धर्म, एकेश्वरवाद र शुक्रराज शास्त्री : अनिल विरही

जगत्को उत्पत्ति, विकास र विनासको कथालाई हेर्ने र बुझ्ने दुईवटा विश्वदृष्टिकोण छन् : अध्यात्मवादी र भौतिकवादी । एकेश्वरवाद अध्यात्मवादकै एक शाखा हो जसले ईश्वर थरीथरीका नहुने, मूर्तिपूजा गर्नु नपर्ने, सामन्त वा राजाहरू ईश्वरका प्रतिनिधि नहुने मत राख्दछ । यो धार्मिक सम्पदाय विश्वभरि छ तर दक्षिणएसियामा यसको ठूलो जनमत छ । भारतमा सन्त कवीरले यो सम्प्रदायको जग बसालेका हुन् । त्यसपछि धर्मदास, मलुकदास, नानक देव (नानक देवको मठ नेपालमा बालाजुचोकबाट नयाँबजार जाने विष्णुमती पुलको उत्तरपूर्वमा रहेको छ) दास, गरिबदास, घीसादास हुँदै हाल सन्त रामपालले गरिरहेका छन् ।

मानवसभ्यताको ५ हजार वर्षपूर्व थरीथरीका धर्म थिएनन् । जब अनेक धर्म आए धार्मिक युद्ध, मारकाट, घृणाकोे राजनीति सुरु भयो । सामन्त, पण्डित, मुल्ला, लामा, पादरी र राजाहरूले आफूलाई चरम भयो । समाज सुधारको आवश्यकता भयो । त्यसबेला भौतिकवादको विकास भएको थिएन । माक्र्सवादको त धेरै परको कुरा भयो । त्यसकारण अध्यात्मवादभित्रबाटै समाज सुधारको प्रयास भयो । त्यही क्रममा सन्त कवीरको उदय भयो ।

धार्मिक ग्रन्थहरूका अनुसार जेष्ठशुल्क पूर्णिमा वि.सं. १४५५ (सन् १३९८) मा कवीर सत्यलोकबाट आएर लहरतारा नामक सरोवर (तलाउ) मा कलमको फूलमा प्रकट हुनुभयो भनिएको छ । निरु र निमा नामका गरिब गृहस्थीले कवीरलाई घरमा लगेर लालनपालन गरे । उनीहरू ब्राह्मण थिए तर मुस्लिमहरूले जबरजस्ती इस्लामीकरण गराएका थिए । ती शिवपूजक ब्राह्मणहरू जुलाहा (कपडा बुन्ने पेसा) थिए । त्यसबेला उद्योग–व्यापार निच पेसा मानिन्थ्यो । सन्त कवीरले कथा (बालकथा) लाई आलोचनात्मक चस्माले हेर्दा कुनै अवैध सम्बन्धबाट जन्मेर पोखरीमा फालिएको र एउटा दयालु परिवारले हुर्काएको देखिन्छ जसरी सीतालाई खेत जोत्ने किसानले भेटेका थिए । सन्त कवीरका धर्म मातापिता आफैँ पीडित, गरिब र धर्मद्वारा सताइएका थिए । आमाबाबाको पत्ता थिएन । व्यक्तिमा उसको परिवार, छरछिमेक, हुर्काइ र वातावरणको निर्णायक प्रभाव पर्छ । आफ्नो वातावरणले सन्त कवीरलाई सानैदेखि विद्रोही बनायो । उनले धार्मिक पाखण्ड र शोषणको विरोध गर्न थाले । ईश्वर एउटै मात्र छन् र मानवसेवा नै धर्म हो । मूर्तिमा ईश्वर हुँदैन । ईश्वरको प्रतिनिधि वा उत्तराधिकारी हुँदैन भन्न थाले । त्यसकारण राजा र धर्मगुरुहरू उनीदेखि चिढिए । यो सम्प्रदायमाथि ठूलो दमन भयो । त्यस बेला राजा र धर्मगुरुहरू ईश्वरका प्रतिनिधि होइनन् भन्नु जनयुद्धभन्दा पनि भयानक, त्रासदीमय र खतरनाक विषय थियो ।

दार्शनिक ओशोले ‘कवीर र बुद्ध सबैभन्दा ठूला दार्शनिक हुन्’ भनेका छन् । भारतका प्रसिद्ध कवि रवीन्द्रनाथ ठाकुरले कवीरका १ सय श्लोक (गीत) लाई अङ्ग्रेजीमा अनुवाद गरेर युरोपमा प्रचार गरेका छन् ।
सन्त कवीर भन्थे– कुनै पनि साधक वा सज्जनको जात नसोध । उसको ज्ञान सम्झनुपर्छ । सबै तरबारको मूल्य हुन्छ । म्यानको होइन, मन रङ्गिएको छैन, लुगा रङ्ग्यायौ । आत्माभित्रको देवलाई छोडेर मन्दिरको ढुङ्गालाई पुज्न थाल्यौ । यस्ता भौतिकवादी विचारबाट लुटपाट गर्न पल्केका शासक धर्मभीरुहरूले सन्त कवीरलाई धर्मविरोधी, ईश्वरविरोधी, समाजभँडुवा आरोप लगाए । सरकारी दमनले गर्दा यो धाराको विकास नै अवरुद्ध भयो ।


धार्मिक लडाइँ किन भइरहेको छ भन्ने सन्दर्भमा यसले भन्छ, ‘शास्त्रहरूमा लेखिएका सत्यतत्थ्यलाई धार्मिक कुल गुरुहरूले दबाएकाले गर्दा नैे यस्तो मतभेद जन्मिएको हो ।’ हिन्दु सम्प्रदाय नशालु पदार्थ खान्छ । (महादेव आफैँ गाँजामा लट्ठिन्छन् ।) यो धर्मले त्यसको विरोध गर्छ । हिन्दु देवदेवीको कथा वेश्यालयको कथाजस्तो छ, यसले त्यसको विरोध गर्छ । महिलाले मासिक धर्म बार्नु पर्दैन भन्छ । तीर्थस्थल र मन्दिर जान र पुज्न पर्दैन भन्छ (हेर्नुस् ज्ञान गङ्गा, नेपाली संस्करण) । दान दिनु पर्दैन भन्छ । यसले पण्डितहरू चिढिए ।

एउटै मात्र ईश्वर मान्ने भएकाले यो सम्प्रदायलाई एकेश्वरवादी समुदाय भनिन्छ । अहिले यो सम्प्रदायको नेतृत्व सन्त रामपाल दासले गरेका छन् । सन् १९५१ सेप्टेम्बर ८ मा हरियाणाको एक गरिब बस्तीमा उनको जन्म भएको हो । कवीर गुरु नानकपछि रामपाल दास सर्वाधिक चर्चामा छन् । यो धर्मले मर्नु परेपछि सत्य बोल्न तयार हुनुपर्छ भन्छ । गुरु द्रोणाचार्य र कर्णले अपराधी राजा दुर्योधनको नुनको सोझो गर्न लाचार भएर सत्य नबोलेका कारण द्रौपदीको चिरहरण भएको बताउँछ । विदुरले जसरी अपराधको बहिष्कार गर्नुपर्छ भन्छन् ।

नेपालमा पनि एकेश्वरवादीहरूको प्रभाव छ । १९९७ सालमा शुक्रराज शास्त्री (जोशी) ले बनारसबाट फर्केर काठमाडौँका टोलटोलमा धार्मिक सभा र प्रवचन गर्दै धार्मिक विकृतिका विरुद्ध प्रचार गर्दै हिँडे । राणाहरू शुक्रराज शास्त्रीलाई समाज भाँडेको, धर्मप्रति अनास्था फैलाएको र सरकारको विरोधमा लागेको आरोपमा टेकुको खरीबोटमा झुन्ड्याएर मारे । त्यसैले सहिद शुक्रराज शास्त्री यो धर्मका अनुयायी र धार्मिक सहिद हुन् । धार्मिक कट्टरपन्थीहरूले नै यो सम्प्रदायलाई दमन र उत्पीडन गर्दै आएका छन् । नेपाल पनि यसबाट अछुतो छैन ।

यो सम्प्रदायले धार्मिक विकृति र धर्मको आडमा हुने राजनीति र आर्थिक शोषणको विरोध गरेको छ । त्यसकारण भाजपा सरकार यो सम्प्रदायको प्रभाव रोक्न चाहन्छ । तर यो धर्मले भौतिकवाद, विज्ञान र द्वन्द्वात्मक भौतिकवादअनुसार आफूलाई ढाल्न सकेको छैन । निजी स्वामित्व र शोषणको राज्य रहेसम्म वास्तविक मानवसेवा र शान्ति हुँदैन भन्ने निष्कर्षमा पुगेको छैन । अध्यात्मवाद आफैँमा जगत्को वैज्ञानिक सोचाइ होइन । त्यसैले यसले टेकेको जमिन नै कमजोर छ । यद्यपि सन्त कवीरको चिन्तनमा कैयौँ सकारात्मक पक्ष छन् ।
२०७५ असार १ गते शुक्रबार बिहान ११ : ४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :