मार्सल किम र राष्ट्रपति ट्रम्पबीच ऐतिहासिक वार्ता सम्पन्न / किम चर्चा र चासोको शिखरमा


काठमाडाैं / अशोक सुवेदी (एजेन्सीहरुको सहयोगमा)
जनगणतन्त्र कोरिया (उत्तरकोरिया) का नेता मार्सल किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रमपबीचको बहप्रतीक्षित तथा बहुचर्चित शिखर वार्ताको पहिलो चरण सिङ्गापुरको सान्तोसा द्वीपमा रहेको क्यापेला होटेलमा आज मङ्गलबार बिहान सम्पन्न भएको छ । दोस्रो चरणको वार्ता जारी रहेको एजेन्सीहरुले बताएका छन् । वार्तामा खासखास के भयो भन्ने सार्वजनिक नगरिएको भए पनि वार्ता ‘सफलता’ तिर उन्मुख भएको विश्लेषण गरिएको छ । अमेरिकाले जनगणतन्त्र कोरियासँग भएका उच्च क्षमताका शस्त्रास्त्र नष्ट गराउने उद्देश्य राखेको छ भने जनगणतन्त्र कोरियाले आफूसँग भएको पारमाणविक शस्त्रास्त्रको वैधानिकता खोजेको देखिन्छ । जे होस् यो वार्ताले जनगणतन्त्र कोरियाले आफूलाई अन्तर्राष्ट्रिय रुपमै शक्ति सम्पन्न राष्ट्रका रुपमा स्थापित गराएको छ ।
सिङ्गापुरको सान्तोसा द्वीपस्थित क्यापेला होटेलमा भएको उक्त भेटवार्ता करिब ५० मिनेटसम्म चलेको थियो । पहिलो चरणको एक–एक वार्तापछि दुवै नेता आफूसँग आएका वरिष्ठ सल्लाहकार र सहयोगी दलसँग बैठक गरिरहेका छन् ।
वार्तामा जनगणतन्त्र कोरियाका नेता मार्सल किम जोङ उनसँग उनका नजिकका मानिएका किम योङ चोल, विदेशमन्त्री री योङ हो र पूर्वविदेशमन्त्री री सु योङ देखिएका भए पनि यसको तथ्य सार्वजनिक गरिएको छैन । अमेरिकाका तर्फबाट उक्त बैठकमा राष्ट्रपति ट्रम्पसँग विदेशमन्त्री माइक पोम्पियो, ह्वाइट हाउसका चिफ अफ स्टाफ जोन केली र सुरक्षा सल्लाहकार जोन बाल्टन रहेका छन् ।

मार्सल किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबीच सिङ्गापुरमा आयोजित ऐतिहासिक भेटवार्तामा समाजवादी मुलुकका युवा नेता मार्सल किम जोङ उन आकर्षण र चर्चाको शिखरमा देखिएका छन् । वार्तापछि पत्रकारले मार्सल किम जोङ उनलाई पटकपटक सोधेका थिए, ‘चियरम्यान किम, के तपाईं परमाणु निःशस्त्रीकरण गर्नुहुन्छ ?’
मार्सल किम जोङ उनले भने कुनै पनि प्रश्नको जबाफ दिएनन् । यसले समाजवाद पुँजीवाद र साम्राज्यवादभन्दा धेरै नै अनुशासित छ भन्ने देखाएको छ । मार्सल किमले कुनै जबाफ नदिएपछि ट्रम्पले पत्रकारलाई भनेका थिए, ‘सबै कुरा राम्रो तरिकाले चलिरहेको छ ।’

बीबीसी न्युजवल्र्डकी तमारा गिलका अनुसार मार्सल किम जोङ उन डोनाल्ड ट्रम्पबीचको भेटले कस्तो नतिजा ल्याउला, सबैको ध्यान यसमै केन्द्रित छ । यस्तोमा केही राजनीतिक विश्लेषकले शीतयुद्धका दिनमा भएका यस्तै ऐतिहासिक भेटलाई सम्झिरहेका छन् ।

शीतयुद्धकालीन वार्तामध्ये केही कूटनीतिक तरिकाले सफल रहेको र कुनै बैठक पूर्ण रूपमा असफल साबित भएको गिलले उल्ल्ेख गरकै छिन् । यहाँ विगतमा अमेरिकी राष्ट्रपतिहरूको सोभियत सङ्घका नेताहरू र चिनियाँ नेताहरूबीच भएको भेटघाट प्रस्तुत गरिएको छ :
पूर्वअमेरिकी राष्ट्रपति जोन एफ केनेडीसँग सोभियत सङ्घका नेता निकिता ख्रुस्चेबले वार्ता गरेका थिए ।
:
विघटित सोभियत सङ्घको विदेश मन्त्रालयमा काम गरिसकेका निकोलाई सोकोव भन्छन्, ‘ इतिहासमा यस्ता कुनै बैठकबारे कुरा गर्ने हो भने सन् १९६१ मा अमेरिकी राष्ट्रपति जोन एफ केनेडी र सोभियत सङ्घका नेता निकिता ख्रुस्चेबबीच यस्तै बैठक भएको थियो । सोकोव ती व्यक्तिमध्येका एक हुन् जसले अमेरिका र सोभियत सङ्घबीच परमाणु हतियारका विषयमा कुराकानीमाथि प्रयास गरेका थिए । दुवै देशका सर्वोच्च नेताबीच भिएनामा भएको उक्त बैठकलाई थुप्रै इतिहासकारले एक असफल भेटका रूपमा हेरेका छन् ।

जोन एफ केनेडी अमेरिकाको राष्ट्रपति बनेको चार महिनापछि बिनातयारी र एजेन्डाबिना नै ख्रुस्चेवलाई भेटे तर अन्त्यमा ६७ वर्षका अनुभवी नेता ख्रुस्चेब युवा राष्ट्रपति केनेडीमाथि भारी भएका थिए ।  अमेरिकी विदेशमन्त्रालयका एक अधिकारी स्मरण गर्छन्, ‘यो बैठकमा दुवै महाशक्तिबीच तनाव यतिसम्म बढ्यो कि सोभियत नेताले ‘अमेरिका जर्मनीका लागि युद्ध सुरु गर्न चाहन्छ भने ठीक छ’ भन्दै धम्की दिए । जोन एफ केनेडीले ‘द न्युयोर्क टाइम्स’ लाई दिएको एक अन्तर्वार्तामा ख्रुस्चेबले आफूलाई बर्बाद गरिदिएको कुरा स्वीकारेका थिए ।

सोकोवले बीबीसीसँग भने, ‘क्युबासँगको शिखर सम्मेलन असफल हुँदा क्यूबा मिसाइल सङ्कट, बर्लिन वाल र भियतनाम युद्धको स्थिति पैदा भयो ।’
क्यालिफोर्नियाको परमाणु प्रसार निरोध अध्ययनका लागि चलिरहेको जेम्स मार्टिन सेन्टरमा अनुसन्धानकर्ताका रूपमा काम गरिरहेका सोकोवले ट्रम्प–किमको भेटको अपेक्षालाई कम गर्नुपर्ने कुरामा जोड दिएका छन् ।

उनी स्पष्ट पार्दैै भन्छन्, ‘यो भेटघाट सीमित उद्देश्यका लागि सफल हुनसक्छ वा यो महत्वाकाङ्क्षी उद्देश्यका कारण असफल पनि हुनसक्छ ।’
यद्यपि, सोकोव यो पनि मान्छन् भने इतिहासको अनुभवलाई धेरै बढाइचढाइ हेर्नु हुँदैन । उनी भन्छन्, ‘उत्कृष्ट तयारी र हासिल हुने नतिजालाई बुझ्नु राम्रो हुन्छ । म व्यक्तिगत रूपमा सीमित नतिजासँग पनि निकै सन्तुष्ट हुनेछु । उनीहरू एकअर्कासँग सम्पर्क राख्न र कुराकानी अघि बढाउनका लागि तयार भए राम्रो हुनेछ । यो नै सबैभन्दा शानदार नतिजा हुनेछ ।’

ट्रम्प र मार्सल किमबीचको प्रस्तावित बैठकको चर्चा चलिरहँदा अर्को एक ऐतिहासिक भेटको पनि कुरा आउँछ । यो चर्चा पूर्वअमेरिकी राष्ट्रपति रिचर्ड निक्सन र चीनका सर्वोच्च नेता माओ त्सेतुङको भेटसँग जोडिएको छ ।
त्यो पहिलो मौका थियो जब एक अमेरिकी राष्ट्रपति कुनै एसियाली देशसँग दशकौँको शत्रुतापछि उक्त देश पुगेका थिए । दुवै देशबीच कस्तो दुस्मनी थियो भने निक्सन चीनमा पुगे पनि माओले उनलाई भेट गर्छन् वा गर्दैनन् भन्ने कुरा निक्सनको समूहलाई समेत थाहा थिएन ।क्यालिफोर्नियाको मोन्टेरीमा मिडिलबरी इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजका जानकार जेफरी लेविस भन्छन्, ‘चीनसँग पहिलेदेखि नै परमाणु हतियार भएका कारण अमेरिकालाई एक कम्युनिस्ट चीन स्वीकार गर्न कुनै समस्या भएन ।’ ‘परमाणु हतियार ती कारणमध्येका एक थिए जसका कारण अमेरिकाले चीनलाई एक महत्वपूर्ण देश मान्यो र यसलाई नजरअन्दाज गर्न सकेन ।

मलाई लाग्छ उत्तरकोरियाले पनि यस्तै पाठ सिकेको छ’, लेविस भन्छन्, ‘यी दुई भेटघाटमा निकै ठूलो भिन्नता छ । निक्सनको चीन यात्राका क्रममा अनुभवी कूटनीतिज्ञसँग लामो र गम्भीर कुराकानी भएको थियो । यस्ता कूटनीतिज्ञमा पूर्वविदेशमन्त्री हेनरी किसिन्जर संलग्न थिए जब कि वर्तमान विदेशमन्त्री माइक पोम्पोईसँग पटक्कै अनुभव छैन ।’ लेविसका अनुसार यो यात्राबाट थुप्रै पाठसहित एक विरोधाभास पनि पैदा हुन्छ ।
‘अमेरिकामा हामी परमाणु हतियार र यसका पक्षधर खराब हुन्छन् भन्ने सोच्छौँ तर चीनमा जो व्यक्ति परमाणु हतियार चाहन्थे उनीहरू पनि अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्न चाहन्थे । परमाणु हतियार विकसित गर्न चाहने केही उत्तरकोरियाली व्यक्ति अमेरिकासँग राम्रो सम्बन्ध चाहन्छन् भन्ने कुरामा हामी तयार रहनुपर्छ ।’
आइसल्यान्डमा सन् १९८६ मा रोनल्ड रेगन र मिखाइल गोर्बाचोबको भेटघाटसँग जोडिएको खबरलाई खोजी गर्नुभयो भने तपाईंलाई किम र ट्रम्पको भेटको सम्झना आउँछ ।

राष्ट्रपति रेगनले सोभियत सङ्घलाई ‘सैतानी साम्राज्य’ को संज्ञा दिने गर्दथे जब कि मिखाइल गोर्बाचोब रेगनलाई एक ‘झूटा व्यक्ति’ मान्दथे । दुबैबीच ठीक यसै प्रकारको बयानबाजी भएको थियो जसरी पछिल्लो वर्ष ट्रम्प र किमबीच हुने गर्दथ्यो । पूर्वराष्ट्रपतिको सहयोगी रहेकी पेगी ग्रान्ड भन्छिन्, ‘त्यतिबेला मानिसहरू निकै चिन्तित थिए किनभने रेगन सोभियत सङ्घविरुद्ध निकै रुष्ट थिए जसका कारण तेस्रो विश्वयुद्धको खतरा निम्तिएको थियो ।’

अङ्ग्रेजी पत्रिका पोस्टको ओप–एडमा लेखक डेविड ई हाफम्यान सम्झिन्छन्, ‘गोर्बाचोब एकएक गर्दै छूट दिँदै थिए जसमा परमाणु हतियार नष्ट गर्ने पनि समावेश थियो । अमेरिकी राष्ट्रपति अचम्ममा थिए तर त्यतिबेला गोर्बाचोबले एन्टी मिसाइल सिल्डलाई सीमित गर्ने माग गरेपछि रेगनले अस्वीकार गरिदिए ।’ हाफम्यानका अनुसार यसको पाठ के हो भने आफ्नो विरोधी देशसँग भेटघाट गर्नुअघि त्यसको उद्देश्य र क्षमतालाई पहिचान गर्नुपर्छ । यसका लागि हामीसँग गुप्तचर एजेन्सी, कूटनीतिक र शैक्षिक संस्थान छन् ।

मार्सल किम र राष्ट्रपति ट्रम्पबीचको वार्ताका लागि सिङ्गापुरले करिब एक अर्ब ६० करोड रुपैयाँ खर्च हुने जानकारी दिएको छ । बीबीसीका अनुसार सिङ्गापुरका प्रधानमन्त्री ली सिएन लुङले अमेरिकाका राष्ट्रपति तथा उत्तर कोरियाली नेताबीचको ऐतिहासिक शिखरवार्ताका लागि उनको देशले करिब दुई करोड सिङ्गापुर डलर खर्च गर्ने जनाएका छन् ।

२०७५ जेठ २९ गते मंगलबार  बिहान ११ : ५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :