निर्वस्त्र पारी निर्घात कुटपिट गर्ने महिलालाई कडा कारबाही गर्न महिला संघ क्रान्तिकारीकाे माग


दाङ : दाङको भालुबाङमा एक महिलालाई निर्वस्त्र पारी निर्घात कुटपिट गरेको घटनाप्रति अखिल नेपाल महिला संघ क्रान्तिकारी संगठनले घोर भत्सर्ना गर्दै कुटपिटमा संलग्नलाई कडा कारबाही गर्न जोडदार माग गरेको छ ।  संगठनका जिल्ला अध्यक्ष जानकी चौधरीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा कुटपिटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउदै आफ्नो जग्गा बेच्दैन भनेकै भरमा अर्घाखाँची सितगंगा निबासी दिलमाया पुनलाई शरीरमा लगाएको कपडा च्यातेर निर्वस्त्र पारी निर्घात कुटपिट गर्ने भालुबाङका अनिता गुप्ता र रेखा गुप्तालाई कडा भन्दा कडा कारबाही गर्न माग गरिएको छ ।

अस्मितामाथि खेलवाड गर्दै अमानवीय रुपले कुटपिट गरिएको गम्भीर प्रकृतिको घटनालाई पनि प्रहरीले सामान्य रुपमा मिलापत्र गराउनु कमजोरी हुने भन्दै दोषी दुबैजनालाई कडा कारबाहीको माग गर्दछौं विज्ञप्तिमा भनिएको छ । मिटर ब्याजका कारण कुटपिटमा संलग्न गुप्ताले दिलमायाको दिदी भिनाजूको जग्गा सस्तो फुत्काएकाले सोही किसिमले दिलमायाबाट पनि खोस्न चाहेका थिए । पछिल्लो समयमा मिटर ब्याजको कारण धेरै जना घरबार बिहिन हुनुका साथै पारिवारिक कलह, झैझगडा, आत्महत्या सम्मको स्थिति मौलाउदै गएकोप्रति सचेत गराउदै पैसाको लोभमा परि मिटर ब्याजको धन्दामा नलाग्न पनि विज्ञप्तिमा अनुरोध गरिएको छ ।
२०७५ जेठ ३० गते बुधबार अपरान्ह ४ : २७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :