा तिमीहरू तीनजना त्यो रात सुतेका थियौ रे । अर्का एकजना तिम्रो साथी विद्यार्थी नेता थिए ः दिलबहादुर राई । ३ गते बिहानै ३ बजेदेखि नै घर घेरिसकेछ प्रहरीले । ४ बजेतिर एकाएक जोडजोडले ढोका ढकढक्याएको आवाज आएछ । झ्यालबाट तल हेर्दा टन्नै प्रहरी । अब के गर्ने ? तर तिमीले कवि गौतम र दिलबहादुर राईलाई नआत्तिन भनेका थियौ रे । साथै हत्तपत्त मोबाइल ट्वाइलेटमा फालेछौ । केही दस्ताबेज लुकाउन प्रयास गरेछौ । अनि तिमीले कविलाई भनेका थियौ रे ः प्रहरीले सोधेपछि भान्से हुँ, माओवादी पार्टीबारे थाहा छैन भन्नू, हामीचाहिँ अनेरास्ववियू क्रान्तिकारीको केन्द्रीय सदस्य हौँ भन्छौँ । जनताको मुक्तिका लागि हिँडेकालाई मृत्युदेखि डर छैन ।’ तुरुन्तै प्रहरीहरू भित्र पसेछन् । काठमाडौँ महानगरीय प्रहरीका डीएसपी विक्रमसिंह थापा र बालाजू प्रहरीवृत्तका विजयप्रताप शाहसमेतका प्रहरी रहेछन् । तिमीहरूलाई सुरुमै कञ्चटमा पेस्तोल तेस्र्याएर घिसार्दै, लात्ती र मुड्कीले हिर्काउँदै तल ल्याएछन् विक्रमले । हातखुट्टा बाँधी पानी परेर हिलाम्मे भएको खाली चौरमा लडाएछन् केहीबेर । विक्रमसिंहले त क्रूर ढङ्गले बुटले कुल्चिएछन् । कविले नै यी सबै कुरा सुनाए । त्यसपछि तिमीहरूलाई हातखुट्टा बाँधेर ट्रकको पछाडि घोप्टो पारी लडाएर त्यसमाथि त्रिपाल राखी त्यसउपर बुट लगाएका प्रहरीहरू उभिएका थिए रे । त्यसपछि तिमीहरूलाई बालाजू चौकीमा ल्याएछन् । सई विजयप्रताप शाहले क्रूर ढङ्गले यातना दिएका थिए रे । जीउ, लुगा पूरै रगतले लत्पतिएको थियो रे । पछि कविलाई त्यहीँ राखी तिमी र दिलबहादुरलाई त्यहाँबाट विक्रमसिंह थापाले लगेछन् । कहाँ र कसरी लगे, थाहा भएन भन्दै थिए कवि ।

 


तिमीलाई अन्तिमपटक तिम्रो बुबा र मैले काठमाडौँको जैसीदेवलमा आफन्तको डेराकोठामा भेटेका थियाँै । तिमीलाई मैले भनेकी थिएँ– ‘काठमाडौँमा आतङ्ककारी भई सक्रिय रहेका किशोर भन्ने विपीन भण्डारीलाई जिउँदो वा मृतक जस्तोसुकै अवस्थामा प्रहरीसमक्ष बुझाउनेलाई १० लाख रुपैयाँ पुरस्कार दिइने भन्दै तिम्रो फोटो बिहान–बेलुका नेपाल टेलिभिजनमा देखाइरहन्छ । मलाई त एकदमै डर लाग्यो । अब के गर्ने विपीन ?’ तिमीले भन्यौ, ‘नआत्तिनुस् आमा, म सङ्गठनको योजनामा रहेको हुन्छु । निरन्तर सङ्गठनको काममा हुन्छु । म सुरक्षित छु । चिन्ता गर्नु पर्दैन ।’ त्यसैबेला भावविह्वल भएकी थिएँ म । तिमीले मेरा आँसु पुछ्दै २ वटा पासपोर्ट साइजका फोटाहरू ‘राख्नुस् आमा, काम लाग्छ’ भनेर दिएका थियौ । अहिलेसम्म सुरक्षित राखेकी छु । त्यो फोटो ठूलो बनाएर सुत्नेकोठामा फ्रेमसमेत राखेर बनाएर टाँगेकी छु । हरेक रात सुत्नुअघि हेर्छु । हेर्दाहेर्दै निदाउँछु । कैयन् रात केके सम्झन्छु र अनिँदोमै रात छर्लङ्ग हुन्छ । त्यही फोटो हेरेर बाँचेकी छु । त्यही फोटोभित्रै तिमीलाई म सम्पूर्ण देख्छु, मेरो लाल ! आँखा चिम्म नगरी हेरिरहन्छु । कम बोल्ने, नरिसाउने, जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि मुसुक्क हाँसेर जबाफ दिने, सधैँ तिम्रो त्यो हँसिलो अनुहार हेरिरहन्छु । दृढता र अनुशासनको नमुना देख्छु, आनन्द लाग्छ अनि कुन बेला निदाउँछु, पत्तै पाउँदिनँ ।

फेरि कहिलेकहीँ फोटो हेर्दाहेर्दै अर्काे पाटो दिमागमा आउँछ । ‘प्रतिक्रियावादी सत्ता ध्वंस गरौँ, नयाँ जनवादी सत्ता स्थापना गर्न जनयुद्धमा लामबद्ध होऔँ’ भन्ने नारा लेखिएका पोस्टरहरू टाँस्दै हिँड्थ्यौ तिमीहरू । तिमीसँगै हिँड्ने तिम्रा केही साथीहरू प्रतिक्रियावादी सत्ता ध्वंस होइन, बरु त्यसैमा विलय भएर झन्डा हल्लाउँदै गाडीमा कुदिरहेको पनि देख्छु, क्रान्तिप्रति इमानदार रहेर कति तिम्रा साथीहरू यतिखेर राजनीतिक आस्था र विचारकै आधारमा जेलजीवन बिताइरहेका पनि देख्छु । जनयुद्धमा लागेबापतको मुद्दामा जेल परेका तिम्रा साथीहरूलाई सहानुभूति देखाउँदै माफी दिई जेलबाट छुटाएर जनयुद्धलाई अपराधीकरण सिद्ध गर्न खोजिरहेको पनि देख्छु । शाहीसेनाबाट हतियारसहित विद्रोह गरेर जनमुक्ति सेनामा प्रवेश गरेका थुप्रै योद्धाहरूले आज भगौडाको मुद्दामा सर्वस्वसहित जेलजीवन बिताउन बाध्य भएको पनि देख्छु । जनमुक्ति सेना विघटन गरेर कुनैलाई शाहीसेनामा विलय गराएको र कुनैलाई खाडीको धूपमा मजदुरी गर्न बाध्य भइरहेको पनि देख्छु । तिमीहरूलाई भारतीय विस्तारवादी शासकको विरुद्ध सुरुङ खन्न कासन गर्ने नेताहरू तिनै भारतीय शासकका सामु लम्पसार परिरहेको पनि देख्छु । झन अझै जनगणतन्त्रको संविधान लेख्छु भन्नेहरूले नै दलाले चलाउने संसदीय संविधान, त्यो पनि अपरिवर्तनीय बनाएको पनि देख्छु । सरकारले तिमीजस्ता हजारौँ बेपत्तायोद्धाहरू सार्वजनिक गर्ने कुरा कतै देख्दिनँ । यस्तैयस्तै अनेक कुराहरू तिम्रो फोटोको वरिपरि देख्छु । अनि कतिखेर रात बित्छ, पत्तै हुँदैन ।

तिमीलाई प्रहरीमार्फत पक्राउ गरेर आफ्नो नियन्त्रणमा लिइएको थियो सरकारले । राज्यले कुनै पनि बहानामा नागरिक नियन्त्रणमा लिएर बेपत्ता पार्न पाइँदैन । राज्यको आडमा बेपत्ता पार्नु भनेको निकृष्ट अपराध हो । बेपत्ता नागरिकको सार्वजनिक गर्ने, बेपत्ता पार्ने र पार्न लगाउनेलाई दण्डित गर्ने र बेपत्ता योद्धाका परिवारको समग्र अभिभावकत्व राज्यले लिनुपर्ने कर्तव्य हुन्छ, राज्यले यो कर्तव्य पालना गर्ने र दायित्व पूरा गर्नैपर्छ ।

तिमीलाई अचम्म लाग्ला, सायद सितिमिति पत्यार पनि नलाग्ला, तिमीलाई जनयुद्धमा लाग्न उत्प्रेरित गर्ने तिम्रा आदर्श नेता र आतङ्कवादी जनयुद्ध दबाउन लागेका नेता यतिखेर दुवै एउटै मिसनमा छन्, एउटै सरकारमा, एउटै पार्टीमा र एउटै विचारमा छन् । अनि जसरी हुन्छ, जनयुद्धलाई अपराधी सिद्ध गर्ने, ता कि आउँदा दिनमा कसैले पनि क्रूर राज्यसत्ताका विरुद्ध युद्ध गर्ने धृष्टता नगरोस् । त्यसैले तिमी र तिमीजस्ता हजारौँ योद्धाहरूलाई यो सरकारले सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्ला भन्ने विश्वास म र मजस्ता परिवारहरूलाई छैन । कथम्कदाचित सार्वजनिक गरिहाल्यो र तिमीहरू फेलाप¥यौ भने पनि यो सरकारले सबैभन्दा पहिला तिमीहरूलाई नै माफी माग्न लगाउनेछ । जनयुद्धका इमानदार र कर्तव्यनिष्ठ नेता–कार्यकर्ताले माफी माग्नुपर्ने र भगौडा र आत्मसमर्पणकारीहरूले माफी दिनुपर्ने विडम्बना यतिखेरको नियति हो ।

तिमीलाई मैले अमर रहनू भनेर पत्रमा सम्बोधन गरेकी छु । तिमी अमर छौ । तिमीलाई कसैले केही गर्न सक्दैन । दुस्मनको कब्जामा परेर क्रूर यातना पाउँदा पनि तिमी आफ्नो विचारमा, सिद्धान्तमा अडिग रह्यौ, आत्मसमर्पण गरेनौ । त्यसैले तिमी महान् छौ र त तिमीलाई सार्वजनिक गरिएन । यो नै तिम्रो अमरत्वको पहिचान हो । म कामना गर्छु, तिम्रो सपना पूरा होस् । नेपाली जनताको उत्पीडन र विभेद गर्ने तिम्रो सपना पूरा होस् । नेपाल सधैँ सार्वभौमसत्तासम्पन्न स्वतन्त्र राष्ट्र बनोस् भन्ने तिम्रो सपना पूरा होस् । तिम्रो सपना पूरा गर्ने मेरो पनि अठोट छ । बाँकी कुरा अर्काे पत्रमा फेरि लेख्नेछु, अहिलेलाई बिदा ! उही तिम्री आमा ।
(लेखक बेपत्ता योद्धा विपीन भण्डारीकी आमा हुनुहुन्छ ।)
२०७५ असार २ गते शनिबार मध्यान्न १२ : २९ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :