रुसमा २१औं विश्वकप फुटबल प्रतियोगिता चल्दै / खेल राेमाञ्चक बन्दै

काठमाडौं : विश्वकप फुटबल प्रतियोगिताको २१औं संस्करण आजदेखि रुसमा सुरु भएको छ । उद्घाटन खेलमा अहिले आयोजक रसिया र साउदी अरेबीयाबीच प्रतिस्पर्धा भइरहेको छ ।

जारी खेलमा रसियाले १२ औं मिनेटमा १ गोल गरेको छ । रसियाका ८ नम्बर खेलाडिले गोल गरे । रुसको राजधानी मस्कोस्थित लुजिन्स्की रंगशालामा भव्य उद्घाटन समारोहबीच प्रतियोगिता सुरु भएको हो ।

उद्घाटन समारोहलाई रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोलगायतले सम्बोधन गरेका थिए । आधा घन्टासम्म चलेको उद्घाटन समाहारोमा विश्व फुटबलका हस्तीहरू डिएगो म्यारोडाना, जिकोलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहमा ३२ ओटै टिमका खेलाडी उपस्थित भएका थिए ।

जहाँ ब्राजिलबाट दुईपटक विश्वकपको ट्रफी उचालेका रोनाल्डो पनि देखिएका थिए ।उद्घाटन समारोहमा लुजिन्स्की रंगशालामा ८० हजार दर्शक उपस्थित भएको आयोजकको दाबी छ । रंगशालाको दर्शक क्षमता ८१ हजार रहेको छ । यही रंगशालामा जुलाई १५ तारिखमा विश्वपको फाइनल खेल हुनेछ ।

उद्घाटन समारोहमा बेलायती गायक रोबी विलियम्स, रुसी गायिका सोप्रानोलगायतले प्रस्तुति दिँदा ५०० भन्दा बढी डान्सर र जिमन्यास्टहरूले आफ्नो कला देखाएका थिए ।

विश्वकप फुटबल सुरु हुँदैगर्दा रुसमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । विश्वभर हुल्याहा समर्थकको छवी बनाएका रुसी समर्थकलाई नियन्त्रण गर्नु रुसी आयोजकको मुख्य चुनौती रहेको छ ।

त्यसबाहेक पछिल्लो समय युरोपका भीडभाडयुक्त ठाउँलाई निशाना बनाउँदै आएका आतंकवादी सम्भावित आक्रमण निस्तेज पार्नु रुसी सुरक्षा संयन्त्रको अर्को मुख्य चुनौती हुनेछ ।

जुन २०१५ को प्रारम्भिक ‘ड्र’बाट सुरु भएको रुसी विश्वकपको यात्रा १५ जुलाईमा सकिनेछ । विश्वकपका विभिन्न ६४ खेल रुसका ११ सहरका १२ रंगशालामा हुनेछन् ।

२०७५ असार १ गते शुक्रबार  दिउँसाे  १ : ०५ मा पकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :