किम जोङ उन—डोनाल्ड ट्रम्प वार्ता / कोरियाली प्रायःद्वीपको तनाव अन्त्य होला ?


काठमाडौं  : मङ्गलबार सिङ्गापुरमा बिहानको ९ बज्दै गर्दा विश्वको शक्तिशाली भनेर चिनिएको साम्राज्यवादी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पप र समाजवादको ध्येय बोकेको र विश्वका सबै साम्राज्यवादी शक्तिहरूसँग लड्दै आएको प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका मार्सल किम जोङ उनले हात मिलाएका थिए । त्यसपछि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका सुप्रिमो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बीचमा ऐतिहासिक वार्ता भएको छ ।

जुन १२, २०१८ मा सिङ्गापुरको सेन्तोसा टापुस्थित एक पाँचतारे होटेलमा पहिला एक्लाएक्लै करिब ४८ मिनेट र पछि दुवैतर्फका वार्ताटोलीका बीचमा कुराकानी भएर गरेका छन् । उनीहरूले वार्ता ऐतिहासिक भएको बताएका छन् । किमका भाषान्तरणकर्ताका अनुसार किमले ‘सबैखालको सन्देह र चिन्तनलाई यो शिखरवार्ताले मलाई विश्वास छ शान्तिका लागि राम्रो काम गर्दछ’ भनेका छन् । युद्धको धम्कीका बीचमा भएको यो शिखर वार्तामा किम जोङ उनले ‘पूर्ण रूपले आणविक हतियारको निःशस्त्रीकरण’ को कुरा गरेका छन् । शिखर वार्तापछिको खानापछि संयुक्त हस्ताक्षरित द्विपक्षीय सहमतिमा वासिङ्गटन र प्योङयाङबीचमा नयाँ सम्बन्ध कायम भएको बताइएको छ । यद्यपि हस्ताक्षरित पत्रमा हतियार नष्ट र निरीक्षणको मात्र कुरा गरिएको छ । ‘पूर्ण आणविक निःशस्त्रीकरणको स्थिर भरपर्दो प्रमाण’ दिइएको छैन । खानापछि हस्ताक्षर गर्दै ट्रम्पले ‘विस्तृत’ र ‘विशेष बन्धन’ भनेका छन् भने किम जोङ उनले ‘हामीले हाम्रो विगतलाई पछाडि छाड्यौँ’, ‘संसारले ठूलो परिवर्तन देख्नेछ’ भनेका छन् ।

उनीहरूका बीचमा भएको शिखर वार्तालाई लिएर दक्षिणकोरिया र जापानका बीचमा फरक मत देखापरेको छ । जापानले प्रजग कोरियामाथि अधिकतम दबाब राख्नुपर्नेमाविश्वास राखेको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले भनेका छन्, ‘यस्तो लाग्छ हामीले नाकाबन्दीको भल्भलाई उसले गरेको आणविक हतियारको निःशस्त्रीकरणलाई पूर्ण लागू गर्नेसँग कडा बनाउनुपर्ने हो ।’

अमेरिका र प्रजग कोरियाबीचको तनाव

अमेरिका र कोरियाबीचको द्वन्द्व १९ औँ शताब्दीदेखि नै हो । तर दोस्रो विश्वयुद्धसँगै यसले नयाँ मोड लिएको थियो । यसैलाई लिएर संयुक्त राष्ट्रसङ्घले दोस्रो विश्वयुद्धपछि ३८ समानान्तरमा यसलाई अस्थायी रूपमा विभाजित गरेको थियो । त्यसपछि दक्षिणकोरियामा अमेरिकी सेना आएर बसेको थियो ।

कोरियन युद्धभन्दा पहिला (१९४८—१९५०) सेप्टेम्बर ९, १९४८ मा किम इल सुङले प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाको घोषणा गरेका थिए जुन बेला सोभियत सङ्घले कूटनीतिक मान्यता दिएको थियो । त्यहाँदेखि अमेरिकाले कहिल्यै पनि प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियालाई मान्यता दिएन । १९५० बाट अमेरिकाले दुस्मनसँगको व्यापारको ऐन लगाएर आर्थिक नाकाबन्दी लगाइराखेको थियो । अमेरिका–प्रजग कोरियाका बीचमा अक्टोबर— डिसेम्बर १९५० का दुई महिना निकै तनावपूर्ण रहे । १९६० को दशकमा धेरै सैनिकहरूले प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा हार खानु परेको थियो ।

केवल चाल्र्स जेन्किजस मात्र फर्किएका थिए । बिल क्लिन्टनको समयमा अमेरिकाले आणविक अप्रसार सन्धिको अन्तर्राष्ट्रिय क्षेत्रबाट अनुगमन गर्ने निर्णय गरेको थियो । क्लिन्टनको प्रशासनले प्रजग कोरियाले कृत्रिम रेडियोधर्मी तत्वबाट परमाणु भट्टीमा परमाणु बम बनाइरहेको शङ्का गरेको थियो । जर्ज डब्लू बुसको पालमा डिसेम्बर २००२ मा यमन जान लागेको स्पेनिसको स्कड क्षेप्यास्त्र बोकेको जहाजलाई रोकेको थियो । यसले प्रजग कोरिया र अमेरिकाबीचमा तनाव भएको थियो । अमेरिकाले प्रजगले प्रत्येक वर्ष १५ करोड अमेरिकी डलरबराबरको नक्कली कारोबार गरेको आरोप लगाएको थियो । २०१७ मा डोनाल्ड ट्रम्पले ‘फायर एन्ड फुरी’ को तयारीको धम्की दिएका थिए । अमेरिकाको सभामा ट्रम्पले सेप्टेम्बरमा प्रजग कोरियालाई ‘पूर्ण रूपले ध्वस्त’ पार्ने घोषणा गरेका थिए । किम जोन उनले उनको भनाइलाई हददर्जाको बकबास र मानसिक रूपमा नै पागलपन भनेका थिए । ट्रम्पले उनलाई रकेट म्यान भनेको, सेप्टेम्बरमा नै प्रजग कोरियालाई तर्साउन अमेरिकाले एफ १५ इगल फाइटरमा राखेर बी—१ बी बमवर्षक लिएर उडेको थियो ।

यसलाई प्रजग कोरियाले ‘सबै रूपले अनिवार्य’ भनेको थियो । अमेरिका, दक्षिणकोरिया र जापान मिलेर त्रिदेशीय सैन्य अभ्यास गरेका थिए । यी घटनाहरूले प्रजगलाई कोरिया प्रायःद्वीपमा घेराबन्दी गरिएको स्पष्ट हुन्थ्यो । ट्रम्प राष्ट्रपति बनेपछि कुनै पनि बेला युद्ध भड्किने सम्भावनाहरू देखिएका थिए । प्रजग कोरियाले अमेरिकालगायत देशहरूको धम्कीलाई बेवास्ता गर्दै ६ पटकसम्म आणविक परीक्षण गरेको थियो । तर पछिल्लोक्रममा एकाएक वार्ताको कुरा आयो र वार्ता पनि भयो ।

वार्ताको असर

आजै आएर यस वार्ताको असरको अनुमान लगाउन सकिँदैन । तर यो वार्ताले अमेरिकाले भन्दै आएको प्रजग कोरियालाई घुँडा टेकाउने र निःशस्त्रीकरण गर्ने सम्भावना छैन । दक्षिणकोरिया, जापान र अमेरिका एकातिर रहेर धम्क्याउँदा पनि प्रजग कोरिया धम्किएको छैन । यसको कारण पहिलो कुरा प्रजग आफैँ शक्तिशाली र आर्थिक समृद्धिमा रहेको छ । दोस्रो उसका पछाडि रुस र चीनजस्ता हतियार, प्रविधिद्वारा लैस र आर्थिक रूपमा विकास गरिरहेका शक्तिशाली राष्ट्रहरू छन् । तेस्रो अमेरिका इतिहासमा नै सर्वाधिक कमजोर भएको छ । उसको पकड रहेको दक्षिणपूर्वी एसिया उसको हातबाट जाँदैछ । त्यसैले ऊ अहिले युद्ध गर्ने मनस्थितिमा रहेको छैन । त्यसैले प्रजग कोरिया र अमेरिकाको इतिहासमा नै यो स्तरको वार्ता हुन पुग्यो ।
२०७५ जेठ ३० गते बुधबार बिहान ११ : ४८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :